मुग्लिन–नारायणगढ सडक खण्डमा यसकारण हुन्छ धेरै दुर्घटना

मंसिर ६

मुग्लिन–नारायणगढ सडक खण्डमा यसकारण हुन्छ धेरै दुर्घटना

kaaali-kholaa
मुग्लिन–नारायणघाट सडक खण्ड कति धेरै कठिनपूर्ण यात्रा हो, त्यो बाटो भएर हिँड्ने सबै परिचित छन् । कति बेला कहाँ दुर्घटना हुने हो, ड्राइभर र यात्री दुवै उत्तिकै चनाखो भएर हिँड्नुपर्छ । त्यसमाथि सडक विस्तारको काम सडकमा धुलैधुलो छ ।

मुग्लिन–नारायणघाट सडकका विभिन्न पाटा खोतल्ने हामीले प्रयास सुुरु गर्यौँ । आइतबार अर्थात मङ्सिर ५ गते हामीले मुग्लिन–नारायणघाट सडक पुल कति जोखिमपूर्ण छन् भनेर तपाईंहरूसमक्ष राख्यौँ ।

‘एम्बुस’ जस्ता पुलको ‘रियालिटी’ तपाईंले पढ्नुभयो, तस्बिरहरु हेर्नुभयो र भिडियो पनि देख्नुभयो । जुन समाचार तपाईंले कारणबस छुटाउनु भएको भए, यहाँ गएर पढ्नुहोला

रातोपाटी संवाददाता शम्भु दंगाल र फोटो पत्रकार बिजु महर्जनले हाम्रा पाठकका लागि दोस्रो सामग्री पस्कदैछन्, जुन मुग्लिन–नारायणघाट सडक खण्ड भएर यात्रा गर्ने सबैको लागि काम लाग्नेछ । त्यति मात्र होइन, यो सामग्री पढ्नुभयो भयो भने तपाईं कहाँ कसरी सावधानी अपनाउने भन्नेमा सूचित हुनुहुनेछ ।

हो, हामी त्यहीँ कुरा गर्दैछौँ, मुग्लिन–नारायणघाट सडक खण्डमा कति धेरै दुर्घटनाग्रस्त क्षेत्र छन् । तपाईं–हामीले एक–एक गरेर यो जानेकै राम्रो हुनेछ ।

२७ किलोमिटरमा ३७ दुर्घटनाग्रस्त क्षेत्र । आफै अनुमान लगाउनुहोस, दुर्घटनाको खतरा कति होला ?

अब यो भयानक खतराको सबै पक्षमाथि तपाईंलाई जानकारी दिँदैछौ ।

durghatana-story-2-6
–गत भदौ ५ गते मुग्लिन नारायणघाट सडक खण्डको चण्डिभञ्ज्याङ–६ चितवनमा भयावह दुर्घटना भयो ।

–गौरबाट पोखरातर्फ आइरहेको आइरहेको ग.१ख ३७०९ नम्बरको बस दुर्घटना हुँदा २५ जनाको घटनास्थलमै ज्यान गयो ७ जना बेपत्ता भए । यस्तै ४ जना गम्भीर घाइते भए भने २३ जना समान्य घाइते भए । मुग्लिनका प्रहरी निरीक्षक योगेन्द्र हमालका हमालका अनुसार उक्त बस दुर्घटना अत्यन्तै भयानक थियो । त्रिशूली नदीमा खसेको बस भेट्टाउन मात्रै प्रहरीलाई डेढ घण्टा समय लागेको थियो । यो दुर्घटनामा प्रहरीले १६ यात्रुलाई उद्धार गर्न सफल भएको थियो ।

–गत भदौ ९ गते चितवनको दारेचोक ९ मा पूर्वमुख्य सचिव एवं पूर्व गृहमन्त्री माधव घिमिरे सवार गाडी साँघुरो कल्भर्टबाट त्रिशूली नदीमा खस्दा ६ जनाको मृत्यु भयो । ४ जनाको शव प्राप्त भए पनि अझै २ जना बेपत्ता रहेका छन् । प्रहरीले अझै खोजी जारी राखेको बताएको छ ।
चितवन प्रहरीका अनुसार मुग्लिन–नाराणगढ सडक खण्डमा भएका पछिल्ला ठुला दुर्घटनाका दुई उदारहण हुन् यी ।

–पछिल्ला ४ महिनामा मात्रै यो सडक खण्डमा भएका दुर्घटनामा ४४ जनाले ज्यान गुमाए भने ७० भन्दा बढी घाइते भए ।

–यस्तै मुग्लिन प्रहरीले दिएको जानकारी अनुसार चितवनको पूर्वमा मौवा खोला र पश्चिममा सिमलतालसम्म जम्मा २७ किलोमिटर दूरीमा गएको साउनदेखि कात्तिक मसान्तसम्म ४२ जनाले ज्यान गुमाए भने १२ जना बेपत्ता भए । यस्तै १ सय ८२ जना घाइते भए ।

–मुग्लिन–नारायणघाट सडक खण्डको ३६ किलोमिटरको दूरीमा १० वर्ष अविधमा भएका २ सय १८ दुर्घटनामा ३ सय ५० ले ज्यान गुमाएका छन् । यी दुर्घटनामा ५० जना गम्भीर घाइते भए भने झन्डै ४ सय जना सामान्य घाइते भए । यस वर्षको ४ महिनाको अवधिमा १० वर्षकै सबै भन्दा बढी ४४ जनाले ज्यान गुमाए ।

डेढ घण्टाको बाटोमा १ वर्षमा २ सय ४० दुर्घटना

–इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी योगेन्द्र हमालका अनुसार मुग्लिन–नारायणघाट सडक खण्डमा सबैभन्दा बढी दारेचोक र चण्डीभञ्जाङ गाविसका सडक–खण्डमा दुर्घटना हुने गरेका छन् ।
durghatana-story-2-3
–२७ किलोमिटर दूरीमा यस वर्ष ४ महिनाको अवधिमा दारेचोक गाविसको सडक खण्डमा ७४ सडक दुर्घटना भएको छ भने चण्डीभञ्जाङ् गाविसमा ३३ सडक दुर्घटना भएका छन् ।

प्रहरीका नजरमा यी हुन् दुर्घटनाका कारण :
–चितवन प्रहरी प्रमुख एसपी वसन्त कुँवर सडक दुर्घटना बढ्नुको पहिलो कारण चालकलाई मान्छन् । सडकको पूर्वाधार खराब भए पनि चालक सचेत नहुँदा दुर्घटना हुने भएकोले दुर्घटनाको पहिलो प्रमुख कारक चालक हुने उनको ठम्याइ छ ।

durghatana-story-2-2
–सडक राम्रो छैन भन्ने थाहा हुँदा हुँदै जोखिम मोलेर सवारी चालाए पनि त्यसमा चालकको कमजोरी हुने उनको तर्क छ ।

–राजमार्गको बाटो साँघुरो हुनु

– बिग्रे भत्केका सडक संरचना समयमा मर्मत नहुनु

–चालकले छिटो गन्तव्यमा पुग्न ओभरटेक गर्ने प्रवृत्ति हावी हुनु

–सडकको एकातिरको भागमा त्रिशूली नदी भएका कारण पनि दुर्घटनामा धेरैको ज्यान जाने गरेको

–लामो दुरीमा एउटै चालकले सवारी चलाउने

–सडकमा मापदण्ड अनुसारका सङ्केत चिन्ह नहुनु

राजमार्गमा दुर्घटना न्यूनीकरण गर्नका लागि सबैभन्दा बढी दुर्घटना हुने ३७ ठाउँ पहिचान गरेर सुधार गर्नका लागि सडक विभागलाई पत्र लेखेर पठाएको चितवन प्रहरी प्रमुख वसन्त कुँवरले बताए ।

सडकमा थोरै सङ्केत चिन्ह, भएका पनि प्रष्ट छैनन्

–प्रहरीले सडक दुर्घटना बढी हुने स्थलमा सङ्केत ट्राफिक सङ्केत चिन्ह नभएको भन्दै सडक विभागलाई पटक–पटक ध्यानाकर्षण गरे पनि कार्यान्वयन हुन सकेको छैन । गत असोज ९ गते पूर्वगृहमन्त्री माधव घिमिरे सवार गाडी दुर्घटना भएको स्थल चितवनको दारेचोकको घोप्टेभीरमा अझै पूर्ण रुपमा रेलिङ हालिएको छैन भने अत्यन्तै साँघुरा र घुम्ती धेरै भएका सडकमा प्रष्ट रुपमा सङ्केत चिन्ह राखिएको छैन । भएका सडक सङ्केत चिन्ह पनि धुलोले छोपिएका छन् भने कतै सङ्केत चिन्ह हुनुपर्ने अत्यावश्यक ठाउँमा पनि चिन्ह राखिएको छैन ।
accident
दुर्घटनापछि उद्धार गर्न प्रहरीसँग छैन उद्धार सामग्री

–मुग्लिन–नारायणघाट सडक खण्डको जुगेडी पुलदेखि मौवाखोलासम्मको भागमा त्रिशूली नदी पर्ने गर्छ । यी क्षेत्रमा हुने अधिकांश सडक दुर्घटनामा सवारीसाधन त्रिशूली नदीमा खस्ने गरेका छन् ।

durghatana-story-2-1
–नदीमा सवारी साधन खसेपछि क्षति न्यूनीकरण गर्न प्रहरीलाई पनि मुस्किल पर्ने गरेको छ । जीवित व्यक्ति फेला पार्न कठिन हुने कुरा त छँदैछ नदीबाट घाइते तथा मृतकको शव निकाल्न र बेपत्ताहरुको खोजीमा पनि चुनौती हुने गरेको चितवन प्रहरी प्रमुख कुँवरले बताए ।

–उद्धारका लागि विशेष तालिम प्राप्त दक्ष प्राविधिक जनशक्ति छैन

–पौडीवाजहरु छैनन्

–अन्य सामग्रीहरु लाइफ ज्याकेट, उद्धारका क्रममा प्रयोग गरिने आधुनिक सामग्रीहरु छैनन् ।

यी कारणले गर्दा राजमार्गमा भएका सडक दुर्घटनामा उद्धार गर्न निकै चुनौती रहेको छ । प्रहरीले यस्ता बेला डोरी, कोदालो, स्टेचर जस्ता सामान्य उद्धार सामग्रीको सहयोग लिने गरेको छ । चितवन प्रहरी प्रमुख कुँवर भन्छन्– ‘‘अहिलेको यस्तो अवस्था र हाम्रो राजमार्गको जोखिमको अवस्था अनुसार हामीसँग अत्याधुनिक उद्धार सामग्री हुनुपर्ने हो । प्रहरी पनि तयारी अवस्थामा रहनुपर्ने हो । त्यी कुराहरुको व्यवस्था हुन सकिरको छैन् ।”

के हुन् दुर्घटना कारण :

–सडक दुर्घटना कम गर्नका लागि गत भदौ १३ गते जिल्ला ट्राफिक कार्यालयले नाराणघाट–मुग्लिन सडक आयोजना प्रमुखलाई पत्र लेखेको थियो । पत्रमा खतरायुक्त ३७ ठाउँको पहिचान गरी दुर्घटना हुने कारण र सडक आयोजनाले गर्नुपर्ने कामका बारेमा उल्लेख गरेको थियो ।

accident-data-2 accident-data-1

प्रहरीले सडक विभाग समक्ष उठाएका सवाल :
–दुरावस्था अवस्थमा रहेको सडकको किनारामा रहेको प्याराफिट, क्रस ब्यारिअर भत्किएको काम नलाग्ने भएको ।

–कतिपय स्थानमा झाडी बढेर चालकहरु झुक्किएर सडक किनाराबारे जानकारी हुन नसक्ने अवस्था रहेको

–साँघुरो र बढी जोखिम रहेका स्थानहरुमा हुनुपर्ने ट्राफिक सङ्केतहरु सम्बन्धी सुरक्षा सङ्केत चिन्हहरु नभएको पाइएको जसको कारण दुर्घटना बढेको

–सडक विभागको इन्जिनियर, निर्माण व्यवसायी कम्पनीका इन्जिनियर र प्रहरीको स्थलगत सडक अनुगमनबाट ३७ वटा स्थानमा प्याराफिट, ग्याबिन क्रस ब्यारिअर, मेटल क्रस ब्यारिअर, ह्वाइट पेन्ट्स, रिफ्लेक्टर, सङ्केत चिन्ह तथा सुरक्षासम्बन्धी ट्राफिक सङ्केतबोर्ड राख्नुपर्ने भन्दै अविलम्ब निमार्ण तथा मर्मत सम्भार गर्न भन्दै पत्र बुझाएको थियो ।

प्रहरीले मर्मत गर्नुपर्ने खतरायुक्त स्थान, मर्मत गर्नुपर्ने विषय र दूरीसमेत तय गरेर आग्रह गरेको थियो । हेर्नुहोस् तस्बिर :
तस्बिर १

durghatana-story-2-5
तस्बिर २

durghatana-story-2-4
प्रहरीले यसरी गरेको आग्रहलाई सडक विभागले लत्याएको छ । प्रहरीले यसरी सतर्क गराएको ३ महिना बितिसक्दा पनि न क्षतिग्रस्त पुलका रेलिङहरु मर्मत गरिएको छ न त अन्य सडकका संरचनाहरुको मर्मत सम्भार नै ।

प्रहरी प्रमुख कुँवर भन्छन्–

–सबै स्टेक होल्डरहरुले आ–आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने सडक दुर्घटना धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ । सडक निमार्णका क्रममा सडकमा थुपारिएका ढुङ्गा माटाको थुप्रो समयमै हटाइदिए दुई तर्फी सवारी सजिलै चल्छ, प्रहरीले दिएका ३७ वटा ठाउँमा सडक विभागले उच्च गुणस्तरीय र मापदण्ड अनुसारका संरचना बनाउनुप¥यो । बनाएको प्यारामिटर र सङ्केत चिन्ह पनि नाम मात्रको भएको छ । बनाउने बित्तिकै कुनै गाडीले छुनेबित्तिकै भत्किएका छन् ।

–प्रहरीले सवारी चालक र सहचालकका लागि चेतना जगाउनेदेखिका गर्नुपर्ने सबै काम गरेको उनले बताए । ड्रिङ्क एन्ड ड्राइभको केही समस्या रहेको र मदिरा पिएर सवारी चलाउनेलाई चितवन प्रहरीले सार्वजनिक अपराधको मुद्दा चलाउने गरेको बताए । जुगेडी, भण्डारालगायतका ठाउँमा लामो दूरीका सवारी साधनमा दुई जना सवारी चालक राखे नराखेको, मादक पदार्थ चेक जाँच गरे–नगरेको बारे चेक जाँच गर्ने गरेको प्रहरी प्रमुख कुवँरको भनाइ छ ।

आवाज उठाउने कसले ?

–मुग्लिन बजार कटेपछि सुरु हुन्छ राजमार्गका पुल र सडकको दुर्दशा । मुग्लिनको एक नम्बर पुल छेउ भेटिएका नकुल थापाले ३ वर्षअघि रेलिङ भाँचिदासमेत सडक विभागले हालसम्म वास्ता नगरेको बताए । यता सडक विभाग इन्जिनियर शिव खनालले चाहिँ हरेक वर्ष पुल मर्मतका लागि बजेट विनियोजन गरेको बताए ।

स्थानीय लिला गुरुङले भनिन्– ‘मन्त्री, नेता, सांसद सबै यही बाटो हिँड्छन तर कसैले यसमा ध्यान दिएनन् । दुर्घटना भएर भत्किएको ठाउँसमेत मर्मत गर्दैनन् ।’

सडक दुर्घटनामा बर्सेनि २ हजारको मृत्यु

साढे ५ मिटरदेखि ६ मिटर चौडाइको साँघुरो सडक, ठूला मालबाहक सवारीको बाक्लो आवतजावत, बिग्रेको सडक समयमा मर्मत नगर्ने, पुलका भत्किएका रेलिङबाट सबारी खस्दासमेत सरकारी निकाय मर्मत र सुधारका काममा लागि नपर्ने कारण राजमार्ग जोखिम बन्दै गइरहेको छ ।accident-ith-3

चालकको लार्पवाहीलाई कारण देखाएर सडकको मापदण्ड पालना नगर्ने प्रवृत्ति पनि सडक दुर्घटनाको अर्को कारण हो । सामान्यतया ४० मिटर गोलाईका घुम्ती रहनुपर्ने मापदण्ड भए पनि राजमार्गमा रहेका सयौँ घुम्तीहरु साँघुरा छन् । जहाँ चालकले सन्तुलन गुमाउदा बढी दुर्घटना हुने गरेको प्रहरी बताउँछन् ।

ट्राफिक प्रहरीका अनुसार नेपालमा बर्सेनि सडक दुर्घटनामा २ हजारले ज्यान गुमाउने गरेका छन् भने दैनिक औसतमा ५ जनाले ज्यान गुमाउने र १२ जना घाइते हुने गरेका छन् ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल