पोखराको लेखनाथ महानगर चुम्ने को हुन् मानबहादुर ? यस्तो छ उनको पृष्ठभूमि

पोखराको लेखनाथ महानगर चुम्ने को हुन् मानबहादुर ? यस्तो छ उनको पृष्ठभूमि

कास्की, जेठ १२ – मानबहादुर जिसी स्थानीय तहको निर्वाचनबाट पोखरा लेखनाथ महानगरपालिकामा ठूलो मतान्तरले एमालेबाट मेयर पदमा निर्वाचित भएका छन् । कांग्रेस माओवादी केन्द्र गठबन्धनका मेयर उम्मेदवारलाई हराउँदै जिसी निर्वाचित भएका हुन् । विजयी जिसीले ६० हजार १ सय १८ र प्रतिश्पर्धी कांग्रेसका रामजी कुँवरले ४६ हजार ४ सय १६ मत पाए । महानगरका ३३ वडामध्ये २२ वडामा एमाले र ११ वडामा कांंग्रेसले जितेका छन् । माओवादी केन्द्र र राप्रपाले पोखरा महानगरका खातै खोल्न सकेनन् ।

उडायो सपना सबै हुरिले …..

कास्कीको तत्कालिन कालिका गाउँको देउमाडीबाट शहर झरेको मध्यम परिवारको तन्नेरीलाई लाहुरे भए सजिलै जीवन व्यवस्थापन गर्न सकिन्छ भन्ने थियो । २०३५ सालतिर पृथ्वीनारायण क्याम्पसको व्यवस्थापन संकायमा भर्ना भएको ठिटो ब्रिटिस लाहुरे हुन हिँड्यो । तर, छनोट प्रक्रियाको १९ दिनमै उसको सपना तुह्यो । ब्रिटिस लाहुरेमा नछानिएको त्यही ठिटो झन्डै ३८ वर्षपछि पोखराको मेयर चुनियो ।

लाहुरे सपना तुहेपछि कास्की माझठानाको रत्नशोभा विद्यालयमा पढाउँथे मानबहादुर । पहिले व्यवस्थापन संकायमा भर्ना भएर छाडेका मानबहादुर दोस्रोपटक शिक्षा संकायमा भर्ना भए । २०३७ साततिर पृथ्वीनारायण क्याम्पसमा भर्ना भएका मानबहादुरको कोठामा बस्ने साथी थिए, नन्दलाल त्रिपाठी र सुरेन्द्रप्रसाद पौडेल । उनीहरु पहिल्यै नेकपा मालेको राजनीतिसँग नजिक भइसकेका रहेछन् । राजनीति सुरुवातका दिनलाई सम्झँदै मानबहादुरले भने, ‘उनीहरु माले निकट रहेछन् । तपाईं कुन पार्टीको भनेर भन्दै कन्भिन्स गराउन थाले । म पनि अखिलको राजनीतिमा लागेँ ।’

३०३७ सालमा अखिलको प्रारम्भिक कमिटीमा आवद्ध भएर जिसिको राजनीतिक जीवन सुरुवात भएको हो । मानबहादुरको पारिवारिक पृष्ठभूमि भने पञ्चायतसँग नजिक थियो । उनकै भाषामा उनको परिवार प्रधानपञ्च, मुखियापारा र बुर्जुवाशैलीको थियो । उनका पिता नरबहादुर पञ्चायती व्यवस्थामा वडाध्यक्ष थिए । पारिवारिक राजनीति पृष्ठभूमिभन्दा फरक बाटोमा हिँडेका जिसीले प्राक अध्यक्ष हुँदै अखिलको राजनीतिमा गति बढाए ।

नेताहरुको सम्पर्क

त्यसैबीचमा सोमनाथ प्यासी, खगराज अधिकारी, किरण गुरुङ लगायत नेतासँग उनको चिनजान भइसकेको थियो । पार्टीको नीतिअनुसार भूमिगत नै हुनुपर्ने भयो । त्यतिबेला उनको अडान थियो, ‘म भूमिगत हुन्न बरु गाउँ गएर राजनीति गर्छु ।’ ऊ बेलाको घटना सम्झँदै उनले भने, ‘म भूमिगत हुन्न बरु गाउँ जान्छु भनेर म गाउँ गएँ ।


गाउँमै पार्टीको काम त गर्ने तर जागिर खाँदै काम गर्नुपर्छ भन्ने लाग्यो । कालिकाको वमचन्द्रकला प्राविमा पढाउने थालेँ ।’ पढाइ छाडेर लाहुरे हुने सपनाले फेरि गाउँ फर्केका उनी दोस्रोपटक राजनीतिक कारणले गाउँ फर्के । विद्यालय पढाउँदै उनी माले गाउँ कमिटी सचिव भए । गाउँबाट इलाका कमिटी सचिव हुँदै उनको राजनीतिक यात्रा अगाडि बढेको हो । कालिका गाविस अध्यक्ष, जिल्ला पार्टी सदस्य, सचिव, अध्यक्ष हुँदै जिल्ला इन्चार्ज र केन्द्रीय वैकल्पिक सदस्य बनेका मानबहादुरको राजनीतिक यात्रा देशकै ठूलो महानगरमा मेयर पदको कुर्चीसम्म आइपुगेको छ ।

२५ वर्षमै गाविस अध्यक्ष

बहुदल आएको ३ वर्षपछि २०४९ मा स्थानीय निकायको निर्वाचन आयो । उनलाई पार्टीले साविकको कालिका गाविसमा गएर अध्यक्ष उठ्न निर्देशन दियो । ‘म जान्न भन्थेँ । पार्टीले तँ जा, तँ गए चुनाव जितिन्छ भन्यो । म गएँ र अध्यक्षमा निर्वाचत नै भएँ,’ उनले सुनाए ।

मानबहादुर २०५४ मा अर्काे कार्यकालका लागि गाविस अध्यक्ष निर्वाचित भए । २ कार्यकाल स्थानीय निकाय सञ्चालनको अनुभवले पनि मेयर बनेर स्थानीय तह सञ्चालन गर्न सहयोग हुने उनको विश्वास छ । गाविस अध्यक्ष हुँदा नै उनी पार्टीको जिल्ला कमिटी सदस्य बनेका हुन् । ५० सालको जिल्ला अधिवेशनमा जिल्ला सदस्य बनेका जिसी ०५४ उपसचिव, ०५८ सचिव हुँदै २०६४ सालमा अध्यक्षको जिम्मेवारी हुँदै नवौं महाधिवेशनबाट अहिले पार्टीको जिल्ला इन्चार्ज तथा केन्द्रीय वैकल्पिक सदस्य भएका हुन् ।

दोस्रो संविधानसभा चुनावमा कास्की—१ मा कांग्रेसका यज्ञबहादुर थापासँग २ सय ७२ मतले पराजित जिसी त्यो बेलाको कमजोरी यसपालिको चुनावमा हुन नदिएको बताउँछन् । ‘गाविस अध्यक्ष हुँदासम्म वर्षको १८ हजार सरकारले दिन्थ्यो । त्यसले धेरै विकासका काम गर्न सकिने अवस्था भएन,’ उनले भने, ‘तर पनि थुप्रै विकास निर्माण र अभियानहरु चलायौं । अध्यावधिक योजनै बनाएर विकासको सुरुवात गरेका थियौं ।’

पारिवारिक पृष्ठभुमि

४ भाइमा जेठा मानबहादुरको परिवार लामो समयदेखि पोखरा फूलबारीमा कोठा भाडामा लिएर बस्दै छ । उनका एक भाइ पृथ्वीनारायण क्याम्पसमा अध्यापन गराउँछन् भने कान्छा भाइ अमेरिका छन् । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २८ निवासी मानबहादुरले सरल र मृदुभाषीको परिचय बनाएका छन् । ‘हाम्रो मध्यम परिवार हो । खेती गर्ने हो भने खान पुग्छ नत्र पुग्दैन,’ उनले भने । उनका ३ सन्तानमा २ छोरीको बिहे भइसकेको छ भने छोरा पढ्दैछन् । ‘स्टुडेन्ट भिसामा अमेरिका गएको छोरो केही महिनामै बिरामी भएर कोमामै पुग्यो । अहिले उपचारपछि घरमै आएर रिकभर भइरहेको छ,’ उनले पीडा पनि सुनाए । सामान्य पहिरन र सरल स्वभावका जिसी तडकभडकको जीवनदेखि टाढै छन् । उनी प्राय पैदलै गन्तव्य पुग्छन् । कहिले सार्वजनिक यातायात रोज्छन् तर कहिले साथीभाइसँग लिफ्ट लिन्छन् ।

पञ्चेले जागिर खोसेपछि…

ऊ बेला पञ्चायतले उनलाई जागिरबाट ननिकालिदिएको भए अहिले यहाँसम्म नआउन पनि सक्थे । राजनीतिक आस्था र विचारकै कारण उनको जागिर चट् भएको थियो । ‘कम्युनिस्ट भएकै कारणले स्कुलको शिक्षकबाट निकालियो । सार्वजनिक मुद्दाहरु पनि लागे,’ जिसीले भने । २०४४ सालमा पञ्चायतले निर्णय गरेर बकचन्द्रकला प्राविबाट उनलाई निकालियो । ०४६ सालको आन्दोलन सफल भएपछि पुनर्वहालीका लागि बोलाइए पनि उनी गएनन् ।

६२ दिन जेल अनुभव

राजा ज्ञानेन्द्र शाहको शासनविरुद्ध आवाज उठ्न थालिसकेका थिए । एमालेले पनि निरंकुशता विरुद्ध कार्यक्रम सुरु गरिसकेको थियो । फागुन ७ गते राजा ज्ञानेन्द्रको शासनविरुद्ध कार्यक्रम सार्वजनिक भइसकेको थियो । त्यसको भोलिपल्ट चिप्लेढुंगामा विरोधको कार्यक्रम हुँदै थियो । सेनाले धरपकड थालिहाल्यो ।

भोलिपल्ट मानबहादुरसँगै रवीन्द्र अधिकारी, राजीव पहारी, श्रीनाथ बराल लगायत पक्राउ परे । उनीहरु ६२ दिन जेल बस्नुर्पयो । ‘अरु छुटे, रिहाइको माग गर्दै रिट हालेपछि हामी अदालतको आदेशमा छुट्यौ,’ उनले कुराकानीको विट मार्दै भने ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल