यस्तो छ बारपाकमा राष्ट्रपतिले उद्घाटन गरेको घर, अझै अाएन दोस्रो किस्ता (भिडियोसहित)

यस्तो छ बारपाकमा राष्ट्रपतिले उद्घाटन गरेको  घर,  अझै अाएन दोस्रो किस्ता (भिडियोसहित)

शम्भु दङ्गाल

गोरखा, जेठ २५–गत शनिबार बिहान घर निमार्णको काम एकछिन रोकेर गोरखा सुलिकोट गाउँपालिकाको बारपाकका गोपाल विश्वकर्मा चर्चमा आरती गर्न गएका थिए । चर्चबाट फर्किएपछि परिवार सहित उनी घर बनाउने काममा लागे ।

७२ सालको भूकम्पको केन्द्रविन्दु बारपाकमा पुनर्निर्माण सुरु गर्ने उद्देश्यले गएको वर्ष वैशाख १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उनको घर शिलान्यास गरेकी थिइन् ।

राष्ट्रपतिले उद्घाटन गरे पनि आर्थिक अभावमा उनले घर बनाउन सकेका थिएनन् । बैशाखमा सिल्यान्यास गरेपनि गत पुसमा बल्ल उनले घरको जग हालेका थिए । जिल्लाबाट सीडीओ आएर घर किन नबनाएको भन्ने, जिल्ला इन्जिनियर आएर पनि घर किन नबानेको भन्ने, पत्रकार आएर पनि घर किन नबनाएको भन्ने भएपछि आफूले ऋण काढेर घर बनाउन थालेको उनले बताए ।

घर बनाउनका लागि उनले पहिलो किस्ताबापतको ५० हजार त पाइसकेका छन् तर घर निमार्णको काम अन्तिम चरणमा पुगे पनि दोस्रो किस्ताका लागि सिफारिस हुन सकेको छैन ।

गोरखाका पूर्वप्रमुख जिल्ला अधिकारीले कुनै सङ्घ–संस्था मार्फत थप दुई लाख अनुदान उपलब्ध गराइदिन्छु भनेका थिए । तर उनी सरुवा भएपछि उक्त सहयोग पाउने आशा मरेको गोपालले बताए ।

तल्लो तलामा र माथिल्लो तलामा गरेर ११ कोठा रहेको उनको घर निमार्णको काम अन्तिम चरणमा पुगेको छ । उनी आफैले माटो, बालुवा र सिमेन्टको मिश्रणबाट ब्लक बनाएर घर निमार्ण गरेका हुन् ।

अनुदान दिन प्राविधिकको झमेला

घर निमार्णका लागि पहिलो किस्ता अनुदान लिए पनि दोस्रो र तेस्रो किस्ताका लागि प्रक्रिया अघि बढ्न सकेको छैन । तेस्रो किस्ताको अनुदान पाउने बेला भए पनि मापदण्ड नपुगेको भन्दै प्राविधिकले झुलाएको उनले बताए ।

घर निमार्णअघि सबै प्रक्रिया पूरा गरे पनि अहिले आएर घर निमार्ण गर्दा फलामको खम्बा हालेका कारण मापदण्ड नपुगेको भन्दै दोस्रो किस्ताका लागि इन्जिनियरले स्वीकृति नदिएको उनले बताए । उनले भने–“घर बनाउने बेलामा जिल्ला इन्जिनियरलाई नै सोधेर बनाएको थिए, अहिले आएर मापदण्ड मिलेन भनिरहेका छन् ।”

तेस्रो किस्ताको अनुदान पाउने बेला भए पनि दोस्रो किस्ताको अनुदान पाउनेमा अन्यौल बढेपछि उनी निरास भएका छन् ।
गोपालले स्थानीय हर्कबहादुर गुरुङले सहयोग स्वरुप दिएको मेसिनबाट आफैले सिमेन्ट र माटोको मिश्रणबाट ब्लक तयार पारेका छन् ।

आफै ग्रिलको कामसमेत गर्ने फलामका सामग्री आफैले निर्माण गरेका छन् । अहिलेसम्म ६ लाख हाराहारीमा खर्च भएको उनले बताए ।
घर बनाउनका लागि स्थानीय धनबहादुर घले र लाक्पा लामाको सहयोगमा प्राप्त ब्लक बनाउने मेसिनबाट उनले आफैले ब्लक तयार पारेका हुन् । घर बनाउनेबारे प्राधिकरणको मापदण्ड आउनुअघि नै घर बनाएकाहरु तथा घर नबनाएकाहरु सबैले अनुदान लिएका थिए ।

उनको घर निमार्णका काम अन्तिम चरणमा त पुगेको छ तर पैसा नपुगेर केही महिना रोकिने भएको छ । उनले भने– “पैसा भए त एक महिनाभित्रै सबै काम सकिन्छ, नत्र ६ महिना, एक वर्षसम्म पनि लाग्न सक्छ ।”

हतारमा घर बनाउनुभन्दा बरु पैसा जम्मा पारेर एक दुई वर्षपछि घर बनाउने चाहना भएको गणेशकी श्रीमती कुमारी विश्वकर्माले बताइन् । उनले भनिन्– “हतारपतारमा घर बनाइयो, अलि पैसा जम्मा गरेर बनाउन पाएको भए पनि हुन्थ्यो, गुजारा गर्ने बाटो ।”

घर शिलान्यासका लागि २०७३ मा काठमाडौँबाट राष्ट्रपति विद्या भण्डारी आफ्नो बारपाक आएको उनीहरुको स्मृतिमा ताजै छ । राष्ट्रपतिले शिलान्यास गरेपछि घर छिट्टै बन्ने अपेक्षा थियो तर त्यसो हुन सकेन ।

त्यो दिन सम्झिँदै उनकी श्रीमती कुमारी विकले भनिन्– “त्यो दिन हेलिकोप्टरबाट राष्ट्रपति त्याँ माथि ओर्लेर यहाँसम्म आउनुभयो । दलितको घरमा राष्ट्रपति आएर शिलान्यास गरकोमा हामीलाई धेरै खुसी लाग्यो तर राष्ट्रपतिको एउटा वचन पनि सुन्न पनि पाइएन । बारपाकमा राष्ट्रपतिले नबोलेकोमा बारपाकबासीले नराम्रो माने ।”

राष्ट्रपतिले आफ्नो घर शिलान्यास गरेपछि सबैले आफ्नो घरप्रति चासो राख्ने गरेकामा विश्वकर्मा दम्पतीले खुसी व्यक्त गरे । बिस्तारै घर त बन्दैछ तर घरभन्दा पनि दुई छोराहरु बेरोजगार भएकामा उनीहरुलाई चिन्ता परेको छ । सरकारले उनका दुई छोराहरुलाई केही रोजगारी दिए हुन्थ्यो भन्ने आशा रहेको कुमारी विकले बताइन् ।

“दुई जवान छोरा छन्, एसएलसी गरेका, धन पैसा नदिए पनि दुई छोरालाई केही जागिर दिए उनीहरुको नाम रहन्थ्यो ।” सरकार र राष्ट्रपतिलाई सुनाइदिनु भन्दै कुमारी विश्वकर्माले भनिन् ।  

गोरखामा ५८ हजार ५०३ भूकम्प पीडित
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अनुसार गोरखामा ५८ हजार ५०३ घरधुरी भूकम्प पीडित रहेका छन् । जसमध्ये हालसम्म ५४ हजार ११४ परिवारसँग अनुदान सम्झौता भई सबै परिवारले पहिलो किस्ताको ५० हजार अनुदान पाइसकेका छन् । यस्तै २५ सय २२ परिवारले दोस्रो किस्ताको रकम पाएकोमा हालसम्म कसैले पनि तेस्रो किस्ताको रकम पाएका छैनन् ।

भिडियो हेर्नुहोस्

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल