तेक्वान्दोका ‘डान’ दिदी–बहिनी

दीपेन्द्र राई

तेक्वान्दोका ‘डान’ दिदी–बहिनी

१५ वर्ष ।

सम्भावना बोकेका मानिसले त्यस समयमा आफूलाई मन परेको क्षेत्रमा धेरै काम गर्न सक्छन् । उदाहरणका लागि धेरै पर जान पर्दैन । काठमाडौंको जोरपाटीसम्म पुगे थाहा पाइन्छ । जोरपाटीनिवासी तेक्वान्दो फोर डान रोमी गिरीले १५ वर्षमा धेरै काम गरेकी छन् । खेलमार्फत नेपालको प्रतिनिधित्व गर्दै जापान र स्वीट्जरल्यान्डसम्म पुगेकी उनले तेक्वान्दोलाई व्यवस्थित र व्यावसायिक खेल बनाउन गरेको प्रयास त्यत्तिकै सराहनीय छ ।

गिरीको लोभलाग्दो प्रगति सहोदर काका सोभित गिरीसँग जोडिएको छ । तेक्वान्दोका फिप्थ डान सोभित गिरी राष्ट्रिय रेफ्रीसमेत हुन् । रोमीले गर्व गरिन्, ‘काका नहुनुभएको म यो अवस्थामा हुने थिइनँ ।’


१५ वर्षअघि मात्रै जोरपाटीमा रामशरण गिरीले छोरीहरूलाई खेलाएर बिगार्ने भए भनेर सानोतिनो हल्ला चलेको थियो । १५ वर्षपछि त्यसो भन्नेहरूको मुखमा बुजो लगाइदिएका छन्– रोमी गिरी, रोजी गिरीलगायत गिरी परिवारबाट खेल्नेले । रोजी गिरी तेक्वान्दोका थर्ड डान हुन् । खेलको महत्व नबुझेकाले एकताका त्यसो भने पनि अहिले गिरीद्वयलाई सम्मानमात्रै गर्दैनन्, आफ्ना छोराछोरीलाई पनि खेलाइदिनुपर्यो भनेर अनुरोध गर्छन् ।

एकैघरका रोमी गिरी, रोजी गिरी र रोशन गिरी तेक्वान्दो खेलाडी हुन् । आठ कक्षामा अध्ययनरत रोशन पनि तेक्वान्दोका ब्ल्याक बेल्ट हुन् । जोरपाटीका गिरी परिवारका सात/आठजना तेक्वान्दोसँग जोडिएका छन् । गरिमा गिरीमात्रै करातेमा छिन् । उनी करातेकी अन्तर्राष्ट्रिय खेलाडी हुन् । केही समयअघि भुटानमा भए अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा उनले स्वर्ण पदक हात पारेकी थिइन् ।


‘गिरी परिवारमा अघोषित नीति नै बनेको छ,’ थर्ड डान रोजीले भनिन्, ‘गिरी परिवारका प्रत्येक घरबाट एकजनाले खेललाई आत्मसात् गर्नुपर्छ । गिरी परिवारमा जन्मेका प्रत्येक घरका एकजना स्पोर्ट पर्सन पनि छन् । त्यसले भविष्यमा पनि निरन्तरता पाउनेछ ।’

संवत् २०५८ मा तेक्वान्दो सिक्दा खेलको महत्व थाहा नभएको बताउने रोमीले अहिले आफू जुन धरातलमा उभिएकी छन्, काकाको प्रेरणाबाट सम्भव भएको भन्दै काकाको योगदानको प्रशंसा गरिन् । आफूसँग खेल्न थालेकाले बीचमै छाडे पनि उनले तेक्वान्दोलाई निरन्तरता दिइन् । आफूले हिँडेको बाटोमा बहिनी र भाइलाई पनि डोर्याइन् ।

तेक्वान्दो सिक्दा आठ वर्षकी उनको अहिले लोभलाग्दो परिचय बनेको छ । उनी शिक्षित खेलाडीमा दरिएकी छन् । एमबीए अध्ययनरत उनले वाणिज्य मन्त्रालयमा जागिरे जीवनसमेत सुरु गरेकी छन् । दिदीको प्रगति देखेर बहिनी रोजी गिरी कम्ती खुसी छैनन् । रोजीले खुसी व्यक्त गरिन्, ‘हामीले पढाइका साथै खेललाई सँगसँगै प्राथमिकतासहित अघि नबढाएको भए दिदीले यो सफलता पाउने थिइनन् ।’


रोमीले पनि बहिनी रोजीको प्रशंसा गरिन्, ‘रोजी तेक्वान्दोका थर्ड डानमात्रै होइनन्, उनी मिस टिन नेपाल २०१५ फस्र्ट रनरअप पनि हुन् । उनलाई त्यो ताज पहिरिन खेलको पनि भूमिका रहेको छ ।’ रोमी र रोजी दुवैले लोभलाग्दो परिचय बनाएका छन् । गैरीगाउँ तेक्वान्दो डोजाङ बौद्ध जारेपाटीबाट खेल्न थालेको दुवैलाई यहाँसम्म आइपुग्न शिक्षाको मुख्य भूमिका रहेको दुवैको स्वीकारोक्ति छ । उनीहरूले आफूले सिकेको सीप तथा ज्ञान पाँचवटा स्कुलका विद्यार्थीलाई सिकाउँदै आएका छन् । दुवैको मान्यता छ, ‘ज्ञान र सीप हस्तान्रण गर्दै जानुपर्छ ।’

काका भए पनि राष्ट्रिय रेफ्रीलाई रोमीलाई यहाँसम्म आइपुग्न त्यति सजिलो थिएन । उनलाई ‘मिस कम्युनिकेसन’ र ‘जेनेरेसन ग्याप’ ले दुःख दिएको थियो/छ । ‘सानोका कुरा ठूलोले बुझ्न नचाहँदा पनि उनले दुःख पाइन् । अग्रज खेलाडी र आफूबीच विचार नमिल्दा पनि अप्ठ्यारोमा परेकी थिएँ/छु,’ उनले दुःखेसो पोखिन्, ‘त्यो होइन यो सही हो भन्दा बाठी हुन्छेस् भनेर अवसरका ढोका बन्द पनि गरिदिएका छन् । त्यस्ता घृणित कामले मेरो करिअरमा ठेस लागेको छ ।’

तर, रोजीले भने त्यस्तो कठिनाइ भोग्न परेन । काकापछि दिदीको पदचाप पहिल्याउँदा उनलाई सजिलो भयो । ‘दिदीले तेक्वान्दोलाई व्यवस्थित र व्यावसायिक खेल बनाएर लैजाने ध्याउन्नमा छन् । त्यसले पक्कै आकार पाउनेछ । त्यस काममा मेरो पनि सहयोग हुनेछ,’ रोजीले दाबी गरिन्, ‘खेलमार्फत शान्ति र विकास गर्ने मेरो पनि भिजन छ । त्यसैले म पनि दिदीले हिँडेको बाटोमै हिँड्न मन पराएकी हुँ ।’


कानुनमा स्नातक अध्ययनरत उनले स्नातकोत्तर गरेर ‘पिसफुल सोसाइटी’ बनाउने प्रयत्नमा लाग्ने भावी योजना सुनाइन् । खेलकुदबाट सम्भव छैन र ? रातोपाटीको कार्यालयमा रोजीले उत्साहित हुँदै भनिन्, ‘खेलबाट के सम्भव छैन । खेलबाट जेन्डर इक्वालिटी सम्भव छ । शान्ति र विकास पनि सम्भव छ ।’

खेलाडीको भविष्य उज्ज्वल देख्ने रोमीको पहलमा प्यारा ओलम्पिक कमिटी गठन भएको छ । नेपालमा हातखुट्टा नभएकाले पनि खेल खेल्छन् र भन्नेलाई यो कमिटीले गतिलो जवाफ दिएको छ । उनलाई तासी मिया, दीपक विष्टलगायतको साथसहयोग छ । तेक्वान्दोमा तुरुन्त परिवर्तन गर्न नसकिए पनि भविष्यमा समाधान गर्न लागिपरेकी रोमीले तेक्वान्दोमा हाम्रो पुस्ताले भोगेको दुःख आउने पुस्ताले भोग्न नपरोस् भन्ने चाहन्छिन् ।

पुरुषको दाँजोमा महिला खेलाडीलाई खेल्न सजिलो छैन । महिलाको शारीरिक बनावटले समेत दुःख दिने गरेको छ । तर पनि, रोमी र रोजीहरूले सानातिना दुःखलाई दुःख मान्दैनन् । चार हजार तेक्वान्दो खेलाडीमध्ये फरक पहिचान बनाउन लागेका उनीहरूको सामूहिक भनाइ छ, ‘खेलमा महिला उपस्थिति बढाउन सशक्तीकरण आवश्यक छ । शारीरिक विकास गर्न त्यत्तिकै जरुरी छ ।’ ‘हेल्थ इज वेल्थ’ त्यत्तिकै भनिएको होइन । खेलले स्वस्थ रहन सकिन्छ । मस्तिष्क ताजा बनाइराख्ने रोजीको भनाइ छ ।


तिमीले पढ्यौ, जागिर गर्छौ, अन्तर्राष्ट्रिय खेलाडी हौ तर हाम्रो त पदकमात्रै छ भनेर अग्रज खेलाडीले भन्दा शिक्षित खेलाडी हुनुको आनन्द रोमीले अनुभूत गरेकी छन् । खेलमा भविष्य छैन भन्नेका लागि उनको जवाफ छ, ‘खेलबाट नाम, दाम र सम्मान पनि पाइन्छ । यसले नेतृत्व विकास गर्न सघाउँछ ।’

पश्चिमा देशमा खेलमै पीएचडी गर्ने सुविधा हुन्छ । हाम्रोमा त्यो अवसर छैन । खेलकुदलाई पाठ्यक्रममा समेत समेटिएको छैन । विदेशमा खेलको म्युजियम हुन्छ । खेलाडीको प्रतिमा बनाएर इज्जत गरिन्छ । हाम्रोमा खेलमै स्नातकोत्तरसम्मको पढाइ भए खेल विकासमा टेवा पुग्ने रोमीको भनाइ छ । त्यस काममा आफू अग्रसर हुने उनको योजना छ । अमेरिकी दूतावास काउन्सिल मेम्बरसमेत रहेकी उनले सुझाइन्, ‘खेललाई गरिखाने भाँडोमात्रै बनाउनहुँदैन ।’

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल