डोल्पामा यार्सागुम्बा खोज्न हिमाली पाटनतर्फ जानेको ताँती, गाउँघर र स्कुल सुनसान

डोल्पामा यार्सागुम्बा खोज्न हिमाली पाटनतर्फ जानेको ताँती,  गाउँघर र स्कुल सुनसान

रामचन्द्र न्यौपाने

डोल्पा, जेठ ११– डोल्पा लगाएतका हिमाली जिल्लामा सदाझै यस बर्ष पनि वहुमुल्य जडीबुटी यार्सागुम्बा संकलन गर्ने सिजन सुरु भएको छ । वनस्पति र जीवको दुबै गुण पाईने मुल्यवान जडीबुटी यार्सागुम्बामा भोलीको भविश्य खोज्दै हिमाली पाटनतर्फ जानेको ताँती लागेको छ । जाजरकोट, रुकुम,रोल्पा,सल्यान लगाएतका जिल्लाहरुबाट हजारौँ सर्वसाधारणहरु डोल्पा आईपुगेका छन् । उच्च हिमाली क्षेत्रमा मात्र पाईने यार्सागुम्बाको पकेट क्षेत्रको रुपमा समेत डोल्पा चिँनिदै आएको छ ।
आम्दानीको स्रोत यार्सागुम्बा
उच्च हिमाली क्षेत्रमा पाईने वहुमुल्य जडीबुटी यार्सागुम्बा डोल्पाली मात्र नभई छिमेकी जिल्लाबासीहरुको समेत आम्दानीको मुख्य स्रोतको रुपमा रहेको छ । प्रत्येक बर्ष जेठ पहिलो सातादेखि असार पहिलो सातासम्मको एक महिनाको अवधिमा यार्सागुम्बा संकलन गरेर हरेक बर्ष डोल्पालीले लाखौँ आम्दानी गर्ने गर्दछन् । यार्सागुम्बा सिजन सुरु भएसँगै बन्दोबस्तीका सामानसहित दशौ हजार सर्वसाधारणहरु हिमाली क्षेत्रमा पुगेका छन् । यार्सागुम्बा पाटनमा अत्याधिक चिसो र स्वासप्रस्वासमा समस्या हुँदा ज्यानै जोखिममा परेपनि बाध्यताले पाटन यात्रा तय गर्नुपर्ने त्रिपुरा सुन्दरी नगरपालिका १ का स्थानीय बिरबहादुर थापाले बताए । यार्सागुम्बा टिपेर कमाएको आम्दानीले घर परिवारका समस्या पुरागर्नुका साथै बर्षभरीका आधारभुत आवाश्यक्ता पुरागर्ने गरेको थापाको भनाइ छ ।
मनग्य आम्दानी गरेर चाडपर्वमा राम्रो खाने,मिठो लगाउने तथा बालबच्चालाई गुणस्तरीय शिक्षा,स्वास्थ्य दिने सपना बुनेर यार्सागुम्बा टिप्न उच्च हिमाली क्षेत्र पुगेका दर्जन धेरै सर्वसाधारणहरुले प्रत्येक बर्ष ज्यान गुमाउने गर्दछन् । आर्थिक समृद्धीको सपना बुन्दै हिमाली पाटन पुग्नु सर्वसाधारणका लागि अत्यन्तै जोखिमपुर्ण मानिन्छ ।
आजबाट खुले यार्सा पाटन
बहुमुल्य जडीबुटी यार्सागुम्बा पाईने एकसय धेरै डोल्पाका हिमाली पाटनहरु जेठ ११ बाट खुलेका छन् । यहाँका भोक्पा,भाङ्का,सागबारी,कुनास,नावरपानी,रुपपानी,पोखेपानी,प्यारी भोक्पा,ताक्सी लगाएतका यार्सा पाटनहरु खुलेका हुन् ।
उक्त पाटनहरु केही सामुदायिक बन उपभोक्ता समितीको स्वामित्वमा रहेका छन् भने धेरैजसो शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्र भित्र पर्दछन् ।यस्ता वहुमसल्य जडीबुटीको पाईने महत्वपुर्ण स्थानको रुपमा रहेका हिमाली पाटनहरु आजैबाट खुलेको निकुञ्जले जनाएको छ ।
निकुञ्जका संरक्षण अधिकृत रामदेब चौधरीका अनुसार एक हप्ता अगाडी नै सार्वजानिक सुचना जारी गर्दै जिल्लाका सुलीगाड,त्रिपुराकोट,तोईजुम,त्रिपुराकोट,धो लगाएतका दश वटा प्रवेश नाकामा सर्वसाधारणहरु लाई रोकिएको थियो तर, आजबाटसंकलन दस्तुर लिँदै आफुले जान चाहेको सम्बन्धित यार्सा पाटन जान खुला गरिएको हो । राष्ट्रिय निकुञ्ज निर्देशिका अनुसार जिल्ला बाहिरकालाई ३ हजार,जिल्ला भित्रकालाई दुई हजार,संरक्षित क्षेत्रका सर्वसाधारणलई पाँच सय रुपैँयाका दरले संकलन दस्तुर लिएर पाटन खुला गर्ने गरेको चौधरीले बताए । ‘गत बर्ष ६ हजार धेरै सर्वसाधारणहरु पाटन प्रवेश गरेका थिए ,यस पटक पाटन प्रवेश गर्नेको सङ्ख्या अघिल्लो बर्षको भन्दा बढि हुने अनुमान गरेका छौ ’ चौधरीले बताए ।
जेठ ११ गते खुला गरेर असार ९ गते सम्मको एक महिने अवधि तोकेर मात्रै संकलन रसिद वितरण गरिएको छ । त्यो भन्दा पछिसम्म पाटनमा बस्न नपाईने कानुनी प्रावधान छ । यार्सागुम्बा टिप्न जानेहरुका सुरक्षाका लागि सेना प्रहरी,शसस्त्र प्रहरी समेत आफ्नै तरिकाले नाका तथा यार्सागुम्बा पाटनहरुमा खटिसकेको निकुञ्जले जनाएको छ ।
गाँउघर सुनसान
यार्सागुम्बा सिजनमा आम्दानी गर्न केटाकेटी,महिला,बुढा बुढी सबै यार्सागुम्बा संकलनका लागि पाटनको यात्रा तय गर्दछन् । हतार–हतारमा जेठासे बाली भित्रयाएर, असोजे बाली लगाँउदै घरमा पालिएका पशु चौपायलाई अरुको जिम्मा लगाई डोल्पालीहरु पाटनतिर लागेका छन् । गाउँका सबैजना यार्सा टिप्न गएपछि यहाँको तल्लो,मध्य तथा उपल्लो डोल्पाका अधिकाशं बस्ती सुनसान छन् । कतिपय होटेल व्यबसायी समेत व्यवसाय बन्द गरेर पाटनतिर लागेका छन् ।
शिक्षक,बिद्यार्थी समेत पाटनमा
डोल्पामा यार्सागुम्बा सिजन सुरुभए सँगै डोल्पाका कतिपय बिद्यालयहरु आशिंक रुपमा बन्द भएकाछन् भने धेरैजसो बिद्यालयहरु पुर्ण रुपमा बन्द भईसकेका छन् ।
यहाँका त्रिपुरा सुन्दरी नगरपालिकामा पर्ने जनप्रभा उमावि,आदर्श उमावि, ठुलीभेरी नगरपालिकामा पर्ने सरस्वती उमावि बिद्यालयहरुमा आंशिक रुपमा खुलेकाछन् भने तल्लो डोल्पा तथा उपल्लो डोल्पाका सबैजसो बिद्यालयहरु पुर्ण रुपमा बन्द भएकाछन् ।
डोल्पाली बिद्यार्थीका लागि यार्सागुम्बा सिजन महत्वपुर्ण भएकाले पढाई छाड्दै बर्षभोरीको पढाई खर्च जुटाउन यार्सागुम्बा टिप्न जानुपर्ने बाध्यता भएको त्रिपुरा मावि त्रिपुराकोटका बिद्याथी केशर सार्कीले बताए । जिल्लाका धेरैजसो घर परिवारको आर्थिक अवस्था कमजोर भएकाले आफ्नो छोराछोरी कापी कलम समेत किन्न नसक्ने अवस्था भएकाले पनि बर्षभोरीको पढाई जुटाउन पनि यार्सा टिप्न जानुको विकल्न नरेको सार्कीको भनाई छ ।
प्रत्येक बर्ष कार्यालयले यार्सागुम्बा सिजनमा डोल्पाका सबै तहका ११५ वटै बिद्यालयलाई बिद्यालय बन्द नगर्न प्रधानाध्यापकलाई निर्देशन दिँदादिँदै पनि बिद्यार्थीहरु आ–आफ्ना अभिभाबकहरु पाटन जाने भएकाले पनि यार्सागुम्बा संकलन सिजनमा डोल्पाका बिद्यालयहरु बन्द जस्तैहुने गरेर जिल्ला शिक्षा कार्यालय डोल्पाका शाखा अधिकृत सिंहराज डाँगीले बताए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल