पूर्व गृहमन्त्री शक्ति बस्नेतकी आमा : त्यसपछि म आमाको साथी बनेँ

  |   दिपेश शाही

पूर्व गृहमन्त्री शक्ति बस्नेतकी आमा : त्यसपछि म आमाको साथी बनेँ

२०२९ सालमा राप्ती पारिको जिल्ला जाजरकोटको खलङ्गा–९ कालेगाउँमा जन्मेका हुन् पूर्व गृहमन्त्री शक्ति बस्नेत । २०५२ देखि सुरु भएको जनयुद्धमा लागेर राजनीतिक उचाइ प्राप्त गर्दै आएका बस्नेत पहिलो पटक प्रचण्ड प्रधानमन्त्री हुँदा उनका प्रमुख स्वकीय सचिव थिए । उनी पहिलो र दोस्रो संविधानसभा चुनावमा जाजरकोटबाट विजय भएका थिए ।

रातोपाटीका नियमति स्तम्भ ‘मेरी आमा’मा यसपालि शक्तिले कुरा गरेका छन् । डिस्कभरी न्युज नेटवर्कको अनलाइन संस्करण रातोपाटीका लागि दिपेश शाही ले शक्तिसँग गरेको कुराकानी :
shakti-basnet-5

संयोगले टाढिन दिएन

कहिले त संयोग पनि जुर्दो रहेछ । हिजो तपाईंको फोन आयो । ‘आमाको बारे कुरा गरौँ’ भन्नुभयो । खुशी लाग्यो । करिब तीन–चार दिन पहिले मात्रै मैले छोरीलाई मुमासँगको मेरो विगत सुनाउँदै थिएँ । छोरीले पनि मलाई उसको विगत सुनाई । करिब उस्तै उस्तै रहेछ ।

मेरी त मुमा मात्रै हुनुहुन्थ्यो । छोरीको त मुमा र बुवा दुवै उहाँ नै हुनुभयो । १८ महिनाको कलिलो उमेरमा सङ्गमलाई छोडेर मैले र सत्याले जीवनलाई क्रान्तिमा होम्यौँ । सङ्गमले आफ्नो बाल्यकालमा बुवा ममीको माया आफ्नी हजुरआमाबाटै मेटाई । हामी कहिले पूर्व त कहिले पश्चिम भयौँ । कहिले दाङ, कहिले नेपालगञ्ज, कहिले मावलीतिर । कहिले कता कहिले कता । छोरीलाई मुमाले ल्यादिनु हुन्थ्यो । समय मिलाएर भेटिरहन्थ्यौँ । तर सँगै हुन पाएनौँ ।
शान्ति प्रक्रियामा आइसकेको करिब २÷३ वर्षसम्म पनि हामी उसँगै बस्न पाएनौँ । म हेडक्वाटर र प्रधानमन्त्रीको सचिवालयमा, सत्या अन्तरिम व्यवस्थापिका संसदमा । दुवैको उस्तै राजनीतिक व्यस्तता । घरपरिवारका लागि समयको अभाव थियो । तर, मुमाले उसलाई त्यो अभाव कहिल्यै महशुस हुन दिनुभएन । त्यही भएर होला पछि उसलाई यतै आऊ भन्दा पनि हजुरमुमालाई छोड्न मानिन । म नहुँदा पनि मेरो अभावलाई समेत पूरा गर्ने गरी जीवनमा साथ दिनुभयो मुवाले । चाडपर्वको परिवेश, मेरो मनमा मुवाको बारेमा कुरा खेल्नु, तपाईंले कुरा गर्न आग्रह गर्नु यो एउटा मीठो संयोग बनेको छ ।

एउटा असल अभिभावकको रुपमा लिन्छु म मेरो मुमालाई । जीवनका कैयौँ मोडहरुमा आफूसँगै पाउँछु । मेरी मुमा र मबीचको सम्बन्ध पनि निकै प्रगाढ नै थियो र छ पनि । त्यसका पनि केही संयोगी कारण छन् :shakti-basnet-mumy-dady

एउटा त मभन्दा अगाडि पछाडिका मेरा दाइ र भाइ दुवैजनाको मृत्युभयो । सायद ममाथि पनि परिवारको आशङ्का थियो होला । तर, म बाचेँ । त्यही भएर पनि होला मुमा र मबीचको सम्बन्ध अझैँ केही विशिष्ट र प्रगाढ बन्यो ।

दोस्रो, मेरो परिवार पहिलेदेखि नै बढी राजनीतिसँग आबद्ध भएकाले पनि होला, सोह्र–सत्र वर्षको उमेरसम्म बुवा प्रायः सधैँ घर बाहिरै रहने । घरमा मुमा र म मात्रै एक्लै हुने । मेरो जीवनको सुरुवाती क्षणमा मुवा एकल अभिभावक जस्तै हुनुहुन्थ्यो । बुवासँग एकदमै थोरै थोरै मात्रै भेटघाटहरु हुन्थे । मुमा र मसँगै हुन्थ्यौँ । त्यो अर्को कारण हो जसले मुमाको मायाको अभाव सानोमा मैले कहिल्यै महशुस गर्नु परेन । त्यसले मुमासँगको मेरो निकटतालाई झनै कस्यो भन्नुपर्छ ।

तेस्रो, मेरो घर नजिकैको भेरी नदीमा हामी बालसखाहरु पौडी खेल्न, रमाइलो गर्न जान्थ्यौँ । वर्षाको समयमा नदी अघिपछिको भन्दा बेस्सरी बढेर ठूलो हुने । भेल बग्ने, जङ्गल, रुखहरु, झारपात आदि बगाएर ल्याउने, निकै डरलाग्दो बनेर उर्लिने ।
shakti-basnet-7
एक दिन मलगायत चार–पाँचजना केटाकेटी नदीमा पौडी खेल्न गयौँ । अरु सबै मभन्दा जान्ने थिए । कोही ७÷८ वर्षको, कोही १०÷११ वर्ष जतिको । म भने सबैभन्दा कान्छो ५ वर्षको मात्रै । साउन महिनाको पहिलो हप्ता थियो होला सायद ।

नदिको किनारमा सानो भँगालो थियो । पौडी खेल्दा खेल्दै मलाई भँगालोले बगाए छ । पानीले मलाई सानो भँगालोबाट ठूलो नदीमा मिसायो । वर्षायाममा बगाएर ल्याएको एउटा ठूलो रुखको कापमा दायाँबायाँ खुट्टा भएर अडकिएको रहेछु । सँगै गएका अरु चिच्याएछन्, म त बेहोस् । नजिकै काका हुनुहुँदो रहेछ र थाहा पाएर जोगाउनु भएछ ।

करिब छ घण्टापछि होसमा आएँछु । म पनि मेरा दाइभाइहरु जस्तै अकालमै झण्डै खेर गइनँ, म बाचेँ । त्यसपछि मप्रति घरपरिवार र आमाको माया झन् बढ्यो । त्यसपछि हरप्रहर म आमाको साथी बने । खाँदा, खेल्दा उठ्दा, बस्दा । मेरो हेरचाहका लागि पनि उहाँले मलाई छोड्नु भएन । यी सबै संयोगहरुले मलाई मेरी मुमाबाट टाढिन दिएनन् ।

विद्रोही स्वभाव प्रेरणा बन्यो

बुवा क्षेत्री, मुमा ठकुरी । उहाँहरुले प्रेम विवाह गर्नुभयो, त्यो पनि अन्तरजातीय । त्यतिबेलाको समाजका लागि स्वीकार्य कुरा थिएन त्यो । मलाई लाग्छ, जे परे पनि बेहोर्ने भनेर उहाँहरुले जुन आँट गर्नुभयो । त्यो एउटा विद्रोह थियो । पक्कै पनि सचेततापूर्वक गर्नुभयो, विद्रोह भनेरै गर्नुभयो भन्ने त होइन । उहाँलाई लाग्यो गर्नुभयो । तर स्कुलको मुख पनि नदेखेको एउटा अशिक्षित व्यक्तिका लागि त्यो एउटा ठूलो विद्रोह गर्ने साहस थियो । नारीका लागि त्यतिबेलाको समयमा त्यो झनै जटिल थियो होला सायद । जानेर या नजानेर उहाँ एक अन्जान विद्रोही हुनुभयो । अहिलेसम्म नै उहाँमा त्यो स्वभाव छ ।
shakti-basnet-1
मेरो परिवार खेती किसानी गरिखानु पर्ने मध्यम वर्गीय अवस्थाको थियो । दलित समुदायका मानिसहरुलाई काम गराउने त्यो बेलाको चलन थियो । जोत्ने, खन्नेलगायत सबै कामहरु दलित समुदायका मानिसहरुलाई गराइन्थ्यो । उनीहरु र हामीबीच ठूलै पर्खाल खडा गरिन्थ्यो र भेदभाव गरिन्थ्यो । तर, मुमाबाट त्यो पर्खाललाई तोड्ने काम हुन्थ्यो । भेदभावलाई न्यूनीकरण नै गर्नुहुन्थ्यो ।

सायद उहाँ आफैले त्यो भोगेको भएर पनि होला । तर उहाँले जे भोग्नु भयो त्योभन्दा बढी खाडल त दलित समुदाय र क्षेत्री बाहुनका बीचमा थियो । कम्तीमा उहाँले त्यो आफ्नो परिवारमा कहिल्यै हुन दिनुभएन । त्यही ठाउँमा फेरि बुवा हुनुभयो भने भयङ्कर फरक हुन्थ्यो । भेदभाव हुन्थ्यो । दैनिक हुने कामकाजमा पनि प्रष्टै देखिन्थ्यो । मुमासँगको मेरो सङ्गतले म यिनै कुराबाट प्रभावित भएँ । मेरो राजनीतिक जीवनमा एउटा प्रेरणा उहाँबाटै प्रत्यक्ष अप्रत्यक्ष रूपमा पाएको छु ।

विभाजित परिवारमा संयोजकको भूमिका

मेरो परिवारलाई अरुलाईभन्दा बढी राजनीति लाग्ने । चाहे त्यो राष्ट्रिय स्तरको होस् चाहे स्थानीयस्तरको, चुनाव भएको बेलामा मरिमेटेर लाग्ने । पञ्चायतकालीन राजनीतिमा बुवा र दाइहरु राजनीतिक हिसाबले सक्रिय हुनुहुन्थ्यो । दुईजना दाइहरु राप्रपाका जिल्लास्तरको नेता हुनुहुन्थ्यो । बुवा पनि पहिलेदेखि नै राजनीतिमा सक्रिय । म कम्युनिस्ट आन्दोलनमा जोडिएँ । म र मेरा दुईजना बहिनीहरु मोटो मसालको राजनीतिमा । मुमा बीचमा पर्नुभयो । उता मुमाका माइतीहरु पनि ठकुरी खानदानका भएकाले पहिलेदेखि नै जाजरकोटमा राम्रै राजनीतिक पहुँच बनाएका, सांसद नै उठ्नु भयो । मुमालाई कसको पक्षमा जाने भन्ने निर्णय लिन गाह्रो थियो । परिवार राजनीतिक हिसाबले पनि विभाजित भइसकेको थियो ।

हामी परिवारका सदस्यहरु बीचमा नै एक समय करिब बोलचाल बन्द जस्तै भइसकेको थियो । उहाँले बाहिरी रुपमा राप्रपा भने पनि हाम्रो व्यवस्थापकीय भूमिकामा अप्रत्यक्ष सहयोग गर्नुभयो । पछि मुमाले विभिन्न बाहानामा बोलचालको वातावरण बनाउनुभयो । मलाई कुरा राख्ने, सल्लाह गर्नेसम्मको वातावरण पनि तयार पार्नुभयो । विस्तारै जनयुद्ध सुरु भएर चर्को रुप लिँदै गएपछि सबै कन्भिन्स हुनुभयो । मैले पनि आग्रह गरेँ ।
shakti-basnet-3
आस्था विचार आआफ्नो ठाउँमा छ, ठीक छ । सहयोग नगरे पनि माओवादी आन्दोलनलाई असहयोग नगर्ने भन्ने भयो । त्यसमा मुवाले खेल्नु भएको संयोजनकारी भूमिका पनि निकै ठूलो छ । मेरो राजनीतिक जीवनको पारिवारिक वातावरण तयार पार्न मुमाले नै ठूलो सहयोग गर्नुभयो ।

यसभन्दा पहिलेको एउटा अर्को घटना पनि छ । एसएलसी पास भएपछि सबैजना प्राविधिक विषय पढ्न कोही काठमाडौ त कोही उच्च शिक्षा पढ्न नेपालगञ्ज गए । मप्रतिको घरपरिवारको इच्छा पनि कतै गइदिए हुन्थ्यो भन्ने थियो । तर उहाँहरुको अपेक्षा विपरीत म उच्च शिक्षा पढ्न कहीँ नजाने भएँ । जिल्लाकै उमाविमा पढ्ने निधो गरेँ । घरका मान्छेहरु बिग्रियो भन्नेतिर सोच्न थालेका थिए । तर मुमा मेरो पक्षमा उभिनुभयो । ठीकै छ । यतै पढ्ने भए पनि पढोस् । पढे भइहाल्यो नि भन्नुभयो । सबैजना सहमत नभए पनि चुप लागे ।
म नजानुको मूल कारण भने मेरो राजनीतिक जिम्मेवारी र लगाव थियो । मपछि त्यही क्याम्पसको स्ववियु सभापति र पाटी जिल्लाको सदस्य भएँ ।
त्यसपछि पनि स्नातक पढ्न सबैको गन्तव्य नेपालगञ्ज कि काठमाडौँ हुन्थ्यो । मेरो भने दाङ भयो । यो पनि सबैका लागि आश्चार्य भयो । म त्यतिबेला पार्टी ब्युरोको जिम्मेवारीमा थिएँ । पार्टीको संरचनामा भेरीको जाजरकोटलाई राप्तीका जिल्लाहरुतिर जोडिएको थियो । म त्यतै जानुपर्ने बाध्यता थियो । त्यसैले मेरो रोजाइमा दाङ प¥यो ।

अब घरपरिवारको निर्णयले मलाई त्यति असर गर्न त छोडिसकेको थियो । तर पनि एउटा बाध्यतामा जेलिएको थिएँ । खर्च त बुवा र दाइबाटै चलाउनुपथ्र्यो । त्यसैले आफ्नो रोजाइसँगै परिवारको चाहनालाई पनि सम्बोधन नगरी सुख थिएन । त्यो सबै चीजलाई मुमाले सहजीकरण गरिदिनु भयो । मलाई खासै गाह्रो भएन । किन भने संयोजन गरिदिने मुमा हुनुहुन्थ्यो । मैले दुःख गर्नै पर्दैन थियो ।

आमाका न इच्छा न अपेक्षा

मानिस भइसकेपछि इच्छा र अभाव भन्ने चीज नहुने त सायदै कम होलान । राजनीतिक जीवनमा यति धेरै जिम्मेवारीहरु पूरा गरेँ, अझैँ कति बाँकी छन् । कतिका अभिव्यक्त भए होलान् र पूरा गरेँ, कतिको महशुस गरेर पूरा गरेँ होला । तर मैले मेरी मुमाको मुखबाट उहाँका व्यक्तिगत इच्छा, अपेक्षा, अभाव र आकाङ्क्षा भन्ने चीज कहिल्यै पनि सुन्न पाइनँ ।

shakti-basnet-4एउटा सामान्य परिवारमा जन्मी हुर्किएर म देशको मन्त्रीसम्म पनि भएँ । अभावविनाको त मानिसको जिन्दगी नै हुँदैन । सायद मुमालाई पनि अभाव भयो होला । उहाँका पनि इच्छाहरु थिए होलान् । केही अपेक्षाहरु पनि नभएकै त होइन होला नि । तर आजपर्यन्त मेरासामु कहिल्यै पनि व्यक्त गर्नु भएन । “हामीले तँलाई पढायौँ, लेखायौँ । अब हामी नसक्ने भयौँ । तैँले हामीलाई हेर्नुपर्छ” भनेको भए सायद म मेरो राजनीतिक जीवनमा यहाँसम्म पुग्न सक्ने थिइन होला । पारिवारिक आवश्यकताहरु एकपछि अर्को गर्दै मेरासामु तेर्साइरहेको भए आज म के हुन्थेँ होला ? यो मेरी मुमाबाट कहिल्यै पनि भएन । “जनताको सेवा गर्न हिँडेको मान्छे तँ । त्यही गर्नुपर्छ । कसैको नराम्रो नबन” अहिले पनि मुमाले मलाई सचेत गराई रहनुहुन्छ ।

अभाव खट्किएको क्षण

शान्ति प्रक्रियापछि भएको पहिलोे संविधान सभा चुनावको समयमा बादलजी पार्टीको तर्फबाट चु्नावमा भाग लिने उम्मेद्वार छनोट समितिमा संयोजक हुनुहुन्थ्यो र म सदस्य थिएँ । म त्यतिबेला बर्दिया, बाँके र जाजरकोट तीनवटै जिल्लाबाट सर्वसम्मत एक एक नम्बरमा सिफारिस भएको थिएँ । तिनवटै जिल्लाबाट मेरो विजय सुनिश्चत पनि थियो । त्यो मलाई राम्रैसँग थाहा थियो ।

छनोटको अन्तिम दिन बादलजीले आएर भन्नुभयो ‘तपाईंको कुन जिल्ला हो, टुङ्ग्याउनुस्’ ।
‘तीनवटैमा नजाने विचार पो गरेको छु, मैले त’ मैले जवाफ दिएँ ।
‘केन्द्रीय सदस्य कोही पनि नछुटाउने अध्यक्षको निर्देशन छ’– बादलजीले भन्नुभयो ।
‘त्यसो भए के गर्ने त ?’
‘यो फाइनल होइन । लेख्नलाई भए पनि लेखौँ’ उहाँले भन्नुभयो ।
‘त्यसो भए खालि राखौँ’ मैले अड्डी कसेँ ।

‘मिडियालाई दिनुपर्छ’ उहाँले भनेपछि ‘मिडियालाई पनि नदिऊँ’ मैले भने ।
दोस्रो दिन अध्यक्षको निवास नयाँबजार बोलाइयो । म र बादलजी गयौँ । अध्यक्षले लड्नुपर्छ भन्नुभयो । मैले पनि मलाई लागेका कुराहरु राखेँ ।
म पाटी सङ्गठनको काम गर्नका लागि पनि एक तिहाई केन्द्रीय सदस्य चुनाव लड्नु हुन्न भन्ने पक्षमा थिएँ । तर पछि अध्यक्षले हामी तीनजनाले मात्रै निर्णय गरेर यो सम्भव नहुने भन्नुभयो । म त्यतिबेला थारुवानको इन्चार्ज थिएँ । त्यति भएपछि म नेपालगञ्ज गएँ । मलाई नेपालगञ्ज पुग्ने बेलासम्म पनि यो निर्णय लिन साह्रै गाह्रो भयो । आफूले भनेको कुरा पनि ठीक हो भन्ने लाग्छ । पाटीले गरेको निर्णय पनि ठीक छ भन्ने लाग्छ । छुट्याउन निकै सकस प¥यो ।

shakti-basnet-2त्यही बेलामा मुमाले भनेको कुरा नै निर्णायक हुन्थ्यो हुन्थेन त्यो त भन्न सक्दिनँ । तर मुमालाई निकै सम्झिएँ । मोबाइल, टेलिफोन आदिको सुविधा पनि थिएन । भेट्न पनि त्यति सहज थिएन । निर्णय लिन निकै गाह्रो परिरहेको थियो । जीवनमा निकै याद गरेको क्षण भयो त्यो मेरा लागि ।

त्यसभन्दा पहिले पनि मैले घरपरिवारको सल्लाह र अनुमतिविनै विवाहको निर्णय लिएँ । एकपटक मुमासँग सल्लाह गर्न पाए हुन्थ्यो भन्ने कुराले निकै बेरसम्म गिजोली रह्यो । तर पछि पनि अस्वीकार गर्नुभएन । सहजै स्वीकार गर्नुभयो ।

अभिव्यक्त खुशी

वि.स. २०४३ सालतिरको कुरा हो । म एस.एल.सी. परीक्षा दिएर बसिरहेको थिएँ । माघ महिनामा परीक्षा हुन्थ्यो । श्रावणमा रिजल्ट । त्यतिबेला युनिसेफ भन्ने संस्थाले गाउँगाउँमा गएर आयोडिनको भेक्सिन लगाउँथ्यो । करिब पाँच दस वर्र्ष यस्तै कतिको अन्तरालमा त्यो कार्यक्रम आउँथ्यो । ठ्याक्कै त्यही समयमा त्यो कार्यक्रम हाम्रो गाउँमा पनि आयो ।

मैले जीवनमा पहिलो पटक त्यही सुई लगाउने कार्यक्रममा सिनियर भेक्सिनेटरको जागिर खाएँ । गाउँमा आएर मभन्दा ठूला ठूला दाइहरुको अगाडि सिनियर बनेर सुई लगाउन थालियो । तलब स्केल महिनाको ७ सय ५५ रुपियाँ थियो । दिनको ३० रुपियाँ टीए र डीए ५ रुपियाँ समेत गरेर करिब १८ सय रुपियाँ जति बुझिन्थ्यो ।

मलाई खर्च गर्नुपर्दैनथ्यो । म त्यो पैसा जस्ताको तस्तै ममीलाई बुझाइ दिन्थे । सायद त्यो पैसाभन्दा बढी १५ वर्षको काखमा खेलिरहेको बच्चाले गरेको काम देखेर होला मुमा बढी नै खुशी हुनुभयो । त्यति धेरै खुशी त मन्त्री, सभासद हुँदा पनि अभिव्यक्त गर्नु भएको छैन । सामान्य उल्लास हुन्छ तर त्यति धेरै उन्मादी भने उहाँमा हुँदैन । सदाबहार खुशी हुने मान्छे । कहिल्यै आतिनु भएन । कहिल्यै मातिनु भएन ।
shakti-basnet-6
आमाका लागि मैले

म करिब १६ वर्ष जतिको थिएँ । एक दिन मुमा बिरामी हुनुभयो । के भएको थियो ठ्याक्कै याद त भएन तर निकै सिरियस बिरामी हुनुभयो । हिँड्नै नसक्ने स्थिति बन्यो । दिदीको बिहे भइसकेको थियो । दाइ र बुवा कता जानुभएको थियो । घरमा हुनुहुन्थेन । अस्पताल लिनुपर्ने भयो । त्यति बेला मैले मेरो घरदेखि अस्पतालसम्म मुमालाई बोकेर लिएँ । उपचार गराएँ ।

अलिक सञ्चो भयो । फेरि दुई दिनपछि पनि बोकेरै ल्याएँ । मलाई त्यो एउटा यस्तो स्वर्णिम अवसर लाग्यो नि, मैले मेरो मुमाका लागि केही गरेँ जस्तो महशुस भयो ।

अहिलेसम्मै जीवनमा मैले मुमाका लागि केही गरेँ भन्ने लाग्छ भने यही एउटा कार्य हो । आज म जहाँ छु, यो नै उहाँका लागि सबै थोक हो । मसँग मेरी मुमाले योभन्दा बढी अपेक्षा कहिल्यै राख्नु भएन ।
अब त काठमाडौंमै बुढा बुवा मुमालाई पाल्न सक्छु । ‘आउनुस, यतै आरामले बस्नुहोस्’ भन्दा पनि मान्नुहुन्न । उहाँ आफैलाई मन लाग्यो भने आउनुहुन्छ । सँगै बस्नुहुन्छ । तर, मैले भन्दा ‘तलाईँ अप्ठेरो हुन्छ नाईँ’ भनेर नकार्नुहुन्छ ।
७५ वर्षको उमेर भयो । तर पनि उस्तै खुशी र सन्तुष्ट देखिनुहुन्छ मुमाको । अहिले पनि आफ्नो चिन्ता गर्न दिनुहुन्न । म सिँगो राष्ट्रको चिन्ता गरिरहेको हुन्छु । उहाँहरु मेरै चिन्ता गरिरहनुहुन्छ ।

यो पनि पढ्नुहोस्

तपाईंले यी सामाग्री छुटाउनु त भएन ?

आमाबारे शशी श्रेष्ठ : मैले दुःख पाएकोमात्रै देख्नुभयो आमाले 

आमावारे करिष्मा मानन्धर : मेरी आमा सपनामा पनि मलाई बचाउन आउँछिन्

आमावारे मदकृष्ण श्रेष्ठ : आमालाई खुसी बनाउन आमाकै विरुद्ध मुद्दा हालें

आमावारे पम्फा भुसाल : मेरी आमा : सन्तानसँग सधैँ हार्छिन् आमा

आमावारे कवि श्यामल : उहाँ भन्नुहुन्थ्यो, ‘बरु मेरो रगत खाएस्, रक्सी नखाएस्’ 

आमावारे निर शाह :आमाले मलाई गर्भैमा तुहाउन मान्नुभएन

एउटी आमा जसले पात गाँसेर हरिवंशलाई हुर्काइन्

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल