कथा : ‘आकृति आई मिस यु !’

-  |   रामु ओली

कथा : ‘आकृति आई मिस यु !’

ramu-oli-1‘‘के ल्याऊँ म्याम, तातो कि चिसो ?” वेटरले उनितिरै आँखा सोझ्याउँदै सोध्यो ।

साला ‘‘के ल्याऊँ सर” पनि त भन्न सक्थ्यो नि ! कत्ति न उसैको म्याडम भए झँै ! मेरो पारा नै तातियो त्यो वेटरको कुरा सुनेर । अझ भएन भनेर उनको वक्ष स्थलमै आँखा गाडेको छ । उठेर झ्याम्मै गालामा हिर्काउन मन लाग्यो । तर सम्हालिएँ, जसोतसो । सम्हालिनै पर्ने थियो । नत्र उनले के सोच्लिन् ? डर पनि थियो ।

हुनत गल्ती वेटरको पनि थिएन । उनको आकर्षक शरीर नै त्यस्तो थियो कि उनलाई हेर्ने जो कोहीको आँखा एकचोटि त्यही गएर पक्कै रोकिन्थ्यो । मलाई पनि उनको पुष्ट वक्षस्थललाई हेर्दै आफ्नो चिसिएको आँखालाई सेक्न मन थियो । तर त्यति हिम्मत ममा कहाँ हुनु ! त्यसैले त मनभित्रको पुरुष यौनिकता लालचले घुट्घुटी थुक निल्दै थियो । जसरी प्यासी बटुवा घन्टौं भौँतारिए पछि भेटेको इनारमा डुबुल्की मार्दै प्यास मेटाउन प्रयत्नशील रहन्छ । त्यसरी नै बन्द आँखाले त्यो प्रयत्न गर्दै थिएँ ।

एकमनले त्यो वेटर लाई सोलुट गर्यो र भन्यो ‘‘वाह तँ साच्चिकै महान होस्, जो आफ्नो आँखाको प्यासविना हिचकिचाहट मेटिरहेको छस् । भन्ने र सोच्नेले त यहाँ जे पनि भन्छन् र जे पनि सोच्छन् । तर महान त्यही हो । जो सुन्दरतालाई आखाले कैद गर्ने सामाथ्र्य राख्छ । जो कसैको प्रवाहविना अरुको भावनालाई आफ्नो कोमल नशालु नयनले सम्मोहनमा पारी आफूलाइ तृप्त पार्छ ।” ࢒

‘‘के मैले पनि त्यही फर्मुला आपनाउनु पर्छ त ?”

‘‘होइन, होइन सायद उसलाई यो भल्गर लाग्न सक्छ कि ?” मनमा अनेक तर्क बितर्क आउँदै थियो ।

‘‘ह्याँ जाबो वेटरले त्यसरी आँखै गाडेर हेर्दा त केही नहुने, म त उसैको टेबुलमा, उसैको निमन्त्रणामा, उसैको विपरीत दिशामा बसेको छु । आमनेसामने दुई विपरीत लिङ्गीको आँखा जुध्नु कुनै अनौठो पनि त होइन ! आँखा जुध्ने क्रममै आँखाभन्दा तलतल मेरो आँखाले भ्रमण गर्नु सामान्य हुनेछ । कहीँ कतै रोकियो भने त्यो आँखाको दोष पनि त हुँदैन । किनकि आँखा त प्रकृतिप्रेमी हो, सुन्दर चिजमा रोकिनु र मनोरञ्जन लिनु उसको अधिकारको कुरा हो ।” मनले यतिभाती कुरा सोचि सक्यो तर मेरो आँखा निहुरिएकै थियो । मानौ म नवनबेली दुलही हु । जो आफ्नो श्रीमानको घर प्रवेशसँगै लज्जित मुद्रामा आफ्नो घुम्टो उठाउने प्रयत्न गर्दैछ । लाज र डरले विछिप्त दुलही जस्तै म यहाँ उनको अगाडि विछिप्त थिए ।

‘‘अह ! म त्यो दुलही जस्तो होइन । जो लाजले विछिप्त भैरहने । मत २३ वर्षीय युवक हुँ । जो आज सुन्दर केटीको निमन्त्रणा स्वीकार गरिरहेको छु । ‘‘आफैलाइ सम्झाउन खोजे, आत्मबल जगाउने कोसिस गरे र हेरे एकटक उनको सुन्दर आँखा, ओठ गला हुँदै त्यो अति विशिष्ट वक्षस्थलमा ।
हरियो सुट उनको शरीरमा टाँसिएको थियो । जसले उनको प्राकृतिक सुन्दर शरीरलाई रङ्गरोगन गरेको छ । मलजल प्रदान गरेको छ भन्न मलाई कुनै कन्जुस्याइँ लागेन । तर मेरो आँखाले धेरै लामो समय भ्रमण गर्न भने सामर्थ्य राखेन । मानौं उनको त्यो कसिलो बक्षस्थलले मलाइ मुर्झाउन विवस पारेको थियो । मानिसको स्पर्शले मुर्झाउने एक प्रकारको वनस्पति जस्तो ।

‘‘ओइ ! के हेरेको ? कहिले नदेखेको जस्तो ! अलिकति लाज मान्दैनौं । यही हेर्न आको थियौं ?” उ मलाई मेरो एकाग्रता चिर्दै एकपछि अर्को शब्दले हप्काउदै आफ्नो लतृएको सललाइ घाटिमा ल्याइन र एक फन्को बेरिन ।
‘‘कसरी हप्काउन सकेकी ! कत्तिन उसैको ब्वाइफ्रेन्ड जस्तो । ५० रुपियाँको कफी खुवाएर १०० रुपियाँको हप्काउँछे । यही हप्काउनै का लागि बोलाकी जस्तो । त्यो वेटरले आँखा गाडी गाडी हेर्दा केही भनिन, मलाई भने खाउलाझैँ गर्छे । कतिन यसैको मात्र होला जस्तो । सबै केटीको त हुन्छ । यसको अलि बेसी के राम्रो र मिलेको छ । मै हुँ भन्दी रैछ ।” उनको मुखमा भन्न नसके पनि मनमनै भनेर मन लाई शान्त पारे ।

सँगै बसेको ४५ मिनेट बित्यो । गिलासको कफी सकियो । तर मेरो मौनता सकिएको थिएन, नत उनको हप्की नै सकिएको थियो । त्यही बहानामा लामै लेक्चर दिइन् । यत्तिको लेक्चर त मैले आफ्नो आमाको पनि खाको थिएन, नत स्कुलमा नैतिक शिक्षा पढाउने मेडमकै ।

‘‘दारु पिउँछौ, मगाइदिऊँ ?” केही नम्र भई सोधिन् ।
तर त्यो सोधाइ पनि चित्तबुझ्दो लागेन । सायद यही प्रश्न साथीहरुले सोधेको भए खुसीले लामै छलाङ लाउथ्यो होला ! रगतको हरेक थोपा खुसीले गदगद हुन्थ्यो होला ! तर उनको यो सोधाइमा पनि कति हप्की लुकेको होला भनेर मेरो सिक्स सेन्सले भनिरहेको थियो । त्यसैले भने– मैले दारु पिउदिन, मलाइ दारुको एलर्जी छ ।”

हा हा हा, ऊ हाँसी मात्रै, बेलाबेलामा उनको चोर औंला मतिर सोझिन्थ्यो ।

‘‘किन हासेको ? साँचै म दारु पिउँदिन । पहिले पहिले कहिले काहीँ बियर पिउँथे तर आजभोलि त्यो पनि छोडिसकेँ, बरु भन् मेरो मोबाइल नम्बर कहाँ बाट पायौं ?” दारु नपिउने सफाइसँगै उत्सुकताको प्रश्न गरे ।

‘‘तिमी मसँग झुट नबोल, तिमी दारु पनि पिउँछौ र तिमी राम्रो गजल पनि लेख्छौ । बागेश्वरी पब्लिक क्याम्पस याद छ ? अनि त्यो वेलकम प्रोग्राम ? जहाँ तिमी रक्सिले मातेर एउटा गजल बाचन गरेका थियौ ।

‘बगर भन्दै हिडे कति तर त्यो त आलि रैछ ।।
अरु सबै गोरि देखे मेरो चाहिँ काली रैछ ।।’
लड्बडिदै यही गजल भन्दै गर्दा तिम्रो चोर औंलाले मलाई नै देखाउँदै थियौं । तर म काली होइन गोरी छु ।” ऊ फेरि हासी उसै गरी ।

अब पनि मैले लाज मान्नुको कुनै अर्थ नै थिएन । नत झुट बोल्नु को । ऊ सबै कुरा प्रिपेर भएरै आकि छे भन्ने कुरा छर्लङ्ग भैसकेको थियो ।
अनि नम्बर कहाँ बाट पायौ ? त्यो पनि एक हप्तामै”
फेरि पनि ऊ हासी मात्रै ।
वेटर फेरि झुल्कियो । र बोल्यो– अरु केही म्याम ?”
‘‘नाइ पर्दैन ।” उनले भनिन् ।

अहिले भने उसले आँखा सेक्न पाएन । उसले आँखा सेक्न नपाएकोमा म भने खुसी थिए । मैले पहिलो चोटि ह्युमन साइक्लोजि नजिक बाट बुझेको थिए ।

हामीबीच लगभग एक घण्टा तीस मिनेटको केही मौनता र केही बातचित पछि । मैले आफ्नो हात बढाउदै भने ‘‘म आकाश, आकाश क्षेत्री ।”
मेरो हातलाई उनले समाइन् र दुई चोटि हल्लाउँदै भनिन् ‘‘म आकृति शर्मा ।”

‘‘फेक त होइन ?” मैले सोधेँ ।
ऊ अहिले पनि हाँसी मात्र । मलाई भने उनी मेरो हरेक प्रश्न र हर्कतमा हास्नुले हीनताबोधतिर धकेल्दै थियो । सायद यो कुरा उनले मेरो अनुहारमा पढिन् होला त्यसैले भनिन् ‘‘तिमी जस्तो देखिन्छौ त्यस्तो छैनौं ! वास्तवमा तिमी भित्र नारित्व छ र त्यो भन्दा बढी लज्जा ।

‘‘मतलब, कस्तो ?”
‘‘आफै बुझ्न सक्छौ । म जे गरिरहेको छु त्यो तिमिले गर्नु पर्ने हो । र तिमी जे गरिरहेका छौ त्यो मैले गर्नु पर्ने ।”

‘‘मतलब ?”
‘‘आई लाइक यु”
यी शब्द भन्दै गर्दा उनी लजाइरहेकी थिइन् । उनको आँखा टेबुलमै घोत्लिरह्यो, हातले स्कुटीको हेल्मेटलाई खेलाइरहिन । यतिबेला मैले आफ्नो आँखालाई खुल्ला छोडेको थिए । उनको हरेक शरीरको अंग अंगको तस्बिर उतार्न । आँखाले उनको हरेक अंगको तस्बिर लाई डेभलप गरेपछि भन्यो मनमनै ‘‘मलाई पनि तिमी मन पर्यौ ।”

हुनत मेरो मन नै अजीव थियो । मेरो मनले कसलाई पो मन पारेको थिएन र ? दुई खुट्टा, आँखा नाक मुख भएको जम्मै केटलीाई मन पारेको थियो । अस्ति भर्खरै प्रोस्टिचुट हो भन्ने थाहा हुँदा हुँदै पनि त्यसलाई पनि मन पारेको थियो । अझ पाए त बिहे गर्थे पनि भन्नेसम्मको ख्याल न आएको कहाँ होर !
केही छिनको मौनता तोड्दै उनी बोलिन– ‘‘मलाई गलत नसोच, बट आई थिङ्क आई लभ यु ।”

अब हाँस्ने पालो मेरो थियो । हा हा गरेरै टारी दिएँ र भने, ‘‘गफै त होला ! होइन ?”

‘‘होइन, इट्स ट्रु ।”
ओह ! भन्दै टाउको हल्लाएँ ।
हामीबिच फेरि मौनता छायो । अहिलेको मौनताले उसलाई पनि घेरेको थियो । बस हाम्रो स्वासप्रस्वासले भन्दथ्यो– ‘‘तिमीहरु जीवित छौ ।”

पर गमलामा फुलेको सयपत्री फूल हावाको झोक्कासँगै हल्लिरहेको थियो । त्यही सयपत्री फुल जस्तै उनी सुन्दर लाग्दै थियो । किन थाहा थिएन । तर उ मेरा लागि विशिष्ट उपहार बनेर आएकी थिइन् । सायद जो कोहीलाई पनि त्यस्तै लाग्दो हो । त्यसैले उनको हप्की खाएरै बसिरहुँ उनको हप्की सुनिरहुँ, उनको बोलिरहने ओठलाई हेरिरहुँ जस्तो लागि रह्यो । तर जानू कतै थियो त्यसैले भने, जाउँ यार अब, केटाहरू मलाई कुर्दै होलान् । सक्छौ भने ड्रप गर्देऊ,” उसको आँखामा हेर्दै बोले ।

‘‘बरु जाऊँ न रुपैडिहासम्म, पेट्रोल लिनुछ ।” उनी आग्रह गर्दै काउन्टरमा पैसा दिइन् । नाकाबन्दीले नेपालगन्जमा पनि पेट्रोलको चरम अभाव थियो । दैनिक हजारौं मानिस पेट्रोलको लागि सिमावर्ती रुपैडिया बजार जान बाध्य थिए । उनी जस्तै । तर उनको अनुरोध लाई अस्विकार गर्नुको कारण थियो । त्यसैले क्षमा मागे ।
‘‘ल त्यसो भए अब हाम्रो भेट हुँदैन होला !” उनी स्कुटी स्टार्ट गर्दै बोलिन् ।

‘‘किन ? म अलि झस्किँदै बोलेँ । त्यतिबेला सायद मेरो अनुहारको रङ्ग परिवर्तन भएको हुनु पर्छ । त्यो उनले बुझिन होला । किनकि मलाई उनको त्यो शब्दले उकुसमुकुस बनाइरहेको थियो । पानीमा खेल्ने, कुद्ने माछालाई केही छिन सुख्खा जमिनमा राख्दा देखिने छट्पटी ममा उनले देखेकी हुदिहुन । त्यसैले त बोलिन फेरि ‘‘होइन लाटा म भोलि बिहानै बुटवल जाँदै छु अफिसको ट्रेनिङ छ, जम्मा एक महिनाको लागि, त्यसैले त जानु अगाडि तिमीलाई भेट्न मन लाग्यो । किनकि म आउँदासम्म तिमी कहाँ पुग्छौ के थाहा ? त्यसैले तिमीले भाउ खोज्ने मौका पायौं ।”

म हाँसेँ मात्र, जुन उनैले सिकाएकी थिइन र मनमा एउटै शब्दको गुन्जन पराकम्प भयो ‘‘लाटा लाटा लाटा ।”

पतलो हरियो सललाई हावामा हल्लाउँदै स्कुटी रुपैडियातिर हुइकियो । उनको स्कुटीले फालेको धुवाँ र धुलोले साथी कृष्ण कटेजको मुल गेटलाइ धुलाम्य बनायो । यो धुवाँ पनि आज प्रिय लागिरहेछ, मिठास लागिरहेछ । सानो छँदा भटभट गर्दै गाउनै ढाक्ने धुवाँ उडाउदै हिँडेको मोटर बाइकको बसना सुँग्दै गाउँभरी नै डुलेजस्तै आज उनैको स्कुटी पछि दौड्न मन लाग्यो ।
यताउता गर्दागर्दै दिन सकियो । घरतिर हिँडे । घर पुगेर खाना खाएँ । फेसबुक नचलाएको एक हप्ता जस्तै भएको थियो । ल्यापटप अन गरे । फेसबुक खोले । केही नहेरी फेसबुकमा आकृति शर्मा टाइप गरेर सर्च गरे । उनले पहिल ेनै फ्रेन्ड रिक्वइस्ट सेन्ड गरेकी रहेछिन् । एसेप्ट गरे र म्यासेज बक्स खोले । आकृतिले पाँच चोटि ‘‘हाइ” भनेर सेन्ड गरेको म्यासेज थियो । म्यासेज हेरेरै पुल्कित भए । उनी अन्लाइन थिइनन् त्यसैले ल्यापटप अफ गरे र सुत्ने कोसिस गरे, तर आकृति आइरहिन आँखामा मधुरो चित्र बनेर ।

बिहान निद्रा खुलेपछि आँखा खोले । आमा चिया समएर नजिकै उभिनु भएको थियो । मोबाइल हेरे दस बजिसकेको थियो । जानु कतै थिएन । काम पनि केही थिएन । कलेज सकिएपछि आमाले मेरो उठ्ने रुटिनलाई साधारण रुपमा स्वीकार गर्नुभएको थियो । आमाको हातबाट चिया लिए । चिया पिउँदै गर्दा झल्यास्स आकृतिको याद आयो । ‘‘ओ ! हो ! ह्याभ अ नाइस एन्ड सेफ जर्नी त भनुपर्ने, कस्तो भुलक भएछु ।” आफू भुलक हुनुमा पहिलो चोटि रिस उठ्यो ।

छिटो छिटो ल्यापटप खोलेँ । फेसबुक अन गरेँ । र सिधै म्यासेज बक्समा पुगेँ । आकृतिले म्यासेज छोडेकी रहिछ ।” हे ह्यान्ड्सम, म हिँड्न लागेको । एन्ड थ्याङस फोर एसेप्ट, अहिले हतारमा छु । पुगेर कल गर्छु । बाइ एन्ड मिस यु ।”

उनले पाँच घण्टा अगाडि नै यो म्यासेज सेन्ड गरेकी थिइन् । मैले पनि ‘‘मिस यु टु डियर” लेखिदिएँ । एकछिन सोचे अलिबढी त भएन ? मनले अझ कम भएको आभास गरायो । फेरि लेखिदिए ‘‘आई लभ यु आकृति ।” र सेन्ड गरे ।

आकृतिको फोटोहरु हेर्न मन लाग्यो । प्रोफाइलमा क्लिक गरेँ । स्क्रल डाउन गर्दै जादा आँसु खस्न सुरु गर्यो । उसको टाइमलाइन भरी लेखिएका रिप शब्दले मेरो मुटु हल्लाई दियो ।

कान्तिपुर र लोकल न्युजको पेज चेक गरेँ । (ग्यास र तेल बोकेको गाडी पल्टिएर आगलागी ६ को मृत्यु १७ सम्पर्कविहीन) त्यही ६ जनामा आकृतिको नाम थियो । गाडी खासकुसुम नजिकै आगलागी भयो रे जुन बसमा आकृति थिइन ।

आई लभ यु लेखेको म्यासेज हेरेँ । मिस यु टु लेखेको म्यासेज हेरे । जुन अब आकृतिले कहिले हेर्ने छैन । उसको टाइमलाइनमा रेस्ट इन पिस लेखे । हात कापिरह्यो । पोस्ट गर्न सकिनँ । ल्यापटप बन्द गरेँ । लामो सास फेरेँ र भने ‘‘आकृति आई मिस यु”

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल