विश्वप्रकाशको अर्को पाटो : यसरी जन्मियो ‘जल्दा जल्दै रोयो चिता’

-  |   रमन पौडेल

विश्वप्रकाशको अर्को पाटो : यसरी जन्मियो ‘जल्दा जल्दै रोयो चिता’

‘सात समुद्र पारिबाट
मेरो मित्रले पत्र पठायो,
पत्रमा लेख्यो, तिम्रो देशबाट एक मुठी माटो पठाइदेऊ,
किनभने त्यो बुद्ध जन्मिएको माटो हो ।’
– विश्वप्रकाशको ‘माटो’ कविताबाट ।
bishwa prakash sharma (4)-001काङ्ग्रेसका लोकप्रिय युवा नेता विश्वप्रकाश शर्मा जोसिलो भाषण मात्रै गर्दैनन्, कविता, कथा, गीत लेख्छन् र सङ्गीत कम्पोज पनि गर्छन् ।
झापाबाट विद्यार्थी नेताका रुपमा चिनिएका उनलाई नेतासँगै एक असल सर्जकका रुपमा धेरैले चिनेका छन् । ०४६ सालअघि पञ्चायती कालमा आईएका विद्यार्थी थिए विश्वप्रकाश । मेची क्याम्पस पढ्दै गर्दा पञ्चायती व्यवस्थाविरुद्ध उनले लेखेका कविता व्यापक बने । त्यही ऊर्जाले साहित्यमा थप उत्साहित बनायो । र त त्यही लहरोमा तन्किरहेका छन् अहिलेसम्म ।
००
मूलतः राजनीतिक व्यक्तित्व हुन् विश्वप्रकाश । ‘डेमोक्र्याट्स’ युवा विद्यार्थीका ‘आइडल’ जस्तै बनेका छन् । नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष हुँदै काङ्ग्रेस केन्द्रीय सदस्य बनेका शर्माको साहित्यिक जीवनको आफ्नै लय छ ।
‘मेरा लागि साहित्य नितान्त निजात्मक कुरा हो ।’ शर्मा भन्छन्, ‘आत्म सन्तुष्टिका लागि लेख्छु ।’
साहित्यिक पुस्तक बजारमा शर्मा प्रतिस्पर्धा गर्ने तयारीमा छैनन् । तर निरन्तरको साहित्य सिर्जनाले एउटा आकार तय गरेको ठान्छन् ।
१८ कथा, ११ निबन्ध, ५० को हाराहारीमा गीत लेखेका छन् उनले । ५० गीतको सङ्गीत कम्पोज पनि गरे । केही वर्षअघि मात्रै विश्वप्रकाशकोश रचना र सङ्गीतमा दुई एल्बम सार्वजनिक भएका छन् । उनका कृतिमाथि सकारात्मक टिप्पणी भए । उनका गीत, कथा, निबन्ध र कविता मन पराउने धेरै छन् ।
दर्जनौँ कविता लेखेका छन् । उनका केही कथामाथि फिल्म बनाइएका छन् । चलचित्र ‘महसुस’को मूल कथा उनै शर्माले तयार पारेका थिए । हालै मात्र चलचित्रकर्मी नवल खड्कालगायत टोलीले शर्माले लेखेको कथामाथि अर्को चलचित्र निर्माणको तयारी गरेका छन् ।
शर्माको सङ्गीत र शब्दमा गीत शिव परियार, प्रमोद खरेल, जगदीश समालले गाएका छन् । खासमा उनी सङ्गीतका विद्यार्थी थिएनन् । काठमाडौंमा छँदा एउटा सङ्गीत विद्यालयमा गएर सङ्गीत सिके । आफैँले लेखेका केही गीतलाई आफ्नै लयमा सुनाए गायक शम्भु राईलाई र सोधे कसरी गर्ने भनेर ।
शम्भुले भने, ‘यही त हो सङ्गीत’ ।
त्यसपछि पनि सङ्गीत कम्जोप गर्ने हौसला मिलेको ठान्छन् शर्मा । त्यसअघि गीत, कथा, कविता, निबन्ध लेख्दै आएका थिए । आफ्नै वरपर छिमेकमा देखेका भोगेका सामाजिक कुरालाई कथामा बुन्छन्, कविता लेख्छन् वा गीत लेख्छन् उनी । साहित्य सिर्जनाको पाटो उनका लागि एउटा साधनाजस्तै हो ।
राजनीति वा अन्य कुनै पेसा/व्यावसायमा लाग्ने मानिससँग साहित्यिक चेत हुनु सफलताको अर्को सुविधा ठान्छन् शर्मा । जस्तै बीपी कोइराला राजनीतिमा जति प्रभावशाली थिए, साहित्यक जीवनको पनि भूमिका थियो ।
‘पत्रकारिता गर्ने मान्छेले २४ घण्टा पत्रकारिता मात्रै सोच्यो भने त्यसले निराशा मात्रै दिन्छ । शिक्षण गर्ने मान्छेले २४ घण्टा शिक्षणमै चिन्ता गर्यो भने पनि उसको काम प्रभावशाली हुँदैन ।’ शर्माको तर्क छ, ‘राजनीति गर्ने मान्छेले पनि २४ घण्टा राजनीति मात्रै सोच्यो भने उत्पादनमूलक हुँदैन ।’ त्यही राजनीतिक कर्मबाट बचेको समय साहित्य सिर्जना र चिन्तनमा लगाउँछन् शर्मा । जसले आत्मसन्तुष्टि र सकारात्मक सोच ल्याउने उनको अनुभव छ । भन्छन्, ‘हिट्लर यदि साहित्यकार भइदिएको भए, सायद त्यस्तो नरसंहार हुँदैनथ्यो ।’ थप्छन्, ‘चिन्ता लिएर मात्रै परिवर्तन पनि त हुँदैन । सिर्जनाले सन्तुष्टि मिल्छ ।’
००
bishwa prakash sharma (1)-001केही वर्षअघिको घटना । शर्माका एक छिमेकी दैनिक रक्सी पिइराख्थे । त्यही कारण श्रीमती माइत गइन् । केही महिनापछि उनको निधन भयो । श्रीमतीलाई नबोलाएरै दाहसंस्कार गरियो ।
उनको मृत शरीरमा दागबत्ती पिलपिलाउँदै जब आगो दन्किन सुरु भयो । ठीक त्यही बेला मृतककी श्रीमती चिच्याउँदै आइपुगिन् र लासमा अँगालो हाल्न खोजिन् । शर्माका अनुसार यो एउटा हृदयविदारक दृश्य थियो ।
त्यतिबेला शर्मा निकै भावुक बने र एउटा गीत तयार पारे,
‘जल्दा जल्दै रोयो चिता
बडा पीडाले थर्थरायो
गलायो, ढलायो, जलायो
जसरी त्यो रक्सी पनि रोयो’
शर्माले आफैँ सङ्गीत भरेको यो गीत गायक जगदीश समालले गाएका छन् । यस्तै सामाजिक दुःखले छुन्छ शर्मालाई । यिनै जीवनलाई छामेका छन् उनले ।
००
त्यसो त, राजनीतिक उचाइ थप्न साहित्यले पनि धेरै सघाउने ठान्छन् शर्मा । सामाजिक मुद्दालाई ‘इमोस्नल्ली’ व्यक्त गर्दा त्यसले तरङ्ग ल्याउने ठान्छन् । भन्छन्, ‘वैदेशिक रोजगारीको समस्यालाई राजनीतिज्ञले देखाउनु पर्यो भने रेमिट्यान्सको कुरा उठाउँछ । तर साहित्यकारले काठको बाकस भनेर सङ्केत गर्छ ।’ राजनीति कठोर र साहित्य शितल हुनेमा उनको पनि सहमति छ ।
राजनीतिक आन्दोलनको गर्भमा साहित्यिक आन्दोलन पनि भएको ठान्छन् उनी । त्यसैले त सर्जकले ‘फेन्टासी’को सट्टा जीवन र समाज लेखिदिए राम्रो ठान्छन् ।
उनी आफैँ पनि साहित्यको ‘फेन्टासी’मा रमाउँदैनन् । ‘प्रेम त अवस्य लेखिन्छ नै तर त्यसलाई पनि राष्ट्रप्रेम वा सामाजिक उत्तरदायित्वसँग जोडेको हुन्छु ।’
शर्माको यो गीतले पनि त त्यसै भन्छ,
‘हिमालको देशमा
हिउँ जस्तै चोखो माया
गुराँसको लेकमा फूल जस्तै कोमल माया
दिई तिमीलाई धेरै माया गर्छु,
आइ परे तर म देशका लागि लड्छु ।’
bishwa prakash sharma (2)-001००
०६१ साल माघ १ गते तत्कालीन राजाले ‘कू’ गरेपछि भोलिपल्टै शर्माको नेतृत्वमा काठमाडौंमा केही विद्यार्थी नेताहरु भेला भए ।
त्यसै दिन उनकै पहलमा एउटा साहित्यिक अभियान सुरु भयो, ‘निरन्तर शनिबार’ । तत्कालीन राजनीतिक व्यवस्थाविरुद्धको अभियान थियो यो । निरन्तर १ सयभन्दा धेरै शृङ्खला चल्यो । नेपाल विद्यार्थी सङ्घका थुप्रै कार्यकर्ता र अन्य साहित्यप्रेमी भेला हुन्थे ।
शर्माका अनुसार त्यस अभियानमा लागेका अधिकांश सर्जक अझै राजनीतिमा सक्रिय छन् । जस्तै हालैको नेविसङ्घको अध्यक्षमा पराजित मनोजमणि आचार्य त्यसैका एक अभियन्ता थिए ।
बाल्मीकि क्याम्पसमा हुने ‘निरन्तर शनिबार’का अभियन्ता कविता सुनाउँथे । कवितामा राजनीतिक परिवर्तनको अपेक्षा गरिन्थ्यो । झण्डै ५ सयको सङ्ख्यामा युवा सर्जकलाई समेटेका थिए शर्माले ‘निरन्तर शनिबार’मा । पछि राजनीतिक परिस्थिति फेरियो साहित्य छोडी सडक आन्दोलनमा ओर्लिए सबै ।
अचेल झापामै बसी राजनीतिसँगै साहित्य लेखनमा पनि लागिरहेका छन् । ‘होल टाइम’ साहित्यकार जस्तै त होइनन् उनी तर निरन्तर साहित्य सिर्जनामा लागिपरेका छन् । सिर्जनालाई बजारमा प्रतिस्पर्धा गराउँदैनन्, समयानुकूल सार्वजनिक गर्ने तयारीमा चाहिँ छन् । केही प्रकाशकले उनलाई कृति सार्वजनिक गर्न आग्रह पनि गरेका छन् ।
शर्माको बुझाइमा जे कुरा नेताले गर्न सक्दैन त्यो साहित्यकारले गर्नसक्छ । अर्थात् राजनीतिले भन्न नसकेको कुरा साहित्यले सक्छ । शर्मा भन्छन्, ‘नेता बीपीको नाममा फूल रोप्न नपाइने बेलामा विश्वविद्यालयमा उनका कृति पढाइ हुन्थ्यो ।’
यही सामार्थ साहित्यले दिने विश्वास छ उनको । शर्मा आफैं कुशल वक्ता हुन् । उनको अभिव्यक्ति प्रभावशाली छ । यसमा पनि साहित्यको प्रभाव ठान्छन् ।

यो पनि पढ्नुहोस्

प्रदीप नेपालको फरक पाटो : मास्टरले कविता लेख्, ठूलो मान्छे हुन्छस् भन्थे

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल