हास्य कलाकार उत्तम केसीको जीवनः धेरै मोबाइल र केटी फेर्ने काम मबाट हुँदैन

फागुन २

हास्य कलाकार उत्तम केसीको जीवनः धेरै मोबाइल र केटी फेर्ने काम मबाट हुँदैन

चलचित्र विकास बोर्डको सदस्य भएपछि कलाकार उत्तम केसीको केही चर्चा चुलिएको छ । सानोपर्दा, ठूलोपर्दा, नाटकलगायत प्रायः सबैमा अभिनय गर्न भ्याउने केसी कलाक्षेत्रमा हास्य कलाकारका रुपमा चिनिन्छन् । ०४४ सालमा निर्माण भएको ‘आदर्श नारी’ चलचित्रमा सानो भूमिकाबाट सुरु भएको उनको अभिनय यात्रा मोहनी, ज्वाला, रामलक्ष्मण हुँदै अहिले राधे र पिँजडा २ सम्म आइपुग्दा डेढ सयभन्दा बढी पुुगिसकेको छ । ०३८ बाट नाटक अभिनय थालेका उनले केही नाटकको निर्देशनसमेत गरेका छन् । दुई सयभन्दा बढी टेलिचलचित्रका कलाकार उनी कलाकारिताका विभिन्न पुरस्कारबाट समेत सम्मानित छन् । कलाकारितका कारणले विभिन्न अवार्डमा समेत नोमिनेसनभित्र अटाउँदै आएका उत्तमसँग रातोपाटीको मेरो जीवनका लागि कुवेर गिरीले गरेको कुराकानीको सम्पादित अंश ।

मेरो खाना

नेपाली दाल, भात, तरकारी नै मन पर्छ । चिल्लो र गुलियो पनि मन पर्छ । टाइम पासका लागि कहिले काहीँ रेस्टुरेन्ट जान्छु । चिकेन आइटम मलाई जे पनि मन पर्छ । पकाउन पनि रुचि छ । चिकेन, फिसलगायत मीठो पकाउँछु । दाल, भात, तरकारी अचार बनाउन पनि आउँछ । मीठो गरेर जिब्रो फड्कारेर खानमा रुचि रहँदै आएको छ ।

मेरो पोसाक

पोसाक क्याजुअल मन पर्छ । हिट एन्ड फिट पहिरन राम्रो लाग्छ । एक महिनामा दस पन्ध्र हजार पोसाकमा खर्च हुन्छ । पहिरनको रुचिको रङ छैन । तर कालो मन पर्दैन । पहिरनको ब्रान्डले केही फरक पर्र्दैन मलाई । आफूलाई सुहाउने, फिट हुने भए पुग्छ । राम्रो लागेको पहिरन किनिहाल्छु । ढाकाको टोपीमा छुटाउदिन । कहिले काही ह्याट पनि लगाउँछु । ट्याटले अनुहारको सुरक्षा गर्छ ।

मेरो फिटनेस

पछिल्लो समय स्वास्थ्यप्रति सचेत छु । तर फिटनेस गर्ने गरेको छैन । डाइटिङमा पनि ध्यान दिन्न । जे भेटायो त्यही खान्छु । मन लाग्यो भने मर्निङवाक जान्छु ।  ट्रेडमिल, हाइकर र साइक्लिङ जस्ता फिटनेसका समान घरमा केही छैन । खाना मज्जाले खान्छु । शरीर फिट नै देखिएको छ अहिलेसम्म त ।

मेरो अध्ययन

पुस्तकहरु कहिले कहिले पढ्ने बानी छ । अहिले खुसी पढिरहेको छु । मलाई मनपर्ने पुस्तक मुनामदन हो । अन्य साहित्यिक कृति पनि मन पर्छ । पुस्तक सङ्कलन गर्ने गरेको छु । पहिले सङ्कलन गरेको पाँच सय पुस्तक नारायणघाटको एक पुस्तकालयमा दिएँ । अहिले भर्खर एक सय जति पुर्याए । प्रेरणा मिल्ने, जाँगर चल्ने किताब पढ्न मनपर्छ । किन्न पनि मनपर्छ । महिनामा ४, ५ वटा पुस्तक किन्ने गरेको छु ।

मेरो घुमफिर

घुमफिरमा ज्यादै रुचि छ । मलाई कामले पनि घुमाउँछ । घर परिवारलाई पनि घुमाउने गरेको छु । मन्दिरलगायतका ठाउँमा परिवारलाई घुमाउन लान्छु । मेरी श्रीमती रेस्टुरेन्टमा जान मन पराउँदिनन् । अहिलेसम्म लान परेको छैन । देशको धेरै जिल्ला पुगेको छु । विदेश ४, ५ वटा मात्र देश भयो । नेपाल जस्तो सुन्दर देश अरु लागेन । ‘युरोपियन कन्ट्री’ घुम्न मन लागेको छ ।

मेरो खेलकुद

खेलतिर रुचि छ । म आफै फुटबल खेल्न रुचाउँछु । मनपर्ने खेल पनि यही हो । सानोमा काठमाडौँ जिल्लामा आयोजना हुने विभिन्न खालका फुटबल प्रतियोगितामा भाग लिएको अनुभव पनि छ । मन पर्ने फुटबल क्लब बार्सिलोना हो । बक्सिङ, क्रिकेटतिर रुचि छैन । कहिले काहीँ टिभीमा हर्ने गरेको छु । ब्राजिलको रोनाल्डो मन पर्छ ।

मेरो मोबाइल

धेरै मोबाइल र केटी फेर्ने काम मबाट हुँदैन । अहिले आइफोन सिक्स बोकेको छु । बजारमा आएदेखि नै यो बोक्न थालेको हो । मोबाइलमा भएका सबै सुविधा चलाउन मन पर्छ । तर  भाइबर, वी च्याट र फेसबुकलगायत बढी चलाउँछु । समाचार हेर्न । फोन गर्न बढी प्रयोग हुन्छ मेरो मोबाइल । घुमघाममा तस्बिर खिच्न पनि प्रयोग हुँदै आएको छ ।

मेरो टिभी

टिभी हेर्छु । कहिले बिहान र अधिकांश समय बेलुका हेर्छु । समाचार  र सिरियलमा रुचि छ । आफूले खेलेका मात्रै हेर्छु सिरियल । इन्डियन च्यानल मन पर्दैन । बाहिरबाट घरमा पुग्ने बितिकै पहिले टिभी खोलेर समाचार लगाउँछु । घरमा भिडियो कोन छ । मनपर्ने टिभी कलाकार मदनकृष्ण र हरिवंश हुन् । टिभीमा आउने उहाँहरुको सिरियल कहिलै छुटाउँदिन ।

मेरो चलचित्र

पछिल्लो समय हेरेको चलचित्र ‘लुट–२’ हो । यो अहिले प्रदर्शनमा आएकै छैन । विकास बोर्ड सदस्य भएपछि मेरो काम नै अहिले चलचित्र भवन चेकिङ गर्ने रहेको छ । त्यसैले धेरै फिल्म हलमै हेर्छु । ‘बसाइ’, ‘भानुभक्त’ र ‘नाई न भन्नु ल’ मेरो मन पर्ने तीन चलचित्र हुन् । कलाकारमा राजेश हमाल मन पर्छ । चलचित्र हिन्दी र नेपाली, अङ्ग्रेजी सबै मन पर्छ ।

मेरो रोग

केही अगाडिसम्म एकदम स्ट्रोङ थिए । अहिले समय काल परिस्थिति अनुसार केही सुगर बढेर आएको छ । पानी पर्यो, चिसो बढ्यो भने पनि रुघा लाग्ने, गर्मी हुना साथ टाउको केही हुँदैन । ६, ६ महिनामा  ‘होलबडी चेकअप’ गर्ने गरेको छु । मेरो वंशाणु गत रोग पनि छैन । सकारात्मक मानिससँग सङ्गत गर्छु । नकारात्मक मात्रै सोच्नेसँग भेट्दा पनि भेट्दिनँ ।

मेरो मापसे

पहिले गर्थें । अहिले गर्दिनँ । पहिले नेपाली लोकलबाहेक सबै खान्थेँ । खाने बेलामा धेरै खाइथ्यो । बहाना मात्र चाहिन्थ्यो । घरमा त्यस्तो सजाएर राख्ने गरेको छैन । मन पनि पर्दैन । नाम पनि धेरैको आउँछ । रेडलेबल, ब्ल्याक लेबल, भोड्का लगायत । आफ्नै खर्चमा खाने गरेको थिए ।

मेरो सङ्गीत

सङ्गीत मन नपराउने सायदै होलान् । म पनि धेरै रुचाउँछु । मन पर्ने गायक गायिका नारायण गोपालदेखि तारदेवीसम्म सबै मन पर्छ । अहिलेका युवा पुस्ता पनि सबै मन पर्छ । सेन्टिमेन्टल गीत मन पर्छ । यस्ता गीतले हरेक खालको श्रोताको मन छुन्छ । गाउन पनि रुचि छ । आउँछ पनि । चाँडै नै एक गीत बजारमा ल्याउने कोसिस गर्दैछु ।

मेरो भूल

मानिस भएपछि जान र अन्जानमा धेरै भूल भइरहन्छ । तर जानेर भुल गरेको छैन । भुलै नगरेपछि सजाए पाउने कुरै भएन । सानोमा विद्यालयमा कति कुटाइ खाइयो, खाइयो । भुल नगरीकन सजाय पाएको घटना पनि छैन । आलोचित हुने घटना मेरो जीवनमा परेको छैन । पर्दैन पनि होला ।

मेरो घर

घर दुइटा छ । एउटा आफूले बनाएको । अर्काे बुबाले बनाएको । दुवै धेरै पहिले बनाएको हो । डिजाइन पनि साधारण छ । त्यतिबेला वास्तुशास्त्र हेर्ने चलन पनि थिएन । मिलेको छ, छैन थाहा छैन । धेरै पहिले खर्च गरेको कति लाग्यो याद भएन । खर्च बताएर कतैबाट पाउने भए । याद हुन्थ्यो कि ।

मेरो राशी

मेरो राशी कुम्भ हो । भाग्यमा पनि विश्वास गर्ने भएकाले ज्योतिषकहाँ कहिले काहीँ जाने गरेको छु । धर्मप्रति आस्था छ । ज्योतिष हेराएर त्यस्तो औँठीसौँठी लगाउने गरेको छैन । यसमा बढी विश्वास लाग्दैन । धर्म कर्ममा धेरै विश्वास छ । त्योभन्दा बढी भाग्यमा विश्वास लाग्छ ।

मेरो सौन्दर्य

सौन्दर्यमा सचेत छु । उमेरले गर्दा कपाल फुलेको छ । कालो लगाउँछु । कहिलेकाहीँ तेल लगाउँछु । फेसियल कहिल्यै गर्दिनँ । बाहिर पार्टीहरुमा जाँदा सेन्ट र बडीस्प्रे प्रयोग गर्छु ।

मेरो सपना

नेपालमा देखेको सपना कहाँ पूरा हुन्छ र ? त्यसैले केही सपना देखेको पनि छैन । जीवनका लागि देखेको सपना सबै पूरा भएको छ । अरु केही सपना देखेको छैन । जन्मेको ठाउँमा केही गर्ने, समाज सेवामा केही गर्ने सपना छ । चलचित्र क्षेत्रमा हुर्के र बढेको म । यो क्षेत्रमा पनि केही गर्नुपर्ने छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल