युग पाठकको बहस : राज्य जातिवादी भएकैले संकट गहिरियो

युग पाठकको बहस : राज्य जातिवादी भएकैले संकट गहिरियो

कान्तिपुरको पाठकपत्र, पत्रिकाको सम्पादक हुँदै युग पाठक अहिले हस्तक्षेपकारी अध्येता बन्ने सकसपूर्ण प्रक्रियाबाट गुज्रिरहेका छन् । पाठकले इतिहास खोस्रेर केही नयाँ अवधारणा सार्वजनिक गरेका छन्, जसले तीव्र बहस निम्त्याउने पक्का थियो । इतिहास निर्माण जटिल र सकसपूर्ण हुने गर्छ । तर, हामी भने इतिहासको त्यस्तो स्वप्निल कल्पना गर्छौं, जहाँ कुनै बाधा–अवरोध हुँदैन । डिस्कभरी न्युज नेटवर्कको रातोपाटीका लागि नरेश ज्ञवालीले अध्येता युग पाठकसँग ‘इतिहास’, ‘इतिहास र राष्ट्रवाद’, ‘साहित्य र राजनीति’ तथा ‘मिडिया’ बारे गरेको कुराकानीको सम्पादित अंश ।

इतिहासबारे

yug-pathak-1कुनै कालखण्डमा लेखिएको इतिहास विजेता अथवा शासकको इतिहास रहेछ, अब शोषित पीडित जनताको इतिहास लेखिनुपर्छ भन्ने तपाईंलाई किन लाग्यो ?

मान्नुस्, एउटा घर छ । त्यो घरको एउटैमात्र झ्याल खोलिएको छ । तपाईंले घरभित्र हेर्नसक्ने सम्भावना त्यही झ्यालमात्र हो । त्यो घरबारे तपाईं त्यतिमात्र बुझ्न सक्नुहुन्छ, जति त्यो एउटा झ्यालबाट देखिन्छ । खासगरी राष्ट्रिय इतिहास भनेर प्रचार गरिएको र स्कुलमा विद्यार्थीलाई पढाउने गरिएको हाम्रो इतिहास लेखनको मूल त्यही इतिहास हो । राजा–महाराजाको जीवनगाथा, षड्यन्त्र र गद्दीको छिनाझप्टी नै हाम्रो इतिहासको विशेषता रहेको छ ।

इतिहासलेखनको पनि आफ्नै इतिहास हुन्छ । नेपालको इतिहासलेखन धेरै पछि सुरू भयो । पुग–नपुग ८० वर्ष भयो यहाँ इतिहास लेख्न थालिएको । राणाको हातबाट शासन सत्ता शाहवंशको हातमा फिर्ता भएपछि व्यवस्थित इतिहासलेखनको चरण नेपालमा सुरू भयो । त्यसैले सुरूवातमै संस्कृत भाषा, साहित्य पढेका, हिन्दु संस्कृतिप्रति अत्यन्त आशक्त इतिहासकार पैदा भए । देश भनेको खास राजाले जितेको खास भूगोल हो भन्ने अवधारणा नै पहिलो र अन्तिम अवधारणा भएपछि विजेता शासकको इतिहास नलेखिए कसको इतिहास लेखिन्छ त ?

लिखित इतिहासको सुरूवात नै वीरगाथाबाट भएको मानिन्छ । बीसौं शताब्दीमा मात्र प्रश्न उठ्यो– इतिहास शासकले बनाउँछ कि जनताले ? लोकतान्त्रिक र कम्युनिस्ट आन्दोलनबाट नयाँ धारणा आयो, ‘इतिहासका निर्माता जनता हुन् ।’ आखिर जनताको सामूहिक मिहिनेतले मात्र संसारमा कुनै पनि चमत्कार सम्भव भएको हो । चाहे युद्ध होस् वा आविष्कार, जनताको सचेत हिस्साले नेतृत्व गर्छ भने आमजनताको रगत, पसिनाले त्यसलाई सम्भव बनाउँछ । शोषित, उत्पीडित जनताको इतिहास नलेखिने हो भने न हामी कुनै पनि समाजको चाल थाहा पाउँछौं, न त समाजलाई अघि बढाउने शक्ति नै चिन्न सक्छौं । त्यसैले वैकल्पिक इतिहास लेखिनुपर्छ र त्यो पनि जनताका विविध तप्काको दृष्टिबाट ।

इतिहास र गाथा निर्माण किन गरिन्छन् ? यसले वर्तमान र भविष्यका पुस्तामा कस्तो प्रभाव पार्छ ?

मानिस किसिम–किसिमका भाष्य (न्यारेटिभ) विना बाँच्न सक्दैन । मानिसलाई आफू बाँचेको दुनियाँबारे व्याख्या चाहियो, त्यसैले धार्मिक महागाथा बने, दर्शन लेखिए । बिस्तारै ती भाष्य शासकवर्गले आफ्नो फाइदाका लागि प्रयोग गर्न थाल्यो । ज्ञान जनतामाथि निरंकुश शासन गर्ने औजार बन्यो । लिपि र लिखित भाषाको विकाससँगै धार्मिक महागाथा र वीरगाथा लेखिए । इतिहास लेखनको आधुनिक प्रक्रियाचाहिँ छापाखाना विकाससँगै आएको होे ।

शासकले आमजनतामाथि शासन गर्ने सबैभन्दा बलियो हतियार नै इतिहासको भाष्य हो । जब धेरै मानिस एकै तरिकाले सोच्छन्, शासकले त्यही विचारमा टेकेर आफ्नो शासन सुरक्षित गर्छ । प्रत्येक पुस्ताले ज्ञानका केही झ्याल खोल्छ र अरु धेरै झ्याल–ढोका बन्द गर्छ । त्यसैले नयाँ पुस्ताले आफ्नो समयका समस्या पहिचान गर्न बन्द गरिएका ती झ्याल–ढोका खोल्नुपर्छ ।

जस्तै, तपाईंलाई पनि नेपालमा कसरी विकास हुन्छ भन्ने भाष्य चाहिएको छ । आदिवासी, जनजाति, दलित, मधेसीलगायत समुदायका अभियन्ता आ–आफ्ना सभ्यता र भाषाको इतिहास खोज्न लागेका छन् । सुदूरपश्चिमलाई आफ्नो भिन्नै इतिहास चाहिएको छ । हो, मानिसलाई आफ्नैप्रकारको भाष्य चाहिन्छ । जब संसारमा राष्ट्र बने, तिनीहरुका पनि आफ्नै गाथा लेखिए । नेपालमा पनि प्राचीनकालदेखिको इतिहास लेखियो, देश र राजा–महाराजाका महानताका गाथा लेखिए । पन्ध्रौं/सोह्रौं शताब्दीतिरै ‘नेपालमहात्म्य’ नामको ग्रन्थ लेखिएको थियो ।

तपाईंलाई लाग्न सक्छ, प्राचीनकालको इतिहास किन चाहियो ? तर तपाईं हुर्केको, बसेको देश, समाज र आफैंलाई बुझ्ने एउटा तरिका तपाईंलाई इतिहासकै व्याख्यामार्फत दिइएको हुन्छ । तपाईंको सोच्ने तरिका नै यस्तै व्याख्याले बनाइरहेको हुन्छ । हरेक पुरानोले नयाँ पुस्तालाई सोच्ने एउटा तरिका यसैगरी दिने हो । शासकले आमजनतामाथि शासन गर्ने सबैभन्दा बलियो हतियार नै इतिहासको भाष्य हो । जब धेरै मानिस एकै तरिकाले सोच्छन्, शासकले त्यही विचारमा टेकेर आफ्नो शासन सुरक्षित गर्छ । प्रत्येक पुस्ताले ज्ञानका केही झ्याल खोल्छ र अरु धेरै झ्याल–ढोका बन्द गर्छ । त्यसैले नयाँ पुस्ताले आफ्नो समयका समस्या पहिचान गर्न बन्द गरिएका ती झ्याल–ढोका खोल्नुपर्छ । नयाँ पुस्ता त्यसरी नै नयाँ हुने हो र आफ्नो समयका समस्या समाधान गर्दै अझै समृद्ध समाज निर्माण गर्न त्यसो गर्न जरूरी छ ।

 सिधा तरिकाले हेर्दा समाजमा त्यसैको चर्चा हुने गर्छ, जो अरुभन्दा भिन्न अथवा विशिष्ट हुन्छ । इतिहासमा पनि त त्यसैको उल्लेख हुन्छ, जसले कुनै विशिष्ट काम गरेको हुन्छ, यसमा आलोचना गर्नुपर्ने के छ ? नेपालमा कस्ता इतिहास र गाथाको निर्माण गरियो त ?

तपाईंको कुरा सही नै हो, विशिष्ट व्यक्तित्वलाई छाडेर इतिहास निर्माण हुँदैन । त्यस्ता व्यक्तित्वको वीरगाथाले हाम्रो समाजको सामाजिक र आर्थिक विकासको नियम बुझ्न सघाउँछ कि सघाउँदैन ? बरू त्यस्ता वीरगाथाले हामीलाई आफ्ना सामाजिक, आर्थिक समस्यातिर आँखा चिम्लेर कोरा भावुकतातिर बहकिन सिकाए कि ? नक्कली अभिमानमा भुलाइराखे कि ?

देश कुनै अमूक राजाले जितेको जमिनमात्र होइन, जनताले रगत पसिना बगाएर दिनहुँ निर्माण गर्ने निरन्तर प्रक्रिया हो । देशका सिमाना बदलिन्छन् तर जनताले मिहिनेत गर्न, आविष्कार गर्न छाड्दैनन् । पृथ्वीनारायण विजेता पक्कै थिए तर इतिहासभरि पराजित यो देशका जनता भए । त्यसैले गणतन्त्रमा जनताको आँखाबाट हेर्ने इतिहास चाहियो ।

yug-pathak-4पृथ्वीनारायण शाहकै कुरा गरौं । उनी आफ्नो समयका सफल र लडाकु राजा थिए । गोरखाजस्तो गरिब राज्यबाट सेना संगठित गरेर उनले २५ वर्षसम्म निरन्तर युद्ध लडे । स–साना राज्य जितेर आफ्नो राज्य ठूलो बनाए । इतिहासकारहरुले जुन–जुन स्रोत उपयोग गरेर पृथ्वीनारायणबारे लेखेका छन्, ती स्रोतमा उनले तत्कालीन नेपाल खाल्डोलगायत विभिन्न राज्य जितेको (दख्खल गरेको) बयान पाइन्छ । तर, इतिहासकारहरु भने त्यो घटनालाई नेपालको एकीकरणका रुपमा व्याख्या गर्छन् । पचास वर्ष अघिसम्म पनि जनबोलीमा नेपाल भन्नाले हालको काठमाडौं उपत्यकालाई मात्र बुझिन्थ्यो । पृथ्वीनारायणले कुन नेपाल एकीकरण गरे त ? तथ्यचाहिँ के भने उनले नेपाल पनि जिते, मकवानपुर, विजयपुर आदि पनि जिते । एकीकरणको भाष्यचाहिँ शाहवंशको महानता स्थापित गर्ने उद्देश्यले थपिएको व्याख्या हो ।

एकीकरणको भाष्यको आलोचनाचाहिँ किन गर्नुपर्यो त ? भन्नैपर्दा– गणतन्त्रको नयाँ भाष्य रचना गर्न त्यसो गर्नु जरूरी भयो । नेपालमा गणतन्त्र स्थापना गर्ने शक्ति कुन राजनीतिक एजेन्डामा थियो ? अन्तरिम संविधान २०६३ पढ्नुस्, राज्यको पुनःसंरचना नै त्यो एजेन्डा थियो । राज्य पुनःसंरचनाको अन्तर्वस्तु के थियो ? खासगरी संघीयता र समावेशिता । संघीयता र समावेशिता किन ? किनभने परम्परागत राज्यप्रणालीमा विविध आदिवासी, जनजाति, मधेसी, भाषाभाषी, दलित, महिला र अल्पसंख्यक समुदाय अटाएका थिएनन् । नेपालको जटिलता र अवसर दुवै यही विविधताबीच एकता निर्माण गर्नुमा छ । यसलाई जातिवादका रुपमा व्याख्या गर्ने जेहाद पनि यहीबीचमा छेडियो । अनि गणतन्त्र घोषणासँगै राजा–महाराजाको जन्मोत्सव मनाउन हटाइएको विषयलाई राजनीतिक मुद्दा बनाइयो । राजावादीले त्यसो गर्नु स्वाभाविकै थियो तर गणतन्त्रवादी मानिएका दलभित्रकै गुट र नेता नै पृथ्वीनारायण शाहको जन्मोत्सव राज्यले मनाउनुपर्ने अभियान छेड्न लागे ।

पृथ्वीनारायण शाहचाहिँ कुनै राजा थिएनन् जस्तोगरी प्रचार गरियो । यस्तो अभियानका लागि वैचारिक खुराकचाहिँ हाम्रा इतिहासकारले दिएका थिए– एकीकरणको अवधारणा । यो खुलेआम समाजलाई पछाडि फर्काउने अभियान थियो र अझै चलिरहेको छ । त्यसैले हामीलाई गणतन्त्रको भाष्य चाहिएको छ । देश कुनै अमूक राजाले जितेको जमिनमात्र होइन, जनताले रगत पसिना बगाएर दिनहुँ निर्माण गर्ने निरन्तर प्रक्रिया हो । देशका सिमाना बदलिन्छन् तर जनताले मिहिनेत गर्न, आविष्कार गर्न छाड्दैनन् । पृथ्वीनारायण विजेता पक्कै थिए तर इतिहासभरि पराजित यो देशका जनता भए । त्यसैले गणतन्त्रमा जनताको आँखाबाट हेर्ने इतिहास चाहियो । पृथ्वीनारायणको एकीकरणगाथा होइन बरू उनले जितेर सिंगो राज्य बनाएपछि समाजको आर्थिक, राजनीतिक, सामाजिक यथार्थमा आएको परिवर्तन व्याख्या गर्ने वैकल्पिक इतिहास चाहिन्छ । इतिहासले वर्तमानलाई बुझ्न र भविष्यलाई निर्देशित गर्न सिकाउनुपर्छ ।

विश्वइतिहासको कुरा गर्ने हो भने क्रिस हर्मनले ‘अ पिपुल्स हिस्ट्री इन द वल्र्ड’ पुस्तक लेखेर इतिहास शासक र विजेताको मात्र हुँदैन, संघर्षका प्रतीक जनताको पनि हुन्छ भन्ने स्थापित गराइदिए । के नेपालमा यस्तो इतिहास लेख्ने, लेख्न प्रयत्न गर्नेबारे तपाईंलाई केही थाहा छ ?

क्रिस हर्मनको पुस्तकले माक्र्सवादी कोणबाट संसारको इतिहास पहिल्याउने कोसिस गर्छ । त्यो पनि तपाईंले भनेजस्तै जनताको इतिहास, अर्थात् समाजको विकासको व्याख्या गर्छ । संसारमा इतिहासलेखनका नयाँ सिद्धान्त आउन थालेको पनि करिब एक शताब्दी भइसक्यो । नेपालमा पनि एम्सी रेग्मीले आर्थिक इतिहासका पुस्तक लेखेका छन् । केपी मल्लले इतिहासका नाममा बिरूदावली (शासकहरुको वीरगाथा) लेख्ने परम्पराको विरोधमा लेख लेखेका छन् । त्यसैगरी समाजशास्त्रीय, मानवशास्त्रीय कोणबाट नेपाली समाजका विभिन्न पाटा पहिल्याउने कोसिस भएको छ । तर, क्रिस हर्मनकै जस्तो व्यवस्थित हिसाबले प्राचीनकालदेखि हालसम्म नेपालको विविधतायुक्त समाज कसरी विकसित हुँदै आयो, त्यो व्याख्या गर्ने इतिहासको पुस्तक कसैले लेखेका छैनन् ।

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागमा औंलामा गन्न सकिने विद्यार्थी छन् । विद्यार्थी विशुद्ध व्यावसायिक शिक्षातिर आकर्षित छन् । इतिहासमा खासै रूचि देखिन्न । विश्वका चर्चित विश्वविद्यालय पढेर फर्कने विद्वान् आईएनजीओको रिपोर्ट वा आईएनजीओमैत्री पुस्तक लेख्नमै व्यस्त भए । वास्तवमा भन्नुहुन्छ भने नेपालबारे एउटा अलग दर्शन नै लेख्नु आवश्यक छ । वैकल्पिक इतिहासका ठेली लेख्नु जरूरी छ ।

कसले लेख्ला त ?

हेर्दै जाउँ, नयाँ पुस्तामा इतिहासलगायत सबै विषयमा बहस चल्न थालेको छ । कोही न कोही त निस्केला ।

शासकलाई युगपुरूष र जनतालाई भुसुना भएको बोध गराउनेगरी लेखिएको इतिहास कक्षाकोठासम्म पुर्याइएपछि त्यसको प्रयोग मस्तिष्कमा राष्ट्रवादको बिरुवा उमार्न हुन्छ कि हुँदैन ?

राष्ट्रवाद एउटा बहुआयामिक परियोजना हो । यसले इतिहासको खास प्रकारको व्याख्यालाई व्यापक प्रयोग गर्छ । कथित् राष्ट्रवादी इतिहासकारको व्याख्या पढ्नुस्, मानौं पृथ्वीनारायाणले बडो चोखो हृदयले नेपालको एकीकरण गरेका थिए । कीर्तिपुरेलाई पराजित गरेपछि पनि मानौं बडो ख्याल गरेर छानेर केहीको नाक काटेका थिएजस्तो लाग्छ । नेपाल एकीकरणको भाष्यभित्र गोरखालीका सारा अत्याचार लुकाउन सजिलो भयो । एकीकरणजस्तो महान् काम गर्दा तिमालका तामाङलाई छल गरेर मारे त के भयो ? पृथ्वीनारायणको युद्ध अभियानभरि त्यसलाई एकीकरण भनिएको थिएन, बीसौं शताब्दीको मध्यतिर सुरू राष्ट्रवादी इतिहासलेखनमा मात्र यस्तो व्याख्या प्रयोग हुन्छ ।

नेपाल–अंग्रेज युद्धकै इतिहास लिनुस् । साम्राज्यवादी अंग्रेजविरुद्ध नेपालीले नालापानी, देउथलजस्ता युद्ध वीरतापूर्वक लडेको महागाथा लेखिएको छ । भारतमा उठेको बेलायती साम्राज्यविरुद्धको राष्ट्रवादी नाराबाट इतिहासलेखन प्रभावित छ । भारतको स्वतन्त्रता संग्रामबाट प्रभावित युवाले नै नेपालमा राणाविरोधी प्रजातन्त्रवादी आन्दोलन छेडेका हुनाले अंग्रेजविरोधीजस्तो लाग्ने इतिहासको व्याख्या उनीहरुलाई पनि स्वीकार्य हुनु स्वाभाविक थियो । तर, कुमाउ र गढवालका जनताको आँखामा गोरखाली स्वयम् पनि साम्राज्यवादी थिए भन्ने तथ्य यसले लुकाउँछ । गोरखालीले कुमाउ र गढवालमा कस्तो शासन चलाएका थिए, त्यहाँका जनता किन गोरखालीसँग घृणा गर्थे भन्ने तथ्यसँग गोरखालीले युद्ध हारेको सन्दर्भ जोडिन्छ । राष्ट्रवादी इतिहासकारले त गोरखालीको एकीकरण अभियानले साम्राज्यवादी अंग्रेजलाई चुनौती पेस गरेकाले युद्ध भएको व्याख्या गरेका छन् । यसो गर्दा अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापाजस्ता गोरखाली सरदारको महानता गाउन सजिलो भयो र राष्ट्रवादी व्याख्या पनि बन्यो । यिनै सरदारको शासनकालमा कुमाउ र गढवालका जनता गोरखाली अत्याचारबाट आजित भएर अंग्रेजको शरणमा पुगेका थिए ।

yug-pathak-2
राष्ट्रवादको व्यापक भाष्य रचना गरिएको २००७ सालपछि मात्र हो, त्यो पनि शाहवंशको हातमा सत्ता आएपछि । त्यसो त २०१७ सालको ‘कू’ पछि मात्र महेन्द्रले सम्पूर्ण सत्ता आफ्नो हातमा लिएका थिए तर त्योभन्दा अघि नै आफ्नो हातमा शक्ति आउनासाथ त्रिभुवनले पटक–पटक अन्तरिम शासन विधान संशोधन गरेर राजतन्त्रलाई शक्तिशाली बनाइसकेका थिए । त्यही अवधिमा एकीकरणको भाष्य बनेको थियो । राणा शासनविरुद्ध व्यापक इतिहास निर्माण हुनु स्वाभाविक थियो तर यही व्याख्या पनि शाहवंशको स्वाभाविक अधिकार राणाले खोसेको अर्थमा गरियो । तर, सबैभन्दा धेरै शक्तिचाहिँ अंग्रेजसँगको युद्धमा प्रदर्शित वीरता र पृथ्वीनारायणको महानता स्थापित गर्न लगाइयो । राणाले जुन तौरतरिका प्रयोग गरेर जनताको शोषण गरे, त्यो पृथ्वीनारायणले हालेको शासनकै जगमा बनेको थियो ।

अहिले पनि कथित् राष्ट्रवादी कुमाउ, गढवालसम्म नेपाल थियो भनेर गर्व गर्छन् र कैयौं प्रसंगमा त्यो भू–भाग फिर्ता पाउनुपर्छ पनि भन्छन् । तरवारले जितिएको सिमाना र मौजाभन्दा बढी राष्ट्रलाई नठान्ने यो विचार इतिहासको त्यस्तै व्याख्याबाट आएको हो । जम्मा २५ वर्ष गोरखालीले कुमाउ, गढवालमा शासन गरेका थिए, त्यसैमा दाबीचाहिँ गर्ने तर त्यहाँको जनबोलीमा आज पनि गोरखालीलाई किन घृणा गरिन्छ भनेर नहेर्ने यो राष्ट्रवादले जनता हेर्दैन, शासकको जितबाजी मात्र हेर्छ । यस्तो राष्ट्रवाद पञ्चायतकालमा मिसनकै रुपमा लाखौं मस्तिष्कमा रोप्ने प्रयास भयो ।

राष्ट्रवादले राष्ट्रिय एकता, भूगोलको रक्षा र भूगोलभित्र बसोबास गर्ने जनताको हितबारे सोच्न सिकाउँछ भने यसलाई नकारात्मक कोणबाट मात्र व्याख्या किन गर्ने ?

तपाईंको प्रश्नलाई अलिकति सच्याउँ । कुरा सकारात्मक र नकारात्मकको होइन, पुरानो र नयाँ व्याख्याको हो । पुरानो व्याख्याले समाजलाई अघि बढाउन नसकेपछि नयाँ व्याख्या आवश्यक परेको हो । नयाँ सोच्नु कसरी नकारात्मक हुन्छ ? नयाँ सिक्नु, आविष्कार वा खोज गर्नु भनेको विरासतमा प्राप्त पुरानो विचारलाई मस्तिष्कबाट फुकाल्दै जानु पनि हो ।

अब विचार गरौं– राष्ट्रवादले के साँच्चै राष्ट्रिय एकता दियो त ? जनताको हित सोच्न सिकायो त ? प्रश्नको जवाफ खोज्न तपाईंले पञ्चायती सत्ताले निर्माण र व्यापक प्रचार गरेको एउटै नारा हेर्नुभए हुन्छ । एउटा राजा एउटै देश, एउटा भाषा एउटै भेष । म सम्झन्छु– हामी स–साना नानी छँदै राजा र रानीको जन्मोत्सवलगायतका दिनमा व्यापक सभा, जुलुस आयोजना गरिन्थ्यो । यही नाराको तुमुल ध्वनि जताततै गुञ्जिन्थ्यो । स्कुलमा बिहानी प्रार्थनामा राष्ट्रियगानदेखि नै यस्तै विचार सिकाइन्थ्यो । राजतन्त्र महानताको मन्त्र यसरी घोकाइएको थियो । महेन्द्रमाला नामको अनिवार्य नेपालीको पुस्तकमा पृथ्वीनारायण शाह, बलभद्र कुँवरलगायतको वीरगाथा पढाइन्थ्यो । नेपाल विविध जातजाति, भाषा, धर्म, संस्कृति भएको देश हो भनेर अवश्य पढाइएको थियो । साथसाथै यी सबैको एकताका लागि एउटै भाषा, एउटै भेषको साँचोमा सबैलाई ढाल्नुपर्ने वा फरक जाति वा संस्कृतिको भए ढाल्नुपर्ने भाष्य थियो त्यो ।

राष्ट्रवादको अवधारणा जन्मजात नश्लवादी छ । यसले आफ्नो नश्ल, आफ्नो भाषा, आफ्नो भेषलाई महान् ठान्छ र अरुलाई तुच्छ बनाउँछ । यो धारणा सर्वप्रथम साम्राज्यवादीले नै बनाएका थिए । आफ्नो भाषा र सभ्यता उत्कृष्ट भएकै हुनाले भगवान्ले अरु कमसल भाषा र सभ्यता भएका मानिसमाथि शासन गर्न आफूलाई पठाएको भन्ने उनीहरुको मान्यता थियो ।

संसारमा धेरै किसिमका सिद्धान्त विकसित भइसकेका छन् । हामीलाई मानिसले आविष्कार गरिसकेको ज्ञानकै आधारमा राज्यले एउटा भाषा र संस्कृतिलाई एकताको जाँतो बनाइदिएपछि फरक भाषा र संस्कृति केटाकेटीको मानसिक उन्ननयनमा भयानक संकट उब्जिन्छ । त्यसैगरी, फरक संस्कृतिका आमजनतालाई आफू फरक भएकै कारणले हीनताबोध र राज्यसँग विकर्षण पैदा हुन्छ । संसारका अरु राष्ट्रवादी मिसनमा झैं पञ्चायतको मिसनमा पनि शिक्षा, प्रशासन र आमसञ्चारका सबै माध्यमबाट राष्ट्रवादको विज्ञापन र प्रवद्र्धन गरिएको थियो । फलस्वरुप थारु वा तामाङ जातिको मानिसलाई सरकारका प्रशासनिक निकायसँग व्यवहार गर्न गाह्रो भयो । राजवंशी, सतार र थारुजस्ता मधेसका समुदायको त जग्गा–जमिन हडप्ने, झुक्याएर खाइदिने वा मुद्दा लगाएर विदेश धपाइदिने कुकृत्य राज्यको यही नीतिमा टेकेर गरियो ।

सरकारी भाषा नबुझ्ने र प्रहरी प्रशासन नै पराई मुलुकको साम्राज्यवादी एजेन्टजस्तो भएपछि फरक संस्कृति र भाषाका मानिस रातारात कंगाल पारिए । नागरिकतामा त्यस्तै विभेद गरियो । नेपाली भाषा बोल्न जान्नु नागरिकता पाउने एउटा मुख्य योग्यता बनाइयो । स्वतः फरक मातृभाषा भएका मानिसले नागरिकता नपाउने भए । नागरिकता नपाउनुको मतलब सरकारी संरचनामा स्वतः प्रवेश निषेध भयो । जब देशका विविध समुदायले आफूलाई राज्यको अंग कहिल्यै ठानेनन्, तब त्यो राष्ट्रिय एकता कसरी भयो ? केही टाठाबाठा काठमाडौंको सत्तासँग सम्बन्ध भएका मानिसबाहेक यो देशका आमजनताको हित कसरी भयो ? त्यसैले अहिले राष्ट्रवादको विषयमा आमजनतामा ठूलो विभाजन छ ।

राष्ट्रवाद र फासीवादको सम्बन्ध कस्तो पाउनुभएको छ ? महेन्द्रको राष्ट्रवाद, एडोल्फ हिटलर र मुसोलिनीको राष्ट्रवाद तथा हालै भारतमा मोदीको राष्ट्रवादले जे–जस्ता परिदृश्य देखाए, त्यसले यो प्रश्नलाई झनै टड्कारो बनाइदियो । तपाईं कस्तो राष्ट्रवादको पक्षमा हुनुहुन्छ ?

राष्ट्रवादको अवधारणा जन्मजात नश्लवादी छ । यसले आफ्नो नश्ल, आफ्नो भाषा, आफ्नो भेषलाई महान् ठान्छ र अरुलाई तुच्छ बनाउँछ । यो धारणा सर्वप्रथम साम्राज्यवादीले नै बनाएका थिए । आफ्नो भाषा र सभ्यता उत्कृष्ट भएकै हुनाले भगवान्ले अरु कमसल भाषा र सभ्यता भएका मानिसमाथि शासन गर्न आफूलाई पठाएको भन्ने उनीहरुको मान्यता थियो । हुन त युरोपियन राष्ट्रवादभन्दा पहिल्यै साइमन बोलिभरले दक्षिण अमेरिकामा पेरूभियन राष्ट्रवादको रचना गरेका थिए । तर, त्यो स्पेनिस साम्राज्यवादसँग लड्ने औजार थियो ।

भारतमा चलिरहेको मोदीको राष्ट्रवाद पनि हिन्दु उच्चतामा आधारित धार्मिक र उच्च जातीय राष्ट्रवाद हो । प्रसिद्ध भारतीय इतिहासकार रोमिला थापरले यसको व्याख्या राम्रोसँग गरेकी छन् । उदय प्रकाशलगायत भारतका प्रसिद्ध लेखकले एकेडेमी अवार्ड नै फिर्ता गरेर मोदीको राष्ट्रवादले ल्याएको असहिष्णुताको विरोध गरेका छन् ।

राष्ट्रवादको चरम नश्लभेद हिटलरको नाजी राष्ट्रवादमा देखियो । यहुदी वा अरु कुनै प्रकारका मानिसको भन्दा जर्मन नश्ल महान् हो भन्ने अन्धवेगले कहाँसम्म काम गरेको थियो भने उनीहरु ती सबैलाई ग्यास च्याम्बरमा राखेर सामूहिक हत्या गर्न तयार भए । नेपालमा महेन्द्रको राष्ट्रवाद युरोपियन राष्ट्रवादकै सिको थियो । तर, नेपालको राष्ट्रवादी मिसन महेन्द्र एक्लैले निर्माण गरेका थिएनन् । महेन्द्रले पञ्चायत व्यवस्था लाद्नुभन्दा दुई दशक अघिदेखि इतिहासकार, साहित्यकार र नेपाली भाषाका अभियन्ता सबै मिलेर यसको निर्माणमा खटेका थिए । आर्य नश्ल सभ्य र उच्च, हिन्दु धर्म महान्, नेपाली भाषा अरु भाषाभन्दा पुरानो र राष्ट्रभाषा, संसारकै एकमात्र हिन्दु राष्ट्रजस्ता व्याख्या नेपाली राष्ट्रवादको भाष्य हो । योबाहेक अरु संस्कृतिलाई राजारानीको जन्मोत्सव र विदेशी पाहुनाको अघिल्तिर प्रदर्शन गर्ने झाँकीको हैसियतमा सीमित पार्ने मिसन पञ्चायतले चलायो । ०४६ सालको राजनीतिक व्यवस्था परिवर्तनपछि पनि यही प्रक्रिया कायम रह्यो । यसले राष्ट्रिय र अराष्ट्रिय, नेपाली र साम्प्रादायिक आदि परपस्पर विरोधी ‘क्याटोगोरी’ बनायो । फलस्वरुप थारुको संस्कृति र भाषा थारुको मात्र भयो नेपाली भएन । यो राष्ट्रवादका राजनीतिक र आर्थिक परिणाम आज प्रकाशमा आएका छन्– थारुमाथि भएको अत्याचार, दासता र जमिनबाट बेदख्खल पार्ने पड्यन्त्रका रुपमा ।

भारतमा चलिरहेको मोदीको राष्ट्रवाद पनि हिन्दु उच्चतामा आधारित धार्मिक र उच्च जातीय राष्ट्रवाद हो । प्रसिद्ध भारतीय इतिहासकार रोमिला थापरले यसको व्याख्या राम्रोसँग गरेकी छन् । उदय प्रकाशलगायत भारतका प्रसिद्ध लेखकले एकेडेमी अवार्ड नै फिर्ता गरेर मोदीको राष्ट्रवादले ल्याएको असहिष्णुताको विरोध गरेका छन् । हिन्दु राष्ट्रवादको अन्धवेगले भारतमा यस्तो संगठित रुप लिएको छ कि दलित, मुस्लिम, आदिवासीमाथि अत्याचार खुलेआम भइरहेको छ । भारतमा पनि प्राचप्नकालदेखिको इतिहासको एकथरी व्याख्या नै हिन्दु राष्ट्रवादलाई सही ठहर्याउनेगरी लेखिएको छ र त्यसलाई पाठ्यपुस्तकका रुपमा मोदीले गुजरातमा उहिल्यै लागू गरिसकेका छन् । थापरलगायत थुप्रै विद्वान्ले मोदीको राष्ट्रवाद फासीवादतिर उन्मुख हुँदै गइरहेको टिप्पणी गरेका छन् ।

yug-pathak-3
हामी हाम्रो मुलुकमा समावेशी समाज बनाएर देखाउँ भन्ने हो । राज्य पुनःसंरचनाको मुद्दा त्यसैका लागि आएको थियो । मानवीय समाज बनाउने राजनीतिक, सांस्कृतिक अभियान अझै आवश्यक छ, हाम्रोमा पनि । जहाँसम्म राष्ट्रको सीमाको कुरा छ, त्यो आजको विश्वको राजनीतिक यथार्थ हो । खास देशको नागरिक भएकै कारणले लाखौं मानिसले आज पनि आततायी युद्धको सामना गर्नुपरेको छ, लाखौं मारिइरहेका छन्, लाखौं शरणार्थी भइरहेका छन् । साम्राज्यवादी शक्ति नयाँ वैचारिक, राजनीतिक र आर्थिक हतियार लिएर गरिब मुलुकमाथि हस्तक्षेप गर्न आइरहेका छन् । यस्तो पृष्ठभूमिमा हामीलाई सम्भवतः साइमन बोलिभरको जस्तो प्रतिरोधी राष्ट्रवाद चाहिएला । हुन त राष्ट्रवाद शब्द आफैंमा नश्लवादी र अन्धविश्वासमा आधारित छ, तैपनि हामीले कुनै विशेषणसहित राष्ट्रवादको विकास गर्नु आवश्यक छ ।

नेपालजस्तो गरिब र परनिर्भर मुलुकको राष्ट्रवादका दुई आयाम छन् । त्यसलाई राष्ट्रियता र प्रगतिशील राष्ट्रवाद भन्न सकिन्छ । तर, हाम्रोजस्तो मुलुकको राष्ट्रियता र राष्ट्रवाद दुवै सधंै निरन्तर बन्ने र विकसित भइरहने प्रक्रियामा हुन्छन् । देशभित्रका समुदायगत विभेद, जातवादी विभेद, लिंगभेदजस्ता विभेद अन्त्य गर्दै सबै समुदायको अधिकारसहितको साझा राष्ट्रियता निर्माण गर्ने एउटा निरन्तर राजनीतिक, सामाजिक, सांस्कृतिक अभियान हो । त्यसैगरेर आमजनताको हैसियत र आत्मविश्वास उठाउने निरन्तरको जनमुखी आर्थिक उन्नतिको प्रक्रियामार्फत प्रगतिशील राष्ट्रवादको जग हाल्न सकिन्छ । जति परनिर्भता घट्छ, जनताको आत्मनिर्भर हैसियत बन्दै जान्छ, राष्ट्रवादले एउटा आकार लिँदै जान्छ ।

राष्ट्रवादको विरासतलाई माधव घिमिरेलगायतले पञ्चायतकालमा झन् उचाइमा पुर्याए । बिस्तारै कवि, लेखकले स्वाभाविक ढंगले, कुनै प्रश्न नगरीकन इतिहासका नाममा लेखिएका वीरगाथालाई विषयवस्तु बनाए । बलभद्र, अमरसिंहमात्र होइन, भीमसेन थापालाई पनि राष्ट्रवादको विम्बका रुपमा प्रयोग गरियो । युरोपियन राष्ट्रवादीले कोलम्बसलाई आफ्नो पहिचान (खोज) को प्रतीक बनाएजस्तै । कोलम्बस वास्तवमा साम्राज्यवादी नेता थिए, उनले अमेरिकाका आदिवासीको कत्लेआम गरेको कुरा उनको खोजवाला विम्बमा कहिल्यै आउँदैन । हाम्रा साहित्यकारले पनि यही प्रवृत्तिको सिको गरे । हामी आफ्नै अनुहार अरु कसैको आँखाले हेरिरहेका छौं ।

 राष्ट्रिय भावना जाग्नु नै राष्ट्रवाद हो अथवा यसको भिन्नै कारक छ ? आफ्नो देशप्रतिको भावना र मायालाई के नाम दिने त ?

अघिकै छलफललाई स्मरण गरौं, राष्ट्रवाद शब्दको व्यापक नकारात्मक र हिंस्रक इतिहास छ । त्यसको खास परिभाषा, सांस्कृतिक र राजनीतिक विरासत पनि छ । त्यसबाट बाहिर निकाल्नेगरी नयाँ परिभाषा निर्माण गरेर मात्र देशप्रति जाग्ने भावना र मायालाई कुनै नाम दिन सकिन्छ । देशप्रेम भनौं, यसले एउटा अर्थ दिन्छ । तर, त्यस्तो भावना कसरी जाग्छ र कसरी जगाइन्छ, त्यसबारे सचेत हुनु जरूरी छ । आजको दुनियाँमा राज्य आफैंमा ठूलो पुँजीवादी कम्पनी भएको छ । यसले अरु देशका पुँजीसँग दैनिक व्यवहार गरिरहेको छ । देशप्रेमलाई कुन अर्थमा लिने, त्यो आफैंमा गम्भीर सवाल हो । आमजनताको रगत पसिनाबाट बन्ने ढुकुटीको उपयोग जनताका लागि हुन्छ कि हुँदैन भन्ने सवाल एकातिर छ भने अर्कोतिर त्यसरी एकत्रित भएको पुँजी (अनि त्यसबाट बन्ने राजनीतिक शक्ति) लाई मोदीजस्ता जनविरोधी सत्ताले उपयोग नगरुन् भन्ने पनि छ ।

त्यसकारण राज्यको भूमिका अहम् भइसकेको छ । पहिलो कुरा त राज्यले आफ्ना जनताको विविध अनुहारको ऐना देखाउनुपर्यो, अर्थात् समावेशी हुनुपर्यो । जनताको दैनिक जीवनमा खुसी ल्याउने अर्थराजनीतिक भूमिकासहितको राज्य चाहियो । त्यसपछि देशप्रति सकारात्मक भावना जाग्छ । जनताको जीवनलाई उत्पादनमुखी र रचनात्मक बनाउने जिम्मेवारी राज्यले निर्वाह गरेको खण्डमा जनता बलिया हुन्छन् । जनताको शक्तिले विदेशी सत्तासँग आँखा जुधाउने हिम्मत जुटाउँछ । त्यस्तो राष्ट्रप्रेमचाहिँ टिकाउ र कामलाग्दो हुन्छ । ओलीले चलाएको जस्तो बहकाउवाला राष्ट्रवादचाहिँ महाकाली सन्धिबाट कुण्ठित टुक्कासम्म पुगेर चकनाचुर हुन्छ ।

नेपालमा साहित्य र राष्ट्रवादबीचको सम्बन्ध कस्तो पाउनुभएको छ ?

खस–नेपाली साहित्यलेखनको पहिलो रचनात्मक चरण नै राष्ट्रवादको भाष्यबाट आक्रान्त हुन पुग्यो । लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण समजस्ता जानेमानेका हस्तीले हिन्दु–आर्य सभ्यताको सर्वोच्चता स्थापित गर्न कुनै कसर बाँकी राखेनन् । देवकोटाका निबन्ध र यत्रतत्र प्रकाशित विचार पढ्दा यो तथ्य स्पष्ट हुन्छ । ‘राष्ट्रभाषा नेपाली’ अभियान साहित्यकारले नै छेडेका थिए । दार्जिलिङका सूर्यविक्रम ज्ञवालीले पृथ्वीनारायण, बलभद्र, अमरसिंहजस्ता पात्रको वीरगाथा (इतिहास ?) लेखेका थिए, बालकृष्ण सम यी वीरगाथाबाट खास प्रभावित थिए । उनले नाटकमा वीरगाथा ल्याए ।

राष्ट्रवादको विरासतलाई माधव घिमिरेलगायतले पञ्चायतकालमा झन् उचाइमा पुर्याए । बिस्तारै कवि, लेखकले स्वाभाविक ढंगले, कुनै प्रश्न नगरीकन इतिहासका नाममा लेखिएका वीरगाथालाई विषयवस्तु बनाए । बलभद्र, अमरसिंहमात्र होइन, भीमसेन थापालाई पनि राष्ट्रवादको विम्बका रुपमा प्रयोग गरियो । युरोपियन राष्ट्रवादीले कोलम्बसलाई आफ्नो पहिचान (खोज) को प्रतीक बनाएजस्तै । कोलम्बस वास्तवमा साम्राज्यवादी नेता थिए, उनले अमेरिकाका आदिवासीको कत्लेआम गरेको कुरा उनको खोजवाला विम्बमा कहिल्यै आउँदैन । हाम्रा साहित्यकारले पनि यही प्रवृत्तिको सिको गरे । हामी आफ्नै अनुहार अरु कसैको आँखाले हेरिरहेका छौं ।

अघि नै भनियो, पञ्चायतकालमा आमसञ्चार, शिक्षा र प्रशासनिक अंग सबै लगाएर राष्ट्रवादको प्रचार गरिएको थियो । गीत–संगीत, ललितकला, साहित्य सबै क्षेत्रका कलाकारले चुपचाप प्रचारमा आएको चीज स्वीकार गरे र त्यसैअनुरुप नक्कली अभिमान, स्वाभिमान र अहम्को गीत गाए । यो चलन आजसम्म उस्तै छ । राष्ट्रवादको प्रसंगमा छिटो भावुक हुने कविले जनताले भोगेको इतिहासको ताडना देख्नै सकेन । वास्तवमा कवि कलाकारले आफ्नै दुःखको स्रोत थाहा पाएनन्, आफैंलाई हेर्न शासकको आँखा सापटी लिए । अहिले पनि जब एउटा कवि भावुक भएर निःस्वार्थ प्रेमको कविता लेखिरहेको हुन्छ, उसलाई आफ्नै समाजले बनाएको सम्बन्धको जटिलता पत्तै हुँदैन । उसको प्रेम कुन ऐतिहासिक, सामाजिक प्रक्रियामा परेर धराशयी भइरहेको छ, त्यो दुःखीलाई पत्तै हुँदैन । नेपाली साहित्यमा राष्ट्रवाद यस्तै कोरा भावुकताको विषय भएको छ ।

वैचारिक हिसाबले पहिचान र जातिवाद भिन्नै कुरा हुन् । यसमा प्रस्ट नभई तपाईं नेपालको जटिलता चिन्न सक्नुहुन्न । पहिचानको मुद्दा उत्पीडनको इतिहासले बनाएको हो । पहिचानको मुद्दालाई सही ढंगले सम्बोधन गर्न सकिएन भने त्यसले जातिवादको रुप लिन सक्छ । नेपालको राज्यचाहिँ जातिवादी भएकै हुनाले अहिलेको संकट आइपरेको हो ।

विगतमा थुप्रै सशस्त्र र निशस्त्र आन्दोलनले नेपालको भविष्य कोर्न महत्वपूर्ण भूमिका निर्वाह गरे । ती आन्दोलनबारे बनेका साहित्य अथवा फिल्मले इमानदारीसाथ यथार्थको चित्रण गरेनन् भनिन्छ । भविष्य कोर्ने क्षमता राख्ने आन्दोलनका विषयमा लेख्न साहित्यकार किन डराउँछन् ?

पहिलो कुरा त, राजनीतिक आन्दोलनले निर्माण गरेका चरित्रलाई साहित्यमा ल्याउने कोसिस धेरै भएको छैन । कोसिस नै थोरै भएको हुनाले कुन कस्तो भयो भन्नेमा अहिले चर्चा नगरौं । जति भए भए, आलोचनात्मक अध्ययन त हुनै बाँकी छ । सैद्धान्तिक हिसाबले भन्नुहुन्छ भने हाम्रो साहित्य राजनीतिभन्दा निकै पछाडि छ । राजनीतिले दशक–दशकमा परिवर्तनका एजेन्डा ल्याएको छ, समाज परिवर्तनमा महत्वपूर्ण योगदान दिएको छ, भला राजनीतिक पात्र पछि असफल भएका हुन् । तर, साहित्यचाहिँ राजनीतिको पछि–पछि हिँड्ने गरेको छ । भौतिक आन्दोलन राजनीतिकै काम होला तर साहित्य वा कलाले सांस्कृतिक क्रान्ति ल्याउन सक्थ्यो, आफ्नो समाजको चिरफार गरेर वैकल्पिक विचार र दर्शन निर्माण गर्न सक्थ्यो, त्यस्तो शक्ति हाम्रो साहित्यले निर्माण गर्न सकेको छैन ।

विगतका आन्दोलन वा उथलपुथलले निर्माण गरेका पात्र र चरित्रलाई उतार्ने मामिला पनि अत्यन्त कम कोसिस भएको छ । समाजले नयाँ पात्र, चरित्र र भावमात्र होइन, नयाँ स्थितिलाई भन्ने नयाँ भाषा पनि बनाइरहेको हुन्छ । साहित्यले आफ्नो समयमा बनेको विशिष्ट चरित्र, भाव र भाषा टिप्ने र कलात्मक रुपले प्रस्तुत गर्ने हो । यसो गर्न ‘जात’ छुट्याउने पुरानो रोगबाट पहिले मुक्त हुनुपर्छ । राजनीतिक आन्दोलनले जहिल्यै एउटा विचार बोक्छ, सबैलाई त्यो विचार मन पर्नुपर्छ भन्ने छैन । आन्दोलनमा लाग्ने कि नलाग्ने, समर्थन गर्ने कि नगर्ने, त्यसको राजनीतिक छिनोफानो एउटा कुरा हो । तर, साहित्यमा त समाजले जन्माएका पात्र आउनुपर्छ, राजनीतिक आन्दोलनले जन्माएका पात्र, चरित्र र भाषा पनि आउनुपर्छ । साहित्यकार यतिबेला आफ्नो राजनीतिक आग्रहबाट अलि पर बसेर समाजमा जन्मिरहेका नयाँ चरित्र र भाषाको अन्वेषक हुन्छ । यही परम्पराचाहिँ हामीले निर्माण गर्न सकेका छैनौं ।

साहित्यक लेखनमा पहिचानको मुद्दालाई निकै महत्वसाथ उठाइएको छ तर यसको बहसलाई जातिवादसँग जोडेर हेर्ने गरिन्छ । यसो हुनु पछाडिका कारण ?

वैचारिक हिसाबले पहिचान र जातिवाद भिन्नै कुरा हुन् । यसमा प्रस्ट नभई तपाईं नेपालको जटिलता चिन्न सक्नुहुन्न । पहिचानको मुद्दा उत्पीडनको इतिहासले बनाएको हो । पहिचानको मुद्दालाई सही ढंगले सम्बोधन गर्न सकिएन भने त्यसले जातिवादको रुप लिन सक्छ । नेपालको राज्यचाहिँ जातिवादी भएकै हुनाले अहिलेको संकट आइपरेको हो । एउटा जात र सभ्यतालाई मात्र महान् भन्ने राष्ट्रवादले बनाएको जातिवाद हाम्रो राज्यको अंग–अंगमा फैलिएको छ । त्यसविरुद्ध पहिचानको आन्दोलन उठेको हो र त्यहीँबाट पहिचानमुखी साहित्य जन्मिएको हो ।

साहित्यको एउटा गज्जबको शक्ति के हो भने यसमा हिलिङ् क्यापासिटी (मनोवैज्ञानिक उपचार गर्ने क्षमता) हुन्छ । साहित्यमा जब विभिन्न उत्पीडित समुदायको पीडा, आकांक्षा र संघर्ष आउँछ, तब यसले जातिवादतिर जान पाउँदैन । बरू विभिन्न सभ्यतामा रहेका भाषा र ज्ञानको आदान–प्रदान हुन्छ । खस–नेपाली भाषाको साहित्यमा तपाईं नेपालको विविधता कमैमात्र झल्कने गरेको छ । यसको एउटा कारण अरु मातृभाषाका लेखक आउनै पाएनन् । औंलामा गन्न सकिने राई, लिम्बू वा मधेसी समुदायका लेखक पनि पछि मात्र आएका हुन् वा धेरै त मातृभाषाबाट कटिसकेका दार्जिलिङका लेखक छन् । अहिले उल्लेख्य संख्यामा अरु मातृभाषाबाट खस–नेपाली भाषामा कलम चलाउने साहित्यकार आएका छन् । उनीहरुले आफ्नो सभ्यतामा रहेका प्रगतिशील अवधारणा ल्याइरहेका छन् ।

चित्त बुझे पनि नबुझे पनि यो भाषा नेपालको माध्यम भाषा भइसक्यो, अंग्रेजीजस्तै । तर, अहिले पनि मधेसमा नेपाली भाषाको साहित्य पढिँदैन, धेरै अरु समुदायका जनताले पनि यो साहित्यलाई आफ्नो साहित्य मान्न सकेका छैनन् । किन त्यसो भयो त ? भिन्नभिन्न समुदायबाट लेखक नआएको हुनाले विभिन्न समुदायका कथा, व्यथा, सांस्कृतिक विशेषता र विचार यसमा प्रतिविम्बित नै भएन । आफ्नो कथा नभएको साहित्य कसले पढ्छ ? अबको केही समय मिसनका रुपमा विविधता झल्काउनेगरी विभिन्न समुदायभित्रका कथा उत्खनन गरेर ल्याइनुपर्छ । त्यस्तो साहित्य जातिवादी होइन, पहिचानको द्योतकचाहिँ हुन सक्छ ।

पहिचानलाई जातिवाद भनेर हल्ला गर्ने विचारचाहिँ पञ्चायतको धङधङीमात्र हो । एउटा विचारको पाठशालामा हुर्किएकाले हाम्रा केही वरिष्ठ कवि–लेखकलाई पनि यो तथ्य पचाउन गाह्रो भइरहेको छ । तर, यथार्थ त यही हो । नेपाली साहित्य भनेको सबै भाषाको साहित्य हो, खस–नेपालीको साहित्यमात्र होइन । त्यसैगरी, नेपाली साहित्य भनेको विभिन्न भाषामा आउने विभिन्न समुदायको कथा–व्यथा पनि हो, समुदायबीचको सम्बन्धको कथा पनि हो । नारीको आत्मनिर्भर र स्वतन्त्र चरित्र खोज्न तपाईं आदिवासी वा जनजाति समुदायको कथा खोज्न सक्नुहुन्छ, त्यसले नारीलाई बाँधेर राख्ने संस्कृतिलाई सुधारिन मद्दत गर्छ । यसरी साहित्य समाजका कथा र मन जोड्ने प्रभावकारी साधन हुन सक्छ ।

yug-pathak-5मूलधारको साहित्य वा चलचित्रमा दलित, महिला, तेस्रोलिंगी र मुस्लिम समुदायले निकै कम महत्व पाउँछन्, त्यसको समाजशास्त्रीय अर्थ के हो ?

नेपाली समाज व्यापक उथलपुथलबाट गुज्रिँदै छ । वास्तवमा यसअघि कहिल्यै नसोचिएको र नचिताएको वैचारिक परिवर्तन यहाँ भइरहेको छ । ठूलो र सानो जातको विभेदलाई कसरी बदल्ने, फरक–फरक समुदायबीचको सम्बन्धलाई कसरी नयाँ बनाउने, महिला र पुरूषको सम्बन्धमा आएको परिवर्तनलाई कसरी आत्मसात् गर्ने, तमाम नयाँ विचारको ऐठनमा समाज छ । त्यसैले दलित, महिला, मधेसी, मुस्लिम, जनजाति आदि पात्र र फरक सभ्यताका चिन्तनलाई कसरी छायांकन गर्ने भन्ने चिन्ता पहिलोपटक हाम्रो साहित्य र सिनेमामा देखिँदै छ ।

सदीयौं चलेको समाज व्यवस्था र त्यसले निर्माण गरेको संस्कृतिबाट छुट्कारा पाउन सजिलो छैन । पितृसत्तात्मक विचारले महिलालाई जहिल्यै पुरूषको आँखाबाट चित्रण गर्यो । पुरूषलाई मन पर्ने, पुरूषका आँखामा सुन्दर हुने हिसाबले । त्यसको व्याकरण बदल्न लेखक, निर्देशकलाई गाह्रो पर्नु स्वाभाविक हो । सोच्ने तरिका बदल्नुजस्तो कठिन काम के होला ? नवीन सुब्बाले कथावाचनको शैली नै जनजाति सभ्यतामा फरक हुने व्याख्या गर्नुभएको छ । यसैले भिन्नभिन्न सभ्यतामा रहेका नयाँ र प्रगतिशील विचार, शैली र संस्कारलाई अरुले सिक्ने सोच विकास हुनु जरूरी छ । यता, ध्यान नजाने हो भने अबका लेखक वा फिल्ममेकरलाई कलाको दुनियाँका टाँगा घोडा हाँक्ने त हक होला, रकेट उडाउन गाह्रै छ ।

बेचेर पैसा कमाउने उद्देश्यले छापा पुँजीवादको जमानामा धेरैथोक लेखिन्छ । पोर्नोग्राफी पनि लेख्न सकिन्छ । गेसपेपर र गाइड लेखिन्छ । हिजोआज त पाठ्यपुस्तक पनि पैसा कमाउने लेखनदास कर्म भएको छ । अनि तपाईंलाई कसले भन्यो साहित्यलाई गम्भीर वा रोमान्टिक गरेर छुट्याउन सकिन्छ ? एउटा साहित्यिक कृतिभित्र गम्भीरता र रोमान्टिक प्रसंग हुन सक्छन् ।

‘उर्गेनको घोडा’ उपन्यास ‘युमा’ नाटकमा महिला पात्रले सशक्त भूमिका पाएका छन्, त्यसको पृष्ठभूमि ?

मैले अघि भनें नि– राजनीतिक उथलपुथलले हाम्रो समाजमा व्यापक परिवर्तन ल्याइदिएको छ । नयाँ पात्र तथा भाषा दिएको छ । सामाजिक र सांस्कृतिक उथलपुथलको हिसाबले पनि पछिल्ला दशक महत्वपूर्ण छन् । समाजमा म्हेन्दो (उर्गेनको घोडाको मूख्य पात्र) र युमा (युमा नाटककी मूल पात्र)हरु जन्माएको छ । समाजले जन्माइरहेको विशिष्ट पात्रलाई नटिप्ने हो भने म कसरी मेरो समयको लेखक भएँ ? म्हेन्दो र युमाहरु मलाई मन परुन् कि नपरुन्, ती जन्मिएका छन् । नयाँ विचार तथा शैलीसहित समाजमा जबर्जस्त उपस्थिति देखाइरहेका छन् । मैले यो देख्न सकिनँ भने लेखकका रुपमा समाज र समयबाट कट्ने सम्भावना हुन्छ ।

लेखकले उसको समयमा भइरहेको सामाजिक उथलपुथलबाट टाढा रहेर लेख्ने साहित्यलाई तपाईं के भन्नुहुन्छ ? सँग–सँगै साहित्यमा गम्भीर कुरा मात्र राखेर बोझिलो बनाउनुभन्दा रोमान्टिक कुरा राखेर हल्का बनाउँदैमा के बिग्रन्छ र ?

त्यसो त विज्ञापन लेखिन्छ । विज्ञप्ति र पर्चा पनि लेखिन्छन् । बेचेर पैसा कमाउने उद्देश्यले छापा पुँजीवादको जमानामा धेरैथोक लेखिन्छ । पोर्नोग्राफी पनि लेख्न सकिन्छ । गेसपेपर र गाइड लेखिन्छ । हिजोआज त पाठ्यपुस्तक पनि पैसा कमाउने लेखनदास कर्म भएको छ । अनि तपाईंलाई कसले भन्यो साहित्यलाई गम्भीर वा रोमान्टिक गरेर छुट्याउन सकिन्छ ? एउटा साहित्यिक कृतिभित्र गम्भीरता र रोमान्टिक प्रसंग हुन सक्छन् । आखिर साहित्य भनेको जीवनजस्तै त हुन्छ, जीवन श्यामश्वेत (ब्ल्याक एन्ड ह्वाइट) हुन्छ त ? हुँदैन नि । रोमान्टिक भनेको हल्का पनि होइन, गम्भीर भनेको बोझिलो पनि होइन । जादु त कलाको हो, जादु देखाउने जिम्मा कलाकारको हुन्छ ।

लेखकको समाजप्रतिको जिम्मेवारी र दायित्व के हो ? यदि म समाजप्रति जिम्मेवार हुन चाहन्न तर राम्रो साहित्य सिर्जना गर्छु भन्यो भने के हुन्छ ?

राम्रो साहित्य सिर्जना गरेपछि स्वतः समाजप्रति जिम्मेवार भएन र ? जब तपाईं आफ्नो कला समाजसँग बाँड्न चाहनुहुन्छ, तपाईं समाजप्रतिको दायित्वसँग सोझै जाडिनुभएन र ? साहित्य किन लेखिन्छ ? अरु मानिसलाई सुनाउन वा पढाउन होइन र ? अन्तरीक्षमा पुस्तकालय स्थापना गर्न त कसैले लेख्दैन होला । साहित्यकारलाई धेर–थोर समाजमा चिनिने, नाम कमाउने रहर पनि हुन्छ । त्यसरी पनि साहित्य त साहित्य नै हुने हो । सामाजिक जिम्मेवारीबाट भाग्न फेरि पनि मिल्दैन ।

 कवि/लेखक अराजक हुन्छन् भन्ने समाजको आमधारणा छ । यसबाट कस्तो ‘न्यारेटिभ’ निर्माण गर्न खोजिएको हो ?

तपाईंको प्रश्नमा निरपेक्ष अराजकताको गन्ध आयो । यो दुनियाँमा निरपेक्ष केही हुँदैन । यो मैले भनेको होइन, आइन्सटाइनले समय पनि सापेक्ष चीज हो भनेको सवा सय वर्ष हुन लाग्यो । भन्न त के पनि भनिन्छ भने कवि÷लेखक स्वतः प्रगतिशील हुन्छन् । हाम्रो समाज दशकौं राष्ट्रिय र अराष्ट्रियको भेद हुर्काएर बस्यो । तर, यो देशभित्र रहेका वास्तविक विभेदमा आँखा चिम्लिएर । आखिर कोही कवि/लेखक हुनासाथ स्वतः प्रगतिशील हुन्छ, न त लेखनकर्म हाजिरिजवाफ प्रतियोगिता नै हो । साहित्य हाजिरिजवाफ प्रतियोगिताजस्तो गाउँस्तरीय, जिल्लास्तरीय, क्षेत्रस्तरीय वा राष्ट्रिय हुँदैन । त्यसैगरी कवि/लेखक पनि स्वतः अराजक हुँदैन । पुराना विचारका मानिसले नयाँ विचार लिएर आउने, पुराना परम्परा र पद्धतिलाई प्रश्न गर्ने कवि÷लेखकलाई अराजक भनेर परिभाषित गर्ने गरेको देखिएको छ । यो त राजा नमान्नेलाई अराष्ट्रिय भनेजस्तो कुरो भो ।

अर्कोचाहिँ राजनीतिक पार्टीभित्र कवि/लेखकको स्वायत्ततालाई फितलो बनाउन अराजकताको आरोप लगाइन्छ । खासगरी नेपालका कम्युनिस्ट पार्टीभित्र त्यस्तो परिभाषा प्रचलित छ । पार्टी लाइन र अनुशासनमा कवि÷लेखकलाई बाँध्न नसकिने अवस्थामा उसलाई उपयोगमात्र गर्ने नीतिअन्तर्गत यो परिभाषा आएको हो । कवि/लेखकले उठाएका सांस्कृतिक मुद्दा र फरकमतलाई उपेक्षा गर्न यो परिभाषा काम लाग्ने गरेको छ ।

एउटा पत्रकार दैनिक केही न केही लेखेर समाजमा प्रभाव पारिरहेको हुन्छ, उसैले आमकुराकानीक्रममा ‘जागिर खान लेखेको’ भनेर त्यसको महत्वलाई कम गरिरहेको पाउँछौ । के पत्रकारको लेखनीको मूल्यांकन हुँदैन ?

अरु क्षेत्रझैं हाम्रो पत्रकारिता पनि अझै परिपक्व भइसकेको छैन । यो सामान्य सत्य हो । तर, पत्रकारले आफूले लेखेको चीज इतिहासको मूल्यांकनमा पर्दैन भन्ठान्छ भने त्यो बिल्कुल गलत हो । मानिस व्यक्ति पनि हो र समाजको सदस्य पनि । जब तपाईं सामाजिक भूमिकामा उत्रनुहुन्छ, नेताको जस्तै तपाईंको पनि जवाफदेहिता हुन्छ । चाहे फेसबुकमा लेख्नुस् वा पत्रिकामा तपाईंका हरेक वाक्यको जिम्मेवारी तपाईंले लिनैपर्छ । इतिहासमा पत्रकारिताले ठूलो जिम्मेवारी निर्वाह गरेको छ । कथित् विकसित मुलुकमा यस्ता उदाहरण पनि छन्, एउटा पत्रकारले सत्तालाई चुनौती दिएको छ ।

पत्रकारिता जनताको शक्तिशाली हतियार हो तर हतियार पहिला हतियारजस्तो हुनुपर्यो अनि निशाना छान्न पनि जान्नुपर्यो । तपाईंले भन्नुभएजस्तै जागिरे मानसिकताले हुन सक्छ, हाम्रो पत्रकारितामा धेरै उटपट्याङ काम भएका छन् । पत्रकार भनेको सदैव शंकालु (स्केप्टिक) हुनुपर्छ । तर, एउटा सामान्य प्रश्नसमेत नगरी वीरगाथा लेख्ने चक्करमा लाजमर्दो काम पनि भएको छ । लेख्नु कति महत्वपूर्ण कुरा हो भने इतिहासमा त्यो सन्दर्भ–सामग्री हुन्छ ।

पत्रकारले लेख्ने हरेक विषय वर्तमानमा समाचार वा दृष्टिकोण होला, भविष्यमा भने त्यो इतिहास हो भन्ने बुझाउन के गर्नुपर्ला ?

त्यसका लागि आलोचनात्मक संस्कृति चाहिन्छ । पत्रकारलाई आफूले लेखेको विषय आलोचकको नजरमा परिरहेको छ भन्ने महसुस भइरहन जरूरी छ । तर्क, तथ्य र सैद्धान्तिक ज्ञानका आधारमा बहस चलिरहनुपर्छ । हाम्रोमा न त साहित्यमा आलोचनात्मक बहसको संस्कृति छ, न त अरु कुनै क्षेत्रमा । त्यसैले गिरिजाबाबु वा प्रचण्डमात्र इतिहासको पर्यवेक्षणमा छन्, हामी छैनौं भन्ने पत्रकार वा लेखकलाई लाग्न सक्छ । तर, कुनै पनि सामाजिक काम इतिहासको मूल्यांकनको विषय हो । पत्रकारले पनि यो इतिहासको जाँचमा बस्नैपर्छ, हरपल बसिरहेकै हुन्छ ।

नेपाली मिडियाले एकपछि अर्को गल्ती गर्ने होडबाजीमा लागेको छ, जसमा पत्रकारले ठूलो गल्ती गरे पनि पुरस्कृतझंै भएका छन् । यो समग्र उतारचढावलाई तपाईंले कसरी हेर्नुभएको छ ?

हाम्रो मिडियाले बनाएका केही चर्चित ‘स्क्यान्डल’लाई हेर्ने हो भने चकित पार्ने दृश्य देख्न सकिन्छ । २०६० मा रसेन्द्र भट्टराईले आफू खर्बपति भएको दाबी गर्दै अन्तर्वार्ता दिए, कान्तिपुर पब्लिकेसनका सबै मिडियाले त्यो छापे÷प्रसारण गरे । प्रसिद्ध अमेरिकी पत्रकार ल्यारी किङले अन्तर्वार्ता लिन खोज्दा आफूले नदिएको बताउने रसेन्द्रले सोल्टी होटलमा बसेर नेपालका पत्रकारलाई बोलाइ–बोलाइ अन्तर्वार्ता किन दिइरहेका छन् भन्ने प्रश्न आफैंले सोधेको भए पत्रकारले त्यस्तो गल्ती गर्ने थिएनन् । तर, कहिले बुद्ध त कहिले सगरमाथाको नाममा गौरवगाथा गाउने बानी परेका हामीलाई अचानक एउटा खर्बपति नेपाली फेलापार्नु अर्को गौरवको विषय भइहाल्यो । प्रश्न गर्ने पत्रकारिताको सामान्य चेत पनि प्रयोग नगरी पत्रकारले ‘नेपाली मिदास’ भनेर उनको फूलबुट्टा भरे । नक्कली कहानीलाई समाचार बनाउने सिलसिला यहीं रोकिएन । भक्तमान श्रेष्ठलाई माओवादीले अपहरण गरेको अर्को कहानी नागरिकले एक महिनासम्म मिसनकै रुपमा छाप्यो । त्यसैगरी, नागरिकले नै दिलशोभा श्रेष्ठलाई अपुष्ट स्रोतका भरमा आरोपित गर्ने काम गर्यो ।

कुरा यत्तिमै टुंगिएन । मिडियालाई सजिलै बहकाउन सकिन्छ भन्ने आँकलनलाई सत्य साबित गर्दै अनुजा बानियाँ प्रकट भइन् । अनुजाले इटहरी–धरान रूटको लोकल बसमा ९१ लाख नगद र हीराको हार फेलापारेर सम्बन्धित मानिसलाई फिर्ता गरिदिएको सनसनीखेज ‘स्क्यान्डल’ रचिन् । यो ‘स्क्यान्डल’मा पनि पत्रकारले अत्यन्त आधारभूत प्रश्न गर्नु नै आवश्यक नठानेको र बाँकी अन्य पत्रकार हल्लाको पछि लागेको देखियो । यो प्रसंग सेलाउन नपाई फेरि नेपाल म्यागेजिनमा मीना सिंह खड्काको स्टोरी छापियो । सम्पूर्ण स्टोरीको एकमात्र उद्देश्य मीना सिंह खड्काको महानता स्थापित गर्ने देखिन्छ । त्यसका लागि मिसेल ओबामाले उनलाई फोन गरेको अपुष्ट प्रसंगलाई ठूलो महत्वको प्रमाण मानिएको छ ।
कहिलेकाहीँ गल्ती हुनु स्वाभाविक मानवीय कुरा हो । तर, त्यस्ता महानताका प्रसंग पटक–पटक उछालिनु र पत्रकार पटक–पटक सामान्य तथ्य जाँचसम्म नगरी चिप्लिरहनुचाहिँ स्वाभाविक होइन । यस्ता ‘स्क्यान्डल’ भोलि नहोलान् भन्न सकिन्न । नेपाली पत्रकारिता निर्णय सुनाउने, आरोपित गर्ने चक्करमा हुन्छ । तमाम ‘स्क्यान्डल’लाई एकठाउँमा राखेर अध्ययन गर्दा के देखिन्छ भने हाम्रो मिडियालाई सजिलै बहकाउन सकिन्छ, त्यसका लागि महानताका केही फुलझडी रचना गर्नुपर्छ । अझ महत्वपूर्ण कुरा के भने उच्च स्रोतको हवाला दिँदै छापिने समाचारलाई उक्त उच्च स्रोत (कोही न कोही शक्तिशाली नेता वा व्यक्ति) ले कुन स्तर र मात्रामा प्रभावित गरेको होला ? नेपालको इतिहासमा मिडिया आफैंमा नयाँ अभ्यास हो । त्यसैले यसका विभिन्न पहलुमाथि अध्ययन हुनु आवश्यक छ ।

एउटा मिडिया हाउसले गरेको गल्तीलाई अर्को मिडिया हाउसबाट सच्चाउने अथवा गल्ती औंल्याउने अभ्यास नेपाली पत्रकारिताको अभ्यासमा पटक्कै छैन । किनभने मिडिया मालिकले एक–अर्काविरूद्ध नबोल्ने नीति लिएका छन् । यो मिडिया मालिकले सूचनामा लगाएको अंकुश होइन ? तसर्थ पत्रकारले पाठकसम्म सही सूचना कसरी पुर्याउन सक्लान् ?

मिडिया हाउसको नीति नेपालमा विचित्रकै छ । यसलाई मिडियाको सिन्डिकेट भन्न सकिन्छ । यसको सबैभन्दा विद्रुप दृश्यचाहिँ त्यतिबेला देखियो, जब एउटा मिडियाका कर्मचारीले आन्दोलन गरे र सबै मिडियामालिक त्यसविरूद्ध संस्थागत ढंगले लागे । आवाजविहीनको आवाज भनिने मिडियामै काम गर्ने न्यून वैतनिक कर्मचारीविरूद्ध सारा मिडिया एकोहोरो लागेको र मजदुरको ज्यालाको सवाललाई प्रेस स्वतन्त्रताको सिद्धान्तसँग जोडेर प्रचार गरेको विरुप दृश्य पनि देखियो । वरिष्ठ पत्रकार किशोर नेपालले त सार्वजनिक रुपमै सम्पादकहरु मिडिया मालिकको छायाँपात्र बन्नुपरेको रहस्य खोल्नुभयो । सम्पादकको साँचो लक्ष्मी (पैसा) का हातमा रहेको बताएर उहाँले मिडियाको असाध्यै संवेदनशील चित्र देखाइदिनुभएको छ । यो अर्कोप्रकारको सेन्सरसिपको उदाहरण हो ।

तपाईंले पत्रिकाको सम्पादकका हैसियतमा समेत भूमिका निर्वाह गरिसक्नुभएको छ भने साहित्य लेखनमा समेत क्रियाशील भएको नाताले कुनै पनि विषयलाई शब्द संख्या तोकेर लेख्न लगाउने परिपाटीलाई कसरी हेर्नुभएको छ ?

पत्रिकाको चाहिँ पेजैपिच्छेका बाध्यता हुन्छन् । शब्द संख्या नतोक्दा पेज व्यवस्थापन गर्न कठिनाइ हुन्छ । हिजोआज म लामालामा लेख लेखिरहेको छु, पत्रिकाले छापिरहेकै छन् । विषयको गम्भीरता र त्यसले माग गर्ने बहसका कारणले सम्पादकले मलाई ठाउँ दिएका छन् । तर, सबै अवस्थामा यो सम्भव हुँदैन । नियमित विचार पृष्ठमा एउटै लेख त्यति लामो छाप्न कठिन हुन्छ । तर, अनलाइन मिडियाको विकासपछि त शब्द संख्याको सीमा नै गायब भइसक्यो । जति लामो लेख्नुस्, पाठकले पढिदिनुपर्यो, डिजिटल मिडियामा ठाउँ अभाव छैन । यो अखबारी लेखनको कुरा भयो । लामो लेख छाप्ने अर्को वैकल्पिक माध्यमचाहिँ म्यागजिन पनि हो । धेरै नै विषय छन् भने त किताब नै लेख्ने हिम्मत गर्नु राम्रो हो । किताब लेख्नु नै एउटा लेखकको असल स्वास्थ्यको परिचायक हो ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल