दलित संघका उपाध्यक्षको हत्या आरोपमा समातिए म्यादी प्रहरी

दलित संघका उपाध्यक्षको हत्या आरोपमा समातिए म्यादी प्रहरी

काठमाडौं, जेठ ११– जिल्ला दलित संघ ललितपुरको उपाध्यक्ष दीपक परियारको हत्या अभियोगमा एक म्यादी प्रहरी पक्राउ परेका छन् । प्रहरीले म्यादी प्रहरी कुमार पाख्रिनलाई पक्राउ गरेको हो ।


जेठ २ गते गोदावरीमा सँगै मदिरा सेवन गरेर फर्कने क्रममा विवाद बढेपछि म्यादी प्रहरी कुमार पाख्रिनले परियारलाई ढुंगाले हानेर हत्या गरेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

जेठ ९ गते विहान गोदावरी नगरपालिका–११ तिनघट्टे भन्ने स्थानमा परियारको शव फेला परेपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।

अनुसन्धानका क्रममा गोदावरी नगरपालिका–९ छम्पी बस्दै आएका दलित संघका उपाध्यक्ष दिपक परियारको शव सनाखत भएपछि प्रहरीले अभियुक्तको खोजी थालेको थियो ।

तालिम प्राप्त कुकुरहरुको सहयोगमा अनुसन्धान गर्दा मृतक र सिन्धुलीको दुधौली स्थायी घर भई हाल ललितपुरको गोदावरी–९ छम्पी बस्दै आएका  पाख्रिनले हत्या गरेको खुल्न आएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएसपी ईश्वर कार्कीले जानकारी दिए ।
गत वैशाख ३१ गते सम्पन्न स्थानीय निर्वाचनको प्रयोजनार्थ म्यादी प्रहरीमा भर्ना भएका कुमार पाख्रिन र दिपक परियारले जेठ २ गते राती सँगै बसेर मदिरा सेवन गरेका थिए ।

घर फर्कने क्रममा बाटोमा पटक–पटक झै–झगडा एवं वादविवाद गर्दै जाने क्रममा गोदावरी नगरपालिका–३ तिनघट्टे भन्ने स्थानमा पुगेपछि कुमारले दिपकको टाउकोमा ढुंगाले हानेर फरार भएको खुल्न आएको कार्कीको भनाई छ ।

अभियुक्तलाई महानगरीय प्रहरी वृत चापागाउँको हिरासतमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल