GROUND ZERO : ओलीको राजीनामापछिको मधेश -२ : हट्यो ‘हाई अलर्ट’, आन्दोलनको ‘ह्याङ्गओभर’ बाँकी

भदौ ३  |   एसके यादव

GROUND ZERO : ओलीको राजीनामापछिको मधेश -२ : हट्यो ‘हाई अलर्ट’, आन्दोलनको ‘ह्याङ्गओभर’ बाँकी

सिरहा – एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा गरेपछि काँग्रेस र माओवादी गठबन्धनमा नयाँ सरकार बनेको १६ दिन पुगेको छ । नयाँ सरकारसँगै अहिले मधेश केही शान्त देखिएको छ ।madhes (1)

ओली नेतृत्वको सरकारको समयमा अशान्त रहेको मधेश अहिले आएर शान्त देखिएको सुरक्षा अधिकारीले पनि महसुस गरेका छन् । ‘छिटपुट घरायशी घटना, सडक दुर्घटनाबाहेक ठूलोे चुनौतिपूर्ण घटना कुनै भएको छैन । तराई–मधेशमा आन्दोलन भइरहँदा कुनबेला के हुन्छ, थाह हुँदैन्थ्यो, त्यसका लागि २४ औं घण्टा ‘अलर्ट’ हुनुपथ्र्यो तर अहिले परस्थिति धेरै फेरिएको छ’ सिरहा जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले भने, ‘मधेशवादी दलहरु काठमाडौ केन्द्रीत आन्दोलन गर्दा पनि मुख्य चौक तथा सडकमा प्रहरी परिचालन गर्नुपथ्र्यो । त्यसबेला पनि हाई अलर्टमा हुन्थ्यौं तर अहिले त्यस्तो छैन ।’

ती प्रहरी अधिकारीका अनुसार निवर्तमान प्रधानमन्त्री ओली र मधेशी नेतावीचको इगोको लडाई मधेशमा देखिएको थियो । जसको असर मधेशका चोक–चोकमा देखिने गरेको उनले अनुभव सुनाए । ‘जतिबेला पनि हाई एलर्टमा हुन्थ्यौँ, माथिबाट पनि त्यस्तै निर्देशन थियो ।’ उनले भने, ‘एमाले नेताहरुलाई कुनै प्रकारको थ्रेट नहोस्, कुनै नोक्सानी नहोस् भनेर हामी अलर्ट हुन्थ्यौं र त्यही प्रकारको सुरक्षा गस्ती पनि खटाएका हुन्थ्यौं ।’

लाहनका डिएसपी राजकुमार केसीले सुरक्षाको हिसाबले अहिले त्यस्तो केही नरहेपनि आन्दोलनको ह्यागओभर भने वाँकी रहेको सुनाए । ‘केही व्यक्तिमा मधेश आन्दोलनको ‘ह्याङ्गओभर’ बाँकी छ । एउटै बाइकमा तीन तीनजना सबार भएर बाइक चलाउने गरेका छन् । ’उनले भने, ‘प्रहरीलाई देखेपछि जिस्काउने दिने गरेको पाइएको छ । त्यसलाई नियन्त्रण गर्ने शुरु गरिएको छ । तर, आन्दोलन जारी रहँदा जतिको चुनौति अहिले छैन ।’ उनले दलहरुवीच सहमति भए समस्या चाँडै समाधान हुने र सुरक्षाको हिसाबले पनि राम्रो हुने बताए ।

स्थानीय चुनाव नभएको असर
स्थानीय निकाय प्रतिनिधि विहिन भएका कारणले त्यसको असर प्रहरी कार्यालयहरुमा परेका देखिन्छ । ‘छुट्टीका दिनबाहेक प्राय प्रहरी कार्यालय भरिभराउ हुन्छ’ लहान प्रहरी कार्यालय परिसरमा भेटिएका महदेवा पोर्ताहाका राप्रपा जिल्ला नेता गेनालाल यादवले भने, ‘यो प्रहरी परिसरमा खुट्टा टेक्ने ठाउँ हुँदैन ।’

पहिला गाविस अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरु हुँदा गाउँघरमा हुने झैझगडा उनीहरुले नै मिलाउने गर्थे तर अहिले प्रतिनिधि नभएको कारणले सबै उजुरी प्रहरीमै आउँछन्, सबै प्रहरीमै घाउँन् । प्रहरी कार्यालयहरुका लागि अहिले यो धेरै ठूलो चुनौति बनेको छ ।

डिएसपी केसीले भने, ‘मधेश आन्दोलनको समयमा यस्तो हुँदैन्थ्यो, सबै आन्दोलनमा हुन्थे कि आन्दोलनको त्रासले घरमै हुन्थे, गाउँघरको झगडा त्यति आउँदैन्थ्यो तर अहिले प्रहरीमा उजुरीको लाइन नै लागेको छ ।’

डिएसपी केसी अनुभव सुनाउँछन्, ‘कतिपयलाई त सम्झाई बुझाई गरेर पठाउँदा मान्छन् तर कतिपयलाई मिलाउन निकै गाह्रो हुन्छ जे गरि पनि मान्दैन, हतपत गल्ती कसैले स्वीकार गर्दैनन् ।’

गाँउविकास समितिले स्थापना गर्नुपर्ने उजुरी तथा छलफल डेस्क गठन नगर्दा सिरहा प्रहरी कार्यालयहरुमा गाँउघरका झगडियको अनावश्यक भिडभाड हुने गरेको सिरहाका पत्रकार आर.के मण्डलले बताए ।

जिल्ला विकास समिति सिरहाले सिरहाका सबै गाविस सचिवलाई गाँउगाँउमा हुने घटनाको प्रारम्भिक सुनुवाई तथा छलफल गर्न गाविसको कार्यालयमा उजुरी डेस्क गठन गर्न पत्राचार गरेको थियो । तर, गाँउ विकास समितिमा विकासे योजना र कार्यालय सञ्चालनमा मात्र सिमित भएका गाविस सचिवले त्यस्तो डेस्क अहिलेसम्म सिरहाको कुनै पनि गाविसले राखेको छैनन् ।

सिरहा जिल्ला प्रहरी कार्यालयका एसपी श्याम ज्ञवालीले एक महिनाको अवधिमा नराम्रो केही घटना नभएको बताए । ‘गाउँघरमा खेत, आली, बाँध, तथा घराइसी झगडाहरुको उजुरी बढी आउने गरेका छन्, कहिले काहीँ सडक दुर्घटनाहरु पनि हुने गरेको छ’ उनले भने, ‘मधेश आन्दोलन हुँदा सुरक्षा चुनौति हाइ थियो, तर यो एक डेढ महिनादेखि पुरै मधेश त भन्न सक्दिनँ तर सिरहा जिल्ला पुरै शान्त छ ।’

उनले मधेशवादी दल मधेश छाडेर काठमाडौ केन्द्रीत आन्दोलन गर्न थाल्दाकै बेलादेखि शान्ति सुरक्षा नर्मल हुन थालेको दावी गरे ।

सिरहा सदरमुकामा भेटिएका पत्रकार देवनारायण यादवले सरकारले परिर्वनका कारण शान्ति सुरक्षा राम्रो नभएको बताए । सिरहाको एसपी परिवर्तन भएपछि यहाँका जनताले शान्ति सुरक्षा महसुस गरिरहेको तर्क गरे ।

GROUND ZERO : ओलीको राजीनामापछिको मधेश–१ : त्रासमुक्त जनजीवन 

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल