५६ लाखमा घर/जग्गा धरौटी राखेर अन्टार्टिकाको सर्वोच्च शिखर चढेँ

५६ लाखमा घर/जग्गा धरौटी राखेर अन्टार्टिकाको सर्वोच्च शिखर चढेँ

दीपेन्द्र राई

कीर्तिमानी पर्वतारोही सञ्जय पण्डितसँग प्युठानबाट काठमाडौं पस्दा रंगीन सपना थिएन । संवत् २०६० सालमा काठमाडौं पसेका उनी सके चार्टटर्ड एकाउन्ट नत्र व्यापारी बन्न चाहन्थे । उनी दुवै बन्न सकेनन् ।

दुई हजार चार सय ९५ किलोमिटर दौडिसकेका उनी दौडेर जीविकोपार्जन गर्न सकिँदैन भन्ठानेर पर्वतारोहणमा लागे । संसारमा आठ अर्ब मानिस छन् । चार हजार दुई सयले सगरमाथा आरोहण गरेका छन् । त्यसमध्ये पण्डित पनि एक हुन् । संसारका ११ सर्वोच्च शिखर आरोहण गर्दा कीर्तिमानी आरोही सञ्जय पण्डितको सुखद र दुःखद पक्ष रातोपाटीले बुझ्ने प्रयास गरेको छ ।


सुखद पक्ष १
कीर्तिमानी आरोही सञ्जय पण्डितले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुलाई जीवनकै सुखद पक्ष ठानेका छन् । पैसा कमाएर अर्बपति बन्न सकिएला तर सगरमाथा आरोहण गर्न जोकोहीले सक्दैनन् । पण्डितले संसारका ११ हिमाल आरोहण गरिसकेका छन् । उनले पर्वतारोहणमा पाएको सफलता पैसाले किन्न सकिँदैन ।

सुखद पक्ष २
अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारो र अस्ट्रेलियाको सर्वोच्च शिखर कोजियसको उल्टो हिँडेर आरोहण गरेका उनले दुवै आरोहणलाई जीवनको सुखद पाटो भनेर गर्व गर्दै आएका छन् ।
किलिमन्जारो २६ र कोजीयस्को आरोहण गर्न पाँच घन्टा लागेको थियो । उल्टो पर्वतारोहण गर्नु सामान्य काम होइन । अफ्रिकामा पर्वतारोहण गर्न निकै गाह्रो थियो । उल्टो आरोहण गर्नु भनेको प्रकृतिसँग सिंगौरी खेल्नु हो । उनले किलिमन्जारो र कोजीयस्कोदौरासुरुवाल लगाएर आरोहण गरेका थिए ।

सुखद पक्ष ३
तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा आरोहणपछि युरोपको सर्वोच्च शिखर एलब्रस आरोहण गर्न गएका थिए । मौसम गडबडीका कारण उनको एलब्रस आरोहण सपना पूरा भएन । पण्डितले एलब्रससमेत आरोहण गरेका छन् । एलब्रस आरोहणपछि ६ मिनेट ३ सेकेन्ड अर्धनग्न भएको उनलाई त्यो काम पनि त्यति सजिलो थिएन ।

सुखद पक्ष ४
कीर्तिमानी आरोही पण्डितले केही समयअघि अन्टार्टिकाको सर्वोच्च शिखर भिन्सन मसिफ आरोहण गरेका थिए । भिन्सन मसिफको उचाइ ४,८९५ मिटर छ । भिन्सन मसिफ धेरै कम नेपालीले आरोहण गरेका छन् । गैर शेर्पा समुदायबाट आरोहण गर्ने  संजय  पहिलो नेपाली पुरुष एबम ब्राह्मण समुदायबाट पहिलो पण्डित नै हुन् ।

सुखद पक्ष ५
पण्डितले अन्टार्टिकाकै रजम्यानसमेत आरोहण गरेका छन् । नेपालीले अहिलेसम्म रजम्यान आरोहण गरेका छैनन् । उनी रजम्यानमा पनि अर्धनग्न भएका थिए ।

सुखद पक्ष ६
राम्रो काम गर्ने नै पुरस्कृत हुने हुन् । कीर्तिमानी आरोहीको प्रतिष्ठा बनाएका उनले राष्ट्रिय युवा प्रतिभा पुरस्कार–२०१४, युवा साहसिक राष्ट्रिय खेलकुद हिरो–२०१५, प्रबल जनसेवाश्री पदक र युवा एप्रिसियसन अवार्ड पाएका छन् ।

दुःखद पक्ष १
संसारको आठौ ठुलो शिखर मनास्लु हो जसलाई प्राणघातक हिमाल भन्ने गरिन्छ । उनले मनास्लु आरोहणमा सँगै गएका साथी मार्टिन गुमाए । साथी र उनको उद्देश्य एउटै भए पनि मार्टिनको शिखर चुम्ने सपना पूरा भएन ।

सन् २०१२ मा आरोहणक्रममा हिमपहिरोमा परी मार्टिनको मृत्यु भएको थियो । हिमपहिरोमा मार्टिनसहित १४ आरोहीको घटनास्थलमै मृत्यु भएको थियो भने ८० प्रतिशत आरोहीले आरोहण त्यागेका थिए ।

दुःखद पक्ष २
सन् २०१२ मा पहिलोपटक सगरमाथा आरोहणमा निस्केका पण्डितले ८,६८५ मिटरबाट आरोहण त्यागे । थालेको काम पूरा गर्न नसक्दा जोकोही दुःखी हुन्छन् । उनलाई दुःख नलाग्ने कुरै भएन । भारी मन बनाउँदै आरोहण त्यागे पनि सन् २०१३ मा सगरमाथा आरोहण गर्न सफल त भए तर आफ्नै पथप्रदर्शक सोलुखुम्बुका लोप्साङ शेर्पा गुमाए । बाटो बनाउनेक्रममा शेर्पा हिमपहिरोमा खसेका थिए ।

दुःखद पक्ष ३
विनाअक्सिजन अमेरिकाको सर्वोच्च शिखर एकांकागुवा आरोहण गरेका उनी फर्कनेक्रममा बेहोश भए । उनको शरीरमा ३३ प्रतिशतमात्रै अक्सिजन थियो । सगरमाथा आरोहण गरिसकेको मानिसले विनाअक्सिजन झन्डै सात हजार मिटरको एकांकागुवा आरोहण गर्नु खोज्नु उनको दम्भ थियो ।
आरोहण सकेर तेस्रो क्याम्पमा सुतिरहेको अवस्थामा उनी बर्बराउन थाले । पानी माग्ने र नेपाली भाषामै गाली गर्थे । रातको १० बज्दै थियो । उनी बर्बराउन थालेपछि जापानी साथी जोनियाले सञ्जय तल जाऊँ भने । बेहोशीमै भए पनि पण्डितले म जान्न भने । साथीले जानैपर्छ भने ।

तँ तल झरिनस् भने भोलिको घाम देख्न पाउँदैनस् भनेर चेतावनी दिए पनि उनले वास्ता गरेनन् । तेरो शरीरमा ३३ प्रतिशतमात्रै अक्सिजन छ भनेर जानकारी गराउँदा पनि उनी अर्को क्याम्प झर्न मानेनन् । हिमालमा ह्याजिलेसन भन्ने हुन्छ, त्यो पागल हुनुअघिको संकेत हो । त्यसपछि साथीले उनको स्लीपिङ ब्याग तानिदिए । स्लीपिङ ब्याग तानिदिएपछि जाडो भयो । त्यसपछि उनलाई दोस्रो क्याम्प झारियो । अर्को दिन हेलिकोप्टरबाट उद्धार गरियो ।

दुःखद पक्ष ४
उल्टो हिँडेर किलिमन्जारो आरोहणक्रममा उनी धेरै ठाउँ लडे । उनलाई उल्टो हिँडेर शिखर आरोहण गर्ने नेपालको पहिलो व्यक्ति बन्छु भन्ने सपना पूरा गर्नु नै थियो । ५,६०० मिटरमाथि किलिमन्जारोमा हिउँ नै हिउँ छ । त्यहाँबाट खसे बाँच्ने सम्भावना छैन । आरोहणक्रममा उनी फेरि लडे । अलिकतिलेमात्रै जोगिएका उनलाई केले बचायो थाहा छैन रे । उनी लडेको त्यहाँका सरकारी मिडियाले वाच गरिरहेका रहेछन् ।

दुःखद पक्ष ५
कीर्तिमानी पर्वतारोहीलाई आर्थिक आरोहणका लागि आर्थिक समस्या हुने नै भयो । उनले अहिलेसम्म आरोहण शीर्षकमा झन्डै तीन करोड रुपैयाँ खर्च गरिसकेका छन् । सगरमाथा आरोहणका लागि प्युठानले सघाए पनि अन्य हिमाल आरोहणका लागि आफैंले खर्च गर्नुपर्ने बाध्यता छ । उनले ५६ लाखमा घरबारी धरौटी राखेर अन्टार्टिकाको भिन्सन मसिफ आरोहण गरेका थिए । सो शिखर आरोहणमा ७८ लाख खर्च भएको थियो ।

दुःखद पक्ष ६
आरोहणका लागि अन्टार्टिका जानेक्रममा उनी चिलीमा तीन दिन भोकै बसे । आरोहणका लागि चाहिने ५० हजार डलर राष्ट्रबैंकबाट पठाइसकेका थिए । धेरै खर्च नहोला भनेर नेपालबाट एक हजार डलर बोकेका उनले पथप्रदर्शकले यो/यो भयो भनेमात्रै आरोहण गर्न सजिलो हुन्छ भनेपछि किन्नैपर्यो ।
सात सय डलर सपिङमा सकियो । रह्यो तीन सय डलर । त्यतिले बाँकी यात्रा पूरा गर्नु छ । दैनिक ३० डलर खर्च लाग्थ्यो । आठ दिन चिलीमा बस्नुपथ्र्यो । दैनिक ३० डलर खर्च गर्दा २ सय ५० त चिलीमै सकिने भयो । अनि भोकै नबसी सुखै थिएन ।

Photo : http://trailrunningnepal.org

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल