नारायणकाजी श्रेष्ठ साउदीका पीडित नेपाली माझ

भदौ ३०  |   महेश श्रेष्ठ

नारायणकाजी श्रेष्ठ साउदीका पीडित नेपाली माझ

साउदी अरब– माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले साउदी अरबको अनौपचारिक तीन दिने भ्रमणको सकाएर नेपाल फर्केका छन् । श्रेष्ठले प्रवासी पीडितको समस्याका सम्बन्धमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री र श्रम तथा रोजगार मन्त्री र सचिव समक्ष गम्भिरतापूर्वक छलफल गर्ने प्रतिबद्धता समेत गरेका छन् ।

श्रेष्ठ नेपाली जनप्रगतिशील मंच, साउदी अरबको चौथो एकताको महाधिवेशनको निम्तोमा साउदी अरब आएका थिए । गत ११ सेप्टेम्बरका दिन साउदी अरबको रियादमा आएका नेता श्रेष्ठले साउदी बसाईको क्रममा प्रवासी पीडित नेपाली कामदारहरुसंग छुट्टा छुट्टै भेटघाट गर्नुका साथै विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुसंग अन्तरक्रिया समेत गरे ।

प्रवासी पीडित कामदारहरुले उनीसंगको भेटमा सम्झौता अनुसारको कम्पनी तलब सुविधा नपाएको, महिनौदेखि तलब नपाएका कारण खानबस्नमा समेत समस्या भएको, सम्झौता अवधि पुगिसक्दा पनि घर फर्कन नपाएको, मालिक र प्रहरीको मिलोमतोमा दुःख दिएको र लेबरकोर्टको फैसला ढिलाई हुँदा खाली हात नेपाल फर्कन बाध्य बनाइएको पीडा सुनाए । उनीहरुले नेपाली राजदुतावासले आफूहरुको समस्यामा वेवास्ता गरेको गुनासो पनि गरे ।
भेटघाटकै क्रममा श्रेष्ठले रियादस्थित दुतावासको सेल्टरमा रहेका पीडित महिलाहरुसंग पनि भेटघाट गरे । घरेलु र कम्पनीका कामदारका रुपमा आएका ती महिलाहरुले आफूहरुको उद्धार गरेर यथाशिघ्र नेपाल पठाउने व्यवस्था गरिदिन अनुरोध गरे ।

सेल्टरमा कुवेतबाट बेचिएर साउदी ल्याइएका, साउदी मै ल्याईएर दुःख पाएका र कम्पनीको काम भनेर अन्यत्र काम लगाई दुःख दिएका र सो क्रममा भागेर दुतावास आएकाहरु छन् । हाल सेल्टरमा १६ जना महिलाहरु छन् । उनी सबै एकै चोटी सुत्न पनि नसक्ने साँघुरो कोठामा बस्दै आएका छन् । सेल्टरमा रहेका कतिपय महिलाहरु विमारी र बच्चा सहितका छन । साउदी सरकारले एक्जिट भिसा लगाउनका लागि कानुनी प्रक्रियामा ढिलाई गरेका कारण डेढ वर्षदेखि सेल्टरमै बसेका महिलाहरु पनि रहेका छन् ।

अन्तरक्रियामा माओवादी केन्द्रका सरकार संचालन समितिका ईन्चार्ज समेत रहेका श्रेष्ठले नेपालमा पुगेर यथाशिघ्र साउदी अरबमा रहेका नेपालीहरुले भोग्नु परेको समस्या र पीडाका सम्बन्धमा गम्भिरतापूर्वक प्रधानमन्त्री समक्ष कुरा राख्ने बताए । उनले समस्याको निकासका सम्बन्धमा परराष्ट्र मन्त्रालयका मन्त्री र सचिव त्यसैगरी श्रम तथा रोजगार मन्त्रालयका मन्त्री र सचिवसंग समेत छलफल गर्ने प्रतिबद्धता गरे । रियाद स्थित नेपाली दुतावासको अतिथि गृहमा बसेका श्रेष्ठ विभिन्न संस्थाहरुको कार्यक्रममा समेत सहभागि भएर सेप्टेम्बर १४ मा नेपाल फर्केका हुन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल