कस्ता छन् प्रहरीका नयाँ आईजीपी चन्द ? बैतडीको वंशलादेखि प्रहरी हेडक्वाटरसम्म !

  |   फागुन १

कस्ता छन् प्रहरीका नयाँ आईजीपी चन्द ? बैतडीको वंशलादेखि प्रहरी हेडक्वाटरसम्म !

 

राजेश भण्डारी

काठमाडौं– बोलीचालीको भाषामा ‘सुप’ अर्थात् सुदूरपश्चिमको बैतडी जिल्लामा जन्मेहुर्केका जयबहादुर चन्द आफ्नो गाउँको पहिलो ग्याजेटेड अफिसर हुन् । २०४४ सालसम्म बैतडीको वंशला गाउँका कुनै युवाले इन्सपेक्टरको बर्दी लगाएका थिएनन् । काठमाडौंमा पढ्न आएको छोराले इन्सपेक्टरमा नाम निकालेको खबर पाएसँगै परिवारले खुसी मनाए, दीपावली गरे ।

२०४४ सालमा इन्सपेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका तिनै सुदूरपश्चिमका जयबहादुर चन्दलाई सरकारले प्रहरी महानिरीक्षकको बागडोर सुम्पने निर्णय गरेको छ । उनी डीआईजीबाट जम्प गरेर एकैपटक नेपाल प्रहरीको २५औं महानिरीक्षक बन्न सफल भएका छन् ।

जयबहादुरको परिवार आर्थिक रुपमा त्यति कमजोर थिएन । गाउँमा किराना पसल खोलेर ब्यापार सुरु गरेका उनका बुबाले पछि कटन उद्योग खोलेका थिए ।

‘गाउँमा हाम्रो स्ट्याटस राम्रै थियो’, जयबहादुर भन्छन्, ‘बिहान बेलुका छाक टार्न समस्या थिएन ।’

परिवारका ८ जना दाजुभाइ–दिदीबहिनीमध्ये चौथो सन्तानका रुपमा जन्मेका चन्दले वंशलाकै वासुदेव माध्यमिक विद्यालयबाट एसएसलसी पास गरेका थिए । कञ्चनपुरको महेन्द्रनगरस्थित सिद्धार्थ बहुमुखी क्याम्पसबाट सर्टिफिकेट लेभलको पढाइ पूरा गरेपछि उनी काठमाडौं हानिए ।

बागबजारमा डेरा थियो, जन प्रशासन क्याम्पसमा मास्टर्स इन पब्लिक एड्मिनिस्ट्रेसन (एमपीए) पढ्दै थिए । ठीक त्यहीबेला नेपाल प्रहरीको इन्सपेक्टर पदमा भर्ना खुल्यो ।

सहपाठीहरुले इन्सपेक्टरमा फारम भर्न आग्रह गर्दा चन्दले आनाकानी गरे । दुब्लो पातलो शरीरका कारण आफ्नो तौल ५० केजी पुग्नेमा उनलाई शङ्का थियो । तौल पूरा नभए फौजमा भर्ना हुने कुरा असम्भव हुन्थ्यो ।

‘केरा खाएपछि तौल बढ्छ भनेर मलाई साथीहरुले सुझाए’, उनी भन्छन्, ‘केही समय रेगुलर केरा खाएर भर्ना भएँ, पहिलो पटकमै इन्सपेक्टरमा नाम निस्कियो ।’

२०४४ सालमा इन्सपेक्टर हुनुअघि उनको प्रहरीप्रतिको आकर्षणको किस्सा पनि रोचक छ ।

महेन्द्रनगरमा गुण्डागर्दी ब्यापक थियो । सर्वसाधारणलाई दबाउने, विनाकाम कुटपिट गर्ने र अनावश्यक प्रेसर दिने गुण्डाहरुको शैलीले आईए पढ्दै गरेका चन्दको दिमागमा एक प्रकारको आक्रोश पैदा हुनु स्वभाविक थियो ।

‘अन्तरमनमा गुण्डागर्दीप्रति एक किसिमको विद्रोह थियो’, चन्द भन्छन्, ‘तिनीहरुसँग कसरी बद्ला लिने, यस्तो प्रवृत्तिका विरुद्ध कसरी लड्ने भन्ने कुराले मलाई घचघच्याइरहन्थ्यो ।’

गुण्डासँग लड्न मात्रै उनले प्रहरी रोजेका पक्कै होइनन्, एसएलसी पास नगर्दै उनले साथीहरुमाझ पुलिस बन्ने अठोट गरेका थिए ।

‘कक्षा ९ मा पढ्दा हाम्रो तीन जनाको समूह थियो, त्यतिबेला नै हामीले भनेका थियौँ, तिनमध्ये एकजना इन्सपेक्टर, एकजना इन्जिनियर र अर्को कन्ट्याक्टर (ठेकेदार) हुने’ वर्षौंपछि स्कुले जीवनको सल्लाह सम्झँदै उनले भने, ‘समयले हामीलाई त्यही बनायो, मैले प्रहरीमा रोज्दा अरु दुई साथीहरु इन्जिनयर र ठेकेदार भए ।’

इन्सपेक्टरको बर्दी लगाएपछि उच्च शिक्षाको पढाइ छाडेर उनी जिल्ला प्रहरी कार्यालय गुल्मीतिर लागे । उनको पहिलो पोस्टिङ गुल्मीमा भयो ।

जिल्ला प्रहरी कार्यालय दाङ, रोल्पा र प्युठानमा बसेर काम गरेका चन्द पछि जिल्ला प्रहरी कार्यालय नुवाकोट, काभ्रे, मकवानपुर, रौतहट, पर्सा, कपिलवस्तु र इलाका प्रहरी कार्याल बुटवलको प्रहरी प्रमुख भए ।

सुरक्षाका दृष्टिले निकै चुनौतीपूर्ण मानिने काठमाडौँको पहिलो एसएसपी भएर चलाएका चन्द महानगरीय ट्राफिक महाशाखाको इन्चार्ज, लागू औषध नियन्त्रण ब्युरोको इन्चार्ज हुँदै अहिले ७२ हजार प्रहरी सङ्गठनको सुप्रिम कमाण्डर अर्थात् प्रहरी महानिरीक्षक बन्न सफल भएका छन् ।

‘प्रहरी जीवनमा मैले १६ ठाउँमा इन्चार्ज भएर काम गरेको छु’, उनी भन्छन्, ‘केही ठाउँबाहेक अक्सर सबै ठाउँमा पुरस्कार पाएको छु ।’

वीरगञ्जमा सात जनाको इन्काउन्टर, यसरी सकिए मिस्टर जोन

कुरा २०६४ सालको हो । जयबहादुर चन्द पर्साका प्रहरी उपरीक्षक (एसपी) थिए । त्यहाँ १२२ भन्दा बढी भूमिगत सङ्गठनहरु थिए । उनीहरु चन्दा सङ्कलनको नाममा लुटपाट नै गर्थे । कसैलाई वीरगञ्ज पारिपट्टि रक्सौलमा बोलाउँथे, पैसा नदिए बम पड्काउँथे । व्यक्तिहत्याको समाचार वीरगञ्जमा नौलो हुन छाडेको थियो । आतङ्क व्याप्त थियो । साँझ परेपछि वीरगञ्जका मान्छे घरबाहिर निस्कन छाडेका थिए ।

२०६४ असार १३ गते वीरगञ्ज प्रहरीले तीनजना हतियारधारी भारतीय क्रिमिनलहरुलाई वीरगञ्ज उपमहानगरपालिका भिस्वामा इन्काउन्टर गरेको थियो । भारतीयहरु हतियार भिरेरै नेपाल आउँथे, अनि आतङ्क मच्चाउँथे ।

चन्दले त्यसको दुई महिनापछि अर्थात् भदौ १६ मा श्रिपुरमा चारजना भारतीयलाई इन्काउन्टरको आदेश दिए । यसरी दुई महिनाको बीचमा ७ जना प्रहरीको इन्काउन्टरमा मारिए ।

‘सात जनाको इन्काउन्टर भएपछि बल्ल वीरगञ्ज गुनजार भयो’, चन्दले शानदार शैलीमा भने ।

वीरगञ्जबाट १ नम्बर गणको इन्चार्ज हुँदै जिल्ला प्रहरी कार्यालय रौतहट पुग्दा त्यहाँ ‘मिस्टर जोन आतङ्क’ थियो । मिस्टर जोन रौतहट बसेर देश हल्लाउँथे ।

काठमाडौँको बालाजुमा माइक्रोबसभित्र बम पड्कँदा एक छात्रा विद्यार्थी मारिइन् । त्रिपुरेश्वर र बारामा बम विष्फोटको घट्नामा मिस्टर जोनकै संलग्नता खुल्यो ।

बारामा बम विष्फोट हुँदा दस जना सर्वसाधारण बसभित्रै मारिएका थिए । साथमा बडिगार्ड समेत लिएर हिँड्ने जोनले पोखरामा पनि बम विष्फोट गराएर आतङ्क सिर्जना गरेका थिए । राज्यका लागि मिस्टर जोन ठूलै चुनौतीका रुपमा पेश भएका थिए । तिनै जोन पछि जयबहादुर चन्दको शिकार भए ।

‘उसको नाम सुनेपछि मान्छे त्रसित हुन्थे’, चन्द भन्छन्, ‘०६५ साल भदौ १३ गते मिस्टर जोन र उसको बडिगार्ड हाम्रो इन्काउन्टरमा मारिए ।’

रौतहटमा ‘जोन इन्काउन्टर’को प्रभाव आज पनि छ ।

मध्यरातमा परिवारलाई फोन

माओवादी जनयुद्धको उभारमा थियो । २०५८ सालदेखि ०५९ फागुनसम्म जयबहादुर चन्द जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रहरी प्रमुख थिए ।

लगभग दुई वर्षको बीचमा चन्दले तीन दिन बिदा लिएका थिए । ‘तीन दिन बिदा बस्दा स्टाफहरु एकदमै निराश भएछन्’, उनी भन्छन्, ‘उनीहरु मेरो क्वाटरमा बत्ति हेरेर आएको नआएको चेक गर्दा रहेछन्, आफ्नो कमान्डरप्रतिको आड भरोसा त्यहाँ देखिन्थ्यो ।’

युद्धकालको हरेक रात एक नबज्दासम्म चन्द आफ्नो क्वाटरमा बसेर जिल्लाभरका प्रहरी एकाइहरुको जानकारी लिन्थे । ‘हरेक दिन राति एक नबजीकन हामी कोही पनि सुत्दैन थियौं’, चन्द भन्छन्, ‘एक बजेपछि घरमा फोन गरेर भन्थेँ, ‘अब तिमीहरु सुत ।’

विद्रोहीले प्रायः राति एक बजेभित्र आक्रमण गर्थे । एक बजेपछि सामान्यतया आक्रमण नहुने हुनाले ‘अब बाँच्यौं’ भन्ठानेर निदाउने गरेको अनुभव सुनाउँछन् चन्द ।

‘एक बजेसम्म घरमा श्रीमती छोराछोरी पनि सुत्दैनथे’ चन्द भन्छन्, ‘कैयन ठाउँमा लडाइँंमा परियो बाँचेर आयौँ, कैयन ठाउँमा साथीहरु लड्दा लड्दै विगरति प्राप्त गरे अमर प्रहरी भए ।’

२०६२ सालमा चन्द मकवानपुरमा थिए । मकवानपुरमा तीनवटा आक्रमण भए तर प्रहरीतर्फ क्षति भएन । ‘एउटा आक्रमणमा १६ थान हतियार गुमायौँ’ उनी सम्झन्छन्, ‘अर्को आक्रमणमा हाम्रो साथी अपहरणमा परेको थियो, नेगोसिएसन गरेर फिर्ता ल्यायौं ।’

प्रहरी रोबोट सिस्टममा चल्दैन, दबाब सामान्य
मातहतका प्रहरी अधिकारीलाई कमान्ड गर्ने क्षमता अरुभन्दा जयबहादुर चन्दमा भिन्न प्रकारको छ । ‘प्रोत्साहन’को फर्मुला मार्फत कमान्डिङ गर्ने नयाँ शैली अपनाएका चन्दले जुनियरलाई कर्तव्य बोध गराएर काम लिने गरेको उनीसँग काम गरेका जुनियर अफिसरहरू बताउँछन् ।

‘मान्छे भएर जन्मेपछि देश र ईश्वरलाई ऋण तिर्नुपर्छ, स्वच्छ पुलिसिङ हाम्रो कर्तव्य हो भन्ने कुरा बोध गराउँछु’, चन्द भन्छन्, ‘जुनियरलाई कर्तव्य बोध गराउनु नै मेरो खुबी हो, यस मानेमा अरुभन्दा फरक छु ।’

जयबहादुर चन्द २०६९ सालमा कामठाडौँको पहिलो प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) भए । त्यसअघि काठमाडौँमा प्रहरी उपरीक्षक (एसपी)को दरबन्दी थियो ।

उनले वीरगञ्जमा सुरु गरेको ‘बस्ती घेटघाट कार्यक्रम’लाई काठमाडौंमा निरन्तरता दिए । त्यतिबेला काठमाडौंका ३८ ठाउँमा जनता र प्रहरीले संयुक्त रुपमा एकैदिन जुलुस निकालेका थिए । जुलुसमा करिब ४० हजार मानिसहरु सहभागी भएको काठमाडौं प्रहरीले दाबी गरेको थियो ।

हरेक वर्ष काठमाडौंमा ठूलो सङ्ख्यामा पट्का भित्रिन्छ र पड्किन्छ । हरेक वर्ष राज्यले नपड्काउन अनुरोध गर्छ, कारवाही हुने सूचना पनि जारी हुन्छ तर कहिल्यै रोकिँदैन । त्यही वर्ष पट्का पड्केन, त्यो अद्भूत जादु बस्ती भेटघाट कार्यक्रम नै थियो ।

बस्ती भेटघाट कार्यक्रम आफ्नो कन्सेप्ट भएको दाबी गर्छन चन्द । भन्छन्, ‘बस्ती भेटघाट कार्यक्रमलाई देशव्यापी बनाउन सकेमा मलाई लाग्छ दुनियाँको पुलिसिङले पनि भ्याउँदैन, दुनियाँमा कुनै पनि त्यस्तो कार्यक्रम हुनै सक्दैन ।’

राजनीतिक र प्रशासनिक दबाबलाई सामान्य मान्छन् चन्द । ‘हामी छौं र त दबाब छ’, उनी भन्छन्, ‘रोबोट सिस्टममा चल्ने हो र पुलिस अर्गनाइजेसन ?, सङ्गठनमा मानवीय क्षमताको महत्वपूर्ण भूमिका हुन्छ ।’

‘कहिलेकाहीँ पुलिसले पनि गलत मान्छेलाई पक्डिन्छ नि हैन ? प्रश्नात्मक शैलीमा चन्दले भने, ‘त्यस्तोमा तपाईंले गलत मान्छेलाई समात्नुभो, भनेर फोन गर्दैमा राजनीतिक प्रेसर भन्न मिल्दैन ।’

‘राजनीतिक दबाब नमानेको कारण आजसम्म कसैलाई कारवाही भएको छैन, यदि त्यस्तो छ भने भन्न सकिन्छ प्रेसर भएकै छ’ उनी भन्छन्, ‘दबाबलाई डिल गर्न सक्नुपर्छ, त्यसैका लागि चाहिएको हो सक्षम कमान्डर ।’

हाम्रो जस्तो मुलकु जहाँ अझै सिस्टम बसेको छैन, सर्वसाधारण प्रहरीमाथि शत प्रतिशत विश्वस्थ हुने अवस्था छैन । त्यस्तोमा भनसुन स्वभाविक भएको उल्लेख गर्दै उनले भने, ‘यसलाई म बिग म्याटरका रुपमा लिन्न, यदि त्यस्तो कसैले भन्छ भने त्यो कमजोर कमान्डरले मात्र भन्छ ।’

जसले सिकाए, ‘जिब्रोको गरिमा, मीठो बोलीमा’
२०७२ सालमा ट्राफिक महाशाखाको डीआईजी थिए जयबहादुर चन्द । ट्राफिक महाशाखामा आउनासाथ उनले केही नयाँ काम गर्ने अठोट गर्दै थिए, महाभूकम्प गइहाल्यो । भूकम्प गएपछि सड्कमा गाडी चलेनन्, ट्राफिक पुलिसको खासै काम भएन । ‘त्यतिबेला हामी उद्धारमा सहभागी भयौँ’ उनी भन्छन्, ‘दुई चार महिना त्यसरी बित्यो ।’

सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि बस्तीमा पीडादायक अवस्था थियो, कोही मुडमा थिएनन् । भूकम्पको घाउ निको नहुँदै नाकाबन्दी भयो, त्यस्तोमा चन्दले काम देखाउने सुनौलो अवसर पाएनन् तर पनि महाशाखामा उनको कार्यकाल यादगार नै रह्यो ।

ट्राफिकको व्यवहार ठीक छैन भनेर आलोचना गर्नेहरु बढ्दै थिए । अचेल राजधानीका सडकमा सवारी रोकेपछि ‘सर नमस्ते’ भन्ने जवानहरुको सङ्ख्या बढेको छ । ‘त्यो मैले सिकाएको हो’– उनी भन्छन्, ‘लाइसेन्स देखाएपछि धन्यवादको शब्द सुन्न पाइन्छ, त्यसैगरी ‘जिब्रोको गरिमा मीठो बोलीमा’ भन्ने स्लोगान सुरु गरेर हामीले सार्वजनिक बसहरुमा टाँस्न लगायौं ।’

सार्वजनिक यातायातका स्टाफहरुसँग बेला–बेला अन्तरक्रिया गर्ने परिपाटीलाई उनले निरन्तरता दिए । बसका खलासी र कन्डक्टरको व्यवहारलाई लिएर समाजमा आज पनि ठूलो गुनासो छ ।

‘पैसा लिँदा फिर्ता नदिने, मान्छेलाई धकेलेर भित्र पठाउने, कोचाकोच यात्रु राख्ने र अपशब्द प्रयोग गर्छन् भन्ने गुनासो थियो’ चन्द भन्छन्, ‘त्यही भएर मैले जिब्रोको गरिमा मीठो बोलीमा भन्ने स्लोगान बनाएर गाडीमा टाँस्न लगाएँ, अहिले गाडीका स्टाफहरुको व्यवहारमा ठूलो परिवर्तन आएको छ ।’

ट्राफिकको डीआईजी हुँदा जयबहादुर चन्द हरेक शुक्रबार सार्वजनिक माइक्रो बसमा यात्रा गर्थे । उनी आफू मात्रै चढेनन्, मातहतका अफिसरहरुलाई पनि हप्तामा एक दिन सार्वजनिक यातायातमा यात्रा गर्न निर्देशन दिए । ‘त्यसले पनि एउटा म्यासेज दियो’ चन्द भन्छन्, ‘मैले सेतो टोपी भन्ने ट्राफिक सचेनामूलक गीत लेखेँ, त्यो गीतले पनि एउटा चेतनामूलक क्याम्पेन सुरु गरेको छ ।’ यसरी कठिन बेलामा पनि केही सकारात्मक सुरुवात गरेर उनले ट्राफिक महाशाखाको बसाइलाई यादगार बनाए ।

प्रहरी प्रमुखमा नियुक्त हुनुअघि चन्द लागू औषध नियन्त्रण ब्युरोमा कार्यरत थिए । ब्युरोमा रहँदा उनले औषधी बनाउन प्रयोग हुने ‘प्रि क्रसर केमिकल्स’लाई डाइभर्सन गरेर अवैध मूल्यमा बिक्री गर्दै आएका ब्यापारी पवन सङ्घाईका दाइ रतनलाल सङ्घाईलाई नियन्त्रणमा लिएर मुद्दा चलाए ।
औषधी व्यवसायको नाममा ‘अवैध प्रि–क्रसर केमिकल्स’ कारोवारी रतनलाल सङ्घाईलाई नियन्त्रण गर्नेबाहेक चन्दको कार्यकालमा लागू औषध कारोवारमा संलग्न ठूला कारोवारीसमेत प्रहरी फन्दामा परेका थिए ।
दुई दशकभन्दा लामो समय प्रहरी सेवामा रहँदा चन्द पटक–पटक पुरस्कृत भए । १४ पटक नगद पुरस्कार पाएका चन्द गोरखा दक्षिणबाहु र महेन्द्र प्रहरीबाट पुरस्कृत भइसकेका छन् । महेन्द्र प्रहरी अलङ्कार्स मेडल हो यसलाई प्रहरीभित्र ‘प्रहरी पराक्रम’भन्दा माथिल्लो लेभलको पुरस्कार मानिन्छ ।
‘जिल्ला इन्चार्ज हुँदा केही जिल्लाबाहेक हरेक जिल्लामा पुरस्कार पाएको छु’ रातोपाटीसँग कुरा गर्दै चन्दले भने, ‘महेन्द्र प्रहरी बहादुरीको सबैभन्दा ठूलो तक्मा हो, त्यो पाउँदा धेरै गौरवान्वित छु ।’

अबको अर्जुनदृष्टि ‘पुलिस रिस्टक्चरिङ’
मुलुक सङ्घीय प्रणालीमा गैसकेको हुनाले प्रहरीलाई पनि सङ्घीय प्रणालीमा रुपान्तरण गर्नका लागि पूर्व प्रहरी महानिरीक्ष कुवेरसिंह रानाको कमिटीले बुझाएको प्रतिवेदन लामो समयदेखि थन्किरहेको छ ।

जयबहादुर चन्दले अब त्यो प्रतिवेदन लागू गरेर प्रहरीलाई सङ्घीय सिस्टममा रुपान्तरण गर्ने सोचिसकेका छन् । ‘प्रहरीलाई सङ्घीय सिस्टममा लानका लागि मेरो फोकसिङ रोल हुन्छ’, उनले भने, ‘कुवेर राना सरको नेतृत्वमा गठित समितिले दिएको प्रतिवेदन कार्यान्वयन हाम्रो अबको अर्जुनदृष्टि हो ।’

नेपाल प्रहरीमा दरबन्दी मिलानको पनि समस्या छ । कतै दश जनाले काम चल्ने ठाउँमा बीस जना छन्, कतै ३० जना चाहिने ठाउँमा १५ जना छन् ।

‘यस्तो अवस्थाको रिस्टक्चरिङ जरुरी छ’, उनले भने, ‘प्रहरीलाई दक्ष, जनमुखी र जनमैत्री पुलिसिङमा रुपान्तरण गर्ने मेरो योजना रहन्छ ।’

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल