एक परदेशीको आत्मकथा

-  |   सौरभ कँडेल

एक परदेशीको आत्मकथा

saurav-kadelअस्ट्रेलिया, जहाँ हजारौंको भीड लाग्छ । यही भीडमा कति सफल पनि बने, अनि कति यही भीडमा हराए । केही गरौँला भन्ने ठूलो सपना बोकेर म अस्ट्रेलिया आएको थिएँ । भर्खर १२ सकेर वैदेशिक यात्राको पखेटा हाल्दै थिएँ । अधिक प्रयासपछि भिजा लाग्यो । पहिले त अस्ट्रेलियामा पाइला टेकेपछि जिन्दगी बन्छ भन्ने लाग्थ्यो । पाइला पाइलामा चुनौती हुन्छन भन्ने मलाई थाहा थिएन ।

बिहान साढे बजेको थियो, मारियस क्याफ्मा बसेर कफी र ब्रेकफास्ट लिँदै थिएँ । छ महिना ब्रिसबेन बसेर आएपछि सिड्नीमा म्याक्डोनल्समा काम पाएको थिएँ । नेपालमा हुँदा त दिनपछि रात अनि रातपछि दिन आउँथ्यो । यहाँ त न दिन, न रात । राति काम, दिउँसो कलेज अनि ३ घण्टाको निद्रा । यस्तै दिनचर्यामा जीवन वित्दै थियो । फेसबुकमा कसैको फोटो देख्दैमा मनमा सुनौलो चित्र कोर्नु नै मेरो गल्ती थियो भन्ने लग्थ्यो कहिलेकाही । फेरि कहिलेकहीँ अवसरका बाटाहरु पनि त भेट्टाएको छु भन्ने कुरामा खुशी लाग्थ्यो । यही हाँस्नु न रुनुको अवस्थामा जीवन अल्झिएको थियो । जोसुकैले फुकाउन सक्दैनथ्यो ।

अप्ठ्यारा बाटाहरु पन्छाउँदै एउटा नवीनतम जीवनको सिर्जना गर्ने सपना मनमा टाँसेको थिएँ । काममा जान्थेँ, कलेज जान्थेँ अनि कहिलेकाहीँ घुम्न पनि जान्थेँ । जहाँ जान्थेँ साथीभाइ र परिवारसँग बिताएका मीठा पलहरुले बाटो छेक्थे । थाहा थिएन, उहाँहरुकै खुशीको निम्ति दौडिँदा पनि ती याद किन बाधक बनेर आउँछन् । केही राम्रो काम गरेर बुवाआमाको ओठमा मुस्कान देख्न चाहन्थेँ । अनि एउटी राम्री बुहारी भित्र्याइ दिएर खुशीलाई चुम्ने इच्छा थियो ।

चाडपर्व आएसँगै मनमा खल्लोपना पनि आउँथ्यो । तिनै फेसबुकको भित्तामा टाँसिएका चित्र हेर्दै बसिरहेको हुन्थेँ । साथीभाइले ह्याप्पी दसैँ भन्दा मुस्कान सहित धन्यवाद दिँदै खुशी साटासाट गर्ने गरेको थिएँ । यही खुशीमा कति दुःख लुकेको हुन्छन् भन्ने कमैलाई मात्र थाहा हुन्छ । तर व्यक्त गर्न भने चाहदिनथे । मोबाइलमा भएका पुराना फोटाहरु हेर्थें । रमाइला पलमा कैद भएका चित्रहरु हेर्दा तिनै चित्रभित्र छिरेर एकछिन् भए पनि रमाउन मन लाग्थ्यो ।

कहिलेकाहीँ सफल जीवनको पारिभाषा जान्न मनलाग्थ्यो । सजिलै नपाइने भएर नै सफलतालाई सफलताको नाम दिइएको हो भन्ने लाग्थ्यो । सबैकुरा भाग्य र समएको खेल रहेछ, बुझ्ने मौका पाएँ । समय मबाट भाग्दै थियो अनि म त्यही भागिरहेको समयलाई खोज्दै थिएँ । कसैको सामीप्यमा खुशी भेट्ने यो मन आज निकै दुःखी थियो, लाग्थ्यो मसँग अब केही छैन । हातमा घडी थियो तर जब साथमा समय नै थिएन त घडीको अस्तित्व नै कहाँ रह्यो र ?कन्टेनरमा फ्याकिदिएँ । आशा थियो जसले घडी भेट्टाउँथ्यो, उसलाई समय भेट्टाए भन्दा ज्यादा खुशी मिल्थ्यो । म एक्लै पिरोलिन थालेँ ।

दसैं सबैको ढोकामा आइपुगेको थियो । कति पटक मेरो पनि ढोका उघारै राखेँ । तर अहँ, दसैं आएजस्तो महशुस कति पनि भएन । कसैबाट टाढिनुमा पीडा कति हुँदोरहेछ भन्ने त्यसबेला बुझेँ । पैसा पनि काम गरेअनुसारको कमाउँथेँ । जति नै सपिङ सेन्टर भए पनि माया बेच्ने पसल भने कुनै भेटिन । भेटेको भए पनि पुरै किनिदिन्थे । तर भेटाउन असम्भव थियो । अरु कुनै कुराको कमी थिएन, कमी थियो त मात्र मीठा पल, साथ अनि मायाको ‘आभास’को ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल