मुग्लिन–नारायणघाट सडक खण्ड : काम गर्नभन्दा पनि ज्यान जोगाउन गाह्रो (भिडियोसहित)

मङ्सिर १०  |   रातोपाटी

मुग्लिन–नारायणघाट सडक खण्ड : काम गर्नभन्दा पनि ज्यान जोगाउन गाह्रो (भिडियोसहित)

चितवन– मुग्लिन–नारायणघाट सडक खण्डमा हाकिम कति बिन्दास छन् । तपाईंले पढ्नुभयो । छुट्याउनुभएको भए यो समाचार पढ्नुहोला ।

हाकिम बिन्दास भए पनि मजदुरका दुःख धेरै छन् । हामीले यो सडक खण्डको अनुगमनमा देख्यौँ ।
majdur-highway-1
यहाँ चौबीसै घण्टा निरन्तर गुड्छन् दसौं हजार सवारीसाधन । धुलो र धुवाँ मिसिएको हावा, चट्टाने पहरामुनि पहेँलो हेल्मेट र सुन्तला रङको रिफ्लेक्टर ज्याकेट लगाएर ढुङ्गा, माटो, सिमेन्ट र पसिनासँग राजमार्गमा हेल्लिइरहेका छन्, सडक–मजदुरहरु ।

मजदुरको पौरखविना कहाँ बन्छ र सडक ? कहाँ बन्छन् र आश्र्चय तुल्याउने ठूला, ठूला भौतिक संरचनाहरु ? एकछिन रोकिएर उनीहरुसँग मन साट्ने हो भने हरेक मजदुरहरु उपन्यासका पात्र जस्ता छन् । हरेकका आफ्नै कथा, व्यथा छन् । आफ्नै किसिमका जीवन भोगाइ र अनुभूतिहरु छन् ।

सडक निमार्णमा खटिने यी मजदुरहरु विभिन्न जातीय पृष्ठभूमिका छन् । विभिन्न भौगोलिक पृष्ठभूमिका छन् । तर त्यहाँ न कुनै जातीयाको गन्ध छ न त कुनै क्षत्रीयताको । न त कुनै वर्गीय अहमता । साबेल, बेल्चा, पिक, घन, गलजस्ता ज्यावेल लिएर सडक बनाउन खटिएका दर्जनौँ श्रमिकमध्ये एक हुन्– नरबहादुर खत्री ।

majdur-highway-4

सुर्खेतका यी खत्रीको आधा जीवन यसरी सडक निमार्णमै बित्यो । घाम, पानी, आँधी–हुरी समयका यावत क्षण हातमा ज्यावत समाएर हिँड्ने हजारौँ बाटो बनाउन खर्चिए ।

सडक बनाउने काम कहाँ सजिलो छ र ? गाडीको टायरले उडाएको धुलो खाँदै सडकको किनारामा हरेक दिन ढुङ्गा माटोसँग पौँठेजोरी खेल्नुपर्छ ।
काम देखिएन भने यस्तो भएन भन्ने सुपरभाइजरको खप्की खानुपर्छ । बनेको ठाउँलाई कहिलेकाहीँ माथिबाट ढुङ्गा–माटो झरेर पुरिदिन्छ, फेरि त्यसलाई हटाउने दोहोरो काम आइदिन्छ ।

काम गर्नभन्दा पनि ज्यान जोगाउन गाह्रो । ढुङ्गै ढुङ्गाको पहाडमुनि बाटोको रेखा कोर्न कम्ता मुस्किल छैन । निरन्तर झर्ने ढुङ्गा माटोको पहिरोले पटक–पटक घाइते हुँदै काम गर्नु जोखिम हो । जोखिम छ भन्ने बुझेर पनि काम गर्नुपर्ने बाध्यता र व्यथा ।

नरबहादुर खत्रीले नेपालका पहाडमा मात्र घर बनाउने काम गरेनन्, उनले भारतका धेरै पहाडी क्षेत्रमा सडक बनाउने काम गरेका छन् । भन्छन्– ‘मैले भारतका धेरै पहाडमा सडक बनाउने काम गरेँ, यहाँको जस्तो कडा ढुङ्गा कही पनि भेटिन । पहाडबाट ढुङ्गा बगिरहनछ ।’ काम गरेको ठाउँमा माथिबाट ढुङ्गा–माटो बगिरहन्छ । आफूमाथिको पहरो हेरेर बस्ने कि बाटो बनाउने काम गर्ने । पहरो हेरेर बस्ने सहयोगी भए थोरै भए पनि ढुक्कले काम गर्न पाइने खत्री बताउँछन् ।

दुःखी मान्छेलाई कहीँ पनि सुख छैन

मुग्लिन नारायणघाट सडक खण्डमा मजदुरी गर्ने सुर्खेतका उदयराम कटुवाल सडक बनाउन बालुवा सिमेन्टको मसला बनाउने र मिस्त्रीहरु भए ठाउँसम्म पुर्याउने काम गर्छन् । उनी भन्छन्– ‘माथिबाट पहिरो खस्ला भन्ने मनमा पीर बोकेर बिहानदेखि बेलुकासम्म निरन्तर मसला बनाएको बनाई गर्नुपर्छ, दुःखी मान्छेलाई कहीँ पनि सुख छैन ।’

majdur-highway-5
४२ वर्षका कटुवालले यसअघि पनि मजदुरी गर्थे, सडक बनाउने काममा मजदुरी गर्न भने यस वर्ष मात्र थालेका हुन् । सडक बनाएर परिवारको जीवन धान्ने सपना बोकेका कटुवाल बिहानदेखि बेलुकासम्म हरेक दिन सडकसँग सङ्घर्ष गरिरहेका छन् ।

थापा–खत्री किशोर मजदुर

सुर्खेतका दुई किशोर मजदुर पनि छन् यो सडक खण्डमा ढुङ्गा–माटोसँग खेल्नेको पङ्क्तिमा । स्कुले जीवनको बीचबाटोमै रिटायर्ड भएका यी दुई किशोर गाउँका पनि मिल्ने साथी थिए । अहिले मुग्लिन–नारायणघाट सडक खण्डमा यी दुइ भाइसँगै मिलेर काम गरिरहेका भेटिन्छन् । सुरेन्द्र खत्री । उमेर १७ वर्ष । ९ कक्षा पुगेपछि पढाइ छोडेको ।
प्रकाश थापा । उमेर । १८ वर्ष । ३ कक्षामा छोडेको ।

majdur-highway-6

उनीहरु पहिलो पटक सडक बनाउने काम सुरु गरेका हुन् । काम थालेको भर्खर एक साता भयो । सडक बनाउने काम सजिलो नहुने दुवैको अनुभव छ । दुःख र गाह्रो पनि । उनीहरु काम गर्न केही महिनाअघि काठमाडौँ आएका थिए । भैँसेपाटीमा घर बनाउने काम गरेपछि सोही ठेकेदार मार्फत उनीहरु राजमार्गमा आइपुगेका हुन् ।

दुई छाक खाएर दैनिक ५ सय ज्याला आउँछ । काम गर्दा–गर्दै माथिबाट पहिरो खस्छ, भागाभाग गर्नुपर्छ । धुलो–धुवाँले उत्तिकै सताउँछ ।

पर्खाल बनिरेहेको ठाउँसम्म ढुङ्गा–मसला पुर्याउने, ढुङ्गा फुटाउने र अरु आवश्यक परेको सहयोग गर्नु उनीहरुकोे जिम्मेवारी हो ।

किन छिट्टै स्कूल छोडेको ?

उनीहरुले निश्चल हाँसोको साथ जवाफ दिए– ‘यस्तै त हो नि गरिब मान्छे ।’

सुरेन्द्रको घरमा बुवा, ममी, दिदी र बहिनीसहित ६ जनाको परिवार छन् । प्रकाशको घरमा पनि बुवा, ममी, दाइ बहिनीसहित ५ जनाको परिवार छन् । बाटोमा काम गर्दा आएको आधा पैसा परिवारलाई दिने र आधा आफैले खर्च गर्ने उनीहरुको योजना छ ।

उदयपुरको गाईघाटबाट सडक बनाउने काममा आइपुगेका अर्का मजदुर हुन्– शारद राई । २४ वर्षका राई यसअघि काठमाडौँमा घर बनाउने ठाउँहरुमा मजदुरी गर्थे । जे काम आइलाग्छ, त्यही काममा मजदुरी गर्ने उनी बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सडक निमार्णमा खटिन्छन् । अब एक–दुई महिना काम गरेर घरमै काम गर्ने सोचाइ बनाएका छन् राईले ।

नुवाकोटबाट आएका बुद्धिबहादुर लामाले राजमार्गमा काम गर्न थालेको ५ महिना भयो । गाडी ओहोर गर्ने ठाउँमा ठाउँमा काम गर्न निकै जोखिम र चुनौतीपूर्ण रहेको उनको अनुभव छ । मिस्त्रीको काम गर्ने उनी सडक निमार्णका लागि आइपरेको हरेक काम गर्छन् ।

सडक बनाउने यी मजदुरहरु जस्तै अन्य मजदुरको पनि भोगाइ उस्तै छन् । काम नगरी केही बन्दैन भन्ने उनीहरुलाई थाहा छ । उनीहरु मज्जाले काम गर्न चाहन्छन् । तर एउटै चिन्ता छ, माथिबाट कतिबेला पहाड खस्ने हो ।

र, पढनुहोस्, यो सडक खण्डका यी समाचार

सावधान ! तस्बिर र भिडियोमा हेर्नुहोस्, मुग्लिन–नारायणगढ सडक खण्डका १८ ‘एम्बुस’ !

मुग्लिन–नारायणगढ सडक खण्डमा यसकारण हुन्छ धेरै दुर्घटना

जोखिमपूर्ण मुग्लिन–नारायणघाट सडकमा यस्ता छन् ड्राइभरका दुःख

जब देशमा यसरी हुन्छ विकास..(भिडियोसहित)

 

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल