बायर्नलाई किर्तिमानी लगातार पाँचौ लिग उपाधि

बायर्नलाई किर्तिमानी लगातार पाँचौ लिग उपाधि

म्युनिख, वैशाख १७ – वुल्फसवर्गलाई आधा दर्जन गोल हिर्काउँदै बायर्न म्युनिख लगातार पाँचौ पटक जर्मन लिग च्याम्पियन बनेको छ ।

योसँगै प्रशिक्षक कार्लो एन्चेलोटीले युरोपका चार भिन्न लिगमा उपाधि जित्न सफल भएका छन् ।

घरेलु लिगमा अर्को सिजन अधिपत्य जनाउँदै बायर्नले लिगका तीन खेल बाँकी छँदा नै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।

यो सिजन मात्र दुई खेलमा पराजित भएको बायर्नविरुद्ध रेलिगेसन हुने खतरामा रहेको वुल्फसवर्गले कुनै चुनौती प्रस्तुत गर्न सकेन ।

बायर्नलाई जीत दिलाउन रोबर्ट लेवान्डोस्कीले २ तथा डेभिड अलाबा, आयर्न रोबेन, थोमस मुलर र जोस किमिचले एक–एक गोल गरे ।

वुल्फवर्गका कप्तान लुइस गुस्ताभोले रातो कार्ड खाए पछि टोली खेलको अन्त्यतिर १० खेलाडीमा सिमित बनेको थियो ।


पेप ग्वार्डिओलाले छाडेपछि एन्चेलोटीले बायर्नको नेतृत्वमा सम्हालेका थिए । उनको नेतृत्वमा बायर्नले ७९ गोल गर्दै मात्र १७ गोल खाएको छ ।

युरोपका ठूला ५ लिगमा ४ वटामा लिग उपाधि जित्ने उनी पहिलो प्रशिक्षक बनेका छन् । यसअघि उनले एसी मिलान, चेल्सी र पेरिस सेन्ट जर्मेनमा लिग उपाधि जितिसकेका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल