संकटालाई हराउदै गोल्डकप माथि आर्मीको कब्जा

संकटालाई हराउदै गोल्डकप माथि आर्मीको कब्जा

वीरगन्ज, बैशाख १६ – वीरगन्जमा आयोजित राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता प्रथम टुबोर्ग विशाल मेमोरियल गोल्डकप फुटबल टुर्नामेन्टको उपाधी नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले हात पारेको छ ।

आर्मीले फाइनल भिडन्तमा संकटा क्लबसंग लगातार तीन पटक व्यवहोरेको हारको बदला वीरगन्जमा लिन सफल भएको छ ।


नारायणी रंगशालामा शनिवार भएको फाइनल खेलमा सिएमजी संकटा क्लबलाइ २–० गोलले हराउदै आर्मीले उपाधी उचाल्न सफल भएको हो ।

यसअघि संकटा क्लबसंग भएका चार वटा फाइनल भिडन्तमा आर्मीले एउटामा मात्रै जित हात पारेको थियो भने त्यसपछिका लगातार तीन वटा फाइनल खेलमा संकटा विजयी भएको थियो ।

शनिवार भएको फाइनल खेलमा आर्मीका लागि दुवै गोल जर्सी नम्बर ३० का जर्ज प्रिन्स कार्कीले गरेका हुन् ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा आर्मीले दुवै गोल दोश्रो हाफमा गरेको हो । दोश्रो हाफको ६७ औं मिनेटमा जर्सी नम्बर १४ का सन्तोष तामांगले डिबक्स बाहिरबाट दिएको पासलाइ कार्कीले हेड गरेर बललाइ संकटाको जालीमा छिराउन सफल भए ।

पहिलो गोल भएको तेश्रो मिनेटमै (दोश्रो हाफको ७० औं मिनेटमा) फेरि कप्तान भरत खवासले दिएको ब्याक पासलाइ सदुपयोग गर्दै कार्कीले प्रहार गरेको बल संकटा क्लबको गोल पोष्ट भित्र छिरेपछि आर्मीले खेल २–० ले जित्दै उपाधी माथि कब्जा गरेको हो ।

खेलको शुरु देखि नै आक्रमक रुपमा उत्रिएका आर्मीका खेलाडीहरु खेल अवधीभर नै संकटा क्लबका खेलाडी माथि हाबी भएका थिए ।
उपाधीसंगै आर्मी क्लबले नगद पाँच लाख रुपैया र ट्रफी प्राप्त गरेको छ । उपविजेता संकटा क्लबले भने नगद दुइ लाख ५० हजार र ट्रफीमै चित्त बुझाएको छ । यस्तै प्रतियोगितको सर्वोत्कृष्ट खेलाडी (म्यान अफ दी सिरिज) संकटा क्लबका राज पौडेल घोषित भएका छन् । उनले सुजीकी जिक्सर मोटरसाइकल पाएका छन् ।

यस्तै प्रतियोगिताको उत्कृष्ट स्ट्राइकर आर्मी क्लबका जर्ज प्रिन्स कार्की , उत्कृष्ट गोल रक्षक आर्मीकै विकास कुथु , उत्कृष्ट मिड फिल्डर संकटाका कप्तान विक्रम लामा , उत्कृष्ट रक्षक संकटाका पिटर सेगुन र उत्कृष्ट प्रशिक्षक आर्मी क्लबका नवीन न्यौपाने घोषित भएका छन् । उनिहरु सबैले जनही नगद १० हजार रुपैया पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगिताको समापन समारोहमा नेपाल प्रहरीका प्रहरी नायव महानिरिक्षक गणेश केसी , प्रहरी वरिष्ठ उपरिक्षक सुर्य प्रसाद उपाध्याय, उद्योगपति एंव समाजसेवी विजय सरावगी , नेशनल मेडिकल कलेजका प्रबन्धक निर्देशक बसरुद्धिन अन्सारीले विजेता र उपविजेता टिमका खेलाडीहरुलाइ नगद पुरस्कार तथा ट्रफी प्रदान गर्नु भएको थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल