कविता : फाली

-  |   भीम प्रज्ज्वल

कविता : फाली

धुजा धुजा भएको पुस्ता
अ–अस्तित्वको उद्भव
आफ्नो आकार अवसानसँग
बिझाइरहेको, जाग्ने प्रण पनि तुहिने
फगत एक फाली
आफ्नो यौवन सिध्याएर
धन्य भएको छ
पर तृप्तिमा
स्वयमदूतसँग ।
आरनमा खिरिएर
बन्जर भूमि फसलमा फैसला गराउने
रक्तसिंचनले बीज उमारी
भोक मेटाउन
आफै मेटिएको संसार
उसको पुस्ता
अस्तिवत्व,
फलानोले याद दिलायो
के उसमा आफ्नै चेतना छ ?
सक्छौ पुग्न सङ्लो मुहान
अहँ
असम्भव पारिएको छ
आफ्नै रक्तपसिनाले
निलेको बर्बरता
एक्लै सवार गर्नुबाहेक
आवाज पनि लिन नमिल्ने
नियति बोकेको
के खोज्नु र ?
धुमिल इतिहास ?
अन्धकारमा बिलिन
माटोको गन्धसँग
पानीको प्रवाहमा
आस्थामा लपेटिएको छ
एक अङ्ग बनेर
संस्कार
अवचेतनले धपक्क बालेर बसेको छ
जुन अमृत ठानेर पिलाइएको थियो ।
हलोसँग नाता जोडेर
हलानोसँग कार्यएकता
न्यायोसँग न्याय खोज्न
ओगोसँग अघि बढने
प्रणमा पुगेको
हराएको अस्तित्व फिर्ता ल्याउन
उद्दत भएको छ
एक फाली ।
नेपालगञ्ज बाँके

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल