कविता : स्वतन्त्रताको हुङ्कार

-  |   प्रकाश विहीन

कविता : स्वतन्त्रताको हुङ्कार

prakash-bihinकसैलाई पर्खाइमा राखेर,
बेसुरमा दौडिएको भगुवा प्रेमीको गाथा होइन
यादहरूका जुलुसहरूले
कुट्नुसम्म कुटेर
फर्किएको सुन्दर पीडा हो ।
स्वर्णिम भविष्यको चिन्तन हो ।
दर्द र खुसीको अद्भूत मिलन हो ।
मेरो कविता

मेरो कविता
हिमालजस्तै अटल
पहाडजस्तै प्राचीन सत्य
हावाजस्तै अदृश्य
कैयन अभाव र चोटका सगरहरू चढेर
भोक र प्यासका महासागर तरेर
बनाएको उचाइ
बचाएको स्वाभिमान
एकाएक आत्माहत्या गरिरहेछन्
बोकेर ‘अछुत’को भार
रोपेर भाला संवेदनामा
लगाएर ताला इच्छाहरूमा
साँचेर जिजीविषा
घाइतेमनहरू
झल्याँस्स ब्यँुझेर चीर निद्राबाट
एकाकार हुँदै,
मृत्यु या मुक्तिको कसम खाँदै,
आत्मसम्मान, पहिचान र समताको खोजीमा
उन्मुक्तिको उडान भर्न
लामबद्ध, प्रतिबद्ध, जझारु मनहरूमा
आशाका आँकुरा हुर्काउँदै
खिया लागेको दिमागमा
घन ठोकेर विचारको
अँध्यारो बस्तीमा
चेतनाको दियो बाल्दा
तिमीले गरेको व्याङ्य र प्रहारहरूलाई
अनुवाद गरेर आफ्नै जिम्मेवारीमा
लेखिएको कविता हो
मात्र तन्नेरीको झोक होइन

मेरो कविता,
कलङ्कित कीर्तिकथा
डुङडुङ्ती गनाएको, सडेर सिनुजस्तै
मनुतान्त्रिक साम्राज्यको स्तुतिगान होइन
कला पनि होइन
अन्तष्करणबाट प्रतिध्वनित
स्वतन्त्रताको हुङ्कार हो
हेला, उपेक्षा र तिरस्कारको चापले बलेको आगो हो ।
शोषण, अन्याय र अत्याचारको गहिराइबाट उठेको ज्वालामुखी हो ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल