कथा महिला हिंसा अनि दोषी आइमाई

-  |   दीपक घिमिरे

कथा महिला हिंसा अनि दोषी आइमाई

दिनभर रिक्सा दौडाएर थाक्ने लाले घरमा गएर पनि आनन्दले बस्न नपाउने भएसी दारु पिउन सिकेको छ । दारु लालेका बाले पनि खाएनन, अरु दाजुभाइले पनि खाएनन् तर लालेले पोहोर सालको दशैंदेखि सिक्यो, कारण उसकी श्रीमती तिलाको कचकच ।

अनेक बहाना झिकेर झगडा गर्ने तिलाकै कचकचलाई भुल्न उ दैनिक एक गिलास लोकल रक्सी चढाउँछ । अनि घरमा आएर मस्तले निदाउँछ । सुतेको लालेलाई घच्घच्याउँदै तिला कराउँछे– ‘साले जड्याहा ! यस्ता जाँठा पोइ हुन भन्दा त बिधुवा बस्न ठीक ।’

झगडा दैनिक हुन्छ तर आवाज मात्र तिलाको । लाले केही बोल्दैन । लालेको घरमा हुने हरेक गतिविधि हामी छिमेकीले एक–एक चाल पाउँछौ । सामान्य झगडा उनीहरु आफै मिलाउँछन् । आधा घण्टा तिला कराएसी आफै शान्त हुन्छे अनि घरै शान्त भैहाल्छ । झगडाले उग्र रुप लिन थाल्यो भने मेरा बा गएर कुरा मिलाउँछन् । कहिले नाकमा घाउ हुने गरी तिलाले लालेलाई कुटेकी हुन्छे त कहिले लगाएका लुगा नै च्यातिएका हुन्छन् ।

यही तिलाको आनीबानी सहन नसकेर लालेले रक्सी खान सिकेको हो । सिकाउने चन्द्रकान्त बाजे हुन् । भन्नेहरु त चन्द्रकान्त बाजेलाई गाली गर्छन् तर म ठीकै गरे भन्छु । कमसेकम लालेले सुखदुखको साथी त भेटाएको छ ।

लालेले रक्सी खान थालेपछि तिला पनि अचम्म परेकी रैछे । अस्ती पँधेरामा आमासँगै भन्दै थि रे– ‘उनले रक्सी खाएर आएसी बरु ढुङ्गा बोल्ला तर उनी बोल्दैनन् । अरु रक्सी खाएसी दानव बन्छन् तर लाले देवता बन्छ ।’

साँच्चै लाले देवतै थियो । तिला जति कराए पनि उसले एक शब्द फर्काउँदैनथ्यो । हिजो त तिला एक हजार रुप्पे दिएन भनेर कराउँदै थिई । ‘साले खातेसँग बिहे गरेछु । एक हजार रुप्पे दिन नसक्ने नाङ्गो ।’

यतिभन्दा पनि लाले रिक्साको टायरमा हावा चेक गर्दै, चेनमा ग्रीज गर्दै बस्यो तर तिलालाई एक शब्द फर्काएन । बाटोमा भेट्दा मैले सोधे– ‘झनक्क रिस उठ्दैन दाइ तिम्लाई ?’

खिस्स हाँस्दै भन्यो– ‘रिस उठेर के गर्छस् जेठा, एक झापट लगाए भने अड्डा अदालतले मलाई दोषी ठान्ने हो, महिला अधिकारवादीहरु मलाई समात्न आउने हुन् । छोराछोरीको अनुहार सम्झेर सहन्छु ।’ आहै कति मीठा छन् लाले दाइ ।
तिलाको कचकच मेरी आमैलाई पनि सहिनसक्नु हुन्छ । उता, तिला कराउन थालेसी यता आमाले भन्नुहुन्छ– ‘कुटाई नपुगेकी आइमाई ! जगल्टाएर दुई झापड गालामा दिनुपर्छ अर्को दिन चुप हुन्छे ।’

बा पनि यस्तै भन्नुहुन्छ– ‘अगतिली आइमाई ! यस्तै अलच्छिनी आइमाईले गर्दा हो समाज भाँडिने । त्यत्रो दुःख गर्ने पोईलाई टोकेर के पाउँदी हो ?’

लालेलाई चिन्ने सबै दुनियाँ तिलालाई गाली गर्छन् । तर कानून तिलाकै पक्षमा हुन्छ त्यसैले पनि लाले हात छाड्दैन । भन्छ– ‘रिसले खुन उम्लेको हुन्छ । तर समाजले स्वास्नी कुटुवा नामर्द भन्ला भनेर सहन्छु भाइ ।’

साँच्चै लाले निक्कै सहनशील मान्छे हुन् । कचकच सहन नसकेर दारु सिके तर हात हालाहाल गर्न कहिले सिकेनन् । बिहान उठेदेखि रिक्सा तान्दै भविष्य खोज्ने लाले स्वास्नीपीडित हो । उसले खाएका कुटाईका डाम जहिले देख्न सकिन्छ । तर उ कहिले पनि कहीँ उजुरी गर्न गएन । सधै हुने झगडा अनि तिलाले छाडेको झटारोले लागेको चोटलाइक सधै दारुको कमाल भन्छ लाले ।

एकदिन नाकको टुप्पोमा भएको निलो डाम अनि खुल्सेक्क गाला देखेर मैले सोधे– ‘भाउजुको कुटाई हो ?’
ऊ हाँस्दै भन्यो– ‘हैन भाइ, हिज अलि बढी भएछ , रिक्साबाट लोटे ।’ उसको कुरा मैले पत्याउने कुरै भएन । उनीहरुको झगडा दैनिक देख्ने म छु ।

पहिले–पहिले भर्खर बिहे भएको बेला उनीहरुको झगडा मिलाउन शहरबाट महिला अधिकारबादी अनि संघसंस्थाबाटै मान्छे आउँथे रे । पेटमा पहिलो सन्तान बोकेकी तिलाको रुवाई सुनेर ती मान्छेहरु लालेलाई निक्कै ठूला–ठूला धम्की दिन्थे रे । त्यसैले पनि लाले डराउँछ हात हालेर पिट्न ।

स्वास्नी कुटेर रिस त शान्त होला तर घर शान्त हँुदैन भन्ने लाले कति अभागी छ भने पोइ कुटेर शान्त हुने तिला उसकी स्वास्नी हो । कहिले काहीँ त छोराछोरी टप्प टिपेर अन्तै बसाई सरु भन्ने मनमा पलाउँछ रे लालेको मनमा तर सक्दैन बसाई सर्नुभन्दा सहनु बेस ठानेरै बसेको छ लाले ।

दैनिक झगडा, दैनिक एक गिलास अन्न दैनिकको रिक्सा तन्काईबाट शिथिल हँुदैछ लाले । १० रुप्पेको एक गिलास लोकल अनि एक टुक्रो अदुवा या एक पोटी लसुनले तिलाको झगडा सहने लाले आजभोलि बेलुका खान नखाएरै दुब्लाउँदै गएको छ ।

लमही बजारमा टन्नै भित्रियका अटो रिक्साले लालेजस्ता पुराना रिक्साको कमाई खोसिदिन थालेपछि कमाई पनि हँुदैन लालेको । तर घरमा तिलाको कचकच उस्तै छ । ‘लौ कान्छीलाई छाडेर आउँछस् दिनभरको कमाई ?’

यी र यस्तै प्रश्न गर्न थालेकी छ, तिला । लाले कमाई नहुँदा भएको तनाबमा अर्को आरोप सहन बाध्य छ । कान्छी राखेको आरोप । तिला पहिलेको जस्तै कमाई खोज्छे । लाले मरी–मरी रिक्सा पेल्दा पनि आधा कमाई गर्न सक्दैन । तर वचन लगाउँदैन, आफ्नै सुरमा हुन्छ लाले ।

अघिपछि जस्तै आज फेरि उनीहरुको घरमा झगडा हँुदैथ्यो । अरु दिन बा गएर मिलाउनुहुन्थ्यो । आज म आफै गए । लाले रिक्सामा लम्पसार परेर सुतेको थियो, तिला दाउराले लालेलाई आक्रमण गरी । म अघिल्तिर थिए । छेक्दा–छेक्दै तिलाले छाडेको झटारो लालेलाई छोएर मात्र गयो ।

लाले उठेर भित्र जाँदै थियो, उडेर राउन्ड किक स्टाइलमा तिलाले गरेको आक्रमण सफल हुन सकेन । तिला मूल ढोकामा नराम्ररी बजारिन पुगी । टाउकोमा ठूलै चोट लाग्यो । भलभली रगत बग्यो, अनि लाले र म मिलेर उसलाई उठाएर आँगनमा ल्यायौ । रगत रुकेन अनि सामान्य पट्टी बाँधेर नजिकै अस्पताल पु¥यायौं ।

सामान्य मल्हमपट्टी पछाडी हामी घर आयौं, तिला अस्पतालको चौरमै थिई । लाले र म घर पुग्दा पनि तिला घर आइन । लाले तिलालाई खोज्न जाने तयारी गर्दै थियो ।

एक्कासी घरमा तीन जना पढे–लेखेका आइमाई अनि दुई जना पुलिस लालेको आँगनमा झुल्किए । अघि–अघि तिला थिई । उसले लालेलाई देखाउँदै भनी– ‘यहि हो अपराधी । यसले हो मलाई मार्न खोजेको ! यसलाई समात्नु ।’

बिचरो लाले दंग प¥यो, म आफै पनि दंग परे । पुलिसले लालेलाई च्याप्प समाते । तिला रुदै ती आइमाईलाई भन्दै थिई– ‘यसले कान्छी राखेको छ बजारमा । कमाई भरी उतै छाडेर आउँछ । घर चलाउने रुप्पे माग्दा मार्न खोज्यो ।’
ती महिलाहरुले तिलाको कुरा सुनेर लालेलाई थर्काउँदै भने– ‘महिला हिंसा गर्ने ? अझ जेठी राम्ररी पाल्न नसक्नेले कान्छी राख्ने ? अब बुझ्छौ महिलाको तागत ।’

लालेले हात जोड्दै भन्यो– ‘झुटो आरोप नलाइबक्सियोस्, उसलाई अहिलेसम्म हात छाडेको छैन, साक्षी छन्, हजुर ।’ म अगाडि बोल्न खोज्दै थिए । पुलिसले भने– ‘आवश्यकता परे हामी प्रहरी कार्यालयमै बोलाउँछौ, उतै भन्नुहोला ।’ लालेलाई हतकडी लगाएर अपराधीजस्तै लिएर गए । हामी छिमेकमा हेरेको हे¥यै भयौं । सबैले देख्यौ महिला तागत ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल