बुढेसकालको साथी कृषि पेसा

भदौ २०

बुढेसकालको साथी कृषि पेसा

vegiableबागलुङ,  — जिल्लाको गलकोट– ६ का ८० वर्षीय जङ्गबहादुर केसीले व्यावसायिक कृषि सुरु गरेका छन् ।

भारतीय सेनाको जागिरबाट सेवा निवृत्त भएर घर फर्किएपछि सुरुमा सामान्य खेतीपाती सुरु गरेका केसी बुढेसकालसँगै व्यावसायिक बनेका छन् । २८ वर्षसम्म फौजी जीवन बिताएका केसीले बुढेसकालको साथीका रुपमा कृषि पेसा अङ्गालेका छन् ।

“जीवनमा सकेजति काम गर्नुपर्छ भन्ने भावनाले मलाई कृषि कर्ममा पे्ररित गरेको हो ।” केसीले भने – “शरीर रोगी बनाएर बस्नुभन्दा कर्म गरे फल पनि प्राप्त हुन्छ र नयाँ नयाँ कुरा पनि सिकिन्छ ।” केसी पेसा व्यवसायसँगै विभिन्न सामाजिक काम र सङ्घसंस्थामा समेत सक्रिय देखिन्छन् ।

केसीले आफ्नो चार रोपनी जमिनमा अदुवा, बेसार, खुर्सानी, काँक्रा तथा केरा, अङ्गुरलगायतका फलफूलसमेत फलाउनुभएको छ । गत मौसममा पाँच क्विन्टल अदुवा र तीन क्विन्टन बेसार बिक्री गरेका उनले यसवर्ष खेती अझै बढाएको बताए ।

“गत मौसममा अदुवा र बेसारको बिक्रीबाट मात्र १ लाख ५० हजार जति आम्दानी भयो” उनले भने – “यो वर्ष खेती विस्तार गरेको छु, उत्पादन पनि पोहोरको तुलनामा राम्रो भएको छ ।” केसीले अदुवा बेसारसँगै लगाएको काँक्रा तथा खुर्सानीबाट पनि यथेष्ट आम्दानी गर्न सफल भएका छन् ।

दुई रोपनी जमिनमा लगाएको केराखेतीबाट यसै वर्षदेखि आम्दानी हुन थाल्ने उहाँको भनाइ छ । “केरा पसाउन थालेका छन्, यसबाट पनि आम्दानी सुरु हुन्छ” उनले भने ।

केसीको बारीमा सुन्तला, नास्पाती, आँप, बेलौतीलगायतका विभिन्न मैसमी फलफूलसमेत प्रसस्त छन् । “रहरले व्यावसायिक बनेको हुँ, बसेर खान पटक्कै मन लाग्दैन” उनल् भने– “म एक्लैले नसक्ने गरी कामको चाप हुँदा खेताला हाल्ने गरेको छु ।”

आफ्नो बुढेसकालको कृषि देखेर केही युवाले समेत यो पेसा अङ्गालेको देख्न पाउँदा निकै खुसी लाग्ने गरेको उनले बताए । केसीको जोसमा ७९ वर्षीया श्रीमतीको पनि साथ छ ।  एक छोरा जापान र अर्का छोराले काठमाडौँमा होटल सञ्चालन गरेर बसेका छन् ।

“छोराछारी सबै बाहिर छन्, मलाई बसेर खान मन नै लाग्दैन” केसीले भने – “धान कोदो लगाउन खेताला पाउन गाह्रो थियो अहिले सजिलो भएको छ ।” अहिले त सीमित खेताला भए पुग्छ, केसीले भने ।

अहिलेका युवा सानोतिनो कामका लागि खाडी मुलुकमा हाम फाल्दा देश नै युवा विहीनताको अवस्थामा पुगेको उहाँको भनाइ छ । जाँगर गरे घरपरिवारसँगै बसेर आफ्नै मुलुकमा राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल