भैरहवामा यसरी बन्दै छ, मुलुकको सबैभन्दा ठूलो विमानस्थल

माघ २३

भैरहवामा यसरी बन्दै छ, मुलुकको सबैभन्दा ठूलो विमानस्थल

भैरहवा – रणनीतिक महत्वको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानास्थल स्तरोन्नति अहिले तीव्र पारिएको छ । यद्यपि, निर्माण सम्पन्न गर्न ६ महिनाको म्याद थपिसकिएको छ । नयाँ तालिकाअनुसार अब ठेकेदारले भैरहवा विमानस्थल २०१८ को जुन १५ सम्म निर्माण गरिसक्नुपर्नेछ । स्तरोन्नतिका लागि जग्गा अधिग्रहणको काम पनि हुँदै छ । यो पूरा भयो भने विमानस्थलको कुल क्षेत्रफल ७ सय ८७ बिघा हुनेछ । क्षेत्रफलका आधारमा मुलुककै सबैभन्दा ठूलो विमानस्थल बन्नेछ । तर, जग्गा अधिग्रहणको विषयलाई लिएर स्थानीयले संघर्ष समिति बनाएका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानास्थल स्तरोन्नतिमा अहिले के–के भैरहेको छ ? बुटवलबाट पत्रकार तेजेन्द्र केसीको रिपोर्ट :


भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको कामसँग जोडिएर स्थानीयले बनाएका छन्, एउटा संघर्ष समिति । समितिका एक नेता हुन्– सन्तोष पाण्डेय । उनले मसँग कुराकानी गर्दै भने–

–भैरहवा विमानस्थल स्तरोन्नतिसँगै ४२० घर भत्काइनेछ । विमानस्थलको नजिकै रहेका शंकरपुर, कसहिवा, दर्खसभा, छोटीबनगाइर्, वैरहिवा गाउँ बासिन्दाले घरखेत गुमाउँदै छन् ।

–भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति हुनुपर्छ । यो हाम्रा लागि खुसीको विषय हो । तर, हाम्रो घरखेत सबै हटाएर यहाँका बासिन्दालाई सडकमा लैजान मिल्दैन । सरकारले दिने मुआब्जा निकै पुरानो विधिअनुसार कायम हुन्छ, जसले घरखेत गुमाउनेलाई राहत हुँदैन ।

–यहाँका बासिन्दालाई ‘तिमीहरू सडकमा गएर आकाशमा उडेका जहाज हेर’ भन्न मिल्दैन । राज्यले यसो गर्न मिल्दैन । हामीले संघर्ष समिति बनाएर आन्दोलन गरेका छौं । सरकारलाई ज्ञापनपत्र बुझाएका छौं ।

–अहिले सरकारले नापजाँचको काम गरेको छ । अनि मूल्यांकन गर्नेछ । हाम्रो माग मुआब्जाा होइन, उचित मूल्य हो । घरखेतको अहिले मूल्य आधार मानेर रकम दिनुपर्छ । सरकारले ४ सय २० घरपरिवारका लागि छुट्टै स्थानमा संयुक्त आवास पनि बनाउन सक्छ । तर, जबरजस्ती गरे हामी मान्दैनौँ । बरु, जस्तोसुकै आन्दोलन गर्न तयार छौँ ।


५ सय बिघा जग्गा अधिग्रहण, ४ सय २० घर हटाइँदै

पाण्डेयको कुराले दिएको संकेत हो, केही अवरोधबीच पनि विमानस्थलको स्तरोन्नति अगाडि बढ्दै छ ।

–स्तरोन्नति भैरहेको यस विमानस्थलको क्षेत्र बढाउन थप ५ सय बिघा जग्गा अधिग्रहण गर्ने प्रक्रिया अघि बढाएको छ । जग्गा अधिग्रहणका लागि गत मंसिरमा सूचना प्रकाशित भइसकेको छ । उक्त सूचनासँगै स्थानीयवासीले विरोध सुरु गरेका छन् । संघर्ष समिति गठनपछि आन्दोलनका कार्यक्रम घोषण गरेका थिए ।

–जग्गा अधिग्रहणपछि विमानस्थलको कुल क्षेत्रफल ७ सय ८७ बिघा हुनेछ । यो करिब ११ हजार रोपनीबराबर हो । क्षेत्रफलका आधारमा मुलुककै सबैभन्दा ठूलो विमानस्थल बन्नेछ ।

–पूर्ण रूपमा विस्थापित हुन सक्ने ४ सय २० घरधुरी परिवारलाई अहिले अधिग्रहण भएकै क्षेत्रभित्र पुनः स्थापित गराउने योजना छ । विमानस्थाललाई चाहिने जग्गाको नापजाँच गर्ने काम भैरहेको छ । नापजाँचपछि जग्गाको मूल्यांकन गर्ने तयारी स्थानीय प्रशासन रहेको छ । जसअनुसार मुआब्जा एक महिनाभित्र निर्धारण गरिनेछ ।

काम जारी छ

यस्तै/यस्तै समस्याबीच यहाँको विमानस्थलको काम अगाडि बढेको छ । अन्तर्राष्ट्रिय पर्यटकीय क्षेत्र लुम्बिनीबाट नजिक रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानास्थल स्तरोन्नतिले अहिले तीव्रता पाएको छ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाएको विमानास्थल निर्माणकार्यको ६ महिनाका लागि भने म्याद थपिसकिएको छ ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७० माघ १ मा विमानस्थलको शिलान्यास गरेका थिए । दुई वर्षबीचमा विभिन्न कारणले निर्माणकार्यमा सोजेजस्तो प्रगति नभए पनि अहिलेचाहिँ निर्माणको कामको ‘गियर’ बदलिएको छ ।

रणनीतिक छ विमानस्थल

यो विमानस्थल रणनीतिक महत्वको हुनेछ । चिनियाँ निर्माण कम्पनी ‘नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्सट्रक्सन गु्रप’ले दिनरात नभनी काम गरिरहेको छ ।

–गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानास्थल वैकल्पिक विमानस्थल पनि हो । काठमाडौंमा रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भएपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानास्थलको परिकल्पना गरिएको थियो ।
–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही समस्या आउँदाबित्तिकै भारत वा नजिकका विभिन्न विमानस्थलमा जहाज डाइभर्ट गर्नुपर्ने बाध्यता रहँदै आएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानास्थल बन्यो भने यो समस्या हल हुनेछ ।

–गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानास्थल बन्यो भने लुम्बिनी आउने पर्यटकलाई सिधै भैरहवा ल्याउन सकिन्छ । अहिले धेरै पर्यटक पहिला काठमाडौं उत्रेर मात्र लुम्बिनी जान बाध्य छन् । भारतीय सडकमार्ग पनि पर्यटक लुम्बिनी आउने गरेका छन् । वार्षिक करिब ३० लाखभन्दा बढी बौद्ध धर्मावलम्बीलाई लुम्बिनी ल्याउने लक्ष्य राखिएको छ ।

–सन् २०१८ सम्म आन्तरिक रूपमा दैनिक १६ उडान हुने प्रक्षेपण गरिएको छ भने ती उडानबाट पाँच हजार ३०० बढी नागरिकले यात्रा गर्नेछन् । छवटा अन्तर्राष्ट्रिय उडान सो विमानस्थलबाट हुनेछन् । ती उडानबाट दैनिक दुई हजार बढीले यात्रा गर्नेछन् ।

–सञ्चालनमा आएको एक वर्षमा चार लाख १३ हजार बढीले सो विमानस्थल प्रयोग गर्ने बताइएको छ । विमानस्थललाई स्तरोन्नति गर्दै सन् २०३३ मा हरेक तीन÷तीन मिनेटमा आन्तरिक तथा प्रत्येक घन्टामा तीनदेखि चारवटा अन्तर्राष्ट्रिय उडान भर्नेगरी तयारी गरिएको आयोजनाप्रमुख शर्माले बताए । त्यसबेला आन्तरिक उडानबाट एक लाख २० हजार र अन्तर्राष्ट्रिय उडानबाट २० हजार नागरिकले विमानस्थल प्रयोग गर्ने लक्ष्य राखिएको छ ।
–वार्षिक ६० लाख नागरिकलाई गौतम बुद्धको जन्मस्थलमा भ्रमण गराउने लक्ष्य रहेको छ ।

सो अवधिमा दैनिक एक लाख ६५ हजार कार्गोसमेत सोही विमानस्थलबाट आयात निर्यात गर्ने हुने प्रक्षेपण गरिएको छ ।

–लुम्बिनी शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र हो । यसलाई अन्तर्राष्ट्रिय चासोको क्षेत्रका रूपमा हेरिन्छ । यहाँका पर्यटन व्यवसायी विमानस्थल चाँडो बने लुम्बिनी आउने पर्यटक सिघै ल्याउन सकिने र यहाँको व्यापार÷व्यावसाय फस्टाउने व्यापारीहरूको अपेक्षा छ ।

–भौतिक पूर्वाधारको विकाससँगै आउने परिवर्तनले लुम्बिनी क्षेत्रको विकास र विस्तारमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

निर्माणको अवस्था के छ ?
–तीन किलोमिटर लामो धावनमार्गको निर्माण जारी रहेको विमानस्थलमा तत्काल बोइङ ७७७–२००, एयरबस ३३०–३०० र सोही क्षमताका विमान उडान तथा अवतरण गर्न सक्नेछन् ।

–हाल सञ्चालनमा रहेको विमानस्थलको धावनमार्गलाई ‘ट्याक्सी वे’ मा परिणत गर्ने तयारी गरिएको आयोजनाप्रमुख शर्माले बताए ।

–लक्ष्यअनुसार पहिलो चरणमा विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाइनेछ । आन्तरिक यात्रु आवगमन टर्मिनललाई पाँच हजार स्क्वायर मिटरको बनाइनेछ । अन्तर्राष्ट्रिय यात्रुकक्षलाई १५ हजार स्क्वायर मिटरमा बढाइनेछ ।

–दोस्रो चरणमा १६० वटा ट्याक्सी तथा सवारीसाधन अटाउनेगरी अन्तर्राष्ट्रियस्तरको कार पार्किङस्थल बनाइनेछ । आन्तरिक एप्रोनमा थप चारवटा आन्तरिक हवाई सेवा प्रदायक कम्पनीका जहाज पार्किङ गर्न मिल्नेगरी तयारी गरिएको छ ।

–तेस्रो चरणमा ‘ट्याक्सी वे’ को लम्बाइ एक हजार १०० मिटर लामो र २३ मिटर चौडाइको बनाइनेछ ।

–अन्तर्राष्ट्रिय एप्रोन ५७ हजार स्क्वायर मिटरभन्दा बढीको बनाइनेछ । ‘ट्याक्सी वे’ को क्षमतासमेत उल्लेख्य मात्रामा विस्तार गरिनेछ ।

–चालु आर्थिक वर्षसम्ममा कम्तीमा ५० प्रतिशत काम सम्पन गर्ने लक्ष्य छ । काममा ढिलाइ भएको र केहीले बदमासी गरेपछि केही स्थानीय ठेकेदारलाई हटाइएको छ ।

–गत वर्षको अघोषित नाकाबन्दी र भूकम्पले काममा केही ढिलाइ भएको छ । अर्कोतिर नदीजन्य पदार्थ उत्खनन रूपन्देहीमा रोक लगाइएपछि पनि समस्या भएको थियो । तर, हालै रूपन्देहीमा ठूला आयोजनालाई नदीजन्य पदार्थ उत्खनमा जिल्ला विकास समितिले अनुमति प्रदान गरेको छ । यसको काम सहज भएको आयोजनाप्रमुख शर्माले बताए । उनले भने, ‘अहिले नदीजन्य पदार्थमा खासै समस्या छैन । केही ठेकेदार आफैँले व्यवस्थापन गरेका छन् ।’

बजेट कति खर्च हुँदै छ

–हाल एसियाली विकास बैंकको सहयोगमा अगाडि बढाइएको विमानस्थल विस्तारको काम सन् २०१८ मा सम्पन्न हुनेछ ।

–आठ अर्ब बढीको लागत अनुमान गरिएको विस्तारकार्य सम्पन्न भएपछि त्यसपछिको लागतबारे पनि सामान्य छलफल भइरहेको आयोजनाप्रमुख शर्माको भनाइ छ ।

–दक्षिण एसियाको पर्यटन प्रवद्र्धनका लागि भौतिक पूर्वाधार आयोजनाअन्तर्गत एसियाली विकास बैंकको अनुदान तथा कर्जामा गौतम बुद्ध विमानास्थल स्तरोन्नतिको काम अगाडि बढेको हो । नेपाल सरकारले चाइनिज कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन विमानास्थल निर्माण समूहलाई ग्लोबल टेन्डरमार्फत दिएको थियो ।

–भ्याटबाहेक ६ अर्ब २२ करोड, ५१ लाख २० हजार २ सय २८ रुपैयाँ यो आयोजनाको बजेट छ । जसमा एसियाली विकास बैंकको १८ प्रतिशत अनुदान र ४० दशमलव ५ प्रतिशत कर्जा छ । अन्तर्राष्ट्रिय विकासका लागि ओपेक कोषबाट ३० दशमलव ५ प्रतिशत कर्जा र नागरिक उड्यन प्राधिकरणको ११ प्रतिशत लगानीबाट विमानास्थलको स्तरोन्नति हुँदै छ ।

६ महिना म्याद थप

–गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको ठेक्काको ६ महिना समय थपिएको छ । भूकम्प र मधेस आन्दोलनका कारण निर्माण ठप्प भएपछि निर्माणपक्षले अतिरिक्त समय मागेको थियो । ठेकेदार कम्पनीको माग, परामर्शदाताको अनुगमन र सिफारिसपछि प्राधिकरण बोर्डले ६ महिनाको समय थपेको हो ।

–नयाँ तालिकाअनुसार अब ठेकेदारले भैरहवा विमानस्थल २०१८ को जुन १५ सम्म निर्माण गरिसक्नुपर्नेछ । प्रमुख शर्माले भने, ‘हामीले २०१८ को जुनसम्म काम सम्पन गर्ने भनेका छौँ । हेरौँ कति सकिन्छ ।’

भूकम्प प्रतिरोधात्मक विमानस्थल

–विनाशकारी भूकम्पबाट पाठ सिक्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सुरक्षित बनाइने भएको छ । यसलाई आधुनिक उपकरणजडित र भूकम्प प्रतिरोधात्मक बनाउन लागिएको छ ।

–विनाशकारी भूकम्पको विनाशबाट शिक्षा लिँदै अन्तर्राष्ट्रिय मान्यताप्राप्त गुणस्तरीय सामान प्रयोगमा जोड दिइएको आयोजनाप्रमुख ओम शर्माले बताए ।

–विमानस्थल परिसरमा कम्प्युटर डिजिटल सिष्टमको कंक्रिट ब्यचिङ मिक्सर पलान्ट जडान गरिएको छ । नयाँ प्रविधिको डिजिटल प्लान्ट सिष्टमले पानी, बालुवा, गिटी, सिमेन्टको परिणाम इलोक्ट्रोनिक मेसिनले छानेर मसला घुलाई पुनः मिक्सर गाडीबाट निर्माणस्थलमा पुर्याइदिन्छ ।

–आयोजनाप्रमुख शर्माले आयोजनाको कार्यालय भवन, प्रयोगशाला भवन र ठेकेदार एवम् मजदुर वासस्थान भवनको निर्माणकार्य सकिएको बताए । ती सबै भूकम्प प्रतिरोधात्मक बनेको उनले बताए ।

–प्रथम चरणमा विमानस्थलको तीन हजार मिटरको रनवे, ट्याक्सी वे, अन्तर्राष्ट्रिय टर्मिनल भवन, टावर, प्रशासकीय भवन, आन्तरिक तथा बाह्य सडक, एयर कार्गो भवन, सुरक्षा पोस्ट भवन, विमानस्थल सडक, घाघरा नदी डाइभर्सनलगायत निर्माणका अन्तिम चरणमा छन् ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल