चिज बिक्री नहुँदा कृषक निराश

भदौ २०

चिज बिक्री नहुँदा कृषक निराश

म्याग्दी,  — म्याग्दीको घारका कृषक उत्पादित चिज बिक्री नहुँदा समस्यामाcheese परेका छन् गत वैशाखको भूकम्पका कारण पर्यटक आगमन घटेपछि घार– ५ स्थित हिमालयन चिज उद्योग तथा कृषि सहकारी संस्थाले उत्पादन गरेको सयौँ किलो चिज बिक्री हुन सकेको छैन । उत्पादित चिज बिक्री नहुँदा कृषकले उत्पादन गरेको दूध खरिद गर्न र भुक्तानी दिन नसकेको संस्थाका सचिव श्याम खड्काले बताए ।

उद्योगमा अहिले १ हजार २ सय किलो चिज बिक्री हुन नसकेर मौज्दात रहेको छ । “चिज बिक्री नहुँदा उत्पादन घटाएका छौँ” सचिव खड्काले भने – “कृषकले उत्पादन गरेको सबै दूध खपत पनि हुन सकेको छैन । दूध खरिद गरेबापत भुक्तानी गर्न समस्या भएको छ ।”यो मौसममा दैनिक दुई सय लिटर दूध उत्पादन भए पनि एक सय लिटरको हाराहारीमा उद्योगले खरिद गरेको छ । दूध खपत घटेपछि घाटा भएको कृषक शुकराम खड्काले बताए ।

“उत्पादन भएकोमध्ये आधामात्रै दूध उद्योगलाई बेच्न सकेका छौँ” उनले भने– “अन्यत्र दूध निकास गर्न बजार टाढा र भौगोलिक विकटताका कारणले सकिएको छैन ।” यसअघि दैनिक २० किलो चिज उत्पादन गरेको उद्योगले अहिले उत्पादन आधा घटाएको छ ।

चिज उत्पादन र दूध खपत घट्दा घारको ५, ६, ७ र ८ नं वडाका २५ जना कृषक प्रभावित भएका छन् । व्यावसायिक रुपमा उन्नत जर्सी र होल्यड जातको गाई पालेका उनीहरुले दैनिक पाँचदेखि २५ लिटरसम्म दूध उत्पादन गर्छन् ।

विसं २०७१ वैशाखमा कृषकले स्थापना गरेको उद्योगले पहिलो वर्ष रु ३४ लाखबराबरको चिजको कारोबार गरेको थियो । त्यहाँ उत्पादित चिज पोखरा, घोरेपानी, घान्द्रुक, भुरुङ तातोपानी, बेनीलगायतका पर्यटकीयस्थलमा खपत हुने गरेको छ ।

प्रोटिनयुक्त, स्वादिलो, शक्तिवद्र्धक एवम् स्वास्थ्यका लागि हितकारी मानिने चिज पर्यटकले रुचाउने हुँदा पर्यटकीय क्षेत्रमा खपत हुने गर्छ । होटल व्यवसायीसँग चिज खरिद बिक्रीको सम्झौता भइसके पनि पर्यटक आगमन नहुँदा खपत हुन नसकेको उद्योगका संस्थापक गोविन्द खड्काले बताए ।

“चिज खपत बढेपछि उद्योगले उत्पादन पनि बढाउने थियो, कृषकको दूध सबै बिक्री हुन सक्थ्यो,” उहाँले भन्नुभयो – “पर्यटकको पर्खाइमा रहेका छौँ ।” घारमा विदेशबाट फर्किएका र विदेशको भिसा त्यागेका युवाले गाईपालन गरी दूध उत्पादन र चिज उद्योग सञ्चालन गरेका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल