आदर्शको ऐनामा माओवादी संस्कृति

साउन २२  |   खगेन्द्र संग्रौला

आदर्शको ऐनामा माओवादी संस्कृति

khagendra-sangraulaसंस्कृतिमा ‘सादा जीवन, उच्च विचार’ एक आदर्श वचन हो । यो कम्युनिष्टहरुको त झन् परम् प्रिय मन्त्रै हो । ‘सादा जीवन’ सरल र किफायती जीवनशैलीको प्रतिक हो । र ‘उच्च विचार’ हो बहुजन हितायको बाटो गरी सर्वजन हितायतर्फ लम्किने उदात्त वैचारिक आदर्श । यो आदर्श वचनले यसको पैरवीकारबाट सरलता, त्याग र समर्पणको अपेक्षा गर्छ । यो वचनको ऐनामा माओवादीको बिम्ब सुन्दर देखिन्छ कि कुरुप ? उसका कथनी र करनीमा सामञ्जस्य देखिन्छ कि बाझो ? उसको जीवनशैलीमा इमान्दारी झल्किन्छ कि पाखण्ड ? आउनोस्, माओवादी नेतागणको आचरणको ऐनामा हेरौ“ ।

विद्रोही माओवादीका नेता प्रचण्ड प्रधानमन्त्री बने । र, सुरु भयो तिनको पलङको कथा । त्यो पलङ सवा लाख रुपैयाँको थियो । पलङमाथि दुई पृथक कोणबाट टिप्पणी भयो । माओवादीको छवि खुइलिएको देख्न रहर गर्ने कोणले प्रचण्डको घोर उपहास ग¥यो । भन्ने कुरा एउटा, गर्ने कुरा अर्को — माओवादी पाखण्डी हो । यस कोणको उपहासको सार यही थियो । तर, अर्को कोणको अभिप्राय फरक थियो । माओवादीले बाचा बमोजिम व्यवहार गरोस् । यसले जीवनशैली र संस्कृतिमा ‘सादा जीवन, उच्च विचार’लाई साकार रुप देओस् । र, यो आम मानिसका दृष्टिमा एक अनुकरणीय दृष्टान्त बनोस् । यस कोणको टिप्पणीको अपेक्षा यस्तो थियो । सवा लाखको पलङ ‘देशी–बिदेशी प्रतिक्रियावादीको चलखेल’को परिणाम थिएन । बालुवाटारका कर्मचारीहरुले भ्रष्ट परम्पराबाट जे सिकेका थिए, त्यही गरे । प्रधानमन्त्री निवासमा नया सरसामान भित्र्याएर पुराना बेचबिखन गरी केही लाभ हात पार्ने तिनको इच्छा हुँदो हो । त्यो त बालुवाटार दरबारको सनातन चलन नै हो । बिलासी पलङ टक्र्याएर प्रधानमन्त्री प्रचण्डलाई प्रसन्न तुल्याउने र केही ने केही लाभ हात पार्ने तिनको रहर हुँदो हो । त्यो पनि चलिआएकै चलन हो । त्यसैले पलङ प्रकरणमा म कर्मचारीहरुको दोष देख्दिन । प्रचण्ड कमरेड प्रचण्ड दबाब र तनावमा हुँदा  हुन् । त्यसैले बिलासी पलङको विवादमा तिनको ध्यान पुगेन होला । तर, सत्ताबाहिरका माओवादी नेताहरु त फुर्सदिला थिए । ती किन मौन रहे ? माओवादी सौन्दर्यचिन्तकहरु र संस्कृतिकर्मीहरु किन आँखा, कान र मुख जाम गरेर चुपचाप बसिरहे ? आफ्ना सर्वोच्च नेता प्रचण्डको छवि धूमिल भएको दृश्य हेर्न ? कि ‘सादा जीवन, उच्च विचार’को तिनको आदर्श फगत जप्ने मन्त्र हो, आचरणमा ढाल्ने आदर्श होइन ? अगणित नेपालीहरु चिसो र अस्वस्थकर भुइ“मा सुतिरहँदा तिनको मुक्तिका अभियन्ता प्रचण्ड सवा लाखको पलङमा सुते । तिनका दृष्टिमा त्यो पलङमा सुत्ने पात्र कस्तो देखियो होला ?

पहिले राजा सवारीमा निस्कँदा प्रजाहरुलाई कमिलालाई झैं सडकबाट बढारेर निर्ममता साथ पाखा लगाइन्थ्यो । साइरनको अत्यासलाग्दो आवाज र पिलपिले मोटरसाइलले सडकमा आतङ्कको सिर्जना गर्थे । घण्टौ ट्राफिक जाम हुन्थ्यो । र, सङ्गीनको छाया“मुनि मानिसहरुलाई असह्य सास्ती दिइन्थ्यो । राजा गए र राष्ट्रपति आए । तर, सडक आतङ्कको संस्कृति ज्यूँकात्यूँ रह्यो । सवारीमा राष्ट्रपतिले उही राजसी आतङ्कको बिँडो थामे । ठाँटबाँट उस्तै, रोबरबाफ उस्तै, र आफूलाई डाइनासोर र नागरिकहरुलाई कमिला देख्ने अहङ्कार उस्तै । आफ्नो सवारीमा प्रधानमन्त्री प्रचण्डले आ“खा चिम्लेर राष्ट्रपतिको सिको गरे । राजा त प्रजाको डरले सडक खाली गर्न लाउँथ्यो होला । प्रचण्डले कसको डरले सडक खाली गराएका होलान् ? जनजनको दुःख हर्ने बाचा गर्ने प्रधानमन्त्रीले आफ्नो सवारी आतङ्कको क्षणमा आफ्ना बाचा किन बिर्सेका होलान् ? अनि तिनको दलका सौन्दर्यविद्हरु र संस्कृतिकर्मीहरु त्यो वीभत्स दृश्य किन टुलुटुलु हेरिबसेका होलान् ? त्यो कुरुप क्षणमा ‘सादा जीवन, उच्च विचार’को तिनको मन्त्र किन निस्तेज र निरुपाय भयो होला ?

prachanda prime minister (1)
कहालीलाग्दो विद्रोहबाट बाहिर निस्कँदा माओवादी नेताहरु ‘हामी नयाँ हौं’ भन्थे । तर, जब सत्ताधारी भए, ती पुरानाहरुकै औतारमा प्रकट भए । प्रधानमन्त्री र मन्त्रीहरु आप्mनो गाडीको ढोका आफैं खोल्न नसक्ने भए । ढोका आफैँ खोल्दा तिनका कोमल गाथमा चोट लाग्ने भयो । ती आफ्ना ब्रिफकेस आफैं बोक्न नसक्ने भए । तिनका अङ्गरक्षकहरुले ब्रिफकेस बोकिदिनु प¥यो । मानौ ती मालिक हुन् र तिनका अङ्गरक्षकहरु तिनका दास हुन् । ती बृद्ध वा असक्त थिएनन् । तिनका बाहु बलिष्ठ थिए र तिनका तीघ्रा दरा थिए । तर, सत्ताको शान र अहङ्कारले तिनलाई गाँज्यो । भ्रष्ट सत्ताको नशा लाग्दा तिनले आफ्ना आदर्श, बाचा र प्रतिबद्धताहरुलाई क्रूररतासाथ कुल्चिए । बिडम्वनावश, माओवादी दलभित्र नेतृत्वको यो सामन्ती आचरणबारे प्रश्न गर्ने र औंलो ठड्याउने कोही भएन । त्यस महलका सौन्दर्यविद्हरु र संस्कृतिकर्मीहरु मानौ किताबी आदर्शको शुद्ध पाठ घोक्नमै मस्त थिए ।

माओवादीभित्रको एउटा चिन्तनधारमा ‘सत्ता कब्जा’को अयथार्थपरक आग्रह र रुमानी झोक बलशाली छ । यस धारका एक हस्तीलाई तिनका एक अनुयायीले बिन्ती गरेछन् — कमरेड, तपाईको गाडी धेरै मंहगो छ । कुरा गर्ने सत्ता कब्जाका, गाडी भने अति बिलासी भनेर चारैतिर कुरा काटेको सुनिन थाल्यो । सस्तो मारुती कार चढे हुँदैन ? कब्जाकारी कमरेडले झोक्किदै भनेछन् — छोड्दिनोस् यो कुरा, मलाई यही गाडी मन प¥या छ । कुरा काटेर के नापिन्छ ? धर्मान्ध पुरेतले रामनाम जपेझैं अहोरात्र ‘सादा जीवन, उच्च विचार’को तोत्र जप्ने यी कमरेडलाई के भन्ने ? ‘सादा’ र ‘उच्च’का सच्चा पैरवीकार कि विलासिता र पाखण्डका पुजारी ? अनि तिनका आचारणमा झल्किने यस्तो संस्कृतिलाई जनसंस्कृति भन्ने कि सामन्ती दम्भ ?

एक साताअघि का“चका पर्दामा पेरिसडाँडामा एउटा विचित्रको दृश्य देखे । एक माओवादी नेता भवनबाहिरको भ¥याङबाट ओर्लिए । ती चैनको मुद्रामा थिए । इस्टकोटको खल्तीमा हात हालेर ती हाँसझै ढल्किँदै भिडियो क्यामेराहरुसामु पुगे । सिमसिम पानी पर्दै थियो । एक कार्यकर्ताले कुद्दै आएर तिनलाई छाता ओडाए । त्यो दृश्यले मलाई जङ्गबहादुर, जुद्ध शमशमशेर र महेन्द्रको सम्झना गरायो । कोमल देह भएका यी महाराजहरु पनि त त्यसै गर्थे । पहिले ती ख्वामित्हरुका छाते हुन्थे । अहिले यी माओवादी ख्वामित्का छाते छन् । संस्कृतिमा तिनमा र यिनमा फरक के भयो त ? आवरण फरक छ, बाचा फरक छ । आचरण ?

माओवादीहरु यी कोमलाङ्गी नेतालाई ‘हाम्रा ऋषि धमला’ भन्छन् । यो सम्मानसूचक भनाइ हो कि अपमानसूचक भनाइ हो मलाई थाहा छैन । रिपोर्टर्स क्लबका ऋषि धमलाका त छाते छैनन् क्यारे । ती आफ्नो छाता आफैं ओड्छन् । सांस्कृतिक दृष्टिले यी दुई ऋषि धमलामध्ये को उत्तम हो मलाई थाहा छैन । माओवादी सौन्दर्यविद्हरु र संस्कृतिकर्मीहरुलाई थाहा होला कि ?

थप कुरा— पहिले प्रचण्ड प्रधानमन्त्री भएका थिए, अहिले पुष्पकमल प्रधानमन्त्री भएका छन् । अहिलेका पुष्पकमलका दृष्टिमा पहिलेका प्रचण्ड र तिनको आचरण कस्तो देखिँदो हो ? अनि माओवादी महलका संस्कृतिकर्मीहरुका दृष्टिमा ? पहिले प्रचण्ड प्रधानमन्त्री भएपछिको मेरो यो लेखमा आफ्ना अनुहार हेर्दा माओवादीहरुलाई अहिले कस्तो लाग्दो हो ? ग्लानि ? अन्यमनश्कता ? वा मेरो असामयिक उपद्रयाईं ?

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल