एमाले अभियानका क्रममा ज्यान गुमाएका पाँचै जना शहीद

गृहमन्त्रीले गरे राहत रकम हस्तान्तरण

एमाले अभियानका क्रममा ज्यान गुमाएका पाँचै जना शहीद

राजबिराज, जेठ ३– सरकारले स्थानीय तहको पहिलो चरणको चुनावअघि नेकपा एमालेले गरेको मेची महाकाली अभियानका क्रममा सप्तरीमा ज्यान गुमाएका पाँचै जनालाई सरकारले शहीद घोषणा गरेको छ ।
बुधबार सप्तरी सदरमुकाम राजविराजमा आयोजित कार्यक्रममा गृहमन्त्री विमलेन्द्र निधिले पाँचै जनालाई शहीद घोषणा गरिएको जानकारी दिए ।

स्थानीय तहको पहिलो चरणमा भएको ३४ जिल्लाको निर्वाचनको परिणाम आउँदै गर्दा र मधेसमा हुने दोस्रो चरणको निर्वाचनअघि गृहमन्त्री निधिले सप्तरीमै पुगेर यस्तो जानकारी दिएका हुन् । मन्त्रिपरिषद्को वैठकले पाँचै जनालाई शहीद घोषणा गरेको बताए ।

यसअघि स्थानीय प्रशासनले उक्त घटनामा मारिएकालाई शहीद घोषणा गर्न सरकारलाई सिफारिस गर्ने सहमति पीडित पक्ष तथा मधेसी मोर्चासँग गरेको थियो ।

बुधबार राजविराजमा आयोजित कार्यक्रममा गृहमन्त्री निधिले शहीद परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहत हस्तान्तरण पनि गरेका छन् । राहत स्वरुप मृतक परिवारलाई १० लाख राहत दिने सरकारले यसअघि नै निर्णय गरेको थियो ।
मधेसी मोर्चाको विरोधका बाबजुद एमालेले मेची–महाकाली अभियानअन्तर्गत फागुन २३ गते सप्तरीको मलेठस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा कार्यक्रम गर्दा मोर्चाको प्रहरीसँग झडप भएको थियो । सोही क्रममा प्रहरीले गोली चलाउँदा मोर्चाका पाँच कार्यकर्ताको मृत्यु भएको थियो ।

प्रहरीको गोली लागि सप्तरी मलेठका सन्जन मेहता, पीताम्बर मण्डल र वीरेन्द्र महतो, प्रसवनीका आनन्द साह र जमुनी मधेपुराका इन्द्रदेव यादवको मृत्यु भएको थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल