तह बढ्दै जाँदा छात्राको सङ्ख्या घढ्दै

तह बढ्दै जाँदा छात्राको सङ्ख्या घढ्दै

जुम्ला, १५ वैशाख । यहाँका शिक्षिकाले विद्यालयमा अध्ययनरत छात्रछात्राको कक्षा तह बढ्दै जाँदा छात्राको सङ्ख्या घट्दै जाने गरेको बताएका छन् ।

शिक्षा पत्रकार सञ्चार र जिल्ला शिक्षा कार्यालयद्वारा आयोजित ‘जुम्लामा छात्राको अवस्था’ विषयक कार्यक्रममा शिक्षिकाले यो कुरा खुलासा गरेका हुन् । शिक्षिका वसन्ती महतले कक्षा तह बढ्दै जाँदा छात्रा सङ्ख्या घट्ने र मानसिक समस्या उनीहरुमा बढी देखिने गरेको बताइन् ।

छोराभन्दा छोरीलाई घरायसी बोझ हुने, महिनावारी हुँदा विद्यालय प्रवेश गर्न समस्या मान्ने र किशोरी अवस्थामै विवाह गरिहाल्ने कारणले पनि उनीहरुको सङ्ख्यामा कमी आउने गरेको उनको भनाइ छ ।

शिक्षिका भगवती श्रेष्ठले अभिभावकले न्यायिक व्यवस्थापन नगरेका कारण छात्राले यो अवस्था व्यहोर्नु परेको औँल्याइन् । ‘‘अहिले पनि विद्यालयमा छात्रामाथि दुव्र्यवहार हुने गरेको छ र यसले उनीहरुको सामाजिक प्रतिष्ठामा आघात पुगेको छ’’– उनले भनिन् । अध्ययनका क्रममा देखिएका थुप्रै व्यवधानका कारण कक्षा तह बढ्दा छात्रा सङ्ख्या घट्ने गरेको उनको बुझाइ छ ।

छोराछोरी समान हुन् भन्ने धारणा केहीमा देखिए पनि छोरीलाई सामुदायिक सरकारी र छोरालाई संस्थागत विद्यालयमा पढाउनुले विभेद कायमै रहेको राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका केन्द्रीय सदस्य नेत्रबहादुर शाहीले बताए । अभिभावकले आफ्ना सन्तानको कुशल व्यवस्थापन गर्न नसक्नु उनीहरुले परम्परागत सोच र रुढीवादी संस्कारलाई बढवा दिएको उनको आरोप छ ।

जिल्ला शिक्षा अधिकारी कुलबहादुर फडेराले अधिकांश अभिभावकले छोरीभन्दा छोराको गुणस्तरीय शिक्षामा महत्व दिएकोे र लगानी पनि बढी छोरामा गरेको बताए । समग्रमा जिल्लाको शैक्षिक अवस्था सुधारिँदै गएको बताउँदै जिशिअ फडेराले अपाङ्गता भएका र विपन्न बालबालिकामात्रै विद्यालय पहुँच बाहिर रहेको प्रस्ट्याए । यो अवस्थाका बालबालिकाको तथ्याङ्क सङ्कलन भइरहेको उनको भनाइ छ ।

स्रोत व्यक्ति रामबहादुर चापागार्इंले विद्यालयमा अधिकतम छुवाछूतको धारणा विद्यमान छ भने । विभिन्न कारणले छात्राको पढाइमा समस्या भएको र यो अवस्था सुधार ल्याउनुमा अभिभावक र विद्यालयको प्रमुख भूमिका हुनेमा उनले जोड दिए ।

कार्यक्रमका सहभागीले छात्रामैत्री भौतिक संरचना, महिनावारीको समयमा हुने समस्या, असुुरक्षा र दुव्र्यवहारजस्ता कुरा छात्राको अध्ययनमा बाधक देखिएको औँल्याएका थिए । रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल