डर

-  |   क्षितिज समर्पण

डर

kshitij-samarpanरश्मि !
आजभोलि म निकै डरपोक भएको छु
हाउगुजीदेखि डराएको बालकजस्तो
काम बिगारेको नोकरजस्तो
ड्युटीमा निदाएर ब्युँझिएको सिपाहीजस्तो
गृहकार्य नगरेको विद्यार्थीजस्तो
हो, आजभोलि म असाध्यै डरपोक भएको छु ।

तिमी भन्ने गथ्र्याै–
डर त अध्याँरोसँग मान्नुपर्छ
अभाव र गरिबीसँग मान्नुपर्छ
पीडा र आँसुसँग मान्नुपर्छ
तर, मलाई–
आजभोलि यी सबैभन्दा पनि
उज्यालोसँग डर लाग्छ
पैसासँग डर लाग्छ
र, सम्पन्नतासँग डर लाग्छ ।

यहाँ उज्यालोमै
बेचिन तयार छन् ‘उजेलीहरु’
उज्यालोमै बेचिन तयार छन् ‘पुतलीहरु’
सहरका उज्याला गल्लीमा बसेर
बुनिन्छ अँध्यारो भित्र्याउने योजना
सहरको उज्योलमै बसेर
बुनिन्छ देश बेच्ने योजना
र, उज्यालोमै देखिन्छ
एकअर्कालाई सिध्याउने सपनाहरु !

पैसा र सम्पन्नताले
मान्छेहरु अपराधी बनाएको छ
पैसामै बेचिएका छन्–
गाउँका ‘गुराँसहरु’
गाउँका ‘सुनाखरीहरु’
गाउँका ‘सुनगाभाहरु’
मलाई डर लाग्छ रश्मि !
मलामी र जन्ती किन्नुपर्यो भने ?!
माया, विश्वास र मानवता किन्नुपर्यो भने ?!
बाआमा किन्नुपर्यो भने ?!
वा सन्तान किन्नुपर्यो भने ?!

त्यसैले रश्मि !
अब मलाई
जन्मदिनमा उपहार पठाउँदा
उज्यालो नपठाउनू
खुशी र सम्पन्नता नपठाउनू
किनकि,
मलाई यी सब कुरादेखि डर लागिरहेछ
म यी सब कुरादेखि डराउने भएको छु ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल