नेपालमा हिन्दु राष्ट्र भन्ने सबै अवसरवादी हुन्

-  |   शम्भु दङ्गाल

नेपालमा हिन्दु राष्ट्र भन्ने सबै अवसरवादी हुन्

कुनै समय भारतको महाराष्ट्र र मुम्बईमा शिवसेना दलको एकछत्र दबदबा थियो । हिन्दुवादी राजनीतिक पार्टीका रूपमा रहेको शिवसेना दलको प्रमुख थिए बालासाहेव ठाकरे । झन्डै २० वर्षअघि भारतको महाराष्ट्र प्रदेशमा भारतीय जनता पार्टीसँगको गठबन्धनमा शिवसेना दल सत्तामा पुगेको थियो ।

नौ वर्षको उमेरदेखि दिल्ली र मुम्बईमा होटल तथा सेठहरूका बङ्गलामा घरेलु कामदार, दरवान र राजनीतिक पार्टीको कार्यकर्ता हुँदै तिनै बालासाहेव ठाकरेका वायाँ हातसम्म बन्न पुगेका एक जना नेपाली हुन्, मास्टर थापा ।

बालासाहेव ठाकरेको जीवनको आखिरी समयका राजनीतिक क्रियाकलाप र पूजापाठमा मास्टर थापासँगै हुन्थे । बालासाहेवको तीन वर्षअघि मृत्युभएको थियो । मृत्युपछिको अन्तिम संस्कार अघिको रथयात्रामा सामेल दुई नेपालीमध्ये मास्टर थापा पनि एक थिए । तिनै बालासाहेवको अस्तु मास्टर थापाले मुक्तिनाथमा सेलाएका थिए ।

master-thapa-1
तीन वर्षको उमेरमा आमाको मृत्यु, तीन कक्षा पढ्दै गर्दा स्कुलबाट निकालिए

स्याङ्जाको अउरिखर्कमा २०२५ साल माघ १२ गते जन्मिएका मास्टर थापा डेढ वर्षको भएपछि बुवाआमासँगै भारतको आसाममा बसाइँ सरेका थिए । उनको परिवारमा बुवाका चार भाइबीच अंशबन्डा हुँदा थौरे सम्पत्ति आफ्नो भागमा परेका कारण उनका बुवा बसाइँ सरेर भारतको आसाम गुहाइटी पुगेका थिए । तीन वर्षको पुग्दा आसाममै उनकी आमाको निधन भयो ।

उनका दुई दिदी थिए, उनीहरूको आसाममै बिहे भयो । उनी नौ वर्षको भएपछि केही समयका लागि उनका बुवा र दिदी नेपाल फर्किए । नेपाल फर्किदा बुवाले उनलाई भिनाजुको जिम्मामा छोडेका थिए । काफ्ले थरका उनका भिनाजु आसाममा गाई पालन व्यवसाय गर्थे । करोडौँ लगानीमा गाई पालन गरेका उनका भिनाजुले छ–सात जना कामदार राखेका थिए । भिनाजुलाई पैसाको कुनै कमी थिएन ।

उनी असामस्थित डनबस्को स्कुलमा अध्ययनका लागि भर्ना भएका थिए । कक्षा तीन पढ्दै गरेका उनको महिनाको स्कुल फि १५ रुपियाँ मात्र थियो । उनका भिनाजुले तीन महिनाको ४५ रुपियाँ स्कुलको फि नतिरीदिएपछि उनी स्कुलबाट निकालिए । स्कुलबाट निकालिएपछि उनलाई भिनाजुसँग बस्न मन लागेन । जतिबेला उनी सानो आठ–नौ वर्षको बालक थिए । कसैलाई थाहै नदिई उनी भारतको दिल्ली पुगे ।

master-thapa-4
दिल्लीमा सडक बालक, होटल तथा बङ्गलाको बालश्रमिक

दिल्ली आइपुगेर उनी सडक बालक बने । सडकमै उनको केही दिन बितेपछि उनले होटलमा भाँडा धुने काम गर्न थाले । होलमा भाँडा धुन थालेको केही महिनापछि उनी नजिकै रहेको रेल स्टेशनमा पानी बेच्ने काम गर्न थाले । दिल्लीमा एक वर्ष बिताएपछि त्यहाँबाट उनी फेरि भारतको अर्को सहर मुम्बई पुगे । त्यहाँ पनि उनले होटलमा भाँडा धुने काम गर्न थाले । त्यो होटल मुम्बईको उच्च अदालत नजिक थियो । जग्गा सम्बन्धी केसका कारण उच्च अदालतमा नियमित जसो एक जना सेठ आउँथे । होटलमा भाँडा धुने गोरो केटासँग उनको प्रायः जम्काभेट हुनथाल्यो ।

उनले आफ्ना कपडाहरू फुटपाथको रेलिङमा सुकाइरहेको बेला एक दिन ती सेठले उनलाई भने– ‘तुम इत्ना गोरा लड्का हे, क्यू फुटपाथमे सोता हे, चल मेरे साथ, मेरो साथ रहनेके लिए जगा है, खाने भी दुङ्गा, कपडे भी दुङ्गा ।’

जतिबेला उनी १० वर्षका मात्र थिए । उनलाई ठीकै लाग्यो र ती सेठको घरमा घरेलु कामदारका रूपमा पुगे । सेठको घरमा गाडी सफा गर्नेदेखि अन्य काम गर्न थाले । त्यहाँ अर्का एक जना सेठ पनि बेला–बेला आइरहन्थे । उनको नाम थियो एमएम मिठाइवाला । उनका सानो भाइ पनि अदालतको चक्करका कारण त्यहाँ आउने गर्थे । ती अर्का सेठले एक दिन उनलाई भने– ‘बहादुर तुम इधर क्यू रहेते हे, चलो हमरे बङ्गलोमे ड्युटी करो ।’

उनले खाना, बस्न, लगाउन, राम्रो सुविधा दिने बताएपछि पहिलेको ठाउँ छोडिदिए । उनले राति बङ्गलाको रेखदेख गर्ने र दिउँसो रिक्सा धुने काम गर्न थाले ।

एमएम मिठाइवालाको बङ्गलामा चार वर्ष काम गर्ने दौरानमा त्यहाँका अर्का उद्योगपति धनेशभाइ गोरागान्धीको नजर उनीमाथि प¥यो । गुजराती व्यापारीका नामले प्रसिद्ध उनी बडीबिल्डर पनि थिए । निकै मिहिनेती गोरो नेपाली केटाको काम गराईबाट प्रभावित भएका उनले, यस्तो सानो बङ्गलामा किन काम गर्छौ आउ मेरो बङ्गलामा भनेर बोलाए ।

धनेशभाइले आफ्नो बङ्गलामा काम गर्ने तीन जना सेक्युरिटी गार्डको सुपरभाइजर बनाएर राखे । त्यहाँ उनलाई खान बस्न राम्रो प्रबन्ध थियो । त्यहीँबाट उनका प्रगतिका दिन सुरु भयो ।

धनेशभाइ उनलाई इमानदर नेपाली भनेर खुब माया गर्थे । धनेशभाइको आफ्नै सिनेमा घर, विभिन्न फ्याक्ट्री तथा गरिबहरू बस्ने भाडाका घरहरू थिए । पछि उनी त्यहाँ सुरक्षा हेर्ने १५ देखि २० जना सेक्युरिटी गार्डको सुपरभाइजर बने ।

मार्सल आर्टमा प्रवेश

master-thapa-3
त्यतिबेलासम्म उनी निकै सिधा–साधा थिए । त्यहाँ मार्सल आर्ट सिक्ने एक जना व्यक्ति आउँथे । मास्टर थापाले सधैँ कम्मरमा एउटा ठूलो खुकुरी भिरेका हुन्थे । कम्मर ठूलो खुकुरी भिरेको, दुब्लो पातलो गोरो केटो देखेपछि ती व्यक्तिले भने–‘गोरा मार्सल आर्ट सिक्ने ?’

मार्सल आर्ट सिक्न उनीसँग पैसा थिएन । ती मार्सल आर्टका गुरु जसको नाम उनले नाम बताउन चाहेनन्, जसले उनलाई निःशुल्क मार्सल आर्ट सिकाउन थाले ।

उनले काम थालेको दई वर्षको बीचमा उद्योगपति धनेशभाइ गोरागान्धीको निधन भयो । उनको व्यापार व्यवसायमा छोराहरूमा भागबन्डा हुनथाल्यो । उनकोमा काम गर्ने कर्मचारीले उनलाई त्यहाँ काम गर्न दिएनन् ।

मुम्बईमा त्यतिबेला बासुभाइ आम्मावाडे नाम गरेका एक जना डन थिए । उनले आफ्नै जग्गामा गरिबहरू बस्ने झुपडीहरू बनाएका थिए । तिनै बासुभाइले उनलाई ‘चलो मेरे साथ’ भनेर लगे ।

उनको काम नै बासुभाइको व्यक्तिगत सुरक्षा हेर्नुका साथै उनको बङ्गलाको रेखदेख गर्नु थियो । उनले झन्डै एक हजार झुपडी घर बनाएका थिए । जहाँ सस्तो दरमा मानिसहरू भाडामा बस्थे । भाडा उठाउन एक जना मुन्सी राखिएको थियो । कसैले भाडा दिएन भने मुन्सीसँग मिलेर भाडा उठाउनुपर्ने मास्टर थापाको जिम्मेवारी थियो । यसपछि भने उनको जीवनको प्रगतिले गति लियो ।

बासुभाइको एक जना छोरा थिए, ओसमान । उनी कराँते सिक्थे । उनले मास्टर थापाका लागि ड्रेस किनेर ल्याइदिए र आफू कराँते सिक्ने ठाउँमा लिएर गए । मास्टर थापाले त्यहाँ नियमित रूपमा तीन वर्ष मार्सल आर्ट सिके ।

मुम्बईमा रहेका सबै दादा तथा डनहरूको जमघट त्यही ठाउँमा हुने गरेको थियो । नन्दुकदम भन्ने एक जना चर्चित बडीबिल्डर थिए, जसले मास्टर थापालाई सहयोग गर्थे । नन्दुभाइको अहिले निधन भइसकेको छ । उनी नन्दुकदमसँगै उनी त्यहाँका राजनीतिक पार्टीको चुनावी प्रचारमा पनि सहभागी हुन्थे ।

आफैँ मार्सल आर्टको गुरु

आफैँले केही गर्नुपर्छ भनेर उनले सन् १९९४ मा गोर्खा सेक्युरिटी फोर्सको स्थापना गरे । मुम्बईको लालवाग गुन्डाहरूको कब्जामा रहेको मानिन्थ्यो, जहाँ गुन्डाहरूको कारण सेक्युरिटी फोर्समा कसैले काम गर्न मान्दैनथे । मानिसहरूलाई आत्मरक्षा गर्नका लागि उनले मुम्बईको मुख्य ठाउँमा रहेको एमडी कलेजमा चाइनिज किक बक्सिङको कक्षा सिकाउन थाले । चाइनिज किक बक्सिङका च्याम्पियन आरडी मुनी र उनका चेलाबाट उनले किक बक्सिङको राम्रो प्रशिक्षण पाए ।

master-thapa-6
नेपालकै एक जना व्यक्ति कृष्णसिंह, जो मार्सल आर्ट कलामा निपूर्ण थिए । मास्टर थापाले उनबाट पनि प्रशिक्षण लिए । यस्तै उनले एक जना गुरुबाट डिफेन्स कमाण्डो टेक्निक पनि सिके ।

उद्योगपतिको बडीगार्ड र शिवसेना दलमा प्रवेश

सन् १९८७ मा लागवागमा शिवसेना पार्टीका नगर प्रमुख नागेश पावर थिए । डगरु सत्पाल नगर शाखा प्रमुख थिए । त्यहाँ रहँदा उनको सङ्गत शिवसेना पार्टीका कार्यकर्तासँग हुनथाल्यो । कहिलेकाहीँ तत्कालीन शिवसेना पार्टीका प्रमुख बालासाहेव ठाकरेको भाषण सुन्न उनीहरू ट्रकमा चढेर जाने गर्थे । उनी आफ्नो मार्सल आर्ट कौसलबाट परिचित बन्दै गएका थिए ।

महाराष्ट्रका प्रहरी प्रमुख आइजीपी राममूर्तिका भाइ कृष्णमूर्ति त्यहाँका ठूला व्यापारी थिए । व्यापारिक हिसाबले उनको कम्पनी दोस्रो नम्बरमा थियो । उनी कृष्णमूर्तिको व्यक्तिगत सुरक्षा हेर्ने जिम्मा लिएर काम गर्न थाले ।

कृष्णमूर्ति बेला–बेला शिवसेनाको दलका प्रमुख नेता बालासाहेव ठाकरेलाई भेट्न जाने गर्थे । कृष्णमूर्तिसँगै मास्टर थापा पनि हुने भएकाले बालासाहेव ठाकरेसँग देखभेट हुने गथ्र्यो ।

स्याङ्जामा घर भएका के.डी. थापा नाम गरेका व्यक्ति पनि मुम्बईको शिवसेना दलका नगर सेवकको रूपमा चिनिएका थिए । उनी पनि मार्सल आर्टमा मुम्बईमा ख्याति कमाएका व्यक्ति थिए । के.डी. थापा पनि बालसाहेवको नजिकका मान्छे थिए ।

काठमाडौँमा भएको विश्व हिन्दु सम्मेलनमा सहभागी हुन काठमाडौँ आइपुगेका उनले भने– ‘म मार्सल आर्टमा च्याम्पियन भए पनि ग्याङ्वारमा सहभागी भइन । आफ्नो कलालाई दुपयोग गरिन । मैले बरु मन्त्रीका बच्चाहरूलाई सिकाउने काम गरेँ ।’

स्याङ्जा दीर्घाका चम्पासिंह थापा पनि बालासाहेवसँग थिए । उनी प्रायः बालासाहेव बस्ने मातुश्री बङ्गलामा हुन्थे । चम्पासिंहले एक दिन नेपाल शिवसेना खोलेको छ तिमी पनि आऊँ नेपालीहरूका लागि केही गर्नुप¥यो भने । चम्पासिंहले सञ्जय निरूपमलाई शिवसेना नेपालको सम्पर्क प्रमुख बनाइएको र उनलाई भेट्न भने । सञ्जय निरूपम त्यतिबेला शिवसेनाको तर्फबाट सांसद थिए । निरूपम अहिले महाराष्ट्र कङ्ग्रेसको अध्यक्ष भएका छन् । उनले सञ्जय निरूपमलाई भेटे । शिवसेना नेपालको सम्पर्क उपप्रमुखमा भने अशोकसिंह नेपाली र श्रीराज सुवेदी थिए । सल्लाहाकारमा चम्पासिंह थापा थिए । अशोकसिंह नेपालीमार्फत उनी सञ्जय निरूपमको सम्पर्कमा पुगेका थिए । त्यतिबेला अरूण सुवेदीले भारतका बालासाहेव ठाकरेसँग भेटेर नेपालमा शिवसेना पार्टी गठन गरेका थिए । सञ्जय निरूपमले उनलाई नेपाल शिवसेनाको सङ्गठन प्रमुखको जिम्मेवारी दिए । शिवसेना दलको तर्फबाट उनले भारतमा नेपालीसँग भेटघाट सम्पर्क बढाए भने नेपालीका समस्या समाधानका लागि काम गर्न थाले ।

नेपाल शिवसेनामा काम गरेको दुई वर्षपछि पार्टीभित्र केही मान्छेले गरेको गलत आर्थिक क्रियाकलाप मन नपरेको भन्दै उनले पार्टी परित्याग गरे तर उनी बालासाहेव ठाकरेको नजिक पुगिसकेका थिए ।

आफ्नै सङ्गठन, आफैँ नेता

उनीसँगै पार्टी छोडेका दीपक सिलवालले भारतमा लाखौँ नेपाली कामदार रहेको र उनको हितका लागि नेपाली कामदार सेना खोल्नुपर्ने बताए । त्यसपछि उनीहरूले दिल्लीमा नेपाली कामदार युनियन गठन गरे । त्यसलाई नेपाली श्रमिक युनियनका रूपमा बालासाहेव ठाकरेको हातबाट मुम्बईमा दर्ता गराए ।

युनियनले चोरी, ठगीका घटनाकका साथै अन्याय गर्नेलाई समातेर प्रहरीमा बुझाउने गर्न थाल्यो । अहिले महाराष्ट्रमा नेपाली युनियनका पाँच शाखा खुलेका छन्, जुन नेपाल कामदार सेनाको रूपमा चर्चित बनेको छ ।

अहिले राजस्थान र उत्तराखण्डमा सङ्गठन विस्तार भइरहेको छ । उनले भने–‘भारतका काम गर्न जाने नेपालीलाई केही न केही समस्या पर्ने भएकोले युनियनको मुख्य उद्देश्य नै नेपाली कामदारको हितमा काम गर्नु थियो । दुर्घटना हुँदा, मानिस मर्दा सबैभन्दा बढी समस्या हुने गरेको छ । भारतको कानुनअनुसार मानिस मर्दा रगतको नाता भएकोले मात्र दाहसंस्कार गर्न दिने भएकोे यसमा धेरै समस्या पर्ने गरेको छ । अहिले यस्तो अवस्थामा प्रहरीले नेपाली श्रमिक युनियनलाई फोन गर्ने गरेको छ ।’

शिवसेना दलका सांसदको मार्सल आर्ट गुरु, बाला साहेवसँग नजिक

bal-thakrey
गुण्डागर्दीको जगजगी रहेको दिल्लीमा राजनीति गरिरहेकाहरूका लागि पनि आत्मरक्षा तालिमको महŒव थियो । उनले बालासाहेव ठाकरेका दाहिने हात मानिएका शिवसेनाका तत्कालीन सांसद सञ्जय निरूपमलाई मार्सल पनि आर्ट सिकाउने गर्थे । यस्तै बालासाहेवका छोरा आदित्य ठाकरेलाई पनि मार्सल आर्ट सिकाउने कुरा भयो । मार्सल आर्ट सिकाउने तयारी गरे पनि ठाकरेका पिएले आदित्यको स्कुलको परीक्षा भएकाले पछि गर्ने भने पनि रोकियो । आदित्य अहिले कलेजको पढाइ सकेर राजनीतिमा सक्रिय छन् । त्यसक्रममा उनी शिवसेना दलका प्रमुख बालासाहेवको निकै नजिक भएका थिए ।

उनले नेपाली श्रमिक युनियनको तर्फबाट एउटा कार्यक्रम गरे । जसमा बालासाहेव ठाकरे प्रमुख अतिथि थिए । कार्यक्रममा मास्टर थापाको नेतृत्वमा पाँच–छ हजार नेपालीको सहभागी भएको देखेर ठाकरे उत्साहि बने । उनी अब बालासाहेवको नजिकको मान्छे भएर काम गर्न थाले । बालासाहेव ठाकरेलाई सघाउनु, उनको सुरक्षा प्रबन्धदेखि दैनिक भेट्न आउने हजारौँ मानिसलाई व्यवस्थित गर्नु उनको जिम्मेवारी थियो । बालासाहेव नेपाली भनेपछि हुरुक्कै हुने गर्थे । एकपटक भएको रेल दुर्घटनामा परेका नेपालीलाई सहयोगका लागि उनले घटनास्थलमा तुरुन्तै पठाए । छ जना नेपालीको मृत्यु भएको थियो । मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचारमा सहयोग तत्काल आर्थिक सहयोग गरे । थापाका अनुसार ठाकरे सबैभन्दा बढी नेपालीलाई विश्वास गर्थे । उनले आफू बस्ने मातृश्री बङ्गलामा काम गर्न १० जना नेपाली राखेका थिए । थापा भन्छन्– ‘बालासाहेवको आशिर्वाद लिन भारतका राष्ट्रपति, प्रधानमन्त्री आएको पनि देखेँ । उनले समस्या परेकाहरूका लागि दैनिक दश–बाह्र लाखसम्म बाड्ने गर्थे ।’

बालासाहेवले भारतमा रहेका नेपालीहरूको नेतृत्व गर्न मास्टर थापालाई जिम्मेवारी दिए । भारतमा रहेका नेपालीहरूले कुनै दुःख नपाउन भन्ने उनको चाहना थियो । श्रमिक युनियनलाई सशक्त बनाउन र कोही श्रमिक नेपालीले समस्या भोग्नुपरे, दुःख पाए मलाई भेटाउनु भन्ने ठाकरेको आदेश हुन्थ्यो । ठाकरेले भारतमा रहेका नेपालीमाथि संरक्षण दिएको थापा बताउँछन् । अन्तर्राष्ट्रिय नेताको रूपमा रहेको उनको अनुभव छ । भारतका साधुसन्त, मन्त्री, नेता, गुन्डा सारा मान्छेहरू उनको खुट्टा छुन आउने थापाको अनुभव छ । नेपालबाट पनि नेताहरू उनलाई भेट्न र सहयोग माग्न जाने गरेका थिए ।

दसैँका बेला चार–पाँच नेपाली बिहानै टीका थाप्न बालासाहेवको दैलामा पुगेका हुन्थे । बालासाहेव भन्थे– ‘थापा आज कित्ना लोग आएगा ?’ थापाका अनुसार उनी नेपालीका लागि टीका जमरा लिएर पर्खिन्थे । नेपालको राजनीतिक घटनाको बारेमा बेला–बेला उनी के के भइरहेको छ भनेर जानकारी राख्थे । विश्वको समाचार जानकारी राख्थे । नेपाली र हिन्दु भनेपछि हुरुक्कै हुन्थे ।

बालासाहेवले नै बिहे गराइदिए

उनले बिहे गरेको १२ वर्ष भयो । बालासाहेव ठाकरे र चम्पासिंह नेपालीको सहयोगमा उनको बिहे भएको थियो । बालासाहेव ठाकरेले नै उनका लागि केटी जुराइदिएका थिए । स्थायी ठेगाना स्याङ्जा गेजा भएका रिलायन्स कम्पनीका अफिसर दुर्गाप्रसाद पाण्डेकी छोरीसँग उनको बिहे भयो । उनकी श्रीमतीले ग्रयाजुयट अध्ययन गरेकी छिन् भने उनका १० वर्षकी छोरी र सात वर्षका छोरा गरी दुई सन्तान छन् । उनका छोराछोरी अहिले अभिषेक बच्चनलगायतले अध्ययन गरेको मुम्बईको सबैभन्दा महँगो स्कुलमा अध्ययन गर्छन् ।

master-thapa-2
धेरैपछि आफ्नो वास्तविक नाम थाहा भयो

खासमा उनको नाम मास्टर थिएन र थर पनि थापा थिएन । धेरैपछि स्याङ्जा पुगेपछि उनलाई थाहा भयो आफ्नो वास्तविक नाम । उनको नाम शिवलाल लम्साल रहेछ । सानोमा उनलाई कालु भनेर पनि बोलाउँदा रहेछन् । मुम्बईमा एकदिन शिवसेना दलका नगर सेवक केडी थापाले थर केहो भनेर सोधे, उनले शर्मा भने । केडी थापाले शर्मा भनेको बाहुन हो, मानिसले हेप्छन् भनेर थापा थर बनाइदिए । मार्सल आर्टमा च्याम्पियन भएकोले उनलाई मास्टर भन्न थालिएको थियो । यसरी उनी मास्टर थापा बनेका थिए ।

राजेश हमाल मेरो साथी

मास्टर थापा भन्छन्– ‘मुम्बई आएका बेला राजेश हमाल मलाई नभेटी जाँदैनन् । उनी मेरा राम्रा साथी हुन् । उनीसँग मेरो एउटै परिवारजस्तो सम्बन्ध छ । उ एउटा घमण्ड नभएको एक्टर हो । म प्राथना गर्छु कि उनको परिवार राम्रो होस् । मनिषा कोइरालासँग पनि राम्रो सम्बन्ध छ ।’

कमल थापालाई इमान–जमानभन्दा पैसा ठूलो रहेछ : हिन्दु राष्ट्रका नाममा ठग्ने धेरै

मास्टर थापा भन्छन्– ‘एउटा कार्यक्रममा भाग लिन राप्रपा नेपालका अध्यक्ष कमल थापा केही वर्षअघि मुम्बई पुगेका थिए । परराष्ट्रमन्त्री बन्नुअघि उनी बालासाहेवलाई भेट्न गएका थिए । कमल थापाले मर्ने बेलासम्म पनि नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियानबाट पछि हट्दिन भनेका थिए, आज छोडेर गए । उनलाई इमान–जमानभन्दा पैसा ठूलो रहेछ । नेताहरूलाई पैसा नै प्यारो लाग्छ । मैलै सुशील कोइरालालाई पनि हिन्दु राष्ट्रका बारेमा भनेको थिएँ– उनले पनि हुन्छ भाइ भनेका थिए ।

master-thapa-5
जब राजाले सत्ता छोड्नुप¥यो, त्यतिबेला पनि उनी गृहमन्त्री थिए । पूरै समय राजालाई गुमराहमा राखे । सरकारमा जान्न जान्न भनेको मान्छे उपप्रधानमन्त्री पाउने भएपछि सिद्धान्त र इमानलाई कुल्चेर गयो ।

सबै ठीक छ मात्र भनिरहे । जता मीठो खानुकुरा देख्यो, त्यतै जाने त जनावरको दिमाग हुन्छ । कमल थापाको दिमाग पनि त्यस्तै रहेछ । मान्छेको दिमागले त यो साँचो हो, यो गलत हो सबै कुरा ठीक ढङ्गले सोच्छ नि । लठ्ठीले जता धपाया,े त्यतै जाने भनेको त जनावर मात्र हो ।

खुमबहादुर खड्का कहाँ छन् ? काठमाडौँमा हिन्दुको यत्रो सम्मेलन भयो । कमल थापा हिन्दु राष्ट्र बनाउने भन्दै भारतमा सहयोग माग्न जान्थे । कहाँ गए आज ती ? म भारतदेखि आएँ, नेपालमै भएका तिनीहरू पशुपतिसम्म किन आउँन सकेनन् ? नेपालमा हिन्दु राष्ट्र भन्ने सबै अवसरवादी हुन् । यहाँ एउटै सच्चा सङ्गठन छै्रन ।

हिजो ज्ञानेन्द्र राजा हुँदा जुन बूढाहरू थिए, आज पनि तिनै मात्र छन्, खोई नेतृत्वका लागि युवाहरू ? मैले एउटै युवाहरू थिएनन् । हिजो जो सलाम हजुर भन्थे आज तिनै छन् ।’

मुम्बईको ३८ वर्षको बसाइँ : सफलताको हतियार इमानदारिता

अहिले पनि उनी भारतमा नेपाली कामदार सेनाको नेतृत्व गरिरहेका छन् । मुम्बईमा मास्टर थापा भनेर नचिन्ने कोही छैन । बालासाहेव ठाकरेको मृत्युका बेला उनको शवयात्राका क्रममा रथमा दुई नेपाली चम्पासिंह नेपाली र उनीसँगै थिए ।

मास्टर थापा भन्छन्– ‘प्रवासमा मैले इमानदारिता पूर्वक काम गरेर यहाँ आइपुगको हुँ । मसँग पनि मसल्स पावर छ तर मैले त्यसको दुरूपयोग गरेर एक रुपियाँ पनि कमाएको छैन । थापादाइले मसँग दादागिरी गरेर एक माग्यो भन्ने कोही छैन । फेरि गलत काम ग¥यो भने म कसैलाई पनि छोड्दिन । सबै सिस्टममा चल्नुपर्छ भन्ने मेरो मान्यता हो । महाराष्ट्र प्रहरीले मलाई तीन पल्टसम्म सम्मान ग¥यो । मन्त्रालयबाट फोन आउँछ, प्रहरीका अफिसरहरू फोन गर्छन् । उनीहरू मेरो सम्पर्कमा रहिरहन्छन् । बालासाहेव ठाकरेसँग सहयोग माग्न दैनिक हजारौँ मानिस आउँथे, मैले कहिल्यै एक पैसा मागिन । न त कुनै नेपालीसँग लिएँ । मैले आफैँले काम गरेँ, मिहेनत गरेँ ।

भारतमा नेपालीहरूलाई सहयोग उद्धार गरिन्छ तर नेपालीहरूले धन्यवाद भन्न समेत जान्दैनन् । उनीहरूले केही नभने पनि भगवान्ले हेरिरहेका छन् भन्ने लाग्छ, सहयोग गरिसकेपछि पनि ठूलो आत्मसन्तुष्टि मिल्ने गर्छ ।

वैदेशिक रोजगारीमा लगाइदिन्छु भन्दै मुम्बई लगेर दलालहरूले धेरै नेपालीलाई अलपत्र पार्ने गरेका छन् । त्यस्ता धेरै अलपत्रलाई उद्धार गरे नेपाल पठाएका छौँ । अहिले मुम्बईबाट कोही पनि नेपाली महिला विदेश उड्दैनन्, भारतको बाटो भएर धेरै चेलीबेटीको बेचबिखन हुने, अवैध ढङ्गले रोजगारीमा पठाउने भएपछि हाम्रो सक्रियतामा मुम्बईका एयरपोर्टमा अध्यागमन र प्रहरीले समात्ने गरेको छ । नेपाल सरकारले किन त्यस्ता म्यानपावर कम्पनीलाई छानबिन गरेर कारबाही गर्दैन, हामीलाई अचम्म लागेको छ ।

नेपालका राजनीतिक दलका भातृसङ्गठनका रूपमा पनि भारतमा नेपालीका अरू सङ्गठन छन् तर नेपालीलाई केही समस्या प¥यो, अन्याय भयो भने प्रहरीको हवल्दारसँग पनि कुरा गर्न डराउँछन् तर मास्टर थापा भने पनि मुम्बईका हरेक प्रहरी स्टेशनले तुरुन्तै रेस्पोन्स गर्ने वातावरण बनाएको छु, त्यसमै मलाई गर्व लाग्छ ।

आज पनि मुम्बईमा बसेर एकैदिन चाहे जति कमाउन सक्छु । शिवसेनाका जुनसुकै नेताहरूलाई चाहेको बेला भेट्न सक्छु । भिआइपीमा गाडीमा मुम्बई सहरमा हिँड्न सक्ने भएको छु, कसैले मेरो गाडी रोक्न सक्दैनन् । यो सबै मेरो सच्चाइ र इमानदारितापूर्वक गरेको कर्मको फल हो ।’

मास्टर थापा बेला–बेला नेपाल आउँछन् । उनको जन्मभूमि नेपाल हो तर उनी भारतीय नागरिक भएका छन् । भारतमा समस्यामा परेका नेपालीहरूको उद्धार गर्नु आफ्नो धर्म सम्झन्छन् । नेपालमा धर्म–संस्कृतिको अतिक्रमण भयो भन्ने उनलाई चिन्ता छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल