चुनावको मौका छोपी प्राकृतिक सम्पदाको अवैध उत्खनन

चुनावको मौका छोपी प्राकृतिक सम्पदाको अवैध उत्खनन

मोरङ,जेठ १७ – निर्वाचनको मौका छोपेर मोरंगको उत्तरी क्षेत्रबाट ढुंगा र गिटीको अबैध उत्खनन् र ओसारपसार तीव्र भएको छ । प्रमुख दलहरु स्थानीय निर्वाचनको प्रचारप्रसार र सुरक्षाकर्मीहरु सुरक्षामा व्यस्त भएका बेला मोरंगको केरावारीस्थित खदम खोलाबाट मापदण्ड मिचेर अबैध उत्खनन गरि ढुंगा गिटीको ओसारपसार भएको हो ।
केराबारीका स्थानियबासी तिलक मगरले क्रसर व्यवसायी र अन्य व्यपारिहरुले खोलामा दश फिटसम्म गहिरो खाल्डो बनाएर ढुंगागिटी झिकिरहेका छन् । जवकी मापदण्ड अनुसार साढे तीन फिट भन्दा गहिरो खाल्डो बनाउन पाइँदैन ।
जिल्ला समन्वय समिति मोरंगका अनुसार सवा तीन फिट भन्दा बढी गहिरो नहुने गरी उत्खननको लागि खदम खोलामा ढुंगागिटी उत्खनन गर्ने ठेक्का दिइएको छ । चुरे संरक्षित क्षेत्रवाट पाँचसय मिटर टाढासम्म मात्र उत्खननका लागि अनुमति भएपनि व्यवसायीले चुरेक्षेत्रको सीमा भन्दा ३ किलोमिटरपर याङशिला र भोगटेनीको सिमाना रहेको चुरेफेदी सम्मका ढुँगा निकालिरहेका छन् । प्रत्यक्षदर्शी एक स्थानीयले भने ‘ढुंगा गिटी चोर्नकै लागि यहाँ दिनभरि जेसिभि, ट्रयाक्टरहरु खोलाभरि हुन्छन, रोक्ने कोही छैनन् ।’
अर्का स्थानियले भने ‘सबैको मिलेमतो छ बोल्यो भने बाँच्न गाह्रो यसैले जनताले टुलुटुलु हेरेर बस्नुको बिकल्प छैन। , प्रहरीले पनि केराबारीस्थित खदमखोलाबाट रातारात ढुंगागिटी चोरी गर्दै आएको सूचना पाएपनि घट्नामा संलग्नलाई पक्राउ गरेर छाडिदिने गरेको छ । इलाका प्रहरी कार्यालय केरावारीका सई रामकाजी कटुवालले सबै व्यवसायीहरुले माथिल्लो निकायको अनुमति अनुसार नै ढुंगागिटी उत्खनन भैरहेको पाइएकोले सबैलाई पक्राउ गर्न नसकिएको बताए । मोरंगका एसपी संन्दिप भण्डारीले उत्तरी क्षेत्रबाट ढुंगागिटीको चोरी भैरहेको स्वीकार्दै धमाधम ट्रयाक्टरहरु नियन्त्रणमा लिएर कार्बाहीका लागि बन ,जिबिस लगायत कार्यालयमा बुझाइरहेको दाबी गरे । उनले भने ‘प्रहरीले दर्जनौ सवारीसाधन पक्राउ गरेर बुझाइसक्यो यो प्रहरी एक्लैले मात्र रोकेर रोकिने काम होइन सबै सजग हुनुपर्छ ।’
तस्करीमा मिलेमतो
स्थानीय जानकारहरुका अनुसार राष्ट्रपति चुरे संरक्षण अभियान अन्र्तगत चुरेको सिमाना मानिएको डाँगी केराबारी जोड्ने बाटोदेखि दक्षिण तर्फमात्र उत्खननको लागि तोएिको छ । यो सिमाना भन्दा माथि वा उत्तरतिर ढुगा–गिटी वालुवा उत्खनन् गर्न नपाइने प्रावधान छ । तर, व्यवसायीहरुले सो सिमाना भन्दा ४ किलोमिटर उत्तर पहाडको फेदी याङशिला र भोगटेनीको वथाहा लगायतको सिमानावाट दिनदहाडै ढुंगा चोरी पैठारी भैरहेको छ । उनिहरुले दिउँसै दर्जनौं ट्र्याक्टर र टिपरले ढुंगा ओसार्ने र सिमाना क्षेत्रमा स्टक गरी विक्री वितरण गर्ने गरेका छन् ।
व्यवसायी नै बने उम्मेदवार
प्राकृतिक दोहनमा संलग्न भएको आरोप खेपिरहेकाहरु नै केरावारी गाउँपालिकामा स्थानीय तहको उम्मेदबार बनेका छन् । कृष्ण क्रसर उद्योगका शेयर होल्डर रहेका नेकपा एमाले कोशी अञ्चल कमिटीका सल्लाहकार सदस्य नविन थापा मगर र नेपाली कागं्रेसका पुर्व क्षेत्रिय अध्यक्ष एवं प्रचार विभाग प्रमुख रोहित कार्की केराबारी गाउँपालिकाको अध्यक्ष पदको उम्मेदबार बनेका छन् । शिवम क्रसर उद्योगका संञ्चालक मनोज खड्का नेपाली कांग्रेसवाट केराबारी गाउँपािलकाको ८ वडाको वडाध्यक्षका उम्मेदबार बनेका छन् । नेपाली ट्रिपर व्यवसायी एवं क्रसरका शेयर होल्डर भक्तवहादुर श्रेष्ठ पनि नेपाली कांग्रेसबाट वडा नम्बर ३ मा वडाध्यक्षका उम्मेदबार छन् । ट्रिपर व्यवसायी एवं क्रसरका शेयर होल्डर जंग भूजेल नेकपा एमालेवाट केराबारी गाउँपालिकाको १० नम्बर वडाध्यक्षमा उम्मेदबारी दिएका छन् ।
प्राकृतिक दोहन रोक्ने चुनावी एजेण्डा
स्थानीय स्तरमा क्रसर समस्या बढेको भन्दै माअ‍ोवादी केन्द्रले क्रसर व्यवस्थापनलाई चुनावी एजेण्डा नै बनाएको छ । क्रसरको बैज्ञानिक व्यवस्थापन नभएमा मोरंगको उत्तरी क्षेत्रमा ठूलो प्राकृतिक बिपत्ती सृजना हुने भएकाले आफुहरु बिजयी भएमा क्रसर व्यवस्थापन र प्राकृतिक सम्पदाको दोहन रोक्ने दाबी माओबादी केन्द्रको छ । तर, चुनावी एजेण्डा बनाएपनि हाल केरावारीबाट भैरहेको प्राकृतिक दोहन रोक्न केन्द्रले कुनै पहल गरेको छैन ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल