दोस्रो चरणको चुनाव भन्दा एक साताअघि देउवा ‘प्रधानमन्त्री’

दोस्रो चरणको चुनाव भन्दा एक साताअघि देउवा ‘प्रधानमन्त्री’

काठमाडौं, जेठ १०– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेपालको इतिहासमा तेस्रो चौँथो पटक प्रधानमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार पदबाट राजिनामा दिएपछि देउवालाई प्रधानमन्त्रीका लागि बाटो खुला भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालिन सरकारको साथ छाडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली काँग्रेसको समर्थनमा नेपालको ३९ औं प्रधानमन्त्री चुनिएका थिए । नौ महिनापछि काँग्रेसलाई सत्ता हस्तान्तरण गर्ने पूर्व सहमतिअनुसार नै प्रधानमन्त्री प्रचण्डले बुधबार आफ्नो नैतिकताको आधारमा राजिनामा दिएको घोषणा गरेका थिए ।

नौ महिनाभित्र प्रचण्ड नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने र बाँकी नौ महिना काँग्रेस नेतृत्वको सरकारले संघ र प्रदेशको निर्वाचन गर्ने काँग्रेस र माओवादी केन्द्रबीच सहमति भएको थियो । तर एकै चरणमा निर्वाचन नभएपछि प्रचण्डले पहिलो चरणको निर्वाचन सम्पन्न गरी राजिनामा दिने सहमति दुई पार्टीबीच भएको थियो ।

नेपाली राजनीतिमा राजनीतिक इमानको कमी हुँदै आएको भन्दै प्रचण्डले वचनको भरोसा कायम राख्न राजिनामा घोषणा गरेको बताएका थिए । सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गरी राजिनामाको घोषणा गरी प्रचण्डले बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजिनामा पत्र बुझाएका थिए ।

अब राष्ट्रपति भण्डारीले राजिनामा स्वीकृत गरी नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गर्नेछिन् । संविधानअनुसार राष्ट्रपतिले सहमतिको सरकार गठनका लागि संसदमा प्रतिनिधित्व गरेका दलहरुलाई एक साताको समय दिनेछिन् । एक सातासम्म पनि सहमति जुट्न नसकेमा पुनः बहुमतको सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्न सक्नेछिन् ।

आलोपालो सरकार गठन गर्ने काँग्रेस र माओवादी केन्द्रबीच यसअघि नै सहमति भएकाले सबै दलको सहमतिमा सरकार गठन हुने सम्भावना न्यून छ । नेपाली काँग्रेसको संसदीय दलका नेता नै प्रधानमन्त्री बन्ने प्रावधान रहेकाले काँग्रेस सभापति देउवा नेपालको भावी प्रधानमन्त्रीका रुपमा लिइएको छ ।

संविधानको प्रक्रियाअनुसार जेठ ३१ का लागि तोकिएको दोस्रो चरणको स्थानीय तह निर्वाचन भन्दा झण्डै एकसाता अघि देउवा नेपालको इतिहासमै तेस्रो पटक ‘प्रधानमन्त्री’ बन्नेछन् । प्रचण्ड नेतृत्वको सरकारले गरेको अन्तिम मन्त्रिपरिषद् बैठकले मधेसमा २२ स्थानीय तहको संख्या थप गर्ने निर्णय गरेपछि त्यसको विरोधमा एमालेले संसद अवरोध गर्दै आएको छ ।

प्रचण्ड सरकारले तयार गरेको नीति तथा कार्यक्रम विहीबारको संसद बैठकमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूचि रहेको छ । नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि राष्ट्रले सहमतिको सरकार गठनका लागि दलहरुलाई आह्वान गर्नेछिन् ।

सहमतिको सरकार गठन नभएपछि पुनः बहुमतीय सरकार गठनका लागि आह्वान गर्ने भएकाले सम्भतः काँग्रेस सभापति देउवा स्थानीय तहको दोस्रो चरणको निर्वाचन भन्दा झण्डै एक साताअघि तेस्रो पटक मुलुकको ४० औं प्रधानमन्त्री बन्नेछन् ।

यो पनि पढ्नुसः

प्रचण्डको नैतिकता : देउवालाई बाटो खुला

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल