कथाः छोरा मेरो कन्यादान गरिदेऊ

-  |   वैकुण्ठ ढकाल

मेरो बाँकी जीवन तिम्रो बाबालाई काम लागेन र त बारबार घर छाडेर जा भनिरहन्छ । उसलाई काम नलागेको जीवन अरु कसैलाई काम लागि हाल्छ कि !

कथाः छोरा मेरो कन्यादान गरिदेऊ

खै केले तान्यो । चुम्बकले फलाम ताने झैं, तानिएँ । अल्लारे उमेर, बढ्दो जवानी । यस्तै यस्तै कारण त होलान । एउटी किशोरी समकालीन किशोरप्रति आकर्षित हुनुको कारण । प्रेम र बास्नाको फरक छुट्याउने उमेर भइसकेको थिएन । यत्ति हो ऊ मलाई मन परिसकेको थियो । मनदेखि नै सायद । यो भन्दा अघि कुनै पनि केटाले मलाई आकर्षित गरेको थिएन ।Baikuntha-dhakal
काठमाडौंमा उस्को कोही पनि आफन्त थिएनन्, शिवाय हाम्रो परिवार बाहेक । जे भए पनि ऊ हाम्रो आफन्त पथ्र्यो । त्यही भएर पनि उसलाई हाम्रो घरमा आउन जान कुनै समस्या थिएन । आउँथ्यो, जान्थ्यो । उसको आगमनले मलाई आभा दिन्थ्यो, जाँदा मलिनो हुन्थें ।

हाम्रो उमेर मात्रै होेइन, कक्षा पनि मिल्थ्यो । हामी एउटै क्लासमा पढ्थ्यौं । छुट्टाछुट्टै कलेजमा ।
काठमाडौंको समाज खुल्ला भने पनि व्यवहार चाहिँ बन्द थियो । त्यहाँमाथि नेवारी समुदाय त झन् भोटेताल्चा ठोके बराबर ।
ऊ काठमाडौंं बाहिरको स्कुल पढेर आएको, आफू परें काठमाडौंकै रैथाने । म पढाइमा ऊ भन्दा ट्यालेन्ट थिएँ । ऊ पनि राम्रै थियो, अङ्ग्रेजी बाहेकका विषयमा । म कन्या कलेजमा पढ्थें । कलेजमा केटासँग सङ्गत हुन पाउँदैनथ्यो । उसको पढ्ने बाहना नै सही मेरो चाहिं पढाउने बाहनामा ऊसँग सङ्गत गर्नु थियो । अर्थात केटा, पुरुष, लोग्ने मान्छेसँगको सङ्गत । पुरुष प्रवृत्तिलाई नजिकैबाट चिहाउने इरादा ।
मलाई घरबाहिर निस्कनै नदिने मेरो परिवार खै किन न हो, ऊसँग निस्कन घुम्न दिन्थ्यो । घुम्न मात्रै हैन, जिस्कन पनि दिन्थ्यो । कुनै अवरोध थिएन । कारण खोजिन कहिल्यै अनि बुझ्न पनि चाहिन । मेरो परिवार ढुक्क थियो । सायद उसलाई अभिभावक ठान्थे । कारण एक मात्र थियो, ऊ आफन्त थियो । तर विहेबारी चल्ने ।
प्रवीणता प्रमाण तहमा हामी दुवै उत्तीर्ण भयौं, एकैसाथ । नम्बर पनि बराबरी जस्तै ल्याएर । सहरले अरु केही नगरे पनि ठूलो सपना देखाउँछ, साना अवसर दिन्छ । सायद विक्रमलाई पनि त्यही भयो । उसको सपना फराकिलो भयो । त्यो पूरा गर्नको लागि ऊ विदेश हानिने प्रस्ताव लिएर आयो । मेरो परिवार पनि ऋण दिन राजी भयो । अहिले मात्रै हैन, अढाई दशकअघि नै हाम्रो समाज विदेश जान सहजै ऋण दिन तयारिन्थ्यो ।
विदेश गयो । लक्की नै रहेछ विक्रम, राम्रै कमायो । दुई वर्षपछि आउँदा काठमाडौंमा घडेरी जोड्न सक्यो । त्यसपछि झन् कमाइ राम्रै भयो । अर्को दुई वर्षको कमाइले घर नै ठड्यायो । हाम्रो छिमेकी नै बनेर ।
विदेश बसाइको आखिरी वर्षमा उसको कमाइ शून्य भयो । उपचारमै उसको पैसा सकिएछ । बिरानो भूमि जे भए पनि साहुले माया गर्ने भनेको कामलाई मात्रै त रहेछ आखिर । त्यो नभएपछि कसले माया गरोस । स्वदेश फर्कियो ।
घरजग्गा बुवाकै नाममा थियो । पठाएको पैसाहरु पनि बाबाकै नाममा । अस्पताल भर्ना भयो, लामो समय औषधी खानुपर्ने र निको हुन समय लाग्ने भनेपछि बुबा अस्पतालको पैसा समेत नतिरी निस्किए ।
विदेशबाट आए लगत्तै उसको र मेरो भेट भएको थियो । सबै कुरा उसले मलाई बताएको थियो । उसको निष्कर्ष भनौं वा पछुतो । धनसँग ज्यान साटें भनेर खिन्न हुन्थ्यो । अस्पतालमा बाबाले देखाएको व्यबहारले हैरान थियो । पहिलो पटक मैले कुनै वयष्क केटो डाँको छोडेर रोएको पहिलो पटक देखें । सानो बेलामा मेरो भाइ आमाको काखमा डाँको छोडेर हुन्थ्यो, खेलौवा यस्तै यस्तै सामान्य माग लिएर । तर विक्रम मेरो काखमै रोयो । आँसुले भिजेका गाला सुससुम्याएँ । आमाले भाइको गाला मुसारे जस्तै गरी ।
अस्पतालको बसाइमा राम्रो सहयोग नपाएको विक्रमले घरमा कसको माया पाउँथ्यो, पाएन । बाबाले राम्रो माया नपाएको उसले भाउजूहरुबाट मानवीय व्यवहार पाउने कुरै भएन । त्यो पनि पाएन ।
फेरि अस्पताल भर्ना भयो । एक हप्तासम्म खाना पुर्याउने काम मैले नै गरें । रातिको समयमा ऊसँग रहने उसका कलेजका साथीहरु भए । एक हप्तापछि डिस्चार्ज भयो । १८ महिनासम्म नियमित औषधी खानुपर्ने गरी ।
उसको घरसम्म छाड्न म पनि गएँ । त्यो दिन धेरै बसिन । साँझ परिसकेको थियो ।
भोलिपल्ट उसको घर पुगें, खाना खाएर मात्रै औषधी खानु भनेका थिए, डाक्टरले । खाना नखाएपछि के औषधी खाओस । परिवारका सबै भोजमा हिँडेका रहेछन् । बिरामीलाई भोकै राखेर परिवारका सबै सदस्य भोजमा ! कस्तो नमिल्दो कुरो ।
यो अवस्था देखेपछि मलाई खपि नसक्नु भयो, उसको भान्छामा गएर पकाउने कुरा पनि भएन । जे होस भनेर अघि पाइला अघि सर्दा पनि भान्छामा ताला लागेको रहेछ ।
बजारबाट चिया र पाउरोटी ल्याएर खुवाएँ । मान्छेमा हरि हराएपछि के हुँदो रहेछ भन्ने कुराको साक्षी बसिरहेको थिएँ । मुकदर्शक भएर । कमाएर पठाउँदा त्यही छोरा सबैको हायहाय अहिले बिरामी हुँदा सबैको छिःछिः र दुरदुर… ।
टीबीको बिरामी थियो, चाँडै मर्छ भन्ने बुझेका रहेछन् परिवारका सबैले । अरु त अरु बाबाले समेत लासमाथि के खर्च गर्नु भन्ने मानसिकता पाले । मर्ने मान्छेका लागि किन लगानी गर्नु ? दुःख बिसाउनु ?

‘विद्या अब मेरो जीवन तिम्रो जिम्मा भो, मलाई बचाऊ, नयाँ जीवन देऊ । रोग त औषधी खाएपछि ठीक भइहाल्छ । स्वास्थ्य रहे धन कमाउँला । यसै पनि तिमीले मलाई टाढा बसेर साथ दिइरहेकी छौ । तिम्रो सहयोगलाई मैले साथको रुपमा हेरेको छु । आशा छ तिमीले मलाई मर्न दिने छैनौ । रोगीको साथ सहज हुँदैन त्यो मलाई थाहा छ । तर त्योभन्दा बढी मलाई थाहा छ, तिमी रोगीलाई हैन रोगलाई घृणा गर्छौ ।’

सबै कुरा गर्यो । उसको घरमा दिनभर कोही थिएन, उसले दिल खोलेर रुन पायो । आफ्नो पीडा बाँड्न सक्यो । त्योभन्दा धेरै मलाई विश्वास दिलाउन सक्यो ।

विक्रमप्रति म पहिलेदेखि नै सकारात्मक थिएँ, त्यहाँमाथि आज उसले साथ र सहयोगको याचना नै गर्यो । प्रेम लिनु हैन, दिनु हो भन्ने आदर्शबाट निर्देशित मलाई उसको कुराले छोयो । मैले उसको शरीरलाई हैन, माया गरेको । अनि शरीरले त झन हुँदै हैन । जन्मदिने आमाबाबा र सबै परिवारले छिछिः गरेको मान्छेलाई अँगाल्न किन तयार हुन्थे र ?

मैले मेरो जिन्दगीको बारेमा आफैंले निर्णय गरें । बुबा मैले बालकैमा गुमाएको थिएँ । जन्म दिने आमालाई पनि नसोधी । विक्रमसँग बिहे गरेँ ।

सबै कुरा भएर पनि केही नभएको सँग विवाह गर्दा के हुन्छ भन्ने अनुमान भन्दा परको कुरा थियो ।
वैवाहिक जीवनको सुरुवाती चरण सुखद रहेन । अहँ सुखको लेस अलिकति पनि थिएन । विवाहको चौथो वर्ष छोरो जन्मियो । अभावै अभावका बीचमा अर्को जिम्मेवारी थपियो । अभाव टार्ने आँट र तागत त थियो तर स्रोत थिएन । यत्तिसम्म कि छोरा बिरामी हुँदा सिटामोल र फलफूल किन्नसमेत पैसा भएन ।

साथीहरु नै स्र्रोत र साधन भएर उदाए । हरसहयोग गर्न साथीहरु तयार भए । छोरो विद्यालय जान सक्ने भएपछि जिन्दगी सहज बनाउने उपायको खोजी गर्ने क्रममा फेरि विदेश नै रोजाइमा पर्यो ।
साथीहरुसँग हार गुहार गरेर पैसाको बन्दोबस्ती गरी विक्रमलाई विदेश पठाएँ । म छोरो हेरेर बसें । राम्रै कमाइ भयो यो पटक पनि विक्रमको । केही वर्षमा घडेरी र त्यसको केही वर्षमा घर बनाउन सकियो । बासको लागि भन्दा पनि त्यो ऋणको घर थियो । रिक्स नै जिन्दगी हो भन्ने ठान्ने मैले ऋणमाथि अर्को ऋण गरें । घरमै पसल सुरु गरियो । यसले त ऋणले टुप्पीसम्म डुबायो । यहीबीचमा अर्को सन्तान जन्मियो, छोरो सानै थियो ।
व्यापार कि अपार भन्छन् । अपार नै भयो, यसले जिन्दगीलाई पार नलगाउने नै भयो । मैले सानो तिनो जागिर सुरु गर्न थालेँ । विक्रम ठेक्कापट्टातिर लाग्यो । ऋण नै भए पनि यत्तिञ्जेल सम्बन्ध राम्रै थियो । तर ठेक्कापट्टामा लागेपछि विक्रमको व्यवहार ठीक भएन ।
उसको साथीहरुसँग बुझ्दा ऊ त अर्कै केटीसँगको पो लागेको रहेछ ।
बाहिरको संग पल्केपछि घर त बिग्रिने नै भयो । कमाई जत्ति सूरा र सुन्दरीमै सक्यो । घर आउँदै नआउने आए पनि झर्कोफर्को मात्रै । एक दिन पनि राम्रो कुरा हुनै पाएन । म त डिप्रेसनको सिकार भएँ । साथीहरु, दाइ र मामाको अनेक उपायले काम गर्यो । ध्यान, योगले काम गर्यो । दुःखमा साथ दिने साथीहरुको उत्प्रेरक विचारहरु पनि मेरा लागि सञ्जीवनी बने ।
मलाई मात्रै हैन, विक्रमलाई पनि सबैले सम्झाए । टुक्रिएको सम्बन्ध जोडियो । हाम्रो सम्बन्ध बिग्रिएको समय भनेर बैंकहरुले ब्याजको मिटर घुमाउन छाडेका थिएनन । चलाई नै रहे । अब एक जनाको कमाइले ऋण तिर्न सक्ने अवस्था रहेन ।
दुवै जना विदेश हानियौं, दुवै जनाको पाँच वर्षको कमाइले ऋण तिर्न सक्ने भइयो । पैसा मात्रै भनेर पनि भएन । छोराहरुलाई सधैं अरुको भरमा राखेर पनि भएन । साथीहरुसँग सल्लाह गर्दा तिमीहरु विदेशै बस यहाँ हामी सब सम्हाल्छौं भन्थे । तर मेरो मनले मानेन । म पनि आमा हुँ नि ? सधैं बाहिर बस्दा छोराहरुले आमाको माया कहिले पाउने ?
साथीहरुको आग्रह अस्वीकार गरी नेपाल फर्किएँ । विक्रमको कमाइ कत्ति हुन्थ्यो ? खर्च कत्ति हुन्थ्यो ? मलाई थाहा थियो । खर्च र आम्दानी थाहा भएपछि बचत पनि थाहा हुनै नै भयो ।
सुरुका केही महिना विक्रमको व्यवहार राम्रै थियो । पैसा पनि नियमित पठाइरहेकै थियो । दिनहुँ कुराकानी पनि हुन्थ्यो । हाम्रो मायाप्रिती देखेर ठूलो छोरो कहिलेकाहीँ व्यङ्ग्य गथ्र्यो, छोराले गर्लफ्रेन्ड घुमाउने बेलामा मेरी ममी बाबासँगको टेलिफोन डेटमा मख्ख हुनुहुन्छ । विक्रमको फोन आउन छाड्यो । मैले फोन गर्दा पनि झर्कोफर्को मात्रै गर्न थाल्यो । मैले बुझिहालें दालमा कुच कालो छ । म पनि पाँच वर्ष विदेश बसेर आएको, सबैकुरा थाहा पाइसकेकी थिएँ । उसका साथीहरु पनि सबै चिनिसकेकी थिएँ । उसका सबै कुरा सियर हुने साथी विनोदसँग कुरा गरें । मेरो अनुमान सही नै निस्कियो । फेरि अर्की केटीसँग सल्किएछ ।
विक्रमको कमजोरी भनौं कि, हेपाहापन । मसँगै नभएपछि केटीको पछि लागिहाल्ने । आखिर उसले मलाई हैन मेरो शरीरलाई मात्रै रहेछ माया गरेको । यो निष्कर्षमा पुग्न मलाई कुनै आइतबार कुर्नु परेन, अनुभवले नै भन्यो, व्यवहारले पुष्टि गर्यो ।

म पनि त्यसै गरौं कि झैं पनि लाग्थ्यो कहिले काहीँ । विक्रम विदेश भएको समयमा मसँग धेरै केटाहरु झुम्मिन खोजे, झुम्मिए पनि । उनीहरुको स्वार्थ बुझ्थेँ, खै कसरी कसरी म सम्हालिन्थें । अनि लुटिनबाट बच्थें ।

विक्रमलाई थाहा नदिई म फेरि विदेश गएँ । पहिले काम गरेकै ठाउँमा । पुग्ने बित्तिकै उसको व्यवहार देखेर छाँगाबाट खसे जस्तै भएँ । ऊसँग केही नबोली क्वाटरबाट बाहिरिएँ । अनि बेहोसीमै क्वाटरमाथि क्वाटर थपेँ, थपिरहेँ । पसलबाट बोतलसहित निस्किएँ । एक मात्र र अन्तिम विकल्प समुद्रमा हाम फाल्ने र माछाको आहार बन्ने ।

जिउँदो हुँदा पनि कसैको आहारा नै थिएँ, आखिर कसैले लुछिरहेकै थियो । दौडदै थिएँ, अचानक हावाहुरी चल्यो, अगाडि केही देखिन । बङ्गलङगै लडें । रक्सीले मातेर लरखरिएको मान्छेलाई हावाहुरीले घँचेटेपछि कोचाहिँ उभिन सक्छ र ? नियतिले ठगेको मलाई भीषण वर्षाले पनि चुट्नु चुट्यो । कहिलेकाहीँ अभिशाप नै बरदान हुने रहेछ । पानीले मेरो नशा उतारिदियो । ब्यूँझँदा म समुन्द्र किनारबाट निकै टाढा रहेछु । समुन्द्रमा हाम फाल्न निस्केको मान्छे म किनारसम्म पनि पुग्न सकेको रहिनछु । म बाँचे, नियतिले बचायो वा यमराजले हात थाम्यो । के भयो ? पटक पटक मरेर बाँचिरहेको थिएँ ।
यो शीलशीला फेरि लब्बिने भयो । मैलै दुःख भोग्न बाँकी नै भएर होला सायद, मर्न निस्कँदा पनि मर्न नपाएको । केही दिन साथीहरुसँग बसें, अनि फर्किए आफ्नै देश ।

किन गएँ, अनि किन फर्किएँ ? त्यसको जवाफ मसँग थिएन । नभएको जवाफ कसरी दिनु छोराहरुलाई ? सानो छोरो त आमाको काख पाउने भएँ भनेर खुशी नै भयो । ठूलो चाहिँ छोरो बुझ्ने भइसकेको थियो । मेरो मुहार पढेरै धेरै कुरा बुझ्थ्यो । कत्ति कुरा व्यक्त गथ्र्यो कति गर्दैनथ्यो । म पनि अब त कति कुरा नभनेरै मीठा हुन्छन भन्नेमा पुगिसकेको थिएँ । कति पटक एउटै समस्या लिएर साथीहरु भा’ ठाउँमा जानु ।
मेरा नजिकका साथीहरुले आफन्तहरुले नगर भनेका जत्ति सबै कुरा मैले गरिछाडेँ । आफैंले विक्रम छाने, विक्रम छानिसकेपछि उसका राम्रा नराम्रा दुवै कुरा अँगाल्नै पर्यो । मेरो दुर्भाग्य मेरो छनौटमा राम्राभन्दा नराम्रा कुरा धेरै भए । डिप्रेसनको सिकार हुँदा म जाने ठाउँ यस पटक पनि विपाशाना केन्द्रलाई नै रोजें ।
बिहान सबेरै घरबाट निस्कने योजना बनाएकाले रातभर निन्द्रा लागेर म फेरि के गर्दैछु । सही गर्दैछु कि गलत छुट्याउन सकिरहेको थिइन । अलमलकै बीच कहिल्यै केही नलेख्ने म एउटा पत्र लेख्ने निष्कर्षमा पुगेँ ।

प्रिय पुत्र, विश्व । शुभाशीर्वाद ।
तिमीलाई अनौठो लाग्यो होला, एउटै घरमा सँगै बस्ने आमाको पत्र देखेर । कत्ति कुरा नभनेरै मीठो हुन्छ भने पनि कत्ति कुरा त भन्नै पर्दो रहेछ । अब तिमी पनि बुझ्ने भइसकेका छौं । २० वर्षे उमेर भनेको सानो उमेर हैन, आफू, भाइ र तिम्रो बुबालाई समेत सम्हाल्न सक्छौ तिमीले यो मेरो विश्वास हो । आफ्नो रगत र दूधको विश्वास भनेको यही त होला आखिर ।
म तिम्रो बाबासँग प्रेममा पर्दा तिमीभन्दा पनि पाँच वर्ष कान्छी थिएँ । सबै कुरो मेरौ नै रोजाइ थियो । मेरो नै निर्णय थियो । यसमा मेरो कोही कसैप्रति कुनै गुनासो छैन । रहने छैन । यत्ति हो, तिम्रो बुबासँगको ३५ वर्षे सहयात्रामा कुनै दिन पनि म सुखी हुन सकिन । सुखी त हुन सकिन नै खुसी पनि हुन सकिन । सुख र खुसीविनाको यो साढे तीन दशकको यात्रा मैले कसरी व्यतित गरेँ हुँली । त्यो तिम्रो अनुमान र कल्पना भन्दाको टाढाको कुरो हो । टाढै भएको राम्रो ।
१५ वर्षको उमेरमा जसरी लोग्ने मान्छेहरु झुमिन्थे । अहिले पनि त्यसरी नै झुम्मिन्छन् । पहिले म भरिली थिएँ र झुम्मिन्थे अहिले एक्लो देखेर । तर गर्वका साथ यत्ति भन्न सक्छु । मैले तिमीहरुले औंला उठाउन सक्ने गरी कुनै पनि नराम्रो काम गरेकी छैन । अब पनि गर्ने छैन । तिम्रो बुबासँग विवाह गरेपछि पनि मलाई अरु कोही मन परेको थियो । तर मैले बाटो बिराइनँ र त म आफूमाथि गर्व गर्न सक्ने भएँ ।
हो, अब तिमी ठूलो भयौ । अब तिमी बुहारीको हुनेछौ । तिमी पनि लोग्नेमान्छे हौ तर लोग्नेमान्छे मात्रै नहुनु, ‘लोग्ने’ हुनु । अनि स्वास्नी मान्छेसँग हैन स्वास्नीसँग मात्रै सम्बन्ध राख्नु । यत्ति दुई काम गर्न सक्यो भने तिम्रो जीवन सार्थक हुनेछ । सम्बन्ध र विश्वास राम्रो भयो भने घर आफैं राम्रो हुनेछ । भाइसँगको सम्बन्ध राम्रो हुनेछ । तिम्रो हुनेवाल स्वास्नीसँग सम्बन्ध राम्रो हुनेछ । आशा गर्छु तिम्रो जन्मदातासँगको सम्बन्ध पनि राम्रो नै हुनेछ ।
मेरो पनि जीवन छ । अब चाहिँ म आफ्नो जीवन आफैंले जिउन चाहन्छु, आफ्नै लागि । एक्लो देखेर नजिकिएर मेरो जीवन धमिलो बनाउन खोज्नेहरु अझै पनि छन् । तर तिनीहरु मेरो स्थायी साथी होइनन्, हुन सक्दैनन् । साथी त जत्ति पनि भेटिएलान् । मेरो अब साथीहरुसँग कुनै रुचि र लगाव छैन । म त जीवनसाथीको खोजीमा निस्किएकी छु । थाहा छैन भेट्छु कि भेट्दिन । तिमी पनि कोसिस गर मेरा लागि जीवन साथी खोज्न । अनि आँट गर । मलाई आमा हैन, छोरी सम्झेर कन्यादान गर्न । मेरो बाँकी जीवन तिम्रो बाबालाई काम लागेन र त बारबार घर छाडेर जा भनिरहन्छ । उसलाई काम नलागेको जीवन अरु कसैलाई काम लागि हाल्छ कि !

उही तिम्री आमा (छोरी)
विद्या ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल