रोनाल्डोको ह्याट्रिकले रियल च्याम्पियन्स लिगको फाइनल नजिक (भिडियो)

रोनाल्डोको ह्याट्रिकले रियल च्याम्पियन्स लिगको फाइनल नजिक (भिडियो)

म्याड्रिड, वैशाख २० – रोनाल्डोले च्याम्पियन्स लिगमा लगातार दोस्रो ह्याट्रिक गरेपछि एथ्लेटिको म्याड्रिडलाई पराजित गर्दै रियल म्याड्रिड प्रतियोगिताको फाइनलमा एक कदम नजिक पुगेको छ ।

सेमिफाइनलको पहिलो लेगमा आफ्नो घरेलु मैदानमा ३–० गोल अन्तरले एथ्लेटिकोलाई पराजित गर्दै रियल चार वर्षमा तेस्रो फाइनल नजिक पुगेको हो ।

खेलको १० औँ मिनेटमा नै कासिमेरोको पासमा गोल गर्दै रोनाल्डोले रियललाई अग्रता दिलाएका थिए ।


तर, खेलमा नियन्त्रण राखेपछि लामो समय रियलले गोल गर्न सकेन । एथ्लेटिकोका गोल किपर जान ओबलाकले रियलका धेरै प्रयासहरु विफल बनाएका थिए ।

खेलको ७३ औँ मिनेटमा भने १६ यार्डमा शक्तिशाली प्रहार गर्दै रोनाल्डोले रियलको अग्रता दोब्बर बनाए ।

खेलको अन्त्यमा लुकास भाजक्वेजको पासमा सहज गोल गर्दै उनले ह्याट्रिक पूरा गरे । क्वाटरफाइनलमा उनले बायर्न म्युनिखविरुद्ध ह्याट्रिक गर्दै पाँच गोल गरेका थिए ।

एथ्लेटिकोले खेल अवधि भर रियलको पोष्टमा गरेको आक्रमण मध्ये एउटा मात्र लक्ष्यमा पुगेको थियो ।


फेरि रोनाल्डो नै नायक

च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता रोनाल्डो सँधै ठूला मौकामा चम्कन रुचाउँछन् । उनले प्रतियोगितामा १०३ गोल गरेका छन् । यो प्रतिद्वन्द्वी एथ्लेटिको म्याड्रिडको पुरै टोलीले गरेको गोलभन्दा पनि धेरै हो । एथ्लेटिकोले प्रतियोगितामा हालसम्म १ सय गोल गरेको छ ।

रोनाल्डोले नकआउट चरणमा ५२ गोल गर्दै समूह चरणभन्दा धेरै गरेका छन् ।

पछिल्ला तीन खेलमा उनले ८ गोल गर्दै यो सिजन आफ्नो गोल संख्या १३ पुर्याएका छन् ।

उनले सेमिफाइलनमा १३ गोल गरेका छन् जुन अन्य खेलाडीको तुलनामा बढी हो ।

त्यस्तै उनले प्रतियोगितामा ७ औँ ह्याट्रिक गर्दै लियोनेल मेस्सीसँग बराबरी गरेका छन् । रियलमा आएपछि उनको यो ४२ औँ ह्याट्रिक हो ।

३२ वर्षको उमेरमा उनले आफूलाई विंगरभन्दा पनि स्ट्राइकरको रुपमा विकास गरिरहेका छन् । खेलमा टोनी क्रुसले १२३ पटक बल छोएकोमा रोनाल्डोले मात्र ५० पटक त्यसो गरेका थिए ।

के रियलले इतिहास बनाउँला ?

सन् १९९२ मा प्रतियोगिताको रिब्रान्डिङ गरेपछि कुनै पनि टोली हालसम्म यो उपाधि लगातार दुई पटक जितेको छैन । रियल त्यसलाई तोड्ने दाउमा रहेको छ ।

जिनेदिन जिदानको टोली ला लिगामा पनि सन् २०१२ पछि पहिलो पटक उपाधि जित्ने दाउमा रहेको छ ।

च्याम्पियन्स लिगको फाइनल जुन ३ मा कार्डिफमा हुनेछ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल