देउवाले थाले सरकार गठनको गृहकार्य, को–को जालान् सरकारमा ?

देउवाले थाले सरकार गठनको गृहकार्य, को–को जालान् सरकारमा ?

काठमाडौ, जेठ ११ – कांग्रेसका सभापति शेरबहादुर देउवाले जेठ ३१ अघि नै आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्ने पहल थालेका छन् ।
प्रचण्डको राजीनामा आएको भोलिपल्ट देउवाले बिहीबार आफ्नै पार्टीका शीर्ष नेताको बैठक राखेर नयाँ सरकार गठनका लागि गृहकार्य सुरु गरेका हुन् ।

देउवाले आजैबाट अन्य दलहरुसँग पनि सरकार गठनबारे बृहद छलफल गर्ने कांग्रेसका नेताहरुले बताएका छन् । त्यसका लागि देउवाले आज पार्टी कार्यालयमा गर्ने भनेको पत्रकार सम्मेलन समेत स्थगित गरेका छन् ।

ठूलो दलका नेताको हैसियतले सरकार गठनको पहल थालेका देउवाले राष्ट्रपतिको आव्हानपछि संसद्मा रहेका दलहरूलाई पनि सरकारमा सहभागि हुन र सहयोगका लागि औपचारिक अनौपचारिक छलफल गर्ने बुझिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आजै दलहरुलाई सहमतिय सरकार गठनका लागि आव्हान गर्ने सम्भावना रहेको छ । उनले पहिलो चरणमा सहमती जुटाउन एक साताको समय दिने प्रावधानअनुसार नै सरकार गठनका लागि आव्हान गर्नेछिन् ।

पहिलो चरणमा सहमति नभए पुन राष्ट्रपतिले बहुमतिय प्रकृयाका लागि समय दिने संबैधानिक व्यवस्था छ । अहिलेकै अवस्थामा सहमतिय अधारमा सरकार गठन हुने सम्भावना न्युन छ । त्यसैले बहुमतिय प्रकृयामा जाँदा थप तीन दिनसम्म लाग्नेछ । जतिवेला निर्वाचनको मिति नजिकिएर उम्मेदवारी दिने समय आइसकेको हुनेछ ।

जेठ १९ गते निर्वाचन आयोगले दोस्रो चरणको चुनावका लागि उम्मेदवारी मनोनयनको समय तोकेको छ । उम्मेदवारको मनोनयन भैसकेपछि नयाँ सरकार गठन गर्नु त्यति व्यवहारिक समेत नहुने भएकाले  प्रधानमन्त्री चयन प्रक्रियाालाई  धेरैले निकै चासोका साथ हेरेका छन् ।

सरकारमा को–को जालान् ?
नेकपा माओवादी केन्द्रको नेतृत्व सरकार बन्दा नेपाली कांग्रेस, फोरम लोकतान्त्रिक, नेकपा संयुक्त, समाजवादी जनता पार्टी, स्वतन्त्रसहितको दलकाे सहयाेग  थियो ।  त्यसमा राजपाबाहेकका दल सरकारमै सहभागि  थिए।

आगामी गठबन्धनमा पनि प्रचण्ड सरकारमा सहभागी सबै दल कांग्रेस नेतृत्वको सरकारमा रहने पक्कापक्की जस्तै छ ।

तरपनि शेरबहादुर देउवा नेतृत्वको सरकारमा खासगरी मधेस केन्द्रीत दल त्यसमा पनि राजपाकाे सहभागिता के हुन्छ भनि चासो उत्पन्न भएको छ । संविधान संशोधनको प्रक्रिया संसदमा विचाराधीन रहेकाले राजपाले त्यसलाई पारित गराउन पनि देउवा सरकारलाई सघाउने देखिन्छ तर तत्काल सरकारमै सहभागि हुने सम्भावना भने कम रहेको राजपाका एक नेताले बताए ।

कांग्रेस नेता रमेश लेखकका अनुसार राप्रपा र राजपालाई पनि सरकारमा समेट्न कांग्रेसले पहल गर्नेछ । तत्काल मधेसी मोर्चा सरकारमा सहभागी नभए पनि राप्रपा भने सरकारमा सहभागी हुने कांग्रेसको आशा छ । यद्यपी राप्रपा र राजपाले यसबारे कुनै निर्णय भने गरिसकेका छैनन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल