बदलिएका केटीहरु

-  |   रमु ओली

बदलिएका केटीहरु

एकजना दाइले रक्सीको प्यागसँगै भनेको कुरा सम्झन्छु । उनले भनेका थिए– “हेर भाइ धेरै पहिले पनि होइन, पाँच साल पहिले होला ! हिँड्दै गरेको केटीलाई ‘कता हो मैया’ मात्र भनेको थिएँ । कम्ती गाली गरिनँ । मुर्दा, कोरी, तेरो आमालाई गएर जिस्क्या, तेरो बहिनीलाई जिस्क्या भन्दै तीन पुस्तालाई सरापिन् । विचरा मेरा बाले के गल्ती गरेका थिए होलान् र ? तिनले त बालाई पनि छोडिनन् । बाको त के कुरा आउने सन्ततीलाई पनि छोडिनन् । बाटोको ढुङ्गा उठाएर हानौलाझैँ गरिन् । त्यतिको गाली त मैले जिन्दगीमा एकै चोटि सुनेको पनि थिएन ।”

समय बदलिँदो रहेछ दाइ । आजभोलि बाटोमा, चिया पसलमा, खाजा घरमा, फिल्म हल, मन्दिर, कलेजमा जहाँ केटी भेट्नु हुन्छ त्यहीँ जिस्काइदिनुस् त धन्यवाद पाएर मुसुक्क हासेर बिदा हुन्छन् । ताल परे आफै आएर मलाई परसम्म ड्रप गर्दिनु हुन्छ कि ? भन्छन् । मैले दाइलाई बदलिएका केटीहरुका सोचको बारेमा भनेको थिएँ । बुढाले पत्याउनै गाह्रो माने ।

फेरि दाइले भने, “थाहा छ भाइ, त्यो केटी को हो ?”

अब मैले कसरी थाहा पाउनु, को हो र दाइ ? मैले चिन्छु होला ? मैले सोधेको थिए ।

बुढाले हास्दै भने “तिम्रै भाउजू हुन् । मेरो बुढीले नै भनेकी थिइन् ।” उनी विगत सम्झिँदै हास्न थाले ।

दाइको कुरा सुनेर मैले पनि हाँसो रोक्नै सकिनँ । हासोसँगै दाइले अर्को एक एक प्याग थपे र भने– “यो चाहिँ पुरानो यादमा भाइ ।”

आजभोलि केटीहरुको बदलिएको एटिट्युडलाई दाइले पत्याउनै गह्रो माने तर हामी केटालाई भने यसको प्रत्यक्ष असर परेको छ । जिस्क्याउँदा गाली गरेनन्, रिसाएनन् भने जिस्क्याउनुको के मज्जा । केटीहरु रिसाउँछन्, गाली गर्छन्, जथाभावी मुख चलाउँछन् र पो हामी जिस्काउँछौँ । जिस्क्याउँदा पनि कुनै प्रतिक्रिया आउँदैन भने कसले जिस्क्याउँछ र ? जिस्क्याउँदा प्रतिक्रिया नै आउँदैन भने उनीहरु र कपडा पसलमा सजिएर राखिएका सो पिस स्ट्याचुमा के नै भिन्नता रह्यो र ? यो हामी केटाहरुको पीडा हो । तर कस्ले बुझ्ने ? अब म कसरी सम्झाउँ ती दाइलाइ । उनीहरुको समयका र हाम्रो समयका केटीहरु बीचको भिन्नता ।

ओइ केटी हो ! हामीले जिस्क्याउँदा रिसाउने गर । हामीलाई गाली गर्ने गर । तेरा आमा दिदी बहिनीलाई देखेको छैनस् ? भन्ने गर कहिले काहीँ मुखको थुक निकालेर थु ‘पनि गर्ने गर ! भनेर अनुरोध गर्न पनि नसकिने । पीडै पीडाले भरिएको जवानी लिएर के गर्नु ? सबै साथी भाइहरुको निस्किने एउटै बोली हुन्थ्यो ।

हाम्रो फ्रीको मनोरञ्जन भन्नु नै केटी जिस्क्याउनु नै त हो । अब त्यो पनि हामीसँग रहेन भने हामी कसरी दिन काट्छौँ होला ? हामी कसरी आफ्नो युवाअवस्थालाई पार गर्छौं होला ? कसरी मनोरञ्जन लिन्छौं होला ? कसरी बाटो बाटोमा कुर्दै बस्न सक्छौं होला ? कसले सोचिदिने केटाहरुको पीरमर्का ? कसले बुझिदिने ? कसले दिन्छ हाम्रो यी ठुलठुला प्रश्नको उत्तर ?

हामी केटाहरुले केटीहरुका लागि के गरेनौं ! उनीहरुले सारी लाउँदा पनि जिस्काएका थियौँ । स्कुल ड्रेस लाउँदा नि जिस्क्याएका थियौँ । कुर्ता लाउँदा पनि जिस्काएकै थियौँ । जिन्स र छोटो छोटो स्कट लाउँदा पनि जिस्काएकै थियौँ । तिमीहरुले जे लाउँदा पनि हामीले मुटुमा ढुङ्गा नै राखेरै भए पनि जिस्क्यायौँ । बाटोदेखि मन्दिरसम्म, कलेजदेखि गल्लीसम्मै जिस्क्यायौँ । सधैँ केटीहरुलाई नै भाउ दियौँ तर आज आएर केटीहरुले नै हामी केटाहरुको पीर मर्का बुझेनन् । मलाई सोध्न मन लागेको छ आखिर किन ?

बरु गालीसँगै पुलिस केस गरिदेऊ । भिलेन दाइभाइलाई भनेर कुट्न पठाऊ, नसके अर्कै बाटो हिँड्ने गर । त्यो सबै हामी सहिदिन्छौँ । तर जिस्काउँदा मुस्काने हाँसो फिर्ता नगर । मुस्कुराउँदै हिँड्ने नगर, फर्कीफर्की नजर जुधाउने नगर । किनकि हामी केटाहरुलाई पीडा हुन्छ ।

ओ ! हो ! मैयाँ त कति राम्री ? भन्दा ‘रिसाउँदै तेरै बहिनिलाई भन् मुर्दा काम पाको छैनस् ? भन्ने गर । तर कृपया हामी सम्पूर्ण केटाहरु दुई हात जोड्छौँ ।’ लाने भने जाने चाहिँ नभनी देऊ । किनभने हामी केटाहरुलाई पीडा हुन्छ ।

यदि त्यसो गर्न सक्दैनौ भने हामी दुखका साथ भन्छौ, हामी बिस्तारै केटी जिस्क्याउने कामबाट विस्थापित हुनेछौँ । तिमी केटीहरुको मनोविज्ञानमा परेको असरले सम्पूर्ण समाज र सामाजिक क्रियाकलापमा पर्नेछ । किनभने केटी प्रसंशाका लागि बनेका हुन् । हामीले जिस्क्याउने तरिका उच्छृङ्खल नै भए पनि प्रसंशा गरेका छौँ । एकाधबाहेक सबैलाई त्यही जिस्क्याउने शैलीले सन्तुष्ट प्रदान गरेको छ । सन्तुष्ट प्रदान नगरेको हुँदोहो त किन केटीहरु जस्तो कपडा र व्यवहारमा केटाहरु धेरै जिस्काउँछन् त्यस्तै पहिरन र ब्यवहारको सिको गर्दै हिड्छन ? किनत जता जता धेरै केटाको भीडभाड हुन्छ त्यतैतिर घुम्ने गर्छन् ? यस्तै भन्न मन लाग्छ । सोध्न मन लाग्छ । तर सकिँदैन ।

केटीहरु स्वार्थी भएका हुन्जस्तो लागिसक्यो । केटाहरुले जिस्क्याउन भनेर चाहने तर जिस्काउने वातावरण पनि नबनाउने । अनि कति दिनसम्म केटाहरुले मात्रै सेक्रिफाइज गरून् ! किनकि हामी केटालाई पनि पीडा हुन्छ । त्यसैले हामी भन्छौँ जिस्क्याउँदा गाली गर !

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल