जहाज नपाएपछि हुम्ला जाने यात्रु सुर्खेतमा अलपत्र

जहाज नपाएपछि हुम्ला जाने यात्रु सुर्खेतमा अलपत्र

आकाश तारा बयक

सुर्खेत, वैशाख २०– हवाई जहाज नपाएपछि हुम्ला जाने यात्रु सुर्खेतमा अलपत्र परेका छन् । सडक यातायात नपुगेको हुम्ला जिल्लाका लागि हवाई जहाजको टिकट नपाएर १२ दिनदेखि दर्जनौं यात्रु सुर्खेतमा अलपत्र परेका हुन् ।

मकालु एयरलाइन्स मर्मतको लागि काठमाडौं गएको र सीता, गोमालगायत अन्य जहाज पूर्वतिर पर्यटक ओसार्न लागेपछि स्थानीय यात्रु अलपत्र परेका हुन् ।

जहाजको अभावमा हुम्लासँगै कर्णालीका जुम्ला, मुगु, हुम्ला र डोल्पाका यात्रुलाई कठिनाई भइरहेको छ । सुर्खेतबाट उडान नभएपछि हुम्लाका मात्रै १७ जना यात्रु ऋण गरेरै होटेलमा बस्न बाध्य भएको हुम्ला छित्राका जगत रावतले बताए ।

‘दैनिक एक हप्तादेखि दिनभर विमान स्थलमा भौतारीने र साँझ होटल फर्किदैमा बितेको छ,’ उनले भने, ‘खल्तीमा भएको पैसा सकियो, अब कति दिन कसरी यही बसिराख्ने ।’ उनले विमानको अनिश्चितताका कारणले दिनप्रतिदिन सास्ती बढ्दै गईरहेको गुनासो गरे ।

हवाई टिकटका लागि दुई हप्तादेखि दिनभर विमान स्थलमा भौतारीने र साँझ होटेल फर्किदै गरेको हुम्लाका व्यापारी कुमार सुनारले दुःखेसो गरिन् । विमानको पर्खाईमा दश दिनदेखि सुर्खेत विमानस्थलमा अलपत्र परेकी हुम्ला सिमिकोट तल्लोगाउँकी पवित्रा तामाङले पैंसा तिरेर पनि घर जान नपाउँदा गाह्रो गाह्रो भइरहेको बताइन् ।

यता नागरिक उडड्यन कार्यालय सुर्खेतका प्रबन्धक विनोद पन्तले यतिबेला प्रतिकुल मौसम भएका कारणले नियमित फ्लाइट नभएपनि कहिले काँही फ्लाइट हुने गरेको जानकारी दिए ।

मर्मतका लागि काठमाडौं गएको मकालु एयरको विमान आउने वित्तिकै एक दुई दिनमा नै सहज वातावरण बन्ने उनको भनाइ छ ।

पर्यटन मन्त्रालयबाट निजी विमान कम्पनीले कर्णालीमै उडान भर्ने भनेर अनुमति ल्याउने र उडानमा मनपरी गरिएका कारण कर्णालीवासीले समस्या खेप्नु परेको छ । रारा भ्रमणमा आएका आन्तरिक पर्यटकहरु जहाज अभावमा थप समस्यामा परेका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल