भैरव अर्यालको निबन्ध : पच्चीसौँ शताब्दी अङ्गप्रत्यङ्गमा

-  |   भैरव अर्याल

भैरव अर्यालको निबन्ध : पच्चीसौँ शताब्दी अङ्गप्रत्यङ्गमा

खेमकुमारी र होमनाथका सुपुत्रका रूपमा १९९३ असोज ५ गते कोपुण्डोल, ललितपुरमा जन्मिएका भैरव अर्यालको २०३३ असोज १९ गते गोकर्ण, काठमाडौँमा ४० वर्षकै उमेरमा देहान्त भएको थियो । त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा स्नातकोत्तर उत्तीर्ण गरेका उनले संस्कृत विषयमा मध्यमासम्मको शिक्षा हासिल गरेका थिए । २००९ सालमा ‘नयाँ जीवन’ कविता प्रतिभा पत्रिकामा प्रकाशित गरी साहित्यको सार्वजनिक जीवनमा प्रवेश गरेका अर्यालले पाँचवटा हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह (काउकुती, जयभुँडी, गलबन्दी, इतिश्री र दश अवतार) हामीलाई सुम्पिएका छन् । उनले निबन्धका अतिरिक्त काव्य, समालोचना र कथा विधामा पनि कलम चलाएका थिए भने रत्नश्री, रचना र गोरखापत्र लगायतका पत्रपत्रिकाको सम्पादन पनि गरेका थिए । उनको सम्झनामा भैरव पुरस्कार गुठीको जोरपाटी, काठमाडौँमा स्थापना भएको छ ।

हास्यव्यङ्ग्य विधामा चर्चित अर्यालले नेपाली समाजका विकृति विसङ्गतिमाथि व्यङ्ग्यका साथसाथै तुच्छ मानवीय प्रवृत्तिहरूलाई समेत निबन्धका विषय बनाएका छन् । यस क्रममा उनले सचेत या अचेत रूपमा होस् आधुनिक विज्ञानको चमत्कारले मानिसको पहिचान समाप्त पार्ने चर्चा गरेका छन्– २५औँ शताब्दीको अङ्गप्रत्यङ्ग शीर्षकको निबन्धमा । यसमा चर्चा गरेका विषय अहिले साक्षात हुँदै आएका छन् अर्थात मान्छेका प्रत्येक अङ्ग गाडी वा मोटरसाइकलका पार्ट पुर्जा फेरे जसरी नयाँ, ताजा अङ्ग फेर्न सकिने कुरा प्रस्तुत गरेका छन् । विज्ञानको पछिल्ला उपलब्धिले मानव अङ्ग फेर्न सकिने कुरा मिर्गौला फेर्ने, आँखा फेर्ने कार्य भइरहेका पनि छन् । साथसाथै आधुनिक चिकित्सा पद्धतिले विपन्न मानिसको अवस्था दर्दनाक हुने कुरा पनि देखाएका छन् । अर्यालको अद्भूत कल्पना शक्ति निबन्धमा यसरी पोखिएको छ :

bhairav_aryal
“आच्या, नाक त नेप्टै पो देख्छु नि, नफेरी आउँदिन भन्नुहुन्थ्यो, खोइ त फेरेको ? केन्द्रतिर जाँदै जानुभएन कि क्या हो ?” एक सुरले तानाबाना बुन्दै फर्केको नेपुलकलाई कोठाभित्र पस्नेवित्तिकै स्वास्नीले झल्याँस्स पारी, ऊ घर आइपुगेछ ।

“केन्द्रतिर नगएको त कहाँ हो र ? तर …..” वाक्य पूरा हुँदाहुँदै नेपुलेकको दिमागमा एउटा स्विच घुम्यो, उसको अघिल्तिर न्यु स्टेटस्थित ‘अङ्ग परिवर्तन केन्द्र’ भन्ने सङ्केत पाटीसहितको विशाल भवन उभिन आयो । आफ्नो कोठा कोठैकोठा भई तानियो– कुनैमा तन्द्राङतुन्द्रुङ हातैहात झुन्डिएका, कुनैमा खुट्टैखुट्टा । अर्कापट्टि लङ मिलाई पारदर्शक बट्टामा राखिएका नाक, कान र आँखाहरू अनि भित्ताको सानो कोठामा ‘गोप्य’ अङ्कित बट्टामा स्त्री र पुरुषका जननेन्द्रियहरू ।

नेपुलकले कोट फुकालेर मिल्कायो । अनि सुटुक्क सोफामा बसी स्वास्नीतिर एक टकसित हेर्यो । हेर्दाहेर्दै स्वास्नी थेप्चिएर पुड्की भई, पग्लिएर कमली भई, बैंसको बाक्लो पालिसले उसका गाला फक्रक्क फक्रे, चिम्सा आँखा लम्बिएर टिप्लिक टिप्लिक चलमलाउन थाले, नेपुलकको आँखा जुध्यो । त्यो कप्लक्कै निलिदिऊँ जस्ती नमुनाकी तरुनी मुस्कुराएर सोधिरहेकाी थिई– “भन्नोस् श्रीमान्, तपाईंलाई कुन अङ्ग फेर्नुपर्यो ?” नेपुलक अनकनाउँदै थियो, तरुनीले फेरि सोधी– “भन्नोस् न, म यस केन्द्रकी रिसेप्सनिस्ट कम् गाइड हुँ, मेरो नाम हो सुकुमारी प्यारेन्टलेस् ।”
नेपुलकले हडबडाउँदै भन्यो– “ए, त्यसो भए तपाईंसँग कुरा गरे पनि भो नि, होहइन ?”
“साँच्चै भनूँ भने म त यो अङ्ग परिवर्तन केन्द्रमा आज पहिलो पटक आउँदैछु, अझ भनूँ भने यहाँ कुन अङ्ग परिवर्तन हुन्छ र कसरी के दरमा हुन्छ, त्यो पनि मलाई थाहा छैन ।”

सुकुमारी एउटा कान उसको कुरातिर लगाई जबाफचाहिँ अर्कै एउटा ग्राहकतिर फर्केर दिँदैथिई– “ल यो कागज लिएर सर्जरी रुममा जानोस्, डाक्टरले तपाईंको आँखा सरक्क झिकेर राख्छ, तपाईंले रोजे अनुसारको भर्खर एउटा पर्यटकले फेरेर मिर्काएका एक जोर मधुरा आँखा छन्, त्यही जोड्न लगाउनुहोस्, अनि एकाउन्ट अफिसबाट बाँकी पैसा लिई जानोस् । दुई घण्टामा झिक्ने हाल्ने काम चट् ।”
त्यो मान्छे गयो । नेपुलकतिर हेरेर सुकुमारीले भनी– “बुझ्नुभयो, यो अङ्ग परिवर्तन केन्द्रमा सबै थोकको सुविधा छ । तपाईं आफ्नो कुनै अङ्ग बेच्न चाहनुहुन्छ भने स्ट्यान्डर्ड र इन्टरनेसनल मार्केटमा त्यसको माग हेरी उचित मोलमा हामी किनिदिन्छौं, तपाईंको कुनै अङ्ग छैन अथवा भए पनि गतिलो छैन र फेर्न चाहनुहुन्छ भने रोजेर किन्न सक्नुहुन्छ, यहाँ नभएको अङ्ग रहेछ भने अर्डर दिएको ती दिनभित्र हामी मगाइदिन्छौं । जीवित अङ्ग बेचेर कृत्रिम अङ्ग जड्न चाहनुहुँन्छ भने त्यो पनि जडेर पठाइदिन्छौं । जीवित अङ्गको जडान शुल्क १०० छ र कृत्रिमको १० मात्र । अब भन्नोस्, तपाईंको के सेवा गरूँ ?”
नेपुलकले अनकनाईअनकनाई भन्यो– “अरु त केही होइन, यो नाक एउटा अलि नेप्टो भएकोले फेरूँ कि भनेर आ’को ।”
सुकुमारीले फनेमा रिङ गर्दै भनी– “हलो, हलो नाक सेक्सन !” जबाफको प्रतीक्षामा रिसिभर गालामा अड्याउँदै नेपुलकतिर फर्केर भनी– “फेर्नु त पर्छ त ! पच्चीसौँ शताब्दीमा पनि यस्तो नेप्टो नाक लिएर निर्वाह हुन्छ त ?”
नेपुलकलाई यो आवाज स्वास्नीको जस्तो लाग्यो । नभन्दै उसकी आफ्नै स्वास्नी सोफनिर उभिएर भनिरहेकी थिई– “यस्ता असभ्य मान्छेसित के कुरा गर्नु । नेप्टो नाक देख्ता म्वाइँ खानै घिन लागेर पो फेरेर आउनोस् भनेकी ! साँच्चै अङ्गपरिवर्तन केन्द्रमा स्तनको भाउ के रहेछ हँ ?”

प्रश्नले नेपुलकलाई फेरि घचेटेर अङ्गपरिवर्तन केन्द्रमा पुर्यायो । सो–रुमहरूमा विभिन्न अङ्गप्रत्यङ्ग देखाउँदै सुकुमारी भनिरहेकी थिई– यी बीस बाइसे स्तन भर्खर हिजो मात्रै दुइटी तरुनीले बेचेर गएका ।”
नेपुलकले आश्चार्यचकित भएर सोध्यो– “बीस बाइसैमा स्तन बेच्ने वैराग्य किन आएको त ती मोरीहरूलाई ?” सुकुमारीले खिस्स हाँस्तै भनी– “ती दरिद्र मोरीहरूलाई यति टुमुक्क परेका स्तनहरू किन चाहिए त, आफ्ना स्तन चचार हजारमा बेचे, चचार सयमा यहाँ बुढीहरूले फेरेर मिर्काएका झुम्रे स्तन टाँसे, गए । छाती रित्तो पनि रहेन, ढिँडोनिस्तो पनि रहेन । बरु तपाईंकी श्रीमतीलाई चाहिन्छ भने लैजानुहोस्, आजै लिनुभए अलि सस्तैमा पाउनुहुन्छ । भोलिसम्ममा यी उडिसक्छन् । स्तनको माग कति चड्दो छ, तपाईंलाई के थाहा ! भोलि नै यो आठ हजार जोडीमा बिक्छ ।”
“एक जोर बीसबाइसे स्तनको आठ हजार पर्दोरहेछ !” नेपुलक स्वास्नीलाई उत्तर दिन्छ । स्वास्नी एक पटक जिब्रो काढ्छे र पोइको उत्तर दोहोर्याउँछे– “एक जोरको आठ हजार !” एकछिन गमेर अनुनयपूर्वक पोइको नजिक गई भन्छे– “एउटा कुरा भन्छु मान्ने होइन त ! अन्यमनस्क भावमा नेपुलक सोद्छ– “के ?” “मलाई पनि एक जोर बीस बाइसे स्तनको सारै रहर लागेको छ । आफ्नो बेचेर नपुगेको पैसा थपी किन्न पाए कस्तो हुन्थ्यो !”
“कुन आँखा फुटेकीले किन्ली र तिम्रो बेलुन फुटेजस्ता स्तन ।” नेपुलक स्वास्नीतिर फर्केर झोक्किन्छ ।

“आँखा फुटेकीले आँखै किनिहाल्छे नि ! सुटुक्क लगेर बेचिदिऊँ कसले थाहा पाउँछ र मैले स्तन बेचेको ?” नेपुलकको मुखाकृतिमा रिसले घिनको गुइँठा पर्यो, छ्या कस्तो जुग आयो ।
“बुझ्नुभयो, जुग अर्के आयो ।” रिसेप्सनिस ठिटीले सो–रुममा हिफाजातसाथ राखिएका मुटुहरू ददेखाउँदै भनी– “आजको जुगमा पैसाले साथ दियो भने मान्छै हजारौँ वर्ष बाँच्न सक्छ । एक अमेरिकी धनपतिको कुरा सुनिहाल्नुभयो । २२५ वर्षको उमेरमा यसपालि फेरि उनले आफ्नो मुटु फेरेछन् । औषधिविज्ञानको कत्रो प्रगति !”

“हो, औषधिविज्ञानको उन्नतिले गर्नसम्म गर्यो । मान्छे पनि मोटरझैँ फङ्ल्याङफुङ्लुङ फुक्लने भयो, टाकटुक जोडिने भयो, कृत्रिम ट्युबमा बच्चा जन्मने भयो, तर शक्ति र सम्पत्ति नहुनेहरूको निमित्त के भयो ?” नेपुलक गम्भीर मुडमा सोच्तैथियो । रिसेप्सनिस्ट सुकुमारीले अर्कै सोकेस देखाउँदै भनी– “लौ, तपाईंले नाक खोज्नुभएको हाइन ? कुन नाक हाल्नुहुन्छ ? रसियन नाक तपाईंको बनोटमा अलि म्याच गर्दैन । अमेरिकी नाकको कलरै नमिल्ने भइहाल्यो, चिनियाँ नाक हाल्नुहोस्, तपाईलाई मङ्गोलियन टाइपकै नाक सुहाउँछ । अचेल फेसन सानो नाकको छ बुझ्नुभयो ?” नेपुलकले मुन्टो हल्लाउँदै भन्यो– “मलाई त नेपाली नाक नै दिनुहोस् बा, हिसी र रङ दुवै फिट हुन्छ ।” तर रिसेप्सनिस्ट तरुनीले नेपाली नाक पाउनै मुस्किल छ भन्दै टिप्पणी गरी– “छन त एक दर्जन नेपाली नाक छन्, तर यी सबै विदेशीको अडरमा लिइराखेका, आखिर विदेशी मुद्रा कमाउनु पनि त पर्यो । हाड हार्मोन्स सबै विदेशबाट झिकाउनु पर्छ । फेर्नै पर्ने भएपछि नेपाली नाक नै टाँस्नुहुन्छ त ? ल, यो इन्डियन नाक हाल्नुहोस्, सस्तो, राम्रो, बलियो, मलाई त यस्तै मन पर्छ ।”

नेपुलकलाई त्यो नाक अलि असजिलो होला जस्तो लाग्यो– वास्तवमा उसलाई आफ्नो शरीरमा बेजातको अङ्ग जड्ने मन छैन । तर ऊ कुरा टार्न खोज्दै भन्छ– “यी नाक बेच्नेहरूले युरोपियन नाक हालेर गए होलान्, होइन ?” ठिटीले खिसीको भावमा मुख बङ्ग्याउँदै भनी– “ती तपाईंजस्ता फेर्न चाहने कहाँ थिए र ? भरिया न हुन्, एक मानो रगत बेचेर एक पाथी मट्टीतेल किन्छन् । आफ्ना साबुत अङ्ग बेचेर यहाँ तपाईंजस्तो भलाद्मी वा पर्यटकले फेरेर जगेडा रहेका चेप्टानेप्टा, लुला, बाङ्गा अङ्ग सस्तोमा टाँस्छन्, जान्छन् । अझ कति त बीसतीस रुपियाँमा प्लास्टिक अङ्ग लगाई जीवन टार्ने नियतले फर्किन्छन् विचराहरू ।”

“धनले गरिब भए पनि स्वास्थ्यले त उनीहरू धनी नै थिए, औषधिविज्ञानले उनीहरूको त्यही धन पनि खोसी विकृति र विकलाङ्ग त पारेन ?” नेपुलकले लामो सास फेरेर गम्भीर वैकल्य प्रकट गर्यो । रिसेप्सनिस्ट सुकुमारी मुसुक्क हाँसी– “तपाईं मान्छे सारै भावुक हुनुहुँदो रहेछ, सोकेस हेर्दैमा यति विकल हुनुहुन्छ भने मेरोजस्तै यहाँ काम गर्नुपर्यो भने त तीन दिनमा तपाईंको टाउकै फेर्नुपर्ने हुुन्छ कि क्या हो ! तपाईंलाई थाहा छ, यहाँ राखिएका प्रत्येक अङ्गको एकोटा करुण कथा छ । ऊ ती कान एउटा सारै सुन्दर नेपाली केटाका हुन् । मलेरियाले मर्न आँटेको बाबुलाई औषधि गराउन नसकी हिजो मात्र उसले आफ्नो दुवै कान बेचेर प्लास्टिकका कान टाँसिइगयो ।”

नेपुलक ट्वाल्ल परेर ठिटीको कुरा सुनिरहेथ्यो, उसले फेरि थपी– “बुझ्नुभो, एकथरी त्यस्ता छन्, अर्कोथरीको कथा सुन्नु हुन्छ भने हिँड्नुहोस् पल्लो कोठामा, त्यहाँ आजै लिएका नाक र कानहरू छन् । एकजना दरिद्र बूढालाई अस्ति हैजा लागेछ, बेलामा औषधि नपरेकाले उनी बाँच्न नसक्ने भए । उनका छोराहरू हिरिकहिरिक हुन लागेको बाबुलाई झ्याइँकुटी पार्दै दगुराएर यहाँ ल्याएर भने– “नमर्दै यिनका साबुत जति अङ्ग किनिदिनुहोस्, ताकि उनलाई पोल्ने दाउरा किनेर बाँकीबक्यौता बाँडीचुँडी गरी अलिक दिन हामी पनि पेट पाल्न सकौँ ….” म त त्यो विचराको चिरफार हेर्न नसकी एक बोतल हाइल्यान्ड ह्विस्की लिएर ढोका थुनी बसेँ ।”
नेपुलकले भन्यो– “कस्तो आजको विवसता !”
सुकुमारीले भनी– “यो हो आजको वास्तविकता !”
तर नेपुलककी स्वास्नीले आफ्नो पोइले सुनाएका यी घटना र टिप्पणीहरू राम्ररी बुझिन । उसको मन छोराले गरेको उपद्रोतिर गइरहेको थियो । ‘अहिले ऊ इन्तु न चिन्तु भई लडेको छ, के गर्नु त अब अर्को पाउँला !” तर ऊ छोरो पाउँदाको सम्झिन्छे आङ जिरिङ्ग हुन्छ, नाइँ ऊ रेडिमेड बच्चा किनेर ल्याउँछे । अँ, त्यसोभए उसलाई पाठेघरको के जरुरत ? यो बेचिदिए पनि हुन्छ । बल्ल समस्याको समाधान निस्कियो, खिसिक्क हाँस्तै उसले पतिलाई साधी– “अब मेरो पाठेघरको के काम छ हगि ? यही बेचेर स्तन लिन पाए कसो होला ?”
नेपुलकको दिमाग चक्कराउँदै अङ्गपरिवर्तन केन्द्रको अर्को कक्षमा पुग्दछ । एउटी सोझीखालकी महिलासँग रिसेप्सनिस्ट ठिटी सोधिरहेकी हुन्छे– “के तपाईंका बच्चा छैनन् ?”
“छन्, तर दुइटै रेडिमेड किनेका, आफ्नै पाठेघरमा बनेका बच्चाको म्वाइँ खाने मेरो जिन्दगीमा एउटै धोको छ । त्यसैले एक तोला विशुद्ध हिमाली वीर्य आफूमा भित्र्याऊँ भनेर आएकी !”
“कस्ती हरिलठ्ठक आइमाई…”– नेपुलकलाई हाँसो उठ्यो, “कुनै लोग्ने मान्छेसित पोइला गए त भइहाल्यो नि ।” उसले प्वाक्क भन्यो । सोझी महिलाले सोझै तालमा उत्तर दिई– “लोग्ने त भइहाल्नु हुन्छ नि, मालिकले मेरो पतिसित आफ्नो सम्पत्ति साटिदिए । कुरा बुझिहाल्नुभयो होला, आज हाम्रो घर छ, मोटर छ, जग्गा छ, जागिर छ तर …. ।”
“म केही सहयोग गर्न सक्छु कि ?” नेपुलकले अनकनाइ अनकनाइ भन्यो । महिलाले आफ्नो सतीत्वबारे निकै लामो व्याख्या गरी र भनी– “म खाली वीर्य चाहान्छु, सतीत्व बेच्न चाहान्न ।”
नेपुलकतिर फर्केर मुस्कुराउँदै सुकुमारीले भनी– “उन्नइसौँ शताब्दीको अवशेष पनि यो देशमा अझै बाँकी छ ।” नेपुलकले महिलालाई आश्वासन दिँदै भन्यो– “तपाईंको सतीत्व मैले किन्न खोजेको होइन, एक तोला वीर्य तपाईंलाई निःशुल्क दान दिन खोजेको मात्र हो ।” केहीबेर अन्यमनस्क भई महिलाले सुकुमारीतिर हेरिन्, ऊ मुस्कुराउँदै अर्को कक्षतिर लागी ।

केहीबेरपछि नेपुलक र महिलाको मुखमुद्रा पालैपालोसित हेर्दै ठिटीले व्यङ्ग्य गरी– “कन्ट्याक्टरको कमिसन कसले दिने नि ?” महिलाले मुख रातो पार्दै केटीलाई प्याट्ट हिर्काई । यसो गर्दा सुकुमारी त पिलिक पिलिक गर्दै रुन पो थाली । नेपुलक फेरि जिल्ल पर्यो । आखिर यति सारो दुख्ने गरी कहाँ हो र उसले ? तर यो चनमती किन रुन्छे ? उसको दिमाग रन्थन्यो । झनझन रुँदै आफ्नो छातीमा लिप्सन आएकी महिला आत्तिई र शिष्टाचार पनि देखाउन नभ्याई निस्किहाली । ढुनमुनाएकी सुकुमारीलाई समाएर थुमथुम्याउँदै नेपुलकले सोध्यो– “तिमीजस्ती मान्छेलाई पनि यस्तोविधि रुन मन लाग्छ ?” सुँक्कसुँक्क गर्दै केटीले आफ्नो मन फोई– “ट्युबमा जन्माएकी भन्दैमा म आर्टिफिसियल मान्छे हुँ र ? तपाईंजस्तै कुनै लोग्नेमान्छे र उनीजस्तै कुनै स्वास्नीमान्छेको रगत मिसिएर जन्मिएकी त हुँ नि ? फरक यति हो– तपाईंहरू आफ्ना नातागोता चिन्नुहुन्छ, स्नेह, ममता पाउनुहुन्छ, मलाई आफ्नै विगत–आगतको पत्तो छैन ।”
उसको सुकुमार अनुहार मुस्कुराउँदै नेपुलकले सोध्यो– “के तिमीलाई आफ्नोबारे केही थाहा छैन त ?”
“म अमेरिकाको कुनै लेबोरेटरीमा जन्मिएकी थिएँ, एन्थ्रोपोलोजीको आधारमा बुझ्दाबुझ्दा म नेपाली रगतकी प्रडक्सन हुँ भन्ने लागेकोले यहाँ आएर नोकरी गर्दैछु । मेरो हुलिया यति हो ।” मायालु स्वरमा यति भनेर सुकुमारीले आफ्नो मुन्टो नेपुलकको छातीमा टाँसी, नेपुलक रोमान्चित भयो, उत्तेजित भयो । उसका औँलाहरू सुकुमारीका अङ्गप्रत्यङ्गमा चलमलाएर छिट्टै उसलाई निर्वाङ्ग पारी उधार्न कस्सिए । तर आफूले बोल्न नपाउँदै सुकुमारीले एउटा फिलिङ्गो छोडी– “तपाईं नै मेरो बा भइदिनुभएको भए कस्तो हुन्थ्यो हगि ?”

नेपुलक जिल्ल पर्यो । उसभित्रको पितृत्व तर्र आँखाबाट झर्यो र नेपाली नाक राखेको सोकेसमा तप्पतप्प थोप्लिरहेको उसले निकैबेरपछि चालपायो । यो पनि थाहा पायो– त्यसैबेला एकजना साहेब ९० वर्षको उमेरमा आफ्नो अङ्गप्रत्यङ्गको ओभरहल गराई सुकुमारीसित विवाहको प्रस्ताव राख्न आएका थिए ।
“नाक फेर्ने भए छिटो छान्नुहोस्, काउन्टरमा ग्राहक र बिक्रेताहरूको भीड लागिसक्यो ।”– निकैबेर पछि सुकुमारीले नेपुलकलाई भनी । नेपुलकले गम्भीर मुद्रामा भन्यो– “भैगो नानी, मलाई नेप्टै नाक भए हुन्छ, उमेर पनि त पचास पुग्न लाग्यो ।”
“ए, त्यसो भए तपाईंलाई न्यु स्टेटकी मैयाँले छाँट पारेर पगालिसकिछन्, लौ, उसैलाई ल्याएर बस्नोस्, आजदेखि हाम्रो विवाह विच्छेद ।”– नेपुलककी स्वास्नीले एक सासमा रन्कँदै भनी र फन्कँदै कोठाबाट निस्की पनि हाली ।
एकछिन जिल्ल परेर नेपुलकले सोध्यो– “सानु कहाँ छ त ?” फर्कंदै नफर्की स्वास्नीचाहिँले जवाफ दिई– “कुन्नि, त्यता खाटतिर मरिराखेको होला ।” नेपुलकले छोरोको लास छामछुम पार्यो– त्यसमा टाउकै थिएन ।

(भैरव अर्यालका हास्यव्यङ्ग्य सङ्ग्रह (२०६०) बाट)
प्रस्तुति : मोहनप्रसाद दाहाल

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल