नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिको अध्यक्ष छन् । सामान्य कर्मचारीका रुपमा असिस्टेनबाट केन्द्रीय बैङ्कमा जागिर सुरु गरेका उनले ‘अफिसर’ अर्थात बैङ्कको निर्देशकसमेत भएर सेवा गरिसकेका छन् । लामो समय बैङ्क तथा वित्तीय क्षेत्रको नियामक निकाय केन्द्रीय बैङ्कमा सेवा गरेर विगत ३ महिनादेखि बीमा क्षेत्रको नियामक निकाय बीमा समितिमा अध्यक्षको जिम्मेवारी सम्हालिरहेका उनीसँग बैङ्क, वित्तीय क्षेत्रसम्बन्धी लामो अनुभव छ ।
२०२३ साल असार ५ गते वागलुङको अमलाचौर–२, मा सामान्य परिवारमा उनको जन्म भएको थियो । जतिवेला बाल मृत्युदरको अवस्था उच्च थियो । उनका दुई दिदी र दुई दाजु छन् । परिवारको कान्छो छोरा हुन् चिरञ्जीवी । उनलाई रातोपाटीको ‘मेरो जीवन’ का लागि कुराकानी गरिरहँदा उनले आफ्नो बाल्य काललाई समेत सम्झिए । ‘म कान्छो छोरा, त्यो समय बाल मृत्युदर उच्च थियो रे’, उनले सम्झिए, ‘पहिलो दिदी बालमृत्युबाट बचे पनि त्यसपछिका दुई दाजुहरु वितेछन् । त्यसपछि ठूलो धार्मिक कार्यक्रम गरेपछि हामी तीन दाजुभाइ जमिएका रहेछौँ ।’
सानैदेखि चञ्चले स्वभावका उनी सामान्य परिवारमा जन्मिएका भए पनि परिवारले शिक्षाको महत्व राम्रोसँग बुझेका कारण उनले उच्च शिक्षा हालिस गर्ने मौका पाएका रहेछन् । सोही कारण उनी आज सरकारले दिएको एउटा महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेका छन् । प्रस्तुत छ, बीमा क्षेत्रमा थुप्रै नयाँ सुरुवात गरिसकेका चापागाईंसँग मेरो जीवनका लागि रातोपाटीका लागि किरण ढकालले गरेको कुराकानी :
मेरो खाना
नेपाली दालभात, तरकारी खान मन पर्छ । त्यस्तो स्पेसल केही छैन ।
मेरो पोसाक
फ्रिली हिँड्न पाए राम्रै हो । तर, पनि इन्टरनेसनल सुट (सर्ट, पाइन्ट, टाइ, कोट) नै मन पर्छ ।
मेरो फिट्नेस
बिहान ‘मर्निङ वाक’ गर्छु, हरेक दिन घरबाट उठेर स्यम्भूसम्म पुगेर फर्कन्छु । यो नै मेरो फिटनेस हो । अहिलेसम्म अरु खाले फिटनेसको उपाय अपनाएको छैन ।
मेरो अध्ययन
त्यो बेला अङ्ग्रेजी भाषा गाई खाने भाषा भन्थे । बाहुनले संस्कृत पढ्नुपर्छ भन्थे । दिनानाथ शर्माले ठूलो दाइलाई अङ्ग्रेजी पढाउन लागेको त्यसमा विरोधसमेत भएको थियो अरे । बुबाको इच्छा पण्डित बनाउने थियो । प्रारम्भिक शिक्षा घरमै बुबासँग बसेर पढेको हो । प्राथमिक शिक्षा गाउँमै पढेर ५ वटा गाउँको एउटा मावि भएको ठाउँमा पढेको हो । पर्वतको फलेवासमा भर्खर क्याम्पस खुलेको थियो । तर, बुबाले समुन्द्रमा गएपछि जे जे हुन्छ हुन्छ भनेर काठमाडौँ आउने वातावरण बनाउनुभएको थियो । मैले स्नात्तकोत्तर गरेको छु ।
मेरो घुमफिर
घुमफिर गर्न एकदमै मन पर्छ । म पोखरामा हुँदा यसै वर्ष अन्नपूर्ण सर्किट ५ हजार ४ सय फिट हाइटमा पुगेर आए ।
मेरो फुर्सद
फुर्सदमा टिभी हेर्ने, पत्रपत्रिका पढ्ने हो । अहिले भने फुर्सद छैन । नयाँ विषयमा आइयो । बीमा सेक्टरमा अन्तर्राष्ट्रिय मूल्य मान्यता के–कस्तो छ भनेर त्यसै विषयमा अध्ययन गर्ने गरेको छु ।
मेरो खेलकुद
म सामान्य भलिबल, टेबल टेनिस, ब्याड मिन्टन पनि खेल्छु । तर, हेर्नमा फुटबल मजा लाग्छ ।
मेरो मोबाइल
मैले एप्पलको मोबाइल प्रयोग गरिरहेको छु । यही ब्रान्डको सेभेन प्लस छ । मोबाइल चाहिँ नयाँ आयो भने चेन्ज गर्न मन लाग्छ ।
मेरो टेलिभिजन
टेलिभिजन हेर्छु । राजनीतिक विश्लेषण, आर्थिक समाचार हेर्ने गरेको छु । यस्तै, गाउँमा जन्मिएको मान्छे, लोकगीतहरु हेर्न मन पर्छ ।
मेरो चलचित्र
हलमा गएर चलचित्र नहेरेको धेरै वर्ष भयो । पछिल्लो पटक हेरेको चलचित्र ‘तँ त सारै विग्रिस नि बद्री’ भन्ने नै हो । त्यसपछि हेरेको छैन ।
मेरो रोग
छैन । मलाई अहिलेसम्म कुनै रोग छैन । मेरो आमाको हाई प्रेसर थियो । त्यसले छुन्छ कि भन्ने थियो । तर अहिलेसम्म फिट छु ।
मेरो मापासे
मापासे गर्ने बानी छैन । अहिलेसम्म गरेको पनि छैन ।
मेरो सङ्गीत
सङ्गीत मन नपराउने मानिस नै हुँदैन । तर पनि म गाउँबाट आएको मानिस लोकदोहोरी हेर्न मन पर्छ ।
मेरो भूल
अहिलेसम्म त्यस्तो छैन । किनकि मैले सोचेको कुरा पुगिरहेको जस्तो लाग्छ । मैले राष्ट्र बैङ्कमा अफिसर भएपछि पीएचडी गरेको भए हुन्थ्यो भन्ने लाग्छ । तर त्यसमा पनि दुःख लागेको छैन ।
मेरो घर
पुरानो पुख्र्यौली घर बागलुङमा छ । बेचेका छैनौँ । त्यहाँ जग्गा जमिन छ । अहिले काठमाडौँको सानो भ¥याङमा राष्ट्र बैङ्कको कर्जा लिएर सानो घर बनाएको छु ।
मेरो राशि
म मेष राशी हो । संस्कृत र संस्कारबाट आएको मानिस राशिमा विश्वास नगर्ने कुरै भएन । बिहान उठेर सधैँ पूजा गर्ने गरेको छु । नेपालका प्रख्यात मन्दिरहरुको दर्शन गरेको छु । मन्दिरमा जाँदा ढोग्छु ।
मेरो सौन्दर्यचेत
सौन्दर्य त मानिसका लागि नभइ नहुने कुरा रहेछ । त्यसलाई पनि ध्यान दिनुप¥यो । बिहान उठेर दाह्री नकाटी हिँड्न मन लाग्दैन ।
मेरो प्रेम
मेरो १९ वर्षमा मागी विवाह ‘एरेन्ज म्यारिज’ भएको हो । विवाह अलि ढिला भएको भए हुन्थ्यो होला । विवाह छिटो भएर होला प्रेम हुन पाएन ।
मेरो सपना
म सपनामा विश्वास गर्छु । सर्टेन सपनाले विपनाको मार्ग निर्देशन गर्छ जस्तो लाग्छ । केही नयाँ काम हुन्छ भने अगाडि नै केही सङ्केत देखापर्छ । म केही समयअघि बागलुङ गएँ । मलाई ८८ वर्षीय काकाले एकाहा लगाउने भनेर बोलाउनु भयो । म त्यहाँ जाने सोच बनाउँदै थिएँ । त्यसै रात मैले बुबालाई देखेँ । त्यही भएर ठीकै हो भनेर पनि म गएँ, त्यसपछि देख्नुपरेको छैन ।
मेरो मृत्यु
मेरो परिवारमा प्रायः हजुरबुबा, बुबाहरुको पनि ८४औं वर्षको पूजा गरेको हो । मलाई पनि आयु लामो छ नै भनेको छ । तर त्यो कति सत्य हुन्छ, थाहा छैन ।
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..