विश्लेषण : बाँकी प्रचण्डकै मर्जी !

साउन १९  |   नेत्र पन्थी

विश्लेषण : बाँकी प्रचण्डकै मर्जी !

काठमाडौं– सेनापति प्रकरणमा आफ्नै गठबन्धनमा रहेको एमालेका नेताबाट जव ‘धोका’ भयो, देशवासीका नाममा विशेष सम्बोधन गर्दै प्रचण्डले राजीनामा गरे । राजनीतिमा दुर्लभै देखिने यस्ता कदम ‘राष्ट्रिय स्वाधीनता’ का लागि भन्दै प्रचण्डले चालेका थिए । जव, आफ्नो नौ महिने प्रधानमन्त्री कार्यकालबाट प्रचण्डले ०६६ बैशाख २० मा राजीनामा दिए, बहुतै थोरै मानिसहरुले मात्र उनी दोस्रो पटक प्रधानमन्त्री हुन्छन् भन्ने विश्वास लिएका थिए । तर, यहीनेर प्रचण्डले सावित गरिदिए–राजनीति सम्भावनाको खेल हो । र, राजनीतिमा अपवाद भन्ने हुँदैन ।

pm prachanda

राजनीति उचाई यात सडकबाट बन्छ या त सत्ताको खेलबाट । कहिले यस्तो उचाई विद्रोहबाट प्राप्त हुन्छ, कहिले अरुको निगाहमा आइलाग्छ । चुनावले नेताको कद सानो ठूलो बनाउने त प्रजातान्त्रिक अभ्यासको सामान्य नियम नै हो । तर, यी सवै प्रयोगबाट नेता उदाउने कुरा निकै कठीन हुन्छ । प्रचण्ड नेपाली रजानीतिमा यस्ता पात्र हुन्, जसले सानो समूहसहितको भूमिगत राजनीति गरे, आफ्नै पार्टीको सेना बनाएर राज्य विरुद्ध सशस्त्र विद्रोह गरे, त्यसैको बलमा केन्द्रीय राजनीतिमा तत्कालीन मुलधारका ठुला राजनीतिक दल सरह साझेदारी लिए । शान्ति सम्झौता गरेर विश्वको ध्यान नेपालतर्फ खिच्न सफल भए । विद्रोही नेताका रुपमा संसारका ठूला–ठूला संचार माध्यममा उनले आफुलाई प्रस्तुत गरे । अहिले ति मिडिया प्रचण्डलाई ‘पूर्वविद्रोही’ नेताका रुपमा प्रस्तुत गर्छन् ।

बुलेटमामात्र विश्वास गर्ने नेता भनेर आलोचना गरिरहेको राष्ट्रिय तथा अन्तराष्ट्रिय तप्कालाई प्रचण्डले त्यतिबेला बलियो जवाफ दिए, जस ०६४ मा संविधानसभाको चुनाव भयो । बुलेटमा मात्र होइन ब्यालेटमा पनि प्रचण्डले शानदार प्रर्दशन गरे । परम्परागत संसदीय राजनीति गरिरहेका काँग्रेस–एमाले भन्दा संसदको संख्यात्मक हिसावले आफ्नो पार्टीलाई निकै ठूलो बनाए उनले । बुलेटपछि ब्यालेटमा पाएको समर्थन जनयुद्धलाई मिलेको बैधानिता र जनयुद्धको पुष्टी भएको रुपमा प्रचण्डले बुझे । २० हजार भन्दा बढी लडाकुलाई शिविरमा राखेर चुनावी मैदानमा उत्रदा प्रचण्डका आलोचना पनि भयो तथा लडाकु र वाईसीएलको बलमा चुनाव जितेको आरोप लाग्यो । यद्यपी चुनाव नतिजालाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र अन्तराष्ट्रिय समूदायले वैधानितका दियोे । ब्यालेटबाट प्राप्त शक्तिले राष्ट्रिय तथा अन्तराष्ट्रिय राजनीतिमा प्रचण्डको उचाई ह्वातै बढ्यो ।

19-prachadnaयहाँसम्म राजनीतिमा एकतर्फी पहल लिएका प्रचण्डको चुनावजितेपछिको यात्रामा व्रेक लाग्न थाल्यो । संसदमा सवैभन्दा ठूलो दल भएर पनि उनले प्रधानमन्त्री बन्न चार महिना कुर्नु पर्यो, कारण थियो–गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपतिमा अस्वीकार गर्नु । अन्तरिम संविधानमा रहेका दुई तिहाईले मात्र सरकार फेरबदल गर्न सक्ने व्यवस्था परिवर्तन गर्न माओवादी तयार भएपछि मात्र प्रचण्डका लागि प्रधानमन्त्रीको ढोका खुल्यो र उनी २०६५ असार ३१ मा गणतान्त्रिक नेपालको प्रथम प्रधानमन्त्रीमा चयन भए । उनको सिंहदरवार प्रवेश सामन्य थिएन, विद्रोही नेता सत्ताका नेता भएका थिए । संविधानसभाको पहिलो चुनावमा दोस्रो वा तेस्रो पोजिशनमा आएका भए प्रचण्डका लागि सिंहदरवार प्रवेश धेरै कठिन हुन सक्थ्यो ।

एमालेदेखि मधेशी मोर्चासम्मको समर्थनमा प्रधानमन्त्री भएका प्रचण्डमाथि जनताको आशा र अपेक्षा निकै थियो । एउटा बौद्धिक समूह थियो, जसले विद्रोहलाई अस्वीकार गर्दथ्यो, उसले चाहिँ प्रचण्डलाई कमजोर पार्न हरसम्भव प्रयास गरेको थियो । प्रचण्डले प्रधानमन्त्री भएपछि परम्परा मिचेर पहिले चीन भ्रमण गरेको भन्दै भारत असन्तुष्ट भयो । यहीबाट भारतीय संस्थापनपक्ष प्रचण्डसँग अनुदार बन्न गयो । प्रधानमन्त्रीको कुर्सीमा बसेर प्रचण्डले न्यूनतम सुधारका काम थाल्दै थिए । तर, एक बर्ष निवत्दै राजनीतिमा नाटकीय मोड आयो । जननिर्वाचित सरकारको आदेश अस्वीकार गरेको भन्दै तत्कालीन प्रधानसेनापति रक्माङ्गत कटवाललाई हटाए प्रचण्डले । काँग्रेस, एमाले र भारतीय योजनामा तयार पारिएको यो चक्रव्यूहमा प्रचण्ड यसरी फसे कि जसले उनलाई राजीनामा दिन बाध्य पार्यो । तत्कालीन राष्ट्रपति रामवरण यादवले शितलनिवासमा बसेर काँग्रेस, एमाले र भारतीय योजना कार्यन्वयन गरेको माओवादी बुझाई थियो ।

सेनापति प्रकरणपछि फेरि प्रचण्डको राजनीतिमा नाटकीय परिवर्तन आयो । उनले सिंहदरवारबाट बाहिरिएपछि सडकको राजनीति शुरु गरे । राष्ट्रिय स्वाधीनताका लागि भन्दै आमहड्तालदेखि भद्रकालीमा सडकमा बस्न र नाँच्ने सम्मको काम गरे । यो बेलामा उनको भारतसँगको सम्बन्ध झनै विग्रियो । काँग्रेसको समर्थनमा एमाले नेता माधव नेपाल प्रधानमन्त्री भए । दुई–दुई ठाँउबाट चुनाव हारेका नेपाललाई संविधान निर्माणमा शीर्ष नेताको भूमिका चाहिन्छ भन्दै प्रचण्डले नै सांसद बनाउन पहल थालेका थिए । मावध नेपालको सरकारलाई माओवादीले भारतीय योजनामा बनेको ‘कठपुतली सरकार’ भन्यो ।

डेढ बर्ष लामो सडक संघर्षपछि प्रचण्ड फेरि राष्ट्रिय राजनीति र सत्ता राजनीतिमा हस्तक्षेप गर्ने ठाँउमा आए । माधव नेपालले राजीनामा गरेपछि प्रचण्डले प्रधानमन्त्रीका लागि आफुलाई पनि दौडाए । तर, परिस्थिति आफ्नो अनुकुल भएन । यहाँका राजनीतिक दल र खास गरेर भारतलाई ‘देखाइनदिन’ प्रचण्डले एमाले नेता झलनाथ खनाललाई प्रधानमन्त्रीमा समर्थन गरे । माओवादीको सहयोगमा झलनाथ प्रधानमन्त्री भए, जसको सूत्रधार थिए प्रचण्ड । तर, एमालेभित्रको अन्तरविरोधले झलानाथले सात महिनामै राजीनामा दिए ।

झलनाथको राजीनामापछि पनि प्रचण्डले राजनीति आफ्नो पडकमा राखे । मधेशी मोर्चाको सहकार्यमा बाबुरामलाई प्रधानमन्त्री बनाए । बाबुरामलाई प्रधानमन्त्री बनाउनका लागि माओवादीमा चर्चित धोविघाट भेला पनि भयो । भेला पार्टी विभाजनको ‘घाट’ बन्यो । यो सरकारले शान्ति प्रक्रियाको महत्वपूर्ण काम सेना समायोजन पुरा गर्यो । तर, संविधान निर्माणमा काँग्रेस–एमालेको असहयोग रह्यो ।

संविधानसभा विघटन भयो । राष्ट्रिय राजनीतिमा भ्याकुम पैदा भयो । प्रचण्डले राजनीतिमा आफ्नो पहल लिए र तत्कालीन प्रधानन्यायधीस खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गर्न सम्भव बनाए । यो सरकारले गराएको चुनावमा प्रचण्डलाई झ्टका लाग्यो । उनको पार्टी तेस्रो भयो त्यो पनि पहिलो र दोस्रोको तुलनामा धेरै नै पछाडि ।

चुनाव हारेपछि पनि प्रचण्डले राजनीति पहल फुत्कन दिएनन् । काँग्रेस–एमाले मिलेर सरकार बनाएपनि प्रचण्डको नेतृत्वमा तराई–मधेशका दलहरु समेत रहेको विपक्षी गठबन्धन बन्यो । जसले कहिले संसदमा त कहिले सडकमा आन्दोलन गर्यो । भूकम्पपछि चाहिँ दलहरुमाथि दवाव बन्यो । प्रचण्डले सहमतिका लागि फेरि पहल लिए, जसको परिणाम स्वरुप १६ बुँदे भयो । यसैको जगमा संविधान बन्यो ।prachanda (10)

संविधान बनेपछि सत्ता साझेदारीका विषयमा काँग्रेस र एमालेवीच मतभेद भयो । काँग्रेसले भद्र सहमति अनुसार एमालेलाई प्रधानमन्त्रीदिन अस्वीकार गर्यो । सहमतिको सरकार सम्भव नभएपछि प्रचण्डले समर्थन दिएर केपी ओलीलाई प्रधानमन्त्री बनाए । तर, सत्ता हस्तान्तरणका विषयमा ओलीबाट प्रचण्डले धोका भएको महसुस गरे । राष्ट्रिय अन्तराष्ट्रिय शक्ति सन्तुलन मिलाए । तेस्रो पार्टी हुँदा हुँदै पनि उनले आफ्नो नेतृत्वमा सरकार बनाउन सम्भव तुल्लाए । आजको दिनमा ८२ सीट भएको माओवादीसँग उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखजस्ता महत्वपूर्ण पद छन् । संसदीय राजनीतिका लागि यी पद महत्वपूर्ण उपलब्धी हुन् । तेस्रो पार्टी हुँदा हुँदै पनि प्रचण्डले प्राप्त गरेका यी पद उनको जितकै कारण हो, कहिले सडकमा जित त कहिले संसदमा । प्रचण्डसँग यस्तो कला छ, जसले हार्दा पनि जित्छन् र जित्दा पनि हार्छन । त्यसैले त उनले भनिरहेका हुन्छन्–भद्रगोलकै वीचमा गोल ।

आफ्नै सहकर्मीहरु वैद्य, बाबुराम, बादल, विप्लव र मात्रिकाले पार्टी छाडेर हिँडेपछि केहीले प्रचण्डको राजनीतिक जीवन सकिएको रुपमा पनि लिए । तर, प्रचण्डले बादल, मात्रिका र मणि थापाजस्ता नेतालाई एकता प्रक्रियामा ल्याए । यहाँ पनि प्रचण्डले हार्दाहार्दै जिते । भारतसँग विग्रीएको सम्बन्धमा सुधार ल्याउन सके । चीनसँग सहकार्यको बाटो खुला नै राखेका छन् । २०७३ असार २ को विहान, प्रचण्डसँग एक घण्टा लामो अन्तर्वार्ता भयो । ‘अर्को एउटा कुरा नेपालको राजनीतिमा अन्तर्राष्ट्रिय समीकरण बन्ने र भत्किने भइहाल्यो । तपाईंचाहिँ कहिले उत्तरतर्फ देखिने, कहिले दक्षिणतर्फ देखिने, कहिले बीचमा देखिने । ठ्याक्कै तपाईंको समीकरणचाहिँ के हो ?’ प्रचण्डलाई सोधिएको एउटा प्रश्न थियो । उनले भनेका थिए, ‘(हाँस्दै) तपाईंले जे प्रश्न गर्नुभयो त्यही हो मेरो समीकरण । कहिले उत्तरतर्फ देखिने, कहिले दक्षिणतर्फ देखिने, कहिले बीचतर्फ तर हुनेचाहिँ नेपालमा हो– मेरो समीकरण । त्यति हो । प्रचण्ड भनेकै त्यही हो । नत्र त प्रचण्डै हुँदैन नि । दक्षिणतिरमात्रै देखिए पनि प्रचण्ड हुँदैन । उत्तरतिरमात्रै देखिए पनि प्रचण्ड हुँदैन । सबैतिर सन्तुलन गरेर नेपालतिर जाने नै प्रचण्ड हो ।’ प्रधानमन्त्रीका रुपमा उनको कुटनीतिक सम्बन्ध यसरी नै अगाडि बढने देखिन्छ । दुई पटक प्रधानमन्त्री बन्ने कम्युनिष्ट नेता बनेर उनले अर्को इतिहास पनि बनाए ।

आबश्यकता अनुसार लचकता र आबश्यकता अनुसार कठोर बन्न सक्ने, पार्टीभित्र र वाहिर कुटनीतिक तवरले राजनीति गर्न सक्ने र आफुलाई लागेको कुरा नलुकाई भन्न सक्ने खुवी राख्छन् प्रचण्ड । युद्धकलादेखि कुटनीतिसम्म, भिषण युद्धदेखि शान्तिवार्ता सम्म प्रचण्डले देखाएको गतिशिलता अनौठो छ । राजनीतिलाई आफ्नो वरीपरी घुमाउन सक्ने उनको सवै भन्दा ठूलो विशेषता हो ।

कार्यसूचिमाथि ध्यान केन्द्रित गर्नेकुरा त छदैछ । प्रचण्डलाई आफ्नो नेतृत्वको सरकारको कार्यसूचि र चुनौतिवारे राम्रोसँग थाहा छ । अहिलेको मुख्य चनौति भनेको राष्ट्रलाई एकताबद्ध गर्ने चुनौति हो । आन्दोलन गरिरहेका दलहरुको समर्थन बटुलेर उनले यसतर्फ कदम चालेका छन् । संविधान आवश्यक संशोधनसहित सबै वर्ग, जाति, क्षेत्र, लिङ्गको अपनत्व भएको संविधानको रूपमा कार्यान्वय गर्नुपर्ने उनको दायित्व छ । यसमा उनलाई सफलता मिल्न सक्छ । तर, एमालेको विश्वासको खाँचो हुँनेछ । आउने डेढ वर्षमा ३ वटा निर्वाचन गर्नुपर्नेछ, भुकम्पपछि भएको क्षतिको पुनर्निमाणको कामलाई तिव्रताका साथ अगाडी बढाउनुपनर्छे, भरखरै बाढी–पहिरोले ठूलो जनधतको क्षति भएको छ यसलाई पनि उद्धार, राहत र पुनस्र्थापना गर्नुपर्नेछ । शान्ति प्रक्रियाका काम, जुन ओलीले गरेनन् भनिएको छ, त्यसलाई टुंगाउनुपर्नेछ । यी कार्यभार सजिलै हुँदैनन् । काँग्रेससँग भएको सहमति अनुसार प्रचण्डसँग समयको सुविधा छैन । फास्ट ट्याक्रमा काम गर्नुपर्ने र सवैको सहमतिमा अगाडि बढनुपर्ने छ । यहाँबाट मात्र प्रचण्डले पछिल्लो लडाई जित्न सक्छन् ।

prachanda sher bahadur deuba
प्रचण्डले राजनीतिक मैदानमा ढिला चाढो धेरै लडाईं जितेका छन् र भविष्यमा अरु पनि जित्लान । तर, उनीमाथि परिवार र पैसाप्रतिको अलि बढी आशिक्त रहेको आरोप लाग्ने गरेको छ । विपक्षी राजनीति गरिरहेकाहरुले मात्र होइन पूर्वसहकर्मीहरु वैद्य, बाबुराम र विप्लवको पनि प्रचण्डमाथि बेलाबेला यही आरोप लगाउँछन् । प्रधानमन्त्रीका हैसियतमा अवको कार्यकाल प्रचण्डले पहिलो विजय यहाँबाट प्राप्त गर्नुपर्छ । कतिपय अबस्थामा एनजिओकर्मी र कतिपय अवस्थामा पार्टी पत्रकारिता गरिरहेकाहरुले विगारेको छवि सुधार प्रचण्डका लागि भविष्यको राजनीतिका लागि अनिवार्य सर्त हो । भविष्यका पेचिला र जटिल लडाईं जित्नका लागि प्रचण्डलाई ठूलो फौजको खाँचो छ । विषयगत ज्ञान भएका विज्ञहरुको सहयोग चाहिन्छ । त्यसकारण उनले प्रधानमन्त्री कार्यलयमा नियुक्त गर्नेहरु ‘जागिर खाने’ पात्रहरु मात्र बनाउनु हुँदैन । उनले बोल्ने होइन, काम गर्ने राजनीति संस्कार बसाल्न सक्नुपर्छ । कता जाने, के गर्ने ? वाँकी प्रचण्डकै मर्जी ।

तर, उनलाई औसत प्रधानमन्त्री बन्ने सुविधा चाहिँ छैन । उनी औसत नेता बनेर रहन पनि सक्दैनन् । १० बर्षको जनयुद्ध र त्यसको प्रभाव नेपाली राजनीतिको इतिहास हो । योसँगै जोडिएका अनगिन्ती प्रश्न छन् र यसको जवाफ दिने दायित्व प्रचण्डकै हो । किसान, मजदुर, दलित, जनजाती र उत्पीडित समुदायसँगको सम्बन्ध प्रचण्डको राजनीतिका लागि निर्णायक उर्जा हो । प्रधानमन्त्रीका हैसियतमा ती समुदयाका पक्षमा सुधारात्मक काम गरेर उर्जा बचाइरहने दायित्वबाट प्रचण्ड पन्छिन मिल्दैन । जनता र कार्यकर्ताले प्रचण्डलाई चाहिने सवै दिएका छन्, अव पालो प्रचण्डले दिने हो । यही नै उनको राजनीतिको भविष्यको ‘टर्निङ पोइन्ट’ हुनेछ ।

यी सामाग्री छुटे कि

प्रचण्ड बने दुई पटक प्रधानमन्त्री हुने पहिलो कम्युनिष्ट प्रधानमन्त्री

प्रचण्डलाई क–कसले दिए बधाई ?

बधाई दिन चिनियाँ राजदूत पुगे प्रचण्ड निवास

प्रचण्डलाई मोदीको बधाई, भारत भ्रमणको निम्तो

नयाँ प्रधानमन्त्रीलाई एमालेको सुझाव : चोर बाटो हिँड्नुभयो, थाङ्नामा सुताउला

संसदमा प्रचण्डले भने –गरीब किसानको छोरो मैले प्रधानमन्त्री हुने कल्पना पनि गरेको थिइन 

साथी बदल्न सकिन्छ, तर छिमेकी बदल्न सकिन्नः देउवा

संसदमा उपेन्द्रको व्यंग्य–विना प्रतिस्पर्धाको खेलमा प्रचण्डजीले गोल हान्नुहुन्छ 

ओली, झलनाथ र माधवलाई सम्झँदै प्रचण्डले भने, ‘मेरो अस्थिरताले तपाईंहरुलाई फाइदा पुगेकै हो’ –

प्रधानमन्त्री निर्वाचनः संसदमा बोल्दै के भने महराले ?

राप्रपा नेपाल सरकारमा नजानुका ४ कारण

२१ बर्षमा प्रचण्ड–देउवा संयोग

यस्तो छ : प्रचण्डको बायोडाटा

ती प्रचण्ड, यी प्रचण्ड (फोटोफिचर)

कांग्रेस–माओवादी र मधेसी मोर्चाबीच तीन बुँदे सहमति (सहमतिपत्रसहित) 

महान्यायाधिवक्ता हरि फुयालले दिए राजीनामा

यस्तो छ प्रधानमन्त्री चयन प्रक्रिया

एकनाथ ढकालको पार्टीले प्रचण्डलाई भोट हाल्ने

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल