मुक्तिनाथमा प्रख्यात बन्दै घोडचढी

मुक्तिनाथमा प्रख्यात बन्दै घोडचढी

वासुदेव पौडेल/सन्तोष गौतम

मुक्तिनाथ, १५ वैशाख । गत चैत अन्तिम साता भारतको मुम्बईबाट मुक्तिनाथ आएका रमेश सिंह घोडा चढेरै मुक्तिनाथको प्रवेशद्वारसम्म पुगे । काठमाडौँबाट आएकी सङ्गीता श्रेष्ठले पनि रानीपौवाबाट मुक्तिनाथ प्रवेशद्वारसम्म पुग्न घोडाकै सहारा लिइन् ।

सिंह र श्रेष्ठमात्र होइन हिमालपारिको मुस्ताङस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ दर्शन तथा भ्रमणका लागि आउने अधिकांश तीर्थयात्री र पर्यटकका लागि घोडचढी सुविधा नयाँ आकर्षण बनेको छ ।

“उकालोमा हिँड्न दुःख हुन्थ्यो, घोडा चढेर सजिलै पुगियो”, श्रेष्ठले भनिन् – “घोडा चढेर वरपरका दृश्य नियाल्दै, तस्बिर खिच्दा निकै रमाइलो भयो ।”

उकालो हिँड्न गाह्रो भएपछि श्रेष्ठ रानीपौवामा गाडीबाट झरेर घोडा चढेर मुक्तिनाथ पुग्नुभएको हो । सिंहले पनि पहिलोपटक घोडा चढ्दा रमाइलो र सहज महसुस गरिन् ।

मुक्तिनाथ भ्रमण र तीर्थयात्राका लागि आउनेको सुविधाका लागि स्थानीय बासिन्दाले रानीपौवादेखि मन्दिर प्रवेशद्वारसम्म घोडचढी सेवा दिँदै आएका छन् । घोडाको संरक्षण, स्थानीयवासीलाई आयआर्जन र पाहुनाको सुविधाका लागि घोडचढी व्यवसाय प्रभावकारी बन्दै गएको मुक्तिनाथका गाउँ मुखिया सुरज गुरुङले बताए ।

दुई वर्ष पहिलेसम्म स्थानीयवासीले रानीपौवादेखि मुक्तिनाथ प्रवेशद्वारसम्म उकालो हिँड्न नसक्ने, ज्येष्ठ र अशक्त तीर्थयात्रीलाई मोटरसाइकलमार्फत सेवा दिँदै आएका थिए । दुर्घटनाको जोखिम र घोडा लोप हुँदै जान थालेपछि मोटरसाइकल हटाएर दर्शनार्थीलाई घोडचढी सेवा उपलब्ध गराएको गुरुङको भनाइ छ ।

समुद्री सतहदेखि तीन हजार ८०० मिटरको उचाइमा अवस्थित मुक्तिनाथ पुग्नका लागि उकालो बाटो हिँड्न लेक लाग्ने गर्छ । ज्येष्ठ र अशक्त नागरिकलाई यात्रा गर्न कठिन हुने गरेको छ । आर्थिक रुपमा सम्पन्न दर्शनार्थी हेलिकप्टरबाटै मन्दिर प्रवेशद्वारसम्म पुग्ने गरेका छन् ।

स्थानीयवासी रेशम थकालीका अनुसार मन्दिरमा जाँदा कतिपय हिँड्न नसक्ने बाध्यताले र नयाँ पुस्ताका युवायुवती रमाइलो तथा अनुभवका लागि घोडा चढ्ने गरेका छन् । अधिकांश युवायुवती मनोरञ्जनका लागि घोडा चढ्दै फोटो खिच्नका लागि मात्रै पनि ५०–१०० रुपैयाँ दिएर घोडामा चढेर फोटो खिच्दै रमाइलो गर्छन् ।

विगतमा यातायातका साधन नपुगेका कारण जोमसोमलगायत स्थानबाट घोडा चढेर मन्दिर पुग्ने गरे पनि अहिले रानीपौवासम्म गाडीबाटै पुग्ने भएकाले त्यहाँबाट दर्शनार्थी घोडा चढ्ने गरेका छन् । घोडाचढी व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीले रानीपौवादेखि मुक्तिनाथ प्रवेशद्वारसम्म एकतर्फी रु ३०० शुल्क कायम गरेका छन् । पछिल्ला समयमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेका कारण एउटै घोडाबाट दैनिक रु पाँच हजारसम्म आम्दानी हुने गरेको व्यवसायी दिनेश गुरुङ बताउँछन् ।

“प्रत्येक घरबाट एउटाका दरले घोडा पालो लगाएर यात्रु बोक्न प्रयोग गरिन्छ”, उनले भने – “मुक्तिनाथ मन्दिरमा दर्शनार्थी पु¥याउन दैनिक १५० वटा घोडाले सेवा दिँदै आएका छन् ।”

परम्परागत समाजमा घोडालाई यातायातको साधनका रुपमा प्रयोग गरिन्थ्यो । सामान बोकाएर ओसारपसार गर्न र एक ठाउँबाट अर्को ठाउँमा पुग्न घोडा प्रयोग हुन्थ्यो । तर पछिल्लो समय सडक सञ्जालमा जोडिएपछि मुस्ताङका धेरैले घोडाको विकल्पमा मोटरसाइकल र गाडी प्रयोग गर्ने गरेका छन् ।

अन्य ठाउँमा लोप भए पनि मुक्तिनाथमा भने घोडा देख्न सकिन्छ । घोडचढी व्यवसायलाई जीवन्त राख्न मुक्तिनाथमा हरेक वर्षको जनैपूर्णिमाका दिन घोडा दौड प्रतियोगिता समेत आयोजना हुने गरेको छ ।

यहाँ प्रचलित परम्परागत यातुङ पर्वमा गरिने घोडा दौड प्रतियोगिता नै सङ्कटमा परेपछि रानीपौवाको युवा क्लबले घोडा संरक्षणका लागि मोटरसाइकलको विकल्पमा घोडाबाट यात्रुलाई सुविधा दिन पहल गरेको हो ।

मरुभूमि जस्तै देखिने पृथक् भू–बनोट, पृष्ठ भूमिका हिमाल, माटोका घर, हिमाली जीवनशैली, मुक्तिनाथ मन्दिर, ज्वाला माई, गुम्बा मुक्तिनाथ क्षेत्रका आकर्षण हुन् । धार्मिक आस्थाको साथै मुक्तिनाथको प्राकृतिक सौन्दर्य आन्तरिक तथा बाह्य पर्यटकका लागि थप आकर्षण बनेको छ । रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल