‘सम्बन्धविच्छेद महिला सशक्तीकरणको सूचक होइन’

‘सम्बन्धविच्छेद महिला सशक्तीकरणको सूचक होइन’

लामो समयदेखि ‘मिडिया’ र महिलाको क्षेत्रमा कार्यरत बबिता बस्नेत मिडिया एड्भोकेसी ग्रुप (म्याग) की अध्यक्ष र घटना र विचार साप्ताहिककी सम्पादक हुनुहुन्छ । सूचनामा महिलाको पहुँच बढाउने काममा सक्रिय उहाँसँग ग्रामीणदेखि अन्तर्राष्ट्रियस्तरसम्मका महिलासँग काम गरेको अनुभव छ । बस्नेतसँग महिला केन्द्रित रहेर रातोपाटीका लागि दीपेन्द्र राईले गरेको कुराकानी :

babita-basnet-2–महिलाबारे विभिन्न लेखक तथा दार्शनिकले धेरै कुरा भनेका छन्, त्यसमध्येको समानताचाहिँ महिलालाई बुझ्नै सकिँदैन भन्ने छ । महिलालाई बुझ्न किन गाह्रो भएको होला ? खास के हुन् महिला ?

महिलालाई होइन, मानिसलाई बुझ्न गाह्रो भएको हो । मानिसमात्रै यस्तो प्राणी हो, जसलाई एउटै परिभाषामा बाँध्नै सकिँदैन । हरेक मानिसका अनुहारमात्र होइन, प्रवृत्ति फरक छन्, उसका सोच र दृष्टिकोण फरक छन् । कति वर्षदेखि सँगै बसेका मानिस क्षणभरमै छुट्टिन्छन् । वर्षौंदेखि टाढा रहेका एक–अर्कासँग नजिक पनि भइरहेका हुन्छन् । महिलालाई मात्र होइन, पुरुषलाई पनि बुझ्न त्यत्तिकै गाह्रो छ । तर, महिलालाई बुझ्न गाह्रो छ भनेर पुरुषले लेखिदिए, त्यो ‘डकुमेन्ट’ भयो । पुरुषलाई बुझ्न गाह्रो छ भनेर महिलाले लेखेनन्, त्यसैले त्यो बाहिर आएन । महिलालाई कसैले प्याजको पत्रजस्तो भने, कसैले रहस्यमयी । आ–आफ्नो अनुभवअनुसारका कुरा बाहिर आए तर पुरुषप्रति लागेका कुरा महिलाले भन्ने र लेख्ने हिम्मतै गरेनन् । जे–जे लागेको भए पनि चुपचाप बसे, त्यसैले पुरुषका कुरा बाहिर आएनन् ।

–तपाईंलाई पुरुषका के कुरा बाहिर आउनुपथ्र्यो वा पर्छजस्तो लाग्छ ?
धेरै छन् । समाजमा पुरुषलाई कि आँटी, बहादुर, नाम र धन कमाउन सक्ने, लड्न, भिड्न सक्ने, परिवारको सुरक्षा गर्न सक्नेका रूपमा प्रस्तुत गरियो कि त जाली, फटाहा र बलात्कारीका रूपमा । यी दुवै प्रवृत्तिभन्दा बाहिर धेरै पुरुष छन्, जो ममतामयी छन्, जसले बालबच्चाको ख्याल गर्छन्, जो बाहिर कमाउन जानुभन्दा घरमैं बसेर व्यवहार सम्हालुँ भन्ने चाहना राख्छन् । बलात्कारीलाई मृत्युदण्ड दिनुपर्छ भन्ने सोच राख्ने पुरुषका कुरा कहिल्यै बाहिर आएनन् । महिला वा पुरुषबीच त्यस्तो के फरक छ र ? भनी समान व्यवहार गर्ने पुरुषका कथा खोजिएको छैन । समतामूलक समाजमा मात्रै आफ्नो र मुलुकको भविष्य देख्ने पुरुषको भूमिकालाई हामीले प्रोत्साहित गरेका छैनौँ । समानताको अवधारणा राख्ने पुरुषलाई समाजमा निरुत्साहित गर्ने गरिएको छ । हुन त, यो सबै कुरा शक्तिसँग सम्बन्धित छ । चन्द्रशमशेरसँग शक्ति थियो, सतीप्रथा उन्मूलन गर्दा मानिसले भित्रभित्रै कुरा काटे पनि बाहिर केही भन्न सकेनन् । सम्पत्तिमा छोरा र छोरीको समान अधिकार हुनुपर्छ भन्ने मान्यता राख्ने पुरुष लाञ्छित भए ।

वैदेशिक रोजगारीमा गएका मानिसका श्रीमतीले अरू कसैसँग सम्बन्ध बढाउन हुन्थ्यो कि हुँदैनथ्यो वा हुन्छ कि हुँदैन भन्ने कुरा त्यो उनीहरूको नितान्त व्यक्तिगत कुरा होला । तर, श्रीमान्ले बाहिरी मुलुकमा अनेक प्रकारका ‘ह्युमिलिएसन’ सहेर कमाएको पैसा लगिदिने वा खर्च गरिदिने अधिकार ती महिलालाई छैन ।

–तपाईं त गाउँ–गाउँ घुम्नुहुन्छ, विदेशतिर पनि त्यत्तिकै जानुहुन्छ । गाउँ र सहरका महिलामा के फरक छ ?
व्यावसायिक महिलालाई छाडेर हेर्ने हो भने सहरका गृहिणीभन्दा गाउँका महिला बढी सचेत देख्छु । काठमाडौँ, भक्तपुर, ललितपुरका भित्री सहरका धेरै महिलालाई बाहिरी संसारसँग चासो छैन । तर, दूर गाउँका महिला दुबई, कतार, मलेसियातिरका कुरा थाहा पाउँछन् । हातमा मोबाइल पनि उनीहरूसँगै छ । सूचना र प्रविधिसँग नजिक छन् । त्यो पनि उनीहरूलाई परिस्थितिले बनाएको हो । आफ्नो परिवारको सदस्य बाहिर भएपछि बाहिरी दुनियाँको चासो भयो । हिजो माओवादी द्वन्द्वका बेला परिवारका सदस्य त्यता लाग्दा राजनीतिमा चासो भयो । परिस्थितिले मानिसलाई जान्नुपर्ने बनाउँदोरहेछ भन्ने कुराको उदाहरण गाउँका महिला हुन् ।

babita-basnet-3
–वैदेशिक रोजगारीमा श्रीमान् जाने महिलाको हातमा मोबाइलको कुरा गर्नुभयो, महिलाका कारण अहिले धेरैको सम्पत्ति र परिवार दुवै गुमेको अवस्था छ । किन यस्तो भएको होला ?
मैले सुरुमै भनेकीे थिएँ कि महिला पुरुषको कुरा भन्दा पनि मानवीय स्वभावको कुरा रहेछ । स्रोतमा पहुँच या साथमा पैसा हुनु र नहुनुले फरक पार्दोरहेछ । वैदेशिक रोजगारीमा गएका केही पुरुषका श्रीमतीका सवालामा पनि त्यही भइरहेको छ । त्यसो त, सम्बन्धमा समस्या अहिले धेरै मानिसलाई छ, जो नेपालमै बस्छन्, अझ श्रीमान् श्रीमती एउटै घरमा बस्छन् । सँगै बसेकाचाहिँ समस्याबाट टाढा छन् भन्ने होइन । छोराछोरी, समाज, नातेदार र आफन्तका लागि एउटै छानामुनि रहेर जबरजस्ती सम्बन्ध धानिरहेका मानिस हाम्रो मुलुकमा धेरै छ ।

वैदेशिक रोजगारीमा गएका मानिसका श्रीमतीले अरू कसैसँग सम्बन्ध बढाउन हुन्थ्यो कि हुँदैनथ्यो वा हुन्छ कि हुँदैन भन्ने कुरा त्यो उनीहरूको नितान्त व्यक्तिगत कुरा होला । तर, श्रीमान्ले बाहिरी मुलुकमा अनेक प्रकारका ‘ह्युमिलिएसन’ सहेर कमाएको पैसा लगिदिने वा खर्च गरिदिने अधिकार ती महिलालाई छैन । महिलाको यसप्रकारका सम्बन्ध पछि पैसा लिइदिने कुरामा म त पुरुषलाई दोषी देख्छु, ती पुरुष जसले अर्काको श्रीमान्ले कमाएको पैसा आफूले लिनका लागि सम्बन्ध राख्छन् । त्यस्तालाई निर्लज्ज भन्नुपर्ने हुन्छ । अनि ती महिला जो एउटाले कमाएको सम्पत्ति अर्कोलाई खुवाउन तयार छन्, उनीहरू बेइमान त हुन् नै परपीडक पनि हुन् । उनीहरू आफैँले कमाएको भए जेसुकै गरून्, केही भएन तर अरूले कमाएको सम्पत्तिको दुरुपयोग त गर्न भएन नि ।

पहिला–पहिला सम्बन्धविच्छेदलाई हामीकहाँ पश्चिमा संस्कार भनिन्थ्यो । तर, समयक्रममा अब सम्बन्धविच्छेद पश्चिमा संस्कार नभएर हाम्रै घरघरकी कहानी बन्न पुगेको छ ।

जहाँसम्म किन यस्तो भएको होला भन्ने सवाल छ, श्रीमान् बाहिर गएका महिलामात्र होइन, श्रीमती बाहिर गएका पुरुषमा पनि विचलन त्यत्तिकै देखिन्छ । सुखी बुढेसकाल बिताउने र बच्चालाई राम्रो स्कुलमा पढाउने सपना देख्दै बिदेसिएका धेरै महिलाको पनि दुःखको कमाइ बच्न सकेको छैन । अब यसलाई ‘ग्लोबलाइजेसनको असर, प्रविधि प्रयोगमा पहुँच, आर्थिक तथा वैयक्तिक स्वतन्त्रतासँगै इमानदारीमा कमी भन्नुपर्ला ।

–अहिले जसरी सम्बन्धविच्छेद बढिरहेको छ, के यो महिला सशक्तीकरणकै पाटो हो ?

सम्बन्धविच्छेदलाई महिला सशक्तीकरणको सूचकका रूपमा लिनेहरू पनि छन् तर मचाहिँ यसलाई अलि फरक तरिकाले हेर्छु । महिला सशक्तीकरणभन्दा पनि महिलाको सम्बन्धप्रतिको बुझाइमा परिवर्तन आइरहेको छ जस्तो लाग्छ । पहिला–पहिला सम्बन्धविच्छेदलाई हामीकहाँ पश्चिमा संस्कार भनिन्थ्यो । तर, समयक्रममा अब सम्बन्धविच्छेद पश्चिमा संस्कार नभएर हाम्रै घरघरकी कहानी बन्न पुगेको छ । केही वर्षअघि जब मैले डडेल्धुराको जिल्ला अदालत अगाडि खुट्टामा चप्पल पनि नलगाई सानो बच्चा बोकेर उभिएकी महिलालाई सम्बन्धविच्छेदका लागि आएकी देखेँ, हामीकहाँ कतिपयले यसलाई पश्चिमा संस्कार भन्ने गरेको कुरा याद आयो । पश्चिमा संस्कार के हो तिनलाई त थाहा पनि थिएन । उनले पतिको अंश दाबी पनि गरेकी थिइनन् । कुरा गर्दै जाँदा उनले भनिन्, ‘मानिस त भएन, केलाई चाहियो उसको सम्पत्ति ?’ मलाई त ऊसँग नबस्न पाए पुग्छ । सोधीखोजी गर्दा थाहा भयो उनका पतिको दुव्र्यवहार सहन नसकेर उनले सम्बन्धविच्छेद चाहेकी रहिछन् । उनी त्यस्तो सशक्तको परिभाषाभित्र पर्ने महिला होइनन् तर श्रीमान्को अत्याचार सहन सकिनन् । महिलाले सहनुपर्छ भन्ने हाम्रो हुर्काइ अब अन्याय सहनुहुँदैन भन्नेमा परिणत भएको छ । सम्बन्धविच्छेदलाई सशक्तीकरणको सूचक मानियो भने ती तमाम सशक्त महिला जसको श्रीमान्सँग सम्बन्ध राम्रो छ, उनीहरूप्रति अन्याय हुन्छ । सम्बन्ध भन्ने कुरा मानिसको प्रवृत्तिसँग जोडिने हुनाले ‘लेभल अफ अन्डरस्ट्यान्डिङ मिलेन भने सँगै बस्न गाह्रो हुन्छ जस्तो लाग्छ ।

babita-basnet-4
–महिला जति सशक्त भए पनि आत्मनिर्भर भए पनि आफ्नो कमाइ सकेसम्म घर–व्यवहारमा खर्च गर्न चाहँदैनन् भन्ने छ नि ? के यो सही हो ?

मेरो विचारमा यो आवश्यकताले निर्धारण गर्ने कुरा हो । कतिलाई खर्च नगर्दा पनि पुग्ला तर कति महिला होलान्, जो आफूले खर्च नगरी एक कप चिया पनि खान नपाउलान् । आफ्नो व्यवहार आफैँ धान्दै आएकाले मलाई त खास त्यस्तो अनुभव नै भएन । संगत त्यस्तो भएको हो कि धेरै केटी साथीले छोराछोरीको फिदेखि घर–व्यवहार आफैँले धानेको देख्छु । महिलाको कमाइ भयो भने पुरुषलाई सजिलो हुन्छ जस्तो लाग्छ मलाई त ।

हाम्रो आमा पुस्तालाई महिलालाई कसरी हेपाइबाट मुक्त गर्ने भन्ने चुनौती थियो । केही हदसम्म यो चुनौती पूरा भयो, हुँदै छ । अब यो देशका सबै महिलाले आत्मसम्मानपूर्वक शिर ठाडो गरेर हिँड्न सक्ने वातावरण निर्माण गर्नुपर्ने चुनौती यो पुस्तालाई देख्छु ।

–महिलालाई सबैभन्दा मन पर्ने कुराचाहिँ के होला त ?
सबै महिलाको प्रतिनिधित्व मैले गर्न सक्छु जस्तो लाग्दैन । कुनै कुरा मन पर्ने नपर्ने भन्ने व्यक्तिपिच्छे फरक हुन सक्छ । तर पनि धेरैले महिलालाई प्रशंसा मन पर्छ भन्ने गर्छन् । प्रशंसाकै कारण कति महिला फसेका पनि छन् । मलाईचाहिँ सम्मान हो कि जस्तो लाग्छ । कसैले सम्मानित दृष्टिकोणले हेरिदियो भने त्यो मानिसप्रति महिलाले विश्वास गर्छन् ।

–महिलाको सबैभन्दा ठूलो चुनौती के हो ?

चुनौती त धेरै छन् । हाम्रो आमा पुस्तालाई महिलालाई कसरी हेपाइबाट मुक्त गर्ने भन्ने चुनौती थियो । केही हदसम्म यो चुनौती पूरा भयो, हुँदै छ । अब यो देशका सबै महिलाले आत्मसम्मानपूर्वक शिर ठाडो गरेर हिँड्न सक्ने वातावरण निर्माण गर्नुपर्ने चुनौती यो पुस्तालाई देख्छु । यसका लागि महिलाले आफूलाई व्यावसायिक बनाउन जरुरी छ । जो जुन क्षेत्रमा काम गरिरहेको छ, त्यही व्यावसायिक हुने । कामप्रतिको मूल्य–मान्यता पनि स्थापित गर्नु छ । घरेलु कामका लागि होस् या जहाज उडाउने, मिडिया या सुरक्षा क्षेत्र । महिलाले काम गर्छन् भन्ने मान्यता स्थापित गर्ने चुनौती छ । त्यसैले म भन्ने गर्छु, जुन क्षेत्रमा छौँ, त्यसमै मज्जाले लागौँ । कसैकहाँ भाँडा माझ्ने काम गरिरहेका छौँ भने पनि टल्काएर माझौँ ताकि महिला यस्तै त हुन् नि भनेर कुनै क्षेत्रमा कसैले प्रश्न उठाउन नसकोस् । हाम्रा परम्परागत सीप धेरै छन् । जस्तो दुना टपरी गाँस्ने, बत्ती कात्ने, जे–जे जानिन्छ, त्यही गरौँ, बेचौँ र पैसा कमाऔँ, आत्मनिर्भरता महिलाको स्वतन्त्रता र आत्मसम्मानका लागि ठूलो कुरा हो ।

–गृहिणी र व्यावसायिक महिला को बढी सुखी होलान् ?

गृहिणीका चुनौती पनि कम छैनन् । विनाकमाइ, विनापहिचान सम्पूर्ण घरको काम धान्नु सानोतिनो योगदान होइन । यता, व्यावसायिक महिलाको त झन् कुरै नगर्नुस्, घर र बाहिर दुवैको कामको बोझले यसरी थिचिएका छन् कि आफ्नो सुख र खुसीबारे सोच्ने फुर्सद पनि छैन । म कहिलेकाहीँ सोच्छु, हामीभन्दा हाम्रा हजुरआमा बढी सुखी र खुसी हुनुहुन्थ्यो होला जस्तो लाग्छ । उहाँहरूले त आफ्नो परिवार रिझाए पुग्थ्यो, अहिलेका व्यावसायिक महिलालाई त व्यावसायिक पनि हुनु छ, घरपरिवार पनि धान्नु छ । छोराछोरी हुर्काउनु छ, सधैँ कामको बोझ । यति हुँदाहँुदै पनि सुख केलाई मान्ने भन्ने मानिसको सोचमा फरक पर्ने हुँदा यसै भन्न सक्दिनँ ।

राम्रा लुगा लगाएर बाहिर मुसुक्क मुस्कुराउँदै कति मिलेको जोडी होला भन्ने आभास दिनेगरी सँगै आफन्तका साँझका पार्टीमा पुग्नेहरूमध्ये धेरैको सम्बन्ध मुस्किलले टिकिरहेको छ । हिजोआज धेरै जोडी एउटै छानोमुनि त छन् तर सँगै छैनन् ।

–तपाईंचाहिँ आफ्नो व्यावसायिक कामबाहेक अरू के गर्नुहुन्छ नि ?

संयुक्त परिवारमा बस्ने भएकाले मैले घरको काम खासै गर्नु पर्दैन । तर पनि छुट्टी र फुर्सदका बेला खाना पकाउँछु, लुगा धुन्छु । घरमा खाने चियामा म स्वयम् पाक्के हुँ, मलाई आफैँले बनाएर चिनी र चियापत्तिको ‘कम्बिनेसन’ मिलेको मीठो कालो चिया खानुपर्छ । गाडी आफैँ चलाउछु । काठमाडौँको ट्राफिकमा ड्राइभर हुनु कम ‘स्ट्रेसफुल’ छैन ।

–तपाईं कथा पनि लेख्नुहुन्छ । तपाईंको कथासंग्रह ‘सम्बन्धहीन सम्बन्धहरू’मा कुनै न कुनै रूपमा पुरुष धोकाका कुरा छन्, तपाईंको नजरमा पुरुषहरू धोकेबाज नै हुन् ? महिलाले चाहिँ धोका दिँदैनन् ? अनि सम्बन्धहरू साँच्चिकै सम्बन्धहीन छन् ?

babita-basnet-5

होइन, सबै पुरुष धोकेबाज छैनन् न त सबै महिला नै इमानदार छन् । मानवीय गुण दोषका कुरामा को कस्तो यसै भन्नै सकिँदैन । जहाँसम्म सम्बन्धको कुरा छ, हो, हाम्रो समाजमा अधिकांश सम्बन्ध सम्बन्धहीन बन्दै गएका छन् । राम्रा लुगा लगाएर बाहिर मुसुक्क मुस्कुराउँदै कति मिलेको जोडी होला भन्ने आभास दिनेगरी सँगै आफन्तका साँझका पार्टीमा पुग्नेहरूमध्ये धेरैको सम्बन्ध मुस्किलले टिकिरहेको छ । हिजोआज धेरै जोडी एउटै छानोमुनि त छन् तर सँगै छैनन् । सँगै बस्नु र सौहार्दपूर्ण सम्बन्धमा बस्नुबीचको दूरी निकै लामो छ ।

–महिला पुरुषको सम्बन्ध महिलाका कारणले बिग्रन्छ कि पुरुषको कारणले होला ?

तपाईंले सानैदेखि जीवनसाथीका रूपमा जुन राजकुमार वा राजकुमारीको परिकल्पना गर्नुहुन्छ, त्यसमा आफूसँग मिल्ने, आफूलाई माया गर्ने मानिसको अनुभूति लुकेको हुन्छ । जब कुरा मिल्दैनन् परिकल्पनामा आफूसँग मिल्ने वा माया गर्ने त्यो मानिस नमिल्ने भएर जान्छ । त्यो दूरी कतै महिलाले देख्लान्, कतै पुरुषले । यसैका कारणले सम्बन्ध बिग्रन्छ भन्ने छैन तर अधिकांश महिलाले सकेसम्म सम्बन्ध जोगाउने कोसिस गरेको देखेको छु मैले ।

–महिलासम्बन्धी बाहिर ल्याउनैपर्ने कुराचाहिँ के होला ?

महिलालाई सम्मान गर्ने संस्कार हाम्रै समाजमा छ तर हामीले अपमानका कुरामात्रै बढी बाहिर ल्याएका छौँ । ती पनि नभएका होइन, भइरहेकै कुराका ‘रिफ्लेक्सन’ हुन् । जस्तो, हामीले दाइजोका कारण माइतीपक्षलाई अपमानित गरेका कुरा ल्यायौँ तर छोरी आफूलाई दिएका कारण माइतीलाई सम्मान गर्ने कुरा ल्याएनौँ । जनजाति समाजमा छोरी विवाह गरेर दिँदा माइतीपक्षले तपाईंहरूले जन्माएर, हुर्काएर, पढाएर यति बनिबनाऊ बनाएको छोरी हामीले लैजान पायौँ, तपाईंहरूप्रति हामी आभारी छौँ भनेर संस्कारअनुसार ढोगभेट गरिन्छ । यस्ता कुरा छ्यापछ्याप्ती पार्न पाए छोरीसँगै दाइजो पनि माग्नेहरू आफैँमा कति लज्जित हुने थिए होला ? म खोटाङको राई गाउँमा जन्मिएँ, त्यही हुर्किएँ । गाउँमा कति दिदीको विवाह हुँदा केटापक्षले केटीपक्षसँग आभारी हँुदै हात जोडेको देखेकी छु । अहिले पनि जनजाति परिवारमा यही चलन छ । यति राम्रो संस्कार हाम्रै देशमा छ, अनि यही देशमा कति बुहारी दाइजोका नाममा मानसिक रूपमा प्रताडित मात्र छैनन्, शारीरिक रूपमा जलाइएका पनि छन् । राम्रा अभ्यास हामीले बाहिर ल्याउन सकेका छैनौँ ।

–अन्त्यमा, युवा पुस्ताका महिलालाई के भन्नुहुन्छ ?

विवाह गर्न हतार नगर्नुस् । युवा उमेरमा एउटा सपना हुन्छ, राम्रो दुलाहा रोज्ने, विवाह गर्ने । जुन सपना खराबचाहिँ होइन तर यो पूरा सपना पनि होइन, आधा हो । अबका महिलाले पहिला आत्मनिर्भर भएर विवाहको सपना देख्नुपर्छ, जुन प्रायः पुरुषले देख्छन् । भोलि जे पनि हुन सक्छ, घरपरिवार मैले चलाउनुपर्छ, बाबुआमालाई बुढेसकालमा मैले हेर्नुपर्छ, छोराछोरी पढाउनुपर्छ । करिअर पनि बनाउनुपर्छ भन्ने सोच राखेर अघि बढ्नुपर्छ । जब हामी सम्पत्तिलगायतका सबै कुरामा समान अधिकारको कुरा गर्छौं भने निश्चय नै हाम्रा कर्तव्य पनि समान हुनुपर्छ । सबै अधिकारको दाबी गर्ने अनि बुढेसकालमा बाबुआमा हेर्ने काम त दाजुभाइको हो नि भन्न मिल्दैन । हामीले उत्तरदायित्व लिन सक्नुपर्छ । त्यसका लागि महिला आफ्नो खुट्टामा उभिन आवश्यक छ । त्यसैले युवा महिलालाई दुलाहाभन्दा पहिला आत्मनिर्भरताको सपना देख्न आग्रह गर्छु । सँगसँगै देखे पनि हुन्छ तर आफ्नो खुट्टामा चाहिँ उभिनुपर्यो । फेरि पनि दोहोर्याउँछु, महिलालाई आत्मसम्मानपूर्ण जीवन बाँच्नका लागि आर्थिक रूपले सक्षम हुन जरुरी छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल