लमजुङमा उमेद्वार छान्न रस्साकस्सी

लमजुङमा उमेद्वार छान्न रस्साकस्सी

समुन्द्रा घिमिरे

लमजुङ, बैशाख १७–स्थानीय तहको निर्वाचनका लागि उमेद्वारी दिने दिन नजिकिदैँ गएपनि लमजुङमा दलहरुले उमेद्वार छनौट गर्न सकेका छैनन् । उमेद्वार छनौटमा ठुला दलमा रस्साकस्सी चलेको छ ।

धेरै जनाको आकांक्षा देखिएपछि सबै दलमा उम्मेदवार चयन गर्न समस्या परेको हो । दुई ठुला बामपन्थी दलहरु नेकपा एमाले र माओवादी केन्द्रविच चुनावी तालमेल भएपनि उमेद्वारको टुङ्गो लगाउन सकेका छैनन् । नेकपा एमालेबाट राइनास नगरपालिकाको मेयरमा सिंहबहादुर थापा र क्होँलासोँथर गाउँपालिकाको प्रमुखमा प्रेम घले उमेद्वार बन्नुहुने भएको छ । यी दुई बाहेक बेसीशहर नगरपालिका, सुन्दरबजार नगरपालिका र मस्र्याङ्दी गाउँपालिकामा प्रमुख पदमा उमेद्वारको टुङ्गो लागेको छैन । यस्तै उप्रमुख पद पाएको दोर्दी, दुधपोखरी गाउँपालिका र मध्यनेपाल नगरपालिकामापनि उमेद्वारको टुङ्गो लागेको छैन । प्रमुख र उपप्रमुख पदको उमेद्वार प्रदेश समितिले छान्दै गरेको जिल्ला अध्यक्ष धनन्ञ्जय दवाडीले बताए ।

मुलुककै ठुलो दल नेपाली काँग्रेसले पनि उमेद्वारको टुङ्गो लगाउन सकेको छैन । दुईसाता देखि गृहकार्यमा रहेपनि उमेद्वारको टुङ्गो लागेको छैन । बेसीशहर नगरपालिकामा पार्टी सभापति भेषबहादुर पौडेल, सुन्दरबजार नगरपालिकामा बद्रीमान श्रेष्ठ, मध्यनेपाल नगरपालिकामा रमेश पाण्डे, राइनास नगरपालिकामा डिकेन्द्रराज कंडेललाई उमेद्वार बनाउने प्रस्तावमा छलफल अघि बढेको काँग्रेस स्रोतले बताएको छ । तर, शेरबहादुर देउवा पक्षले प्रस्तावित नाममा असहमति जनाएपछि निर्णय हुन सकेको छैन । देउवा पक्षले सुन्दरबजारमा द्धारिका मिश्र, मध्यनेपालमा पूर्णचन्द्र पोख्रेल र बेसीशहर नगरपालिकामा कृष्णबहादुर अधिकारी वा जीवन श्रेष्ठ भएमा अन्यमा सहमति मान्ने संकेत दिएको छ ।

मध्यनेपालमा सांसद् दिलबहादुर घर्ती र सुन्दरबजारमा सांसद् चन्द्रबहादुर कुंवरले आफ्नो उमेद्वार बनाउन खोजेको काँग्रेस कार्यकर्ताहरु बताउँछन । यी दुई सांसद्ले अड्डी लिँदा देउवा पक्षलेपनि आफुले भनेको उमेद्वार हुनुपर्ने माग तेर्साउँदै आएको छ ।

काँग्रेसले मस्र्याङ्दी गाउँपालिकामा नरबहादुर गुरुङ, क्होँलासोँथरमा रघुनाथ गुरुङ, दोर्दीमा विच्छबहादुर घले र दुधपोखरीमा छुपीमाया गुरुङलाई प्रमुख पदमा उमेद्वार बनाउने पक्का जस्तै भएको छ । यद्यपी सार्वजनिक गरिएको भने छैन । यदी यो निर्णयमा कुनै फेरबदल नआएमा उनीहरु उमेद्वार बन्ने पक्का छ । तर, जिल्लामा कुरा नमिलेपछि उमेद्वारको नामावली केन्द्रमा पठाइएको बुझिएको छ ।

एमालेसँग तालमेल गरेर आठ तहमध्ये तीन तहमा प्रमुख र तीन तहमा उपप्रमुख पद पाएको नेकपा माओवादी केन्द्रलेपनि उमेद्वारको टुङ्गो लगाउन सकेको छैन । सम्भावित उमेद्वारको नामावली प्रदेश समितिमा पठाइएकाले आइतबारसम्म टुङ्गो लाग्ने माओवादी केन्द्रको जिल्ला संयोजक मधु अधिकारीले बताउनुभयो । माओवादीले मध्यनेपाल नगरपालिकामा मेयर, दोर्दी र दुधपोखरी गाउँपालिकामा अध्यक्ष पद पाएको छ । यस्तै सुन्दरबजार र राइनास नगरपालिकामा उममेयर, मस्र्याङ्दी गाउँपालिकामा उपाध्यक्ष पद पाएको छ ।

संसद्को चौंथो ठुलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उमेद्वारको टुङ्गो लगाउन सकेको छैन । केन्द्रीय सर्कुरल एमालेसंग तालमेल गर्ने रहेपनि जिल्लामा एमाले माओवादीको तालमेल भएपछि राप्रपा अन्योलमा परेको छ । उ एक्लै उमेद्वार छनौटमा जुटेको छ । नयाँ शक्ति नेपालले दुधपोखरी गाउँपालिकामा रेखी गुरुङलाई अध्यक्ष पदमा उठाउने भएको छ । अन्य टुङ्गाउन बाँकी रहेको पार्टीले जनाएको छ ।

जिल्लामा ११ दल दर्तामा छन । दर्ता भएका मध्ये नेपाल लोकतान्त्रिक फोरम र नेकपा (माले जनसमाजवादी) विच तालमेल गरेर उमेद्वारको टुङ्गो लगाउने भएका छन । अन्य दलहरु राष्ट्रिय जनमोर्चा, नेकपा (माले), राष्ट्रिय शिवसेना पार्टी, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी, युनाइटेड ग्रीन अर्गनाइजेशन, देशभक्त समाज पार्टीको कुनै चहलपहल देखिएको छैन ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल