बेलाको व्यङ्ग्य :अब देश बनाउने दम भा नेपाली ट्रम्प चाहियो

-  |   सरगम भट्टराई

बेलाको व्यङ्ग्य :अब देश बनाउने दम भा नेपाली ट्रम्प चाहियो

sargam-bhattaraiविश्वभरि तरकारीवालीको अपार चर्चा चल्दा चल्दै अम्रिकाँ राष्ट्रपतिको चुनाप सम्पन्न भयो । जाडो मौसम सुरु भएनि अम्रिकाँ राष्ट्रपतिको चुनापले त सप्पैतिर तात्दो रैच । नतातोस् पनि किन र ? सप्पै देशको मसिहा यही अम्रिका, संसारको दादा, डन, ठूल्दाइ जे भनेनि यही अम्रिकाँ । हाम्रा देशका नेता दाइदेखि जेठा दाइका छोराछोरी नातापाता सप्पै यही अम्रिकाँ, हाम्रा मात्रै किन हुनु सप्पै देशका गिदी भा दाइदिदी सबै यही अम्रिकाँ । अनि अम्रिकाकै चुनाप किन गुमनाम होस् र ?

अब चुनाप भएर क्यार्नु र ? नेपालाँ भए अघिल्लो राति भारुदेखि दारु र चिचीदेखि पापा खान पाइन्थ्यो । यहाँ त के खानु र ? जे खाए नि आफ्नै डलर खुट्याएर खाने न हो । त्यही भएर हो कि यहाँ त त्यति सारो हनुमान पनि देखिएनन्, फेसबुकाँ लाइभ भएर बातले हानाहान गरेको यो बबुरोलाई के रमाइलो लागोस् र झ्याम झ्याम्ती हात र लातले हानाहान गरेको देखेको मुन्छेलाई ।

झूठ बोल्नु पाप भन्चन् ः यो बबुरोले अम्रिकाँको चुनापमा हिलारी काकीलाई सहानुभूति त दिएकै हो तर मरिहत्ते चैँ गरेन । आफ्ना दाइदेखि ज्वाइँ सबैले ट्रम्प काकासँग टरम र धरम दुवै नमिल्ने बताएपछि ल त ल हिलारी काकी नै ठीक भन्ने अवस्थामा पुगियो ।

यी अम्रिकानेहरुको भर चैँ हुने रैनच । हाम्रो गहुँ गोरों छालावाला देख्दा ट्रम काकालाई रेसिस्ट भन्दै हिलारीको सपोर्ट गर्ने अनि आफू खैरे खैरे भेटे भने यी हाम्रो भाग खाने विदेशीलाई खेद्नुपर्छ भन्दा रछन् बा ।

हन्मानजी यो अम्रिकाँ झन् भेदभाव हुँदो रच । बाहिर बाहिर हिलारी भनेर मुन्टो हल्लाउनी खैरैहरुले त ड्याम ड्याम्ती डोनाल्ड काकालाई भोट हालेछन् । तिनै खैरे अगाडि आएर आई एम भेरी अपसेट भन्न पनि भ्याए । के के नै मैले नै चुनाव हारे जस्तो ।

आमामा ! अझ यहाँ बस्ने नेपालीलाई पो लाग्याथ्यो चुनापको चटारो । कसैले डोनाल्ड काका जिताउन नेपाल पुगेर ग्रहशान्ति नै गर्न भ्याएचन । कसैले हिलारी काकी जिताउन रेली नै निकालेचन् । फेसबुकाँ दुई पक्षको बातले कुटाकुट भा पनि देखेकै हो ।

ए साँच्चै नेपालाँ भा यत्तिको चम्चागिरी गरेबापत ठूलै पद पाइन्थ्यो होला तर यहाँ त्यस्तो हुनि रैनच । डोनाल्ड काकाको जस्तै ग्रहशान्ति गर्ने हन्मानजी त नेपालमा भा भए त मन्तरी नै बन्थे होला । कठै बरी लै लै ! यहाँ त उही भिडियो फेसबुकाँ सेयर अरेर चित्त बुझाउनी त होलान् ।

आमामा ! मिडिया जतिले त हिलारी काकीलाई जुरुक जुरुक उचालेकै हुन् नि ! तर भोट हाल्ने कुइरे भएसी मिडियाले के अरून् र ? अब हिलारी काकीलाई ढ्याम ढ्याम्ती बसेर जरो गाड्ने र अघि नबढ्ने देखेसी ट्रम्प काकाले बाटो तताइहाले, मिडिया पनि उनकै पछिपछि लागि हाले । जता जता बाहुन बाजे उतै उतै स्वाहा । मिडिया चैँ यताका पुनि दही चिउरे नै हुनी रैचन् हन्मानजी !

यो बबुरोलाई त न त हिलारीले चिनोस्, न त ट्रम्प काकाले चिनोस् र ? बधाई पुनि कसरी दिऊँ दिऊँ भाथ्यो । फेसबुकाँ त सप्पैले के के न आफ्नै जिग्री दोस्तले चुनाप जिते जस्तो बधाई बधाई भनेर रातै बनाका पो थे । मामामा ! चाकरी भनुम् कि लाचारी भनुम् जान्ने नजान्नेर सिँगान फाल्न नजान्नेसम्म सप्पैले बधाई बधाई अरे । कसैले के भनेर बधाई त कसैले के भनेर बधाई ! बबुरो त लास्टाँ दङग खायो नि हन्मानजी ! कसै कसैले त हिलारी काकीलाई सपोर्ट गरेको स्ट्याटस पनि डिलिट गरेछन् !! नसकिने भो बा ! नसकिने भो । आज त सप्पै ट्रम्पवादी पो देख्छु बा ।

ट्रम्प काका पनि झोंकी चैँ हुन् क्या । कैले मुसलमानको खेदो खन्चन्, कैले मेक्सिकनको, कहिले रसियासँग मिल्चु भन्चन । हुँदा अब अम्रिकालाई नयाँ बनाउने रे । आफूले त नयाँ नेपाल हेर्ने भन्दै टाट नेपाल देखेको मुन्छे । आफ्नो घर भत्काएर अरुको घरको चिन्ता गर्ने हिलारी काकीलाई खैरेहरुले धुलो चटाएको यी आँखाले देख्न परो हन्मानजी । यी आँखाले देख्न परो । कस्ता कस्ता विश्लेषक त चिप्लेषक भए हन्मानजी । म बबुरो तटस्थ बसेको पनि गज्जब भो । आज बात चैँ लागेन । धन्न बात लागेन । लागेको भए लातभन्दा पनि धेर दुख्थ्यो होला ।

जे होस् हन्मानजी अब चैँ मिल्नुपर्च हो । काकाले जिते नि काकीले जिते नि हाम्लाई कौवालाई बेल पाको हर्ष न विस्मात ! काम नगरी खान पाइन्न । तर क्यार्नु ! अम्रिकाको नुन खाएसी ट्रम्प काकालाई पनि किन दुत्कार्नु र ? माने नि नमाने नि ट्रम्प काका राष्ट्रपति बन्ने नै भए । कता कता मुलाई त डर पो लाग्या छ हो । कतै मुसलमानलाई जस्तै नेपालीलाई पनि टेँढो आँखाले हेरे भने । मामामा ! ग्रह शान्ति गर्ने हन्मानजी पुरै भिडियोसहित ट्रम्प काकाकोमा हाजिरी हुनु परो । अब हाम्लाई ट्रम्पको बुरी नजर नपरोस् ।

अम्रिकाभरि ट्रम्प काकाका विरुद्धमा रेलीसेली पनि निस्क्यो रे । अब विरोध अरेर क्यार्नु र ? विरोध अर्दैमा काकाले छोड्ने हैनन् क्यारे । अब जे अर्चन ट्रम्प काकाकै हाताँ त हो नि ! संसार भरबाट तिम्रै शरणमा आएका शरणार्थीहरुलाई पाले पुण्य, फाले पाप । देशाँ पुगेर को आइको छ र ? सप्पै घोड़े भाग खान त आया हुन् क्यार । जे भा नि संसारका बा बन्न लाग्या ट्रम्प काकालाई यो बबुरोको बधाई र शुभकामना त कसले सुनाइदेला र ? हिलारी काकीलाई नि सहने शक्ति मिलोस् भन्ने प्रार्थना गर्चु ।

ट्रम्प काका कि जय हो । अब जल्ले जल्लाई भोट हाले नि तिमी पुनि ट्रम्पवादी म पुनि ट्रम्पवादी । ट्रम्प काका सप्पैका साझा । जय हन्मानजी । रक्षा गर । यो डी.भी. पनि बन्द गर । संसारका मुन्छे सबै अम्रिकाँ थुप्रेर विजोग भो ।

हन्मानजी, म अब म पनि ट्रम्पवादी । अब सबै नेपाली ट्रम्पवादी, सबै सबै आप्रवासी ट्रम्पवादी । हाम्रो नयाँ नेपाल झन् बिग्रेर स्याउली सोतर भो हन्मानजी । बरु नेपालको स्वाधीनता बचाउन एउटा अर्को नेपाली दमवाला, तानाशाही ट्रम्पको पो उदय हुन आवश्यक भो त हन्मानजी ।

देश त यथास्थिति र बेथितिवादीले थला पारे । देश बनाउने दम भा नेपाली ट्रम्प चाहियो हन्मानजी ।
इति

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल