दुर्जकुमारको कथा : ‘दोर्जे सट’ले इन्ट्री, सङ्घर्षले आईजीपी

मङ्सिर २५  |   राजेश भण्डारी

दुर्जकुमारको कथा : ‘दोर्जे सट’ले इन्ट्री, सङ्घर्षले आईजीपी

काठमाडौं– एउटा जमाना थियो, पूर्वको झापा र धरानतिरका भलिबल कोर्टमा ‘दोर्जे सट’ निकै चर्चित थियो । ‘दोर्जे सट’ प्रहार गरेपछि हुटिङ उस्तै हुन्थ्यो । विपक्षीले बल उठाउने हिम्मत गर्दैनथे । भलिबल कोर्टमा धुलो उड्थ्यो ।
झापामा एकपटक भलिबल च्याम्पियनसिप चल्दै थियो । मैदानमा ‘दोर्जे सट’को वर्षा हुनथाल्यो । ‘हामी म्याच हेर्न गएका थियौं’, पत्रकार शिव गाउँले सम्झन्छन्– ‘हामी हुटिङ गर्दै थियौं, सट हान्ने खेलाडीले मलाई उठाएर आफ्नो हत्केलामा राखेका थिए । धेरै वर्षपछि थाहा पाएँ, उनी रहेछन् दुर्जकुमार राई !’


पुर्वी पहाडतिर यसरी शानदार भलिबल शट हान्ने राई पछी राईफलको ‘बट र नाल’ समात्न पुगेका थिए ।

भोजपुरको नागी गाविसका दुर्ज कुमार राईलाई पछिल्लो पुस्ताले सशस्त्र प्रहरी बलको उच्च ओहदामा पुगेको एक प्रहरी अफिसरको रुपमा मात्रै चिन्ने गरेको छ । तर धेरै कमलाई थाहा छ, ‘दुर्ज कुमार एक जमानामा चर्चित र सफल भलिबल खेलाडी थिए ।’

भोजपुरको दुर्गम गाउँमा जन्मेर राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडीको छवि बनाउँदै सशस्त्र प्रहरी बलमा रहेका ३६ हजार एलिट फोर्सको चिफ बन्दासम्म दुर्जकुमारले दुःखका थुप्रै पहाडहरु छिचोलेका छन् ।

‘मेरो गाउँमा अहिले पनि बिजुली छैन । मोटरबाटो घरसम्म पुग्दैन’– स्वयम्भुस्थित सरकारी निवासमा कुराकानी सुरु गर्दै उनले भने– ‘गाउँको परिवेशमा भैंसी हेरेर आएको मान्छे हुँ ।’
उनका बाबु भारतीय सेनाको निकै सानो दर्जा मानिने ‘लेस नायक’ पदबाट रिटायर्ड भएका थिए । परिवारमा दुई छाक खान खासै समस्या थिएन । गाउँले परिभाषामा उनको परिवार मध्यम वर्गीय थियो । उनले आफ्नो वास्तविकता सुनाउँदै भने– ‘ढिँडो–रोटो दुई छाक खान पुग्थ्यो ।’

नागीको महेन्द्र प्राथमिक विद्यालयबाट प्राथमिक तहको शिक्षा पूरा गरेका राईले छिमेकी गाविसको अन्नपूर्ण माध्यमिक विद्यालयमा दस कक्षासम्म पढे । ‘अन्नपूर्ण मावि घरबाट एक घण्टा टाढा थियो– खुट्टामा चप्पल थिएन’ उनले भने, ‘खाली खुट्टा हिँडेर स्कुल जान्थेँ ।’

त्यतिबेला अहिलेजस्तो गाउँमै एसएलसीको सेन्टर थिएन । एसएलसी दिन भोजपुर सदरमुकामा जाँदा पनि दुर्जकुमारको खुट्टामा चप्पल थिएन । ‘एसएलसी दिन सदरमुकाम जाँदा पनि खाली खुट्टा गएको थिएँ’ दबिएको स्वरमा दुर्जकुमार भन्दै थिए, ‘तेस्रो डिभिजनमा एसएलसी पास गरेँ, सोह्र वर्षसम्म मेरो खुट्टामा चप्पल परेन, बडा दुःखले यहाँसम्म आइपुगेँ ।’

उनका दुईवटी दिदीहरु छन्, एउटी बैनी । स्कुल आवरबाहेक बिहान बेलुका घरको काम गर्नुपर्ने बाध्यता छँदै थियो । ‘गाई–भैंसीको गोबर सोहोर्ने काम मेरो भागमा पथ्र्यो’ उनले विगत सम्झिए ।

एसएलसीपछि दुर्जकुमार भोजपुर जिल्ला सदरमुकाममा डेरा लिएर पढ्न थाले । ‘कोइराला बाहुन’को घरमा उनको डेरा थियो । भोजपुर बहुमुखी क्याम्पसमा पढ्थे ।

त्यही क्याम्पसमा पढ्दै थिइन्, वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी । ‘सम्माननीय राष्ट्रपतिज्यू पनि त्यही कलेजमा पढ्नुहुन्थ्यो’– दुर्जकुमारले भने– ‘उहाँभन्दा एक वर्ष अगाडि मैले त्यही कलेजबाट आईए पास गरेँ ।’

स्कुल लेभलमा भलिबल खेल्ने दुर्जकुमारले कलेज पढ्न थालेपछि पनि खेल्न छाडेनन् । त्यतिबेलाको ‘वीरेन्द्र सिल्ड’ अहिलेको राष्ट्रिय खेलकुद जत्तिकै महत्वपूर्ण प्रतियोगिता मानिन्थ्यो । दुर्जकुमार वीरेन्द्र सिल्ड जित्नका लागि निकै मिहिनेत गर्थे । शिक्षकहरुले ‘राम्रो छ’ भनेपछि उनको मिहिनेतको रफ्तार अझै बढ्थ्यो ।

भनिन्छ ‘सुख दुःख जीवनका पाहुना हुन् । आउने जाने गरिरहन्छन् ।’ खाली खुट्टा खेल्नुपर्दाको पीडा आफ्नै ठाउँमा थियो तर पनि पूर्वमा दुर्जकुमार ‘भलिबल हिरो’ भइसकेका थिए ।

धरानमा बीएको पढाइ सुरु गरेपछिको एक मध्यान्ह उनी भलिबल अभ्यास गर्दै थिए । एकजना जापानी प्रशिक्षक खेलाडी छान्दै धरान पुगे । अग्लो शरीर भएका दुर्जकुमारको खेल्ने स्टाइल जापानी प्रशिक्षकलाई मन परेछ । ‘अग्लो थिएँ, जापानी गुरुले देख्नासाथ मलाई लिइहाल्नुभो’ जमानाको खुसी बाँड्दै उनले भने– ‘मलाई विराटनगर लगेर क्याम्पमा राख्नुभो, सहिद रङ्गशालामा खेल्थेँ । मारवाडी सेवा समितिमा बसियो । उहाँले नै खाना खुवाउनुभो ।’

यसरी खुट्टामा फोका उठेको देखेपछि जापानी प्रशिक्षकले दुर्जकुमारलाई जापानबाट एकजोर जुत्ता ल्याएर ल्याइदिए । खाली खुट्टा खेल्ने बानी परेका राईले जुत्ता लगाएर खेल्नै सकेनन् । ‘बल हान्नै सकिनँ, विस्तारै विस्तारै बानी भयो’– उनले हाँस्दै भने– ‘जुत्ता लगाएर कुद्नै नसकिने रहेछ नि, नजानेर क्या !’

कुरा २०३७ सालतिरको हो । विराटनगर हुँदै काठमाडौं आएर भलिबल सिक्ने मौका पाएपछि दुर्जकुमार राष्ट्रिय टिममा पर्न सफल भए । ‘त्यसपछि त, म राम्रो भइहालेँ’ उनी भन्छन्– ‘राष्ट्रिय टिममा परेपछि धेरै वर्षसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरुमा सहभागी भएँ ।’

जुत्ताको ‘सोल’ जस्ता पाइताला !

१६ वर्ष पूरा हुँदासम्म दुर्जकुमारले जुत्ता लगाउन पाएनन् । ‘१७ वर्षको सुरुवाती समयमा मेरो खुट्टाले पहिलेको पटक जुत्ता पाएका थिए’– भावुक मुद्रामा उनले भने– ‘बुबाले धरानबाट ल्याइदिनुभएको थियो, त्यहि लाएर हिँडेँ ।’
जुत्ताको अभावमा लामो समय खाली खुट्टा भलिबल खेल्दा उनका पाइतालाले रोडा, ढुङ्गा र बालुवा पचाइसकेका थिए । ‘मेरो खुट्टा निकै बलियो थियो, पाइताला जुत्ताका सोल जस्ता भइसकेका थिए’– उनी भन्छन्, ‘विराटनगरसम्म खाली खुट्टै खेलेँ ।’


काठमाडौंको दशरथ रङ्गशालमा खेल्न आउँदा गर्मीको दिन थियो । रङ्गशालाको कभर्डहलमा रहेको भलिबल कोर्टमा काठ बिछ्याइएको थियो । ‘गर्मीमा खेल्दा काठमा रगेडिएर खुट्टामा फोकै–फोका भयो’– उनले भने, ‘त्यतिबेला अहिलेजस्तो म्याट थिएन ।’

यसरी खुट्टामा फोका उठेको देखेपछि जापानी प्रशिक्षकले दुर्जकुमारलाई जापानबाट एकजोर जुत्ता ल्याएर ल्याइदिए । खाली खुट्टा खेल्ने बानी परेका राईले जुत्ता लगाएर खेल्नै सकेनन् । ‘बल हान्नै सकिनँ, विस्तारै विस्तारै बानी भयो’– उनले हाँस्दै भने– ‘जुत्ता लगाएर कुद्नै नसकिने रहेछ नि, नजानेर क्या !’

यसरी पूर्वको दुर्गम गाउँबाट संयोगले काठमाडौं आइपुगेका दुर्जकुमार राष्ट्रिय भलिबल टिमको उपकप्तान भए । राष्ट्रिय टिममा परेसँगै जापान, चाइना, पाकिस्तान, साउदी अरेबिया, भारत, बहराइन जस्ता मुलुकमा गएर खेल्नु उनका लागि सामान्य हुन थाल्यो । ‘राष्ट्रिय टिममा परेपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न विदेश गएको गएकै भएँ’– उनले भने, ‘त्यसपछि मैले पछाडि फर्कनुपरेन् । मलाई टिममा पर्दिन कि भन्ने भएन, बरु टिमले मलाई खोजिरह्यो ।’

अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न १९८१ मा पहिलो पटक दुर्जकुमार पाकिस्तान पुगेका थिए ।

‘गाउँबाट आएर पाकिस्तानका लागि उड्दै गर्दा कस्तो लाग्यो ?’ पङ्क्तिकारको प्रश्न भुइँमा खस्न नपाउँदै उनले भने– ‘ओहो ! नेपालको झण्डा बोकेर गयौं । त्यतिबेला ट्रयाकसुटको पछाडि ढाडमा नेपाल भनेर लेखिन्थ्यो । निकै गौरवान्वित भएँ । पहिलोपटक जहाज चढ्दा निकै खुसी लाग्यो ।’

जिते मासु–भात, हारे गोठको बास !

भारतीय सेनामा जागिर खाएका दुर्जकुमारका बाबुले छोरालाई हरबिहान पाँच बजे उठ्नुपर्ने रुटिन बनाइदिएका थिए । त्यही रुटिन फलो गरेका दुर्जकुमार आजभोलि पनि साढे चार बजेतिर उठिसक्छन् ।

‘बिहान पाँच बजे नउठे, बुबाले ओछ्यानमै गएर कुट्नुहुन्थ्यो’– उनले हाँस्दै भने– ‘सबैरै उठेर दौडनुपथ्र्यो । घर नजिकैको गाईवस्तु चराउने ठूलो चउरमा पिताजी आफैं हामीसँग दौडनुहुन्थ्यो । उँहा पछिपछि हामी अघिअघि हँ ..!’

यसरी उनले बच्चामै फौजी तालिमको अभ्यास गर्न थालिसकेका थिए ।

नागी र त्यस आसपासका गाविसका बीचमा भलिबल कम्पिटिसन हुन्थ्यो । प्रायः खेलहरु दुर्जकुमारको टिमले बाजी मार्ने गरेको थियो । ‘जितेको बेला बुबाले कुखुराको भाले काटेर खुवाउनुहुन्थ्यो । हारेको थाहा पाएपछि गोठमा गएर गाईभैँसीसँग बस्नुपर्ने !’ उनी भन्छन्, ‘त्यसकारण मैले त जित्नैपर्ने हुन्थ्यो ।’

हाल नेपाल प्रहरीको आईजीपी उपेन्द्रकान्त अर्याल र दुर्जकुमार राईले २०४३ फागुनमा एकैपटक इन्सपेक्टरमा नाम निकालेका थिए । प्रहरीकै भाषामा भन्दा अर्याल र राई ब्याजी हुन् । समयले दुवैलाई आईजीपी बनाइदिएको छ ।

उनका कान्छो मामा रमाईलो नेचरका थिए । अन्नपुर्ण स्कुलमा भलिबल कम्पिटिसन भएको थियो । दुर्जकुमारको टोली हार्न ब्यहोर्न बाध्य भयो । तर उनको बुबालाई उल्टो कुरा लगाउँदै मामाले भन्दिएछन्– ‘भाञ्जाले आज पनि जितेर आए ।’
‘पिताजीले ‘बीउ भाले’ काट्नु भन्नुभो– उनी सम्झन्छन्, ‘गेम हारेको थिएँ, मलाई भित्रभित्र डर लागिरहेको थियो, मामाले मासु खानुभो ।’

भोलिपल्ट दौडेर फर्कंदा गाउँको तल्लो भागमा रहेको ‘घिमिरे दाइको चिया पसल’मा उनको पितालाई कसैले सुनाइदियो, ‘तपाईंको छोराको हिजोको गेम हारिहाल्यो नि !’

‘मलाई पिताजीले यस्तो पिट्नुभो !’ वर्षौंअघिको पिताको कुटाइ सम्झेर दुर्जकुमार मस्त हाँसे ।


…त्यसपछि इन्स्पेक्टर

भनिन्छ नि ‘गन्तव्य आफैंप्रति आकर्षित भएर आउने गर्छ ।’ दुर्जकुमारको हकमा पनि त्यस्तै भयो । उनले जागिर खोज्ने उमेरमा सेना, पुलिस या सिभिल सर्भिस (ब्युरोक्र्याट) बाहेक अन्यत्र खास आकर्षण पनि थिएन ।

त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरको होस्टलमा बसेर डिग्री पढ्दै थिए । ठीक त्यहीबेला नेपाल प्रहरीमा इन्स्पेक्टर पदमा भर्ना खुल्यो । ‘खासै इच्छा थिएन्, महेश खत्री भन्ने एकजना साथीले ‘जा यार ! तँलाई फिट हुन्छ, खेल्दै पनि छस्’ भन्ने कुरा गरे’– दुर्जकुमार भन्छन्– ‘ल त ल, भनेर दिएको पास भएँ ।’

हाल नेपाल प्रहरीको आईजीपी उपेन्द्रकान्त अर्याल र दुर्जकुमार राईले २०४३ फागुनमा एकैपटक इन्सपेक्टरमा नाम निकालेका थिए । प्रहरीकै भाषामा भन्दा अर्याल र राई ब्याजी हुन् । समयले दुवैलाई आईजीपी बनाइदिएको छ ।

१६ महिनाको लामो तालिम सकेपछि तत्कालिन कमान्डेन्ट एसएसपी ध्रुवबहादुर प्रधानले उनलाई छानेर प्रहरी एकेडेमी महाराजगञ्जमा राखे । ‘खेलाडी भएको हिसाबले ‘यसले गर्न सक्छ’ भन्ने लागेर मलाई छान्नुभएको होला’– दुर्जकुमार भन्छन्– ‘पुलिस एकेडेमीमा तीन वर्ष इन्स्ट्रक्टर भएर बसेँ, काम पनि राम्रो गरेँ । त्यहीँबाट मेरो ब्याग्राउन्ड पनि बन्यो ।’

एकेडेमीमा इन्स्ट्रक्टर भएर काम गरेपछि आफू ‘खास मान्छे’ बनेको बताउने राईले तीन वर्षमा आफूलाई राम्रो इन्सट्रक्टरका रुपमा तयार पारिसकेका थिए ।

नेपाल प्रहरीमा ट्रेनिङ सेन्टरको इन्सट्रक्टर भएर बसेकाहरु नै माथि पुगेको इतिहास छ । त्यहाँ बसेकाहरु अहिलेसम्म अब्बल ठहरिएका छन् । अनुशासन र प्रोफेसनालिज्ममा आफूलाई अब्बल सावित गर्दै लगेका राईले त्यतिवेला नै प्रहरीको सर्वोच्च पद आईजीपी बन्ने सपना देखिसकेका थिए । ‘नर्मल्ली इन्स्पेक्टर भएको मान्छेले चीफ हुने सपना देख्छन् नै’– उनी भन्छन्– ‘मैले पनि आफूलाई आजको पोजिसनमा पुग्ने सपना देखेको थिएँ ।’

इन्सपेक्टर भएपछि दुर्जकुमारले भलिबल कोर्टमा धाउने काम चटक्कै छाडिदिए । ‘खेल्न आइज भनेर अफर गर्दै थिए तर मैले करिअर र प्रोफेसनालिज्म रोजेँ’– उनी भन्छन्– ‘खेलाडीकै रुपमा गएको भए यो पोजिसनमा आउने थिइन्, एकातिर मात्रै ध्यान केन्द्रित गरेकाले राम्रो प्रहरी अफिसरको छवि बनाउन सफल भएँ, गर्व लाग्छ ।’

डीएसपी छँदा विभिन्न जिल्ला प्रमुख भएर कार्य गरेका दुर्जकुमार २०५६ सालमा रोल्पाको प्रहरी प्रमुख थिए । माओवादी जनयुद्ध चर्किरहेको थियो रोल्पामा मध्यावधि निर्वाचन गराउनुपर्ने भयो । ‘जिविस र कत्तिपय गाविसको निर्वाचन स्थगित भएको थियो’– उनले भने– ‘मूल कुरो त्यतिबेला माननीयको चुनाव गराउन गाह्रो थियो । सुरक्षाको दृष्टिकोणले निकै च्यालेन्जिङ थियो ।’

कालिमाटीदेखि रोल्पाको मध्यावधिसम्म

प्रहरी जीवनमा दुर्जकुमारले दुईवटा जनआन्दोलनको आँधिबेहरी देखेका छन् । २०४६ सालको जनआन्दालन ताका इन्स्पेक्टरकै भूमिकामा रहेका राई २०६२/६३ को जनाआन्दोलनमा कलङ्कीमा गोली चलाएपछि विवादमा तानिए ।


२०४६ सालको जनआन्दोलन सफल भएसँगै उनी काठमाडौंको कालिमाटीमा सरुवा भए । जनआन्दोलनको समयमा टेकुमा पाँचजना प्रहरीले ज्यान गुमाएका थिए । ‘सेटलमेन्टको बेला थियो, कालिमाटीमा रात दिन नभनी दुई वर्ष मिहिनेत गरेँ’– उनी भन्छन्– ‘धेरैजसो रातहरु मैले चार घण्टा मात्र सुतेर पुलिसिङको काममै लागिरहँे ।’

छोटो समय तेह्रथुम बसेका राई इन्सपेक्टर हुँदै यूएन मिसनमा कम्बोडिया हानिए । कम्बोडियाको मिसन नसकिँदै २०४९ सालमा प्रमोसन भयो । उनी डीएसपी भए ।

डीएसपी छँदा विभिन्न जिल्ला प्रमुख भएर कार्य गरेका दुर्जकुमार २०५६ सालमा रोल्पाको प्रहरी प्रमुख थिए । माओवादी जनयुद्ध चर्किरहेको थियो रोल्पामा मध्यावधि निर्वाचन गराउनुपर्ने भयो । ‘जिविस र कत्तिपय गाविसको निर्वाचन स्थगित भएको थियो’– उनले भने– ‘मूल कुरो त्यतिबेला माननीयको चुनाव गराउन गाह्रो थियो । सुरक्षाको दृष्टिकोणले निकै च्यालेन्जिङ थियो ।’

प्रहरी प्रधान कार्यालयले चुनाव सम्पन्न गर्न चाहिए जति फोर्स दिएको थियो । रोल्पामा उनको मातहत २९ जना इन्स्पेक्टर खटिए । ठाउँ–ठाउँमा स्ट्राइकिङ फोर्स परिचालन भयो । आखिर मध्यावधि निर्वाचन सफल भएरै छाड्यो । रोल्पाको चुनाव सम्पन्न गरेपछि दुर्जकुमार जाजरकोट हानिए ।

‘माओवादीको आधार इलाकामा चुनाव गराउँदा लुकिछिपी हानेनन् ?’ पङ्क्तिकारको प्रश्न टेबलमा खस्नासाथ एकछिन गमेर उनले जवाफ फर्काए– ‘त्यस्तो भएन्, के लुकिछिपी हान्नु ? म आफ्नो काम गर्ने हो, उँहाहरु आफ्नो काम गर्नुहुन्थ्यो । सेक्युरिटी त गर्नैपर्यो निँ ।’

जसलाई पिताले सलाम गर्थे

प्रहरीमा जागिरे भएको लामो समयसम्म उनका बुबा–आमा भोजपुरको दुर्गम गाउँमै थिए । कम्बोडिया मिसनबाट फर्केपछि मात्र उनले बुबा आमालाई काठमाडौं ल्याएर राख्न सक्ने हैसियत बनाए । ‘डीएसपी भएपछि बुबाआमालाई मैले काठमाडौं ल्याएँ, कम्बोडियाबाट ल्याएको ६० लाखले त्यौ हैसियत बन्यो’ दुर्जकुमार भन्छन्– ‘नचाहिँदो काममा खर्च पनि गर्दिनँ, अरु दायाँ–बाया नगर्ने हुनाले आर्थिक मेनेज गर्न सहज भयो ।’

सुरुमा बाबु–आमालाई कालिमाटीमा डेरा खोजेर राखेका राईले पछि कुलेश्वरस्थित घरमा सारे । ‘मेरो बानी सोझो खालको छ, दुई छाक दालभात खानेबाहेक अन्य खर्च गर्दिनँ’– उनले भने– ‘त्यसै कारण पनि मिसनको पैसाले कुलेश्वरमा घर बनाउन सफल भएँ ।’

८७ वर्ष बाँचेकी आमाले संसार छाड्नुभन्दा केही महिनाअघि मात्र दुर्जकुमारलाई एउटा उपहार दिएकी थिईन्, ‘ऊनीको गलबन्दी ।’ आजभोलि दुर्जकुमारको काँधमा त्यो गलबन्दी कहिल्यै टुट्दैन ।


छोराको पौरखले बनाएको घर आमाले खुब मन पराइन् । सूर्य उदाएदेखि नअस्ताउन्जेलसम्म घाम लाग्ने घरको छतमा बसेर एक दिन दुर्ज कुमारलाई उनकी आमाले भनेकी थिइन्– ‘तिमीहरुले जत्ति दुःख पाए पनि यो घर नबेच्नु बाबु ।’
दुर्जकुमारले सशस्त्र प्रहरी बलको एआईजी पद (विशिष्ट श्रेणी) को फुली लगाउँदासम्म उनका बुबा जीवित थिए । आमाले भने उनलाई एसएसपीको बर्दिमा देखिन् ।

८७ वर्ष बाँचेकी आमाले संसार छाड्नुभन्दा केही महिनाअघि मात्र दुर्जकुमारलाई एउटा उपहार दिएकी थिईन्, ‘ऊनीको गलबन्दी ।’

आजभोलि दुर्जकुमारको काँधमा त्यो गलबन्दी कहिल्यै टुट्दैन । ‘यो गलबन्दी कहिल्यै छाडेको देख्नुभएको छ ?’ काँधको गलबन्दी देखाउँदै उनले भने– ‘संसारको कुनै पनि टापु–टुक्रामा जाउँ यो बोकेरै जान्छु, कहिल्यै छाड्दिनँ ।’

छोरालाई एआईजीको बर्दीमा देख्दा कुन बाबुको छाती चौडा हुँदैन होला र ? सायद त्यसैले होला, दुर्जकुमारलाई उनका बुबाले सधैँ सलाम गर्थे ! ‘अफिस हिँड्ने बेला सलाम गर्नुहुन्थ्यो’– उनी भन्छन्– ‘किन गर्नुभाको बुबा भनेर सोध्दा, ‘जर्नेल हो नि तिमी, म त सिपाही हुँ भन्नुहुन्थ्यो । जिस्केर पनि होला, बुबालाई गर्व पनि लाग्यो होला ।’

बाबुले सलाम गरेको कुरा सुनाउँदा दुर्जकुमारको हाँसो छुट्यो । हाँस्दै थपे, ‘छोरा छोरी ठूलो भएको त बुबाआमाबाहेक कसलाई खुसी लाग्छ र ? पिताजी यति खुसी हुनुहुन्थ्यो, हाँसेर सलाम गर्नुहुन्थ्यो । ए बुबा के गरेको भनेर म जिस्किन्थेँ ।’

माता–पिता जीवित छँदा दुर्जकुमारको एउटा रमाइलो बानी थियो । बेलुका ९ बजेतिर अफिसबाट फर्केपछि माता–पितासँगै विताउँथे । ‘सँगै खाना खाने, खाटमा लुटुपुटु गर्यो, पुराना गाउँको कुरा हुन्थ्यो । राति ११ बजेको थाहै हुन्थेन्’– उनी भन्छन्– ‘त्यतिकैमा मेरो आधाउधी उमेर गैहाल्यो ।’

पछि उनले मातापिताको प्रतिमा बनाउन लगाए । बैठक कोठाको एउटा कुनामा राखिएको प्रतिमातिर हेर्दै उनले भने– ‘अब गाउँमा लाँदै छु ।’

‘खुल्ला किताब हुँ, आईजीपी बन्दा आँशु आयो’

नेपाल सरकारले २०७२ पुस ३ गते दुर्जकुमार राईलाई सशस्त्र प्रहरी बलको आईजीपी बनाउने निर्णय गरेको थियो । काँधमा आईजीपीको फुली लगाएपछि उनको आँशु थामिएन । सोह्र वर्ष हुँदासम्म पूर्वी पहाडमा खाली खुट्टा भौँतारिएको तस्बिर उनको आँखामा नाच्न थाल्यो ।

‘आँखाबाट हर्षको आँशु खसे, साह्रै रोएँ’ उनले भने ।

प्रहरी फोर्सको चिफ बन्नका लागि शक्ति केन्द्र धाउने परम्परा दूधभात जस्तै भइसकेको छ । तर दुर्जकुमार आफू विनादौडधुप एपीएफको चिफ बनेको दाबी गर्छन् । ‘कतै दौडधुप गरिनँ, किनभने फोर्समा सिनियर थिएँ’– उनले भने– ‘अरुभन्दा एक वर्ष सिनियर थिए, सिनियारिटी लिस्टमा पनि एक नम्बरमै थिएँ । त्यसैले मलाई विश्वास थियो । मबाहेक कोही हुनै सक्दैन ।’

यसरी दुर्गम गाउँबाट आएर उच्च ओहदामा पुग्न सफल दुर्जकुमार आफूलाई खुल्ला किताबको रुपमा व्याख्या गर्छन् । ‘मैले तीस वर्ष देशको सेवा गरेँ, नराम्रो के गरेको छु र ? केही सुन्नुभएको छ ?’ शालिन शैलीमा उनले भने– ‘सोझो छु, खुल्ला किताब हुँ, मेरो बारेमा सिपाहीलाई सोध्नुस् नँ एकजनाले पनि नराम्रो भन्दैन !’

प्रहरी सेवामा लामो समय बिताउँदा जानी–जानी कसैको नराम्रो नगरेको दाबी गर्ने दुर्जकुमार अबको तीन महिनापछि सशस्त्र प्रहरी बलको प्रमुखबाट रिटायर्ड हुँदै छन् ।


‘गाउँ जान्छु, घरको छाना फेर्छु’

भोजपुरको अन्नपूर्ण माध्यमिक विद्यालय, जहाँबाट उनले शिक्षाको फलामे ढोका मानिने एसएलसी उत्तीर्ण गरेका थिए । सशस्त्र प्रहरीबाट अवकास पाएपछि त्यही स्कुल अपग्रेड गराउने योजनामा छन् दुर्जकुमार । ‘हाम्रो स्कुलको एजुकेसन अलि कमजोर छ । एसएलसीमा धेरै विद्यार्थी फेल भए’ स्कुल अपग्रेडिङको योजना सुनाउँदै उनले भने– ‘अङ्ग्रेजी र गणितमा तीन वर्ष भइसक्यो निल गएको । शत प्रतिशत नसके पनि त्यहाँ ९० प्रतिशत विद्यार्थी पास गराएर देखाउने सोचेको छु । अबको प्रयास त्यहाँ लाग्नेछ ।’

‘अवकास जिन्दगी’को केही समय गाउँमा विताउने सोच सम्हालेर बसेका दुर्जकुमार यसपटक जन्मघरको छाना फेर्दैछन् । ‘मलाई गाउँ नै मनपर्छ, काठमाडौंमा रम्दिनँ, गाउँमै रम्छु’– उनी भन्छन्– ‘बुबाले बनाएको घरको छाना फेर्दैछु यसपाला, हेरचाह भएन टिनको छाना चुहिने भयो क्या ।’

घरको छाना फेरेर आफूले कखरा सिकेको स्कुलको पढाइ सुधार्ने अठोट लिएका दुर्जकुमारलाई आफ्ना ब्याचीहरुले ‘बाहुन’ भन्छन् । ‘बिहानै उठेर गीताको एक श्लोक पढ्छु, मेरो ब्याचका उपेन्द्रकान्त अर्याल सापहरुले ‘बाहुन’ भन्छन्’– दुर्जकुमारले सुनाए, ‘हामी बाहुन बोक्दैनौं, यो राई बाहुन भन्छन् ।’

‘धर्ममा मेरो आस्था छ, अब के गर्नुहुन्छ ? कसैले हटाएर आस्था हट्दैन !’ दुर्जकुमारले कुराकानीको बिट मारे, उनलाई बलम्बु हेडक्वार्टर पुग्न हतारो भइसकेको थियो ।

(फोटो : अशोक दुलाल)

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल