अपाङ्गता भएकाका लागि करुणा फाउन्डेसन : पाँचसय भन्दा बढीले पाए सहयोग

२१ वैशाख  |   रासस

अपाङ्गता भएकाका लागि करुणा फाउन्डेसन : पाँचसय भन्दा बढीले पाए सहयोग

इलाम, २१ वैशाख – इलाम जिल्लाको साबिक आमचोक–४, हाल फाकफोकथुम–३ की टीकामाया पाण्डेको सानो छँदा आगोले खुट्टा पोलेपछि हिँड्डुल गर्न कठिन भयो । ११ वर्षीया पाण्डे खुट्टा खोज्याउँदै विद्यालय जाने, घरबाहिरको काम गर्नुपर्ने बाध्यतामा थिइन् ।

सानो कद, त्यहीमाथि खुट्टाको भर नहुँदा उनलाई घरको त के कुरा, विद्यालय जान आउन पनि समस्या थियो । तर एचआरडिसी, बनेपा गएर दुई साताको लामो बसाइपछि कृत्रिम खुट्टा लगाएर फर्किएपछि अहिले उनलाई बाहिर–भित्र गर्न, विद्यालय आउजाउ गर्न र घरको काममा धेरै सहज भएको छ । “खुट्टा लगाएपछि हिँड्डुल गर्न धेरै सजिलो भएको छ”, टीका भन्छिन् । आमचोककै १५ वर्षीय प्रवीन बराइली पनि पाँच महिनाको हुँदा उनको दाहिने खुट्टामा आगोले पोलेर अपाङ्गता भएको थियो ।

सानै उमेरमा आगोले खुट्टा पोलेपछि उनको बाँकी जीवन कष्टकर बन्दै गएको थियो । तत्काल परिवारले उपचारमा विभिन्न स्थानमा लगे । तर चिकित्सकले धेरै रकम खर्च लाग्ने बताएपछि उनको जीवनमा थप पीडा थपियो । उपचार गरौँ भने पैसा छैन, नगरौँ भने छोराको भविष्य अन्धकार, परिवारलाई थप चिन्तित बनायो । आर्थिक अवस्था कमजोर भएकाले परिवारले ठूलो अस्पतालमा लैजान सकेनन् । यसरी विविध कारणले शारीरिक अपाङ्गता भएका व्यक्तिका लागि करुणा फाउन्डेसन नेपालले सञ्चालन गरेको अपाङ्गता पहिचान शिविर वरदान साबित भयो ।

अपाङ्गता पहिचान शिविरमा आएका प्रवीन र टीकालाई उपचारका लागि एचआरडिसी बनेपा लगियो । बनेपाबाट कृत्रिम खुट्टा लगाएर दुवै फर्किए । यी दुई उदाहरण मात्रै हुन् । पछिल्लो तीन वर्षमा यस्तै पीडा भोग्दै गरेका इलामका पाँचसय १५ जना अपाङ्गता भएका बिरामीले फाउन्डेशनको सहयोगमा उपचार पाएका छन् । आर्थिक अभावका कारण उपचार गर्न नसकेर घरमै थलिएर बसेका विभिन्न प्रकृतिका बिरामीको करुणा फाउण्डेसनले उपचार गराएको हो । उपचार पाएपछि उनीहरूको दैनिकी पहिलेको तुलनामा सहज बनेको छ ।

उपचार पाउनेमध्ये २५ जना गम्भीर प्रकृतिका बिरामी थिए । कतिपयको टाउकाको शल्यक्रिया, स्पाइनल कर्ड (मेरुदण्ड) को उपचार, कतिपयको हात तथा खुट्टाको पटक-पटक शल्यक्रिया गरिएको करुणा फाउन्डेसनका व्यवस्थापक अजित योञ्जनले जानकारी दिए ।

“एउटै बिरामीलाई छ-सात महिना आइसियुमा राखेर उपचार गराएका छौँ”, उनले भने , “सामान्यदेखि जटिल समस्या भएका धेरै अपाङ्गता भएका व्यक्तिले निःशुल्क उपचार पाएका छन् ।” करुणा फाउन्डेसनले हालसम्ममा पाँचसय ५० भन्दा धेरैको उपचार गरिसकेको जनाएको छ ।

अपाङ्ता भएका व्यक्तिको पुनःस्थापना र रोकथामका लागि इलाममा सञ्चालित परियोजनाअन्तर्गत तीनसय ८७ जनालाई सहायक सामग्रीसमेत वितरण गरिएको छ ।

सुरुमा जिल्लाका १२ गाविसमा सञ्चालित उक्त परियोजना अघिल्लो वर्ष १५ र यो वर्ष जिल्लाव्यापीरूपमा सञ्चालन गरिने समेत व्यवस्थापक योञ्जनले बताए । कार्यक्रमअन्तर्गत एउटै गाविसमा उपचारका लागि मात्रै एक लाख २० हजारसम्म रकम विनियोजन भएको छ भने जिल्लामा उपचार गराउन नसक्नेलाई केन्द्रीय तहबाट पनि निरन्तर उपचार गरिरहेको फाउन्डेसनले जनाएको छ । एउटै गाविसमा पाँच वर्षसम्म सञ्चालन हुने कार्यक्रममा करिब रु ३० देखि ३५ लाखसम्म खर्चिने योञ्जनले बताए ।

अपाङ्गता भएका व्यक्तिको सङ्ख्या, अवस्था, भौतिक संरचनाको आवश्यकताका आधारमा रकम फरक पर्ने गरेको छ । अपाङ्ता भएका व्यक्तिको हेरचाह र पुनःस्थापनामा गाविसले समेत लगानी गरेको छ ।

तीन वर्षसम्म परियोजनाले आर्थिक साझेदारी गर्नेछ । बाँकी दुई वर्ष प्राविधिक सहयोग मात्र रहने करुणा फाउन्डेसनले जनाएको छ । अपाङ्ता भएका बच्चाको जन्मदर घटाउन मोबाइलबाट गर्भवती महिलाको दर्ता, पोषण, गाउँ गाउँमा फिजियोथेरापी सेवा, स्वास्थ्य शिविर नियमितरूपमा सञ्चालन गर्दै आएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल