मध्यरात ललितपुरमा उदायो काँग्रेस

मध्यरात ललितपुरमा उदायो काँग्रेस

-कृष्ण गिरी

जेठ १०, काठमाडौं – अन्ततः ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका चिरीबाबु महर्जन मेयर पदमा निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई ३ सय २६ मतको फरकले पछि पार्दै ललितपुर
महानगरपालिकाको मेयर बन्न सफल भएका छन् ।

मंगलबार राति साढे १ बजे घोषणा गरिएको अन्तिम मतपरिणमको नतिजाअनुसार महर्जनले २४ हजार ६ सय ४२ मत पाए । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारको पक्षमा २४ हजार ३ सय १६ मत छ ।  तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका दिनेश महर्जनले १० हजार ६६१ मत पाए ।

त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसकी गीता सत्याल १९२३६ मत ल्याएर विजयी भएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी साझा पार्टीकी शोभा शाक्यले १४४३३ मत पाएकी छन्। एमालेसँगको गठबन्धनबाट उमपेयरको उम्मेदवार बनेका राप्रपाका बाबुकाजी थापाले १०५४७ मत प्राप्त गरे ।

मतगणनाको सुरुमा यहाँ एमालेका व्यञ्जनकारले नै अग्रता लिइरहेका थिए। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका महर्जनले वडा नम्बर ११ को गणनाबाट व्यञ्जनकारलाई पछि पारेका हुन्।

२९ वटा वडा रहेको ललितपुरमा २८ वटा वडाको मतपरिणाम आउँदा नेपाली कांग्रेसले ३४९ मतको अग्रता लिएको थियो । यसैगरी एमालेले महालक्ष्मी नगरपालिका र महांकाल गाउँपालिका जितेको छ । महालक्ष्मी नगरपालिकाको प्रमुखमा रामेश्वर श्रेष्ठ र उपप्रमुखमा निर्मला थापा तथा महांकाल गाउँपालिका अध्यक्षमा रामचन्द्र दाहाल र उपाध्यक्षमा कमला तामाङ विजयी भएका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल