स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जबेगूको जीवन : प्रेम गरेकोसँग बिहे नभए पनि सम्झना आउँछ

स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जबेगूको जीवन : प्रेम गरेकोसँग बिहे नभए पनि सम्झना आउँछ

२०३५/३६ सालतिर तात्कालिक मालेका ठुल्ठूला नेता पाँचथरका याङ्नामसम्म पुग्थे । उनीहरुले लुकीछिपी कम्युनिस्टबारे सुनाउँथे । कम्युनिस्टले सबैलाई समान व्यवहार गर्छ भन्ने कुराले उनलाई छोयो । गाउँमा कसैको घरमा मासुभात पाक्ने, कसैकहाँ खोले (जाउलो) पनि नपाक्ने अवस्था थियो । अभावमा बाँचेको मानिसलाई कम्युनिस्ट पो बन्नुपर्दोरहेछ भन्ने लाग्यो ।

उनी २०४६ पछि विद्यार्थी राजनीतिमा लागे । एमालेसम्बद्ध अनेरास्ववियु पाँचथर उपाध्यक्षसम्म भए । अनेरास्ववियु बाह्रौं अधिवेशनमा शंकर पोखरेललाई बिदा गरेर रामनाथ ढकाललाई अध्यक्ष बनाउँदा उनले सक्रिय भूमिका निर्वाह गरे । तर, महाकाली सन्धिपछि पार्टीप्रति वितृष्णा भयो । एमाले छाडेर पाँचथरको फिदिममा ल फर्ममा काम थाले । काम गर्नेक्रममा संयुक्त जनमोर्चासँग जोडिए । एमालेमा रहँदा नौलो जनवादका पक्षपाती उनले नौलो जनवादको वकालत संजमोले गर्ने भएकाले त्यता लागे । त्यसको नेतृत्व नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले गरेका थिए । संजमोमा प्रवेशलगत्तै तात्कालिक माओवादीसँग सम्पर्क भयो । यदि पहिल्यै माओवादीसँग सम्पर्क भएको भए म त्यतै लाग्थें भन्ने संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जबेगूसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :
shree-prasad-jabegu-2
मेरो खाना
सबै उस्तै लागे पनि धानको चामल र मकैको च्याख्ला मिसाएर पकाएको खाना साह्रै मन पर्छ । ठुल्ठूला होटल र रेष्टुरेन्टको खाना सकेसम्म खान्न । तेल कम भएको जुनसुकै स्न्याक्स खाने गर्छु । पहिले रुचि भए पनि हिजोआज पकाउन अल्छी लाग्छ ।

मेरो पोसाक
प्रायः सर्टपाइन्ट लगाउँछु । वार्षिक १० देखि १५ हजार रुपैयाँसम्म कपडामा खर्च हुन्छ । हरियो रङको कपडा मन पर्छ । रेडिमेडभन्दा सिलाएर कपडा लगाउने बानी छ । म बसेको ठाउँमा ‘वेलकम’ टेलर्स छ, त्यहाँ सिलाउने गरेको छु । अरू बेला नलगाए पनि दौरासुरुवाल लगाउँदा ढाकाटोपी लगाउँछु ।

मेरो फिटनेस
पहिले जुम्बा जान्थें । छुट्यो । केही समयअघि स्वास्थ्य परीक्षण गर्दा चिकित्सकले तौल घटाउन सुझाएका छन् । पहिले नगरे पनि अब योगा गर्नुपर्छ होला भन्ने लागेको छ । मर्निङवाकले पनि निरन्तरता पाएन । कार्यक्षेत्र जाँदा महिनौं हिँड्नुपर्छ । मर्निङवाक नै गर्नुपर्दैन ।

मेरो अध्ययन
साहित्य अलि बढी पढ्ने गर्छु । उपन्यास र जीवनी पढ्न जाँगर चल्छ । हिजोआज पत्रकार विजयकुमारको ‘खुसी’ पढ्दै छु । विदेशी लेखकका किताब त्यति नपढे पनि नेपालीमा चैतन्य मिश्र मन पर्छ । आफ्ना जीवनभोगाइका शृंखला संस्मरणात्मक रूपमा लिपिबद्ध गर्दै छु । मसँग किताबाहेक केही पनि छैन । पाँचथरको फिदिम, सुनसरीको धरान र काठमाडौंमा मेरा किताब छन् । फिदिममा एक दराज, धरान र काठमाडौंमा अलि–अलि छ । आफूलाई मन परेको किताब पाउनसाथ किनिहाल्ने बानी छ ।

shree-prasad-jabegu-3
मेरो घुमफिर
नेपाल फन्को मार्न पाए हुन्थ्यो भन्ने लागेको छ । भेगका हिसाबले सुदूरपश्चिम, मुगु र जुम्ला पुग्न बाँकी छ । चीनको हङकङ, भारतसम्म पुगेको छु । घुम्न मन पर्ने भनेकै नेपाल हो । नेपालमा प्रकृतिले दिएको वरदान जस्ताको तस्तै छ, त्यसलाई व्यवस्थापन गर्नमात्रै बाँकी छ । विदेशतिर मानिसले जबरजस्तस्ती बनाएका जे पनि आकर्षक देखिन्छ, त्यो प्राकृतिकजस्तो कहाँ हुन्छ र ?

रूपन्देहीको बुटवल घुम्ने असाध्यै रहर छ । लुम्बिनी रूपन्देहीमै पर्छ । धनुषाको एउटै सहरमा ९० बढी पोखरी छन् । धनुषाभरि २ सय ५० बढी पोखरी छन् । नेपालका सबै ठाउँ घुम्नलायक छन् ।

मेरो फुर्सद

आफूलाई सधैं व्यस्त राख्न मन पराउँछु । पाइहालेमा आराम गर्छु । नत्र आरामका लागि समय छुट्ट्याउँदिन । फुर्सद पाइहालेमा लेखपढमा खर्चन्छु । राजनीतिमा लागेपछि घरपरिवारलाई समय दिएजस्तो लाग्दैन ।

मेरो खेलकुद
म चेसका खेलाडी हुँ । यसको ‘रेटिङ’ हुन्छ । म १५ सयमाथि र १६ सयमुनिका खेलाडी हुँ । म पहिले–पहिले फुटबल पनि खेल्थें । सबै फुटबल टिम राम्रै लाग्छ । समय भएमा कम्प्युटरमै चेस खेल्ने गर्छु ।

मेरो मोबाइल
मैले बोकेको मोबाइल सेट कलर्स हो । यसलाई १ हजार ८ सय परेको थियो । मन्त्री भएपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले मोबाइल दिएको छ । काम दिन छाडेपछि मात्रै मोबाइल किन्ने हो । यसअघि कलर्सकै २ हजार २ सय रुपैयाँमा किनेको हुँ । त्यो फुटेपछि वर्ष दिनअघि यो सेट किनेको हुँ । फेसबुक, ट्वीटर कम्प्युटरबाटै प्रयोग गर्छु ।

मेरो टेलिभिजन
टेलिभिजनमा विशेषतः समाचार हेर्ने गर्छु । त्यसपछि अन्तरवार्ताले प्राथमिकता पाउँछ भने जोग्राफी पनि हेर्दै आएको छु । मेरोमा पुरानो मोडलको सोनी टीभी छ । २१ इन्चको टीभीले काम गरेकै छ ।

मेरो चलचित्र
पहिले–पहिले चलचित्र हेरे पनि अहिले छैन । त्यतिबेला हेरेकोमध्ये हिन्दी चलचित्र ‘लाल दु पट्टा मलमल’ साह्रै मन परेको थियो । त्यतिबेला भिडियोका रूपमा हेरेको हुँ । यो २०४५÷०४६ सालको कुरा हो । ‘महाभारत’ चाहिँ सीडीमा हेरेको थिएँ । भारतीय कलाकारमध्ये नाना पाटेकर र सवाना आज्मी मन पर्छ । नेपाली सबै कलारकारप्रति उत्तिकै श्रद्धा छ ।

मेरो रोग
रक्तचापबाहेक ज्यानलाई ठिकै छ । रक्तचाप बढ्ने र घट्ने भइरहन्छ । तर, मलाई थाहा हुँदैन । वर्ष दिनदेखि औषधि सेवन गर्दै आएको छु । केही समयअघि ‘होलबडी चेकअप’ अन्तर्गत ‘फस्र्ट प्याकेज’ गरें । त्योभन्दा अघि ‘सेकेन्ड प्याकेज’ गरेको थिएँ ।
समय–समयमा श्रम गर्छु । छोटो दूरीका लागि सवारीसाधन प्रयोग गर्दिनँ । चिल्लो पिरो बारेको छु । मासु उसिनेरमात्रै खान्छु । नुनिलो पनि खान्न । यसले गर्दा शरीरलाई तन्दुरुस्ती बनाउने सघाएको होला ।

मेरो भाषणशैली
भाषणशैली कामचलाउ छ भन्ने लाग्छ । भाषण गर्नेक्रममा थेगो प्रयोग गर्ने बानी छैन । अवस्था हेरेर आक्रमक र बौद्धिक भाषण गर्नुपर्ने हुन्छ । भाषण गरेकै आधारमा विवादमा तानिएको छैन । सबै क्षेत्रमा आफूलाई तयारी गरिरहेको हुनाले भाषण गर्नअघि तयारी आवश्यक छैन ।

मेरो मापसे
मादक पदार्थ पिउनैपर्छ भन्ने बानी छैन । एक्लै पिउँदिन । पिउनैपरे नाइँ भन्दिनँ । सकेसम्म कलरलेस पिउनु भन्ने गरिन्छ । तसर्थ, तीनपाने रोजाइमा पर्छ । कलरलेस भएकाले रुस्लान भोड्का पिउँछु । मन्त्री भएपछि बाहिरफेर जाँदा रातो, कालो खुवाउँदोरहेछन् । पिउँदा मात्रा छैन । पिउँदै जाँदा जति पनि पिइन्छ । कहिलेकाहीं लामो समय पिउँदिन पनि ।

मेरो संगीत
संगीत सुन्ने गर्छु । जनवादी, प्रगतिशीलबाहेक लोकदोहोरी सुन्छु । सुगम संगीतअन्तर्गत अञ्जु पन्तको आवाज मन पर्छ । गायिका लतामंगेशकरको आवाज पनि त्यत्तिकै मन पर्छ । गीत–संगीत सुने पनि गुनगुनाउने बानी छैन । तर, पालाम (लिम्बू समुदायले गाउने गीत) गाउँथें ।

मेरो भूल
मैले तीन भूल गरेको छु । पहिलो, आफ्नो अंग्रेजी कमजोर भएकाले बालबच्चालाई बोर्डिङ पढाएर भूल गरेको छु । उनीहरुले बोर्डिङबाटै एसएलसी गरे । आफूले पढाउन नसकेकाले साथीभाइले काठमाडौंकै बोर्डिङमा पढाइदिए । दोस्रो, म त्यतिबेला संयुक्त जनमोर्चा पाँचथर जिल्ला सदस्य थिएँ । म तात्कालिक नेकपा माओवादी प्रवेश गर्दा जिल्ला सदस्य मागेको पाउँथें । मागिनँ । प्रक्रियागत हिसाबले तलबाट आएँ । साथीभाइबीच कुरामा कुरा हुँदा त्यसो गर्नुहुँदैनथ्यो रहेछ भन्ने लाग्छ । तेस्रो, मेरो गाउँ (याङ्नाम) मा २०÷२५ रोपनीको अलैंची बगान बन्दकीमा लिएको थिएँ । बन्दकीमा लिएबापत दुई÷अढाई लाख रुपैयाँ पहिल्यै दिएको थिएँ । जग्गाधनीले माओवादी द्वन्द्वताका एक लाख रुपैयाँसम्म थपेर यो बगान जसरी भए तिमीले आफ्नै बनाऊ भनेका थिए । मैले मानिनँ ।

त्यतिबेला करिब १६ मनजति अलैंची हुन्थ्यो । प्रतिमन ६ हजारमा बिक्री हुन्थ्यो । त्यही अलैंची अहिले प्रतिमन लाख रुपैयाँ पर्छ । पछि जग्गाधनीले धन्यवाद दिँदै निखनेर लग्यो । त्यतिखेर अलैंची बगान लिएको भए हुने रहेछ भन्ने लाग्छ ।

मेरो घर
घामपानीबाट ओतिन गाउँमै सानो टहरो बनाएको छु । टहरो बनाउन १५÷२० हजार लागेको थियो । घर बनाउन सकेको खण्डमा त्यो भान्छाघर बनाउनेखालको छ ।

मेरो राशी
मेरो राशी मकर हो । ग्रहदशा अहिलेसम्म हेराएकै छैन । ग्रहशान्ति पनि गराएको छैन ।

मेरो सौन्दर्यचेत
म दैनिकजसो नुहाउँछु । नुहाएपछि कपालमा क्याट्स लगाउँछु । फेसियल गर्ने बानी छैन । अनुहारमा सनब्लक लगाउँदै आएको छु । औपचारिक कार्यक्रममा निस्कँदा यदाकदा सेन्ट प्रयोग गर्ने बानी छ ।

मेरो प्रेम
प्रेम नगर्ने मानिस सायदै भेटिएलान् । मैले पनि एकजनासँग प्रेम गरेको थिएँ । त्यतिबेला प्रेम गर्दा हामी चिट्ठी लेख्थ्यौं । सबै कुरा चिट्ठीमै साटासाट गथ्र्यौं । जोसँग प्रेम गरें, उनीसँग बिहे भएन । सानै हुँदा देखादेख भयो । अलि ठूलो भएपछि धान नाच्न थाल्यौं । हामी खास मायाप्रेममा दुई वर्ष रह्यौं । त्यसपछि अलग्गियौं । अलग्गिएपछि प्रेमप्रति वितृष्णा भयो । बिहे नभए पनि सम्झना त आइहाल्छ नि । पछि आमाको चाहनाअनुसार मागीबिहे गरें ।

मेरो सपना
मुलुकलाई अन्तरनिर्भर अर्थतन्त्रका रूपमा विकास गर्न पाए हुन्थ्यो भन्ने लागेको छ । कम्तीमा मुलुकलाई आत्मनिर्भर अर्थतन्त्रमुखी बनाउने सपना छ । त्यसमा समस्या नै छैन । भएका स्रोत, साधन व्यवस्थापन गर्न जाने पुग्छ ।
महत्वाकांक्षा राखेर राजनीतिमा लागेको होइन ।

मुलुकभरि ५४ हजार किलोमिटर सडक छ । पाँचथरमा मात्रै २ हजार ५ सय किलोमिटर सडक छ । कास्की, चितवनपछि सबैभन्दा बढी किलोमिटर सडक भएको जिल्ला पाँचथर हो । जिल्लामा निर्मित सबै सडक बाह्रै महिना सञ्चालनमा ल्याउने योजना बनाएको छु । पाँचथरमा विमानस्थल नभएकाले बनाउने सोच बनाएको छु । रंगशाला पनि बनाउने सोचेको छु भने आफ्नो गाउँठाउँमा समेत उदाहरणीय काम गर्ने इच्छा छ । मरेर जाँदा पनि बाँच्नेलाई आफूले गरेको कामले केही न केही सुविधा पुगोस् ।

यी जीवन कथा पनि पढ्नुहोस्

यज्ञराज सुनुवारको जीवन : किरातीको छोरो हुँ, पिउँदिन भन्दा ढोङी भइन्छ

अशोक राईको जीवन : कोदोको रक्सी असाध्यै मन पर्छ

चन्द्रकिशोरको जीवन : तराई–मधेस बुझ्न पहाड घुम्नैपर्छ

सांसद रामहरि खतिवडाको जीवन : मन परेका बहिनीहरूको अघि उभिँदा अंकल भन्दिन्छन्

मोहन मैनालीको जीवन : मभन्दा लाटाले पनि ‘लभ’ गरेको देख्छु

दिवस राईको जीवन : जो–जो प्रेममा फसे उनीहरुले एसएलसी पास गर्नै सकेनन्

अनिलकुमार झाको जीवन : राजेन्द्र महतोलाई सहयोग गरेर ठूलो गल्ती गरेँ

सीपी गजुरेलको जीवन : कोशीको भेलमा पौडिन खोज्दा झण्डै मरियो

महावीर पुनको जीवन : नेपाललाई धनी देश बनाउने मेरो सपना

पम्फा भुसालको जीवन : एक ढङ्गले बिहे गरिएन, अर्को ढङ्गले भ्याइएन

रवीन्द्र अधिकारीको जीवन : दुई सय ५० भन्दा धेरै प्रेमपत्र आए

दीनानाथ शर्माको जीवन : बाहुनको भट्टीमा २ गिलास लोकल पिएर सुतेको त्यो दिन…

गगन थापाको जीवन : एउटा रङ एसएमएसको कारण उनीसँग भेट भयो

ठाकुर गैरेको जिन्दगी : श्रीमतीको कमाई र पुख्र्यौली सम्पत्तिले घर बनाइयो

देवेन्द्र पौडेलको जीवन : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्ने सपना छ

किशोर नेपालको जीवन : रक्सी खाएर २४ घण्टासम्म सुतेको पनि छु

पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीको जीवन : एक वाक्यको त्यो भाषण 

कर्णबहादुर थापाको जीवन – प्रधानमन्त्री बन्छु भनेर पाइने होइन

रामशरण महतको जीवन : किशुनजी मलाई सायरी सुनाउन लगाउनुहुन्थ्यो

सुजाताको जीवन : मेरो सपना केपी ओलीजीसँग मिल्छ

कोमल वलीको जीवन : प्रधानमन्त्री बनेर देश परिवर्तन गराऊँ भन्ने सपना छ

मेरो जीवन : उखु चोर्न जाँदा बस्यो पहिलो प्रेम

मेरो जीवन : ‘अफकोर्स !’ रविनाको धेरैपटक लभ परेको छ

मेरो जिन्दगी : ‘अफेयर्स’को सम्बन्ध रहेन, अन्तरजातीय बिहे गरियो 

मेरो जीवन : अर्थमन्त्री हुन्छु भन्ने त झन् सोचेको थिइनँ

मेरो जिन्दगी : यो सहरको नामी जँड्याहाको नाम उपेन्द्र सुब्बा नै थियो

मेरो जीवन : झलनाथको त्यो वचन जसले योगेशलाई रक्सी छाड्न बाध्य पार्यो

मेरो जीवन : प्रदीप पौडेलको मदिरा, प्रेमदेखि मृत्युचिन्तनसम्म २२ रहस्य

मेरो जिन्दगी : चित्रबहादुर केसीको खानादेखि प्रेमसम्म जीवनका २१ रहस्य

मेरो जिन्दगी : यी हुन् लालबाबु पण्डितका खानादेखि मृत्यु चाहनासम्मका २२ रहस्य

फिल्म निर्देशक नवीन सुब्बाको जिन्दगी 

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल