मार्सेलोले जोगाए रियललाई, बार्सिलोनामाथि दबाब कायम

मार्सेलोले जोगाए रियललाई, बार्सिलोनामाथि दबाब कायम

एजेन्सी

म्याड्रिड, वैशाख १६ – रियल म्याड्रिड पुनः अन्तिम समयमा नाटकीय जीत हासिल गर्दै ला लिगाको उपाधि होडमा बार्सिलोनामाथि दबाब कायम राखेको छ ।

डिफेन्डर मार्सेलो अविश्वसनीय रुपमा नायक बनेपछि रियलले आफ्नो घरेलु मैदानमा भ्यालेन्सियालाई २–१ गोलले पराजित गरेको हो ।

ब्राजिलियन फुलब्याकले नियमित समयको खेल सकिन ४ मिनेट बाँकी छँदा गोल गर्दै रियललाई महत्वपूर्ण ३ अंक दिलाए ।


त्यसअघि ड्यानी परेजोले ८२ औँ मिनेटमा गोल गर्दै क्रिस्टियानो रोनाल्डोको सिजनको २० औँ गोललाई बराबरी गरेका थिए ।

जीतसँगै रियल बार्सिलोनाभन्दा तीन अंकले अघि शीर्ष स्थानमा उक्लिएको छ ।

बार्सिलोनाले आज राती क्याटालान डर्बीमा एस्पानियोलको सामना गर्दैछ ।

यसअघि फेब्रुअरीमा भएको खेलमा रियल भ्यालेन्सियासँग २–१ गोल अन्तरले पराजित भएको थियो ।

आजको खेलमा पनि रियल पहिलो मिनेटमा नै पछि पर्ने अवस्था आएको थियो । तर, सान्टी मिनाको प्रहार पोस्टमा लागेको थियो ।

त्यसपछि रियलले खेलमा नियन्त्रण राख्यो र २७ औँ मिनेटमा रोनाल्डोले ड्यानी कार्भाहालको पासमा गोल गर्दै रियललाई अग्रता दिलाए । मार्च १२ पछि ला लिगामा रोनाल्डोको पहिलो गोल थियो भने कार्भाहालको लिगमा १० औँ एसिस्ट थियो ।

खेलको दोस्रो हाफमा रियलले अग्रता दोब्बर बनाउने थुप्रै अवसर गुमायो । लुका मोर्डिचलाई डि एरियामा लडाएपछि पाएको पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गर्न सकेनन् । भ्यालेन्सियाका गोल किपर डिएगो आल्भेसले रोनाल्डोले प्रहार गरेका ४ मध्ये ३ पेनाल्टी रोकेका छन् । ला लिगामा २२ वटा पेनाल्टी रोक्दै धेरै पेनाल्टी रोक्ने गोलकिपरको सूचीमा अग्रस्थानमा रहेका छन् ।

त्यसको फाइदा उठाउँदै परेजोले उत्कृष्ट फ्रिकिक मार्फत गोल गर्दै खेलमा बराबरीमा ल्याए । तर, मार्सेलो नायक बन्दै रियलाई जीत दिलाउन सफल भए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल