किर्ते कागजको स्रोत माग्दा डिआईजी सिलवालले भने, ‘ढाडको बिरामी छु, अदालतमै सोध्नुहोस्’ (बयानको पूर्णपाठ)

किर्ते कागजको स्रोत माग्दा डिआईजी सिलवालले भने, ‘ढाडको बिरामी छु, अदालतमै सोध्नुहोस्’ (बयानको पूर्णपाठ)

-राजेश भण्डारी

जेठ १०, काठमाडौं – डिआईजी नवराज सिलवालले कार्यसम्पादन मुल्यांकन किर्ते गरेर सर्वोच्च अदालतमा पेश गरेको ठहर गर्दै सरकारले छानविन समिती गठन गरेको थियो । प्रहरी प्रधान कार्यालयका डिआईजी बिजयकुमार भट्ट नेतृत्वको छानविन समितीले बोलाउँदा अटेर गरेपछि वैशाख ११ गते समितीले उनलाई नियन्त्रणमा लिएर बयान लिएको थियो । बयानका क्रममा सिलावलले आफ्नै रिटमा स्टिचीङ गरिएको कार्यसम्पादन मुल्यांकनको कपी बारे अनभिज्ञता प्रकट गरेका छन् ।

‘तपाईले सम्मानित सर्वोच्च अदालतमा पेश गरेको कार्यसम्पादन मुल्यांकनको प्रतिलिपी प्राप्तिको श्रोत के हो, खुलाई दिनुहोस् ?’ भन्ने समितीको प्रश्नमा सिलवालले भनेका छन्, ‘मैले बयानको असमर्थता ब्यक्त गरिसकेको छु, के–कस्तो कागज पेश गरेको हो, सर्वोच्च अदालत बुझि पाउँ !’

ढाडको बिरामी भएका कारण डाक्टरको सल्लाहले तिन साताको लागी बेड रेष्टमा रहेको भन्दै मानसिक रुपमा आफु बयान दिन असमर्थ रहेको बताएका सिलवालले बरिष्ठ अधिवक्ता सम्भु थापाको सहयोगमा समितीसमक्ष बयान दिएका थिए । सिलवालले दिएको बयानको पुर्णपाठ रातोपाटीले प्राप्त गरेको छ । कार्यसम्पादन मुल्याकनको सक्कल प्रति प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय र लोकसेवा आयोगमा मात्र रहन्छ । कासमुको फोटोकपी समेत गर्न नपाईने कानुनी प्रावधान भएपनी सिलवालले प्रकाश अर्यालको नियुक्ती बदर गर्न माग गर्दै दायर गरेको रिटमा फोटोकपी पेश गरेपछी सरकार सशंकीत भएको थियो । उनले पेश गरेको फोटोकपी नक्कली भएको ठहर गर्दै समिती गठन गरेर सकारले छानविन थालेको थियो, तर सर्वोच्चको आदेशपछी उक्त छानविन फेरी रोकिएको छ ।

यस्तो छ सिलवालले छानविन समिती समक्ष दिएको बयान् :

सवाल नं १–तपाईको नाम थर, वतन, बावु बाजेको नाम थर, दर्जा र कार्यरत स्थान समेत खुलाई दिनुहोस् ?
जवाफ नं १–मेरो नाम नवराज सिलवाल हो, मेरो वतन ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नम्बर थाहा भएन् । मेरो बावुको नाम दिल बहादुर सिलवाल, बाजेको नाम झपट बहादुर सिलवाल हो । मेरो दर्जा प्र.ना.म.नी र कार्यरत स्थान केन्द्रीय अनुसन्धान ब्युरो महारजगञ्ज हो र हाल म डाक्टरको सल्लाह अनुसार तिन हप्ताको लागी बेड रेष्टमा रहेको छु ।

सवाल नं २– तपाई यहाँ किन उपस्थित हुनु भएको हो ?
जवाफ नं २– म पशुपति जाने क्रममा प्रहरी टोली आई प्रहरी प्रधान कार्यालय जाउँ भनि मलाई भनेकोमा म कानुन ब्यवसायी बरिष्ठ अधिवक्ता शम्भु थापाकोमा गई सल्लाह लिएको अवस्थामा प्रहरीले ल्याएको हो ।

सवाल नं ३–तपाई छानविन समिती समक्ष बयान कार्यका लागी शारिरीक तथा मानसिक रुपमा तयार हुनुहुन्छ ?
जवाफ नं ३– मानसिक रुपले बयान दिन असमर्थ छु, कारण प्रहरी महानिरीक्षकको बढुवाको सम्वन्धमा जय बहादुर चन्दको बिरुद्धमा मुद्धा दायर गरी वृहतपुर्ण ईजलाशबाट फैसला भए पश्चात प्रहरी महानिरीक्षकको पदमा अन्य ब्यक्ति बढुवा भएको र मैले मुद्धा हाली हाल १९ गते सुनुवाईको लागी मिती तोकिएको छ । यसै अवस्थामा सर्वोच्च अदालतमा पेश भएका कागजातको सन्दर्भमा बयान दिने भनि समिती गठन गरेको भनि आएको खबरको सन्दर्भमा सर्वोच्च अदालतमा मिती २०७४ वैशाख ९ मा पुरक निवेदन दायर गरी विचाराधिन रहेको अवस्थामा मानसिक रुपमा तनावग्रस्त भएको र ढाडको बिरामी भै चिकीत्सको सल्लाह अनुसार बेड रेष्टमा रहेकाले बयान दिन असमर्थ रहेको छु ।

सवाल नं ४. तपाईले प्रहरी प्रधान कार्यालय समेतलाई विपक्षी बनाई सम्मानित सर्वोच्च अदालतमा दायर गर्नु भएको रिट नम्बर २०७३–डब्लु ओ–१०९२ को रिट निवेदनको प्रकरण नम्बर ३० (ङ) मा तपाई रिट निवेदक आफ्नो र तत्कालिन प्रहरी नायव महानिरीक्षक प्रकाश अर्यालको आव २०७२÷७३ को कार्यसम्पादन मुल्यांकन फारम थान–२ समेत पेश गर्नुभएको पाईयो । उल्लेखित कासमुका प्रतिलिपी प्राप्तिको श्रोत के हो ? खुलाई दिनुहोस् ?
जवाफ नम्बर ४– यो भन्दा माथी बयानको असमर्थता ब्यक्त गरि सकेको छु । के–कस्तो कागज पेश गरेको हो, सर्वोच्च अदालत बुझि पाउँ आफुनो मुद्धाको सम्वन्धमा मैले अन्यत्र भन्ने र बयान दिने दिलाउने कार्य अदालतको मानहानीजनक हुने ब्यहोरा गनुरोध गर्छु ।

सवाल नं ५– तपाईले सम्मानित सर्वोच्च अदालतमा पेश गरेको तपाईको नामको पाना ६ र तत्कालिन प्रहरी नायव महानिरीक्षक प्रकाश अर्यालको नामको पाना ४ भएको आ.व. २०७२÷७३ को सर्वोच्च अदालतबाट प्राप्त भएको कासमुको प्रतिलिपीको प्रमाणित प्रतिलीपी तपाईलाई देखाई सोधनी गरिन्छ, कि उक्त कासमुको प्रतिलिपी सम्मानित अदालतमा पेश गरेको हो, होईन् ?
जवाफ नं ५–यस सम्बन्धमा पनि बयान दिन नसक्ने ब्यहोरा माथि उल्लेख गरि सकेको छु । सर्वोच्च अदालतमा बिचाराधित रहेको मेरो रिट निवेदनको सम्वन्धमा सुनुवाई हुँदा सोही अदालतमा रहेको कागजात र यो भन्दा अगाडी बृहद पुर्ण ईजलाशबाट अंक समेत गणना गरी गरेको फैसलाको आधारमा मेरो कानुन ब्यवसायीले प्रतिरक्षा गर्ने ब्यहोरा जानकारी गराउँदछु । मुद्धामा विपक्षी भएका निकाय, कार्यालय, अधिकारी समक्ष मानसिक रुपले र शारिरिक रुपले असमर्थ छु ।

सवाल नं ६– प्रहरी नियमावली–२०७१ अनुसार प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय र लोकसेवा आयोगमा १–१ प्रति सिलवन्दी र गोप्य रुपमा रहने कासमु हरु कसरी प्राप्त गर्नु भएको हो, यस कार्यमा अन्य कसैको संलग्नता रहेको छ छैन ?
जवाफ नं ६– माथिको ब्यहोरा बमोजिम बयान गर्न सक्दिनँ । के–कसरी गोप्य राखिएको हो, गोप्य राख्ने अधिकारीलाई थाहा होला ।

सवाल नं ७–तपाईले सम्मानित सर्वोच्च अदालमा पेश गरेको तपाई र तत्कालिन प्र.ना.म.नी प्रकाश अर्यालको नामको आ.व. २०७२÷७३ को कासमुको प्रतिलिपी हाल तपाईसँग छ, छैन ? यदि छ भने छानविन समिती समक्ष पेश गर्नुहुन अनुरोध छ ?
जवाफ नं ७– माथि भने बमोजिम बयान गर्न असमर्थ छु, मेरो कानुन ब्यवसायीले सर्वोच्च अदालतमा बहस पैरवी गर्ने छन् ।

सवाल नं ८–तपाईले सम्मानित सर्वोच्च अदालतमा पेश गरेको तपाईको नामको पाना ६ को का.स.मु. प्रतिलिपी सक्कली हो, होईन् ?
जवाफ नं ८– बयानको ब्यहोरा माथि भने बमोजिम दिन असमर्थ छु । तथापी सर्वोच्च अदालतको वृहत पुर्ण ईजलाशबाट अंक गणना भैसकेकाले कासमुको विषयमा केही भन्नु पर्ने अवस्था छैन ।

सवाल नं ९–तपाईले सम्मानित सर्वोच्च अदालमा पेश गरेको तपाईको नामको पाना ६ को कासमुको पहिलो चार पानामा उत्साह (युनिकोड)फन्ट र ५ औं पानामा कालिमाटी (युनिकोड) र छैटौं पानामा मिश्रीत रुपमा उत्साह (युनिकोड) र कालिमाटी (युनिकोड) फन्टहरुको प्रयोग भएका छन् । उक्त डकुमेन्टमा एकरुपता र अनुकुल तालमेल हुनुको कारण केहो ?
जवाफ नं ९– बयान दिन माथि भने बमोजिम असमर्थ छु, तथापी के कुन कागज परिक्षण के–कस्ले गरेका हुन थाहा भएन् ।

सवाल नं १०– तत्कालिन प्र.ना.म.नी. प्रकाश अर्यालको का.स.मु.को सम्पुर्ण डकुमेन्टमा कालिमाटी (युनिकोड) फन्ट प्रयोग भएको र एकरुपता भएको देखिन्छ, तपाईको कासमुको पाँचौ पानामा कालिमाटी (युनिकोड) र छैटौं पानामा मिश्रीत रुपमा उत्साह युनिकोड र कालिमाटी (युनकिोड) फन्टहरुको प्रयोग भएका छन् । तपाई र तत्कालिन प्रनामनी प्रकाश अर्यालको कासमुको फन्टहरु के–कसरी एउटै हुन गएका हुन्, खुलाई दिनुहोस् ?
जवाफ नं १०– माथि भनेबमोजिम बयान दिन असमर्थ भएको ब्यहोरा जानकारी गराएको छु,तथापी वृहत पुर्ण इजलाशबाट अंक गणना गरी म नवराज सिलवाल प्रथम रहेको आदेश भैसकेपछी त्यो सर्वोच्च अदालतको फैसलापछी के कुन कानुनले न्यायिक विचाराधिन मुद्धामा अदालतको अधिकार क्षेत्र हस्तक्षेप गरि मानहानी हुनेगरी के–कस्तो कार्य गरिएको हो थाहा भएन् साथै कुनै पनि विषयमा बयान लिने भनी सकेपछी त्यसको तथ्य प्रमाण अभियोग जानकारी दिई गरिन्छ तर प्रस्तुत विषयमा एकाएक बोलाउनु बाट संविधान र कानुनको हक अतिक्रमण गरि बयान लिएको मेरो शारिरीक र मानसिक अवस्था समेतको कारणले भएको ब्यहोरा दर्शाएको छु ।

सवाल नं ११– तपाईले प्रहरी प्रधान कार्यालय समेतलाई श्रि सर्वोच्च अदालतमा दायर गर्नुभएको रिट नम्बर २०७३–डब्लुओ–१०९२ को रिट निवेदनको प्रकरण नम्बर १० मा चार बर्षको कासमुको अंक अदालतको अभिलेखमा जनि सकेको भनि तपाई र तत्कालिन प्रनामनी प्रकाश अर्यालको कासमुको अंक उल्लेख गर्नु भएको छ । यसको स्रोत केहो ? उक्त अंक के कसरी प्राप्त गर्नु भएको हो ?
जवाफ नं ११– माथि भनेबमोजिम बयान दिन सक्दिन् तरपनी अदालतको न्यायिक अधिकारमा गएको विषयमा खोजविन गर्नु मेरो प्रत्यासी प्रकाश अर्यालको के मनसाय छ, बुझि पाउँ ?

सवाल नं १२–तपाईले सर्वोच्च अदालतमा दायर गर्नुभएको रिट नम्बर २०७३–डब्लुओ–१०९२ को रिट निवेदनको प्रकरण नम्बर २१ मा उल्लेख गर्नुभएको ब्यहोरा पढी बाची सुनाईन्छ, तपाईले उल्लेख गरेबमोजिम रिट नम्बर २०७३–डब्लुएफ–००२२ को सर्वोच्च अदालतमा पुर्ण पाठको लागी अभिलेखमा रहेको कासमुको अंकको तपाईलाई कसरी जानकारी भयो ?
जवाफ नम्बर १२– सर्वोच्च अदालमा अंक गणना गरेको विषय सर्वोच्च अदालमा नै बुझि पाउँ ।

सवाल नम्बर १३–तपाईको कासमुको पाँचौ पाना र तत्कालिन प्रनामनी प्रकाश अर्यालको तेस्रो पानाको प्रकति र फन्टहरु एउटै देखिएकोमा तत्कालिन प्रनामनीको कासमुको तेस्रो पानालाई तपाईको आफ्नो कासमुको पाँचौ पानामा हु–बहु राखी पेश गर्नु भएको हो, होईन् ?
जवाफ नम्बर १३–सर्वोच्च अदालतको पुर्ण ईजलाशको पाठ र बर्तमान पेश गरेको कागजहरु सर्वोच्च अदालतमा हेरी त्यहिँ भन्ने छु ।

सवाल नम्बर १४–तपाईको कासमुको छैटौं पानाको खण्ड ३ र ४ र प्रकाश अर्यालको कासमुको चौथो पानाको खण्ड ३ र ४ का प्रकृत्ति र फन्टहरु एउटै देखिएको, तपाईको कासमुको छैटौं पानाको खण्ड ३ र ४ एकरुपता र अनुकुल रहेको सो बाहेक अन्य अर्कै फन्टमा रहेको देखिएकाले तपाईले तत्कालिन प्रनामनी प्रकाश अर्यालको कासमुको पाना ४ को खण्ड ३ र ४ लाई तपाईको कासमुको पाना ६ को खण्ड ३ र ४ मा कम्युटर प्रविधीको माध्यमद्वारा किर्ते गरी जस्ताको तस्तै कपि गर्नु भएको हो, होईन् ?
जवाफ नं १४–मेरो शारिरीक र मानसिक अवस्थाले बयान दिन नसक्ने कुरा सवै सवाल जवाफमा आकर्षित हुन्छ तथापी के–कस्तो कागज कहाँबाट कसले ल्याई के–कस्तो प्रश्न गरेको हो र परिक्षण गरेको हो म बुझन् सक्दिन् । सम्मानित समिती आफैं उपस्थित भई आफ्नो क्षेत्राधिकार रहेको ब्यहोरा देखाउन अनुरोध गर्दछु ।

सवाल नं १५–तत्कालिन प्रनामनी प्रकाश अर्यालको कासमुको पाना नं ४ र तपाईको कासमुको पाना नम्बर ६ लाई एउटै स्केलमा एक अर्को माथि राखेर सुपर इम्पोजिशन गरी हेर्दा दुवै कासमुको खण्ड ३ र ४ को भाग हु–बहु भएकाले एक आपसलमा विलय भएको र अन्य भागको छुट्टा छुट्टै अस्तित्व देखिएकाले तपाईले तत्कालिन प्रनामनी प्रकाश अर्यालको कासमुको पाना नम्बर ४ को खण्ड ३ र ४ हु–बहु कपी नगरेको प्रमाण छ भने खुलाई दिनु होस् ?
जवाफ नं १५– माथि भने बमोजिम शारिरीक र मानसिक अवस्थाले प्रश्नहरु बुझ्न नसकिने साथै के–कस्तो कागजको आधारमा तयार गरेको हो बुझ्न सक्दिनँ ।

सवाल नं १६– तपाईले अदालतमा पेश गरेको कासमु को पाना नं ६ मा सुपरिवेक्षक तत्कालिन प्र.अ.म.नि विरेन्द्रबावु श्रेष्ठले औचित्य र कारण पुछारमा (पेजको) लेखिएको र हस्ताक्षर गरिएको, उक्त पेजको शिरानमा पुनरावलोकन कर्ताले औचित्य र कारण खोलेकोमा सुपरिवेक्षकले लेखेको औचित्यमा ३ जनाको हस्ताक्षर भएको देखिएकोले के कसरी त्यस्तो हुन गएको हो खुलाई दिनुहोस् ?
जवाफ नं १६– माथि भने बमोजिम मानसिक र शारिरीक कारणले बुझ्न नसक्ने र निराधार प्रश्नहरु राखेकोले मैले केही भन्न नसक्ने ब्यहोरा अनुरोध छ ।

सवाल नं १७– तपाईले सम्मानित सर्वोच्च अदालतमा पेश गर्नुभएको कासमु थान–२ हेर्दा तपाईको सुपरिवेक्षक तत्कालिन प्रअमनी विरेन्द्रबावु श्रेष्ठ रहेको र तत्कालिन प्रनामनी प्रकाश अर्यालको सुपरिवेक्षक तत्कालिन प्रअमनी प्रताप सिंह थापा रहेकोमा दुवै कासमुको सुपरिवेक्षकबाट दिईएको अंक र अक्षरमा लेखिएको हस्तलिखीत समान देखिन्छ यसमा तपाईको भनाई के छ ?
जवाफ नं १७– मैले माथि भनेकै उत्तरहरु आकर्षित हुन्छन् यि सवै विषयमा सर्वोच्च अदालतले निरुपण गरी कसेको र निरुपण हुने विषय हो,मुद्धाको सुनुवाई हुनुअघी के कसरी प्रश्नहरु र कागजातहरु तयार गरेको हो, म केही भन्न सक्दनँ ।

सवाल नं १८–माथि लेखिएको सवाल नं १ देखी १७ सम्म सोधिएको प्रश्न र सोको जवाफ तपाईलाई पढीबाची सुनाईन्छ, तपाईले भने बमोजिम लेखिएको छ छैन र तपाईको स्वतन्त्र रुपमा प्रस्तुत बयान गर्नुभएको हो होईन् ?

जवाफ नं १८– मैले बयान दिन नसक्ने भनी माथि नै उल्लेख गरी सकेको छु, तसर्थ शारिरीक र मानिसक अवस्थामा पिडा हुनेगरी बयान दिएकोलाई स्वेच्छापुर्वकको बयान होईन् ।

तथापी मेरो निजी कानुन ब्यवसायी बरिष्ठ अधिवक्ता शम्भु थापाको घरमा राय सल्लाह गर्न जान दिई मलाई उनि समेतको उपस्थितीमा लिएर आएको र निजसँग सल्लाह लिई बयान दिएको हुँ । साथै मलाई यस सम्मानित समितीमा उपस्थित हुनैपर्ने भन्ने सन्दर्भमा प्रहरीद्वारा ल्याईएकाले मेरो उपस्थिती गैर कानुनी भएकाले मेरो हकमा बन्दी प्रत्यक्षीकरण समेत दिईएको भन्ने जानकारी पाईएको छु ।

यदि बन्दी प्रत्यक्षीकरण दायर भएको रहेछ भनेपनी यो काम कारवाही अमात्य हुने र यस्तो प्रकारको समिती गठन गरी मुद्धामा प्रभाव पार्ने प्रमाणको श्रृष्ठि गर्ने सन्दर्भमा मिती २०७२ वैशाख १० मा सर्वोच्च अदालतमा रिट निवेदन दिईसकेकोले अदालतमा विचाराधिन विषयमा गरिएको हस्तक्षेपयुक्त कामकारवाही शुन्य र प्रभाव बिहीन हुने भएकाले आफुलाई थाहा जानकारी हुने नसक्ने विषयमा प्रश्न सोधिएको र त्यसमा उत्तर दिन नसक्ने ब्यहोरा पनी मनोमान राजिखुसीसँग लेखाई कानुन ब्यवसायी सम्भु थापा समेतको उपस्थितीमा सहि गरिदीएको छु साथै यसको प्रतिलिपी पनि पाउन अनुरोध गर्दछु भनी सहि गर्ने

उपस्थिती                                                                    निज
बरिष्ठ अधिवक्ता शम्भु थापा                                         प्र.ना.म.नी. नवराज सिलवाल
ईति सम्वत २०७४ साल वैशाख ११ गते रोज २ शुभम् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल